लकडाउनले छेकेन गीतको रेकर्डिङ र सुटिङ

रीना मोक्तान

काठमाडौँ — वैशाख/जेठलाई तीज गीत गाउने सिजन मानिन्छ । लकडाउनले गर्दा सिजनको सुरुवात खासै फलदायी भएन । जेठ पनि खाली नै जाने देखिएपछि यसपाली तीज गीत गाउन नपाइएला भन्‍ने पीरलो थियो गायक/गायिकालाई ।

लकडाउनले छेकेन गीतको रेकर्डिङ र सुटिङ

तर, लकडाउनको ढाँचा परिवर्तन भएसँगै फाट्टफुट्ट तीज गीतहरु सुनिन थालेका छन् । गत वर्षको झैं छ्यापछ्याप्ती नभए पनि अहिले तीज गीतहरुको रेकर्डिङ र सुटिङ भइरहेका छन् ।

गायिका प्रिती आलेले बिहीबार मात्रै 'फरिया लरीलै बरीलै' बोलको तीज गीत सार्वजनिक गरिन् । एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको गीत पप भाकामा रेकर्डिङ गरिएको हो । प्रकाश सपुतसँगको 'र्‍याप ब्याटल'बाट चर्चामा आएकी प्रिती आफैं गीतको भिडियोमा चार कलाकारसँगै फिचर्ड छिन् ।

अवस्था सामान्य हुँदो हो त यो समयमा दर खाने कार्यक्रम सुरु भइसक्ने प्रितीका पछिल्ला अनुभवले भन्छ । यतिखेरसम्म टेलिभिजनदेखि युट्युबमा तीजको गीत बज्न सुरु भइसक्थ्यो । तर यसपालि पहिलाको जस्तो तीजको रौनक नरहेको प्रिती सुनाउँछिन् । उनी अझै तीजका दुई गीतमा स्वर दिने तयारीमा छन् ।

गत वर्ष 'बीच्चबीच्चमा'बोलको तीज गीतबाट चर्चा बटुलेका गायक दुर्गेश थापाले पनि आफ्नो नयाँ तीज गीत रेकर्डिङ हालै सकेका छन् । 'एउटा फोटो खिच' बोलको गीत उनी चाँडै सार्वजनिक गर्ने तयारीमा छन् । लकडाउनका बेला बाग्लुङ पुगेको समयमा उनले यो गीतको शब्द लेखेका थिए । दर्शकहरुले नयाँ गीतको माग गरेसँगै यो गीत ल्याउन कर लागेको उनी सुनाउँछन् । 'अब दर्शकहरुले यसपालि पनि तीजको गीत ल्याउनुपर्छ भनेर फेसबुकमा कमेन्टदेखि फोन गर्नुभयो । दर्शककै लागि भनेर नयाँ गीत ल्याउँदै छु,' उनले भने, 'आफू नहराउँ भनेर पनि यो गीत ल्याउने जमर्को गरेको हुँ ।'

पछिल्लो समय अधिकांश गायक/गायिकाले स्टेज सो लक्षित गरेर पनि तीज गीत सार्वजनिक गर्थे । त्यही गीतबाट देश/विदेशमा प्रस्तुति दिन पाउँथे । गत वर्ष 'बीच्चबीच्च'ले गर्दा दुर्गेशले थुप्रै स्टेज प्रस्तुति दिएका थिए । यसपालि अधिकांशले स्टेज कार्यक्रमको सम्भावना नदेखेर पनि गीत रेकर्ड नगरेको कुरा सुनिन्छ ।

तर, गायक थापाले आफूलाई त्यस्तो छाप नपरोस् भन्न पनि नयाँ गीत ल्याएको बताउँछन् । 'स्टेज पाउनुपर्छ भन्ने छैन । पहिला-पहिला पनि त स्टेज पाइन्न थियो,' उनले सुनाए, 'स्टेजको लागि मात्र गीत गर्दो रहेछ भन्ने छाप नबोसोस् । आफूसँग नयाँ क्रियसन छ भने जहिले गर्दा पनि हुन्छ नि गीत त ।'

गायक निशान भट्टराईले पनि कोरोनाले गर्दा अधिकांश स्टेज कार्यक्रम छोड्नु परेको थियो । उनले पनि होली पर्वदेखि १० वटा स्टेज कार्यक्रम सबै छोडे । कोरोनाले गर्दा स्टेज कार्यक्रममै भर पर्ने कलाकारको आम्दानीको स्रोत ठप्प पारेको उनी सुनाउँछन् । अहिले रेकर्डिङमा चहलपहल बढेसँगै १० वटा गीतको रेकर्डिङ गरिसके निशानले ।

रिमेश कुमारको शब्द/संगीतमा उनले पहिलोपटक तीज गीतमा स्वर दिएका छन् । 'तीजको माहोल पनि संगीतमा पर्छ भनेर यो तीज गीत गाएँ । १ हप्ताअगाडि गीतको रेकर्डिङ गरेको थिएँ,' उनले आफ्नो अनुभव सुनाए ।

पोखरामा रहेकी गायिका पुर्णकला बिसीलाई कहिले काठमाडौं पुगिन्छ भन्‍ने हतार छ । काठमाडौं आएर लगातार ५ वटा तीज गीतको रेकर्डिङ गर्न उनलाई हतार छ । पास मिल्नासाथ उनी काठमाडौं आउने तयारीमा छन् । 'गीत/संगीतलाई त केही गरे नि छेक्दैन । यसपाली पहिलाकोजस्तो तीजको रौनक नहोला । पहिलाको जस्तो छ्यापछ्याप्ती गीत नआउलान् । सिमित आउलान् राम्रो आउलान् । अहिले गीत गाउन स्टूडियोमा जान पनि डराउनु पर्ने स्थिति छ,' उनले सुनाइन् ।

सुटिङ धमाधम

सरकारले भीडभाड जम्मा हुने अनुमति दिइसकेको छैन । २५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम र सेमिनार पनि गर्न नमिल्ने सरकारले बताएको छ । यस्तो अवस्थामा केहीले भने २५ जना भन्दा बढी सहभागी गराउँदै सुटिङ गरिरहेका छन् ।

निशान भट्टराईले आवाज दिएको तीज गीतको सुटिङमा सुकेधाराको पार्टी प्यालेसमा भएको छ । गीतका केही झलक हेर्दा दुर्गेश र सुष्मासँगै २० जना भन्दा बढी कोरसहरु नाचिरहेको देख्न सकिन्छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बि.जी. यसरी सुटिङ नगर्न सल्लाह दिन्छन् । 'प्रतिष्ठानलाई जानकारी नदिइ कतिजनाले सुटिङ गरिरहनु भएको छ । अहिले आँखा छलेर, झुक्काएर जुन किसिमको भीडभाड गरेर सुटिङ गरिरहेको छ त्यो पटक्कै राम्रो होइन,' उनले भने, 'हामीले संस्था अन्तर्गतका गायक/गायिका/निर्देशकलाई नैतिक दबाब त दिएका छौं । तर जबरजस्ती सुटिङ गरिरहेकालाई के भन्न सकिन्छ । आफैं सचेत भएर काम गर्नुपर्छ भन्ने मेरो अनुरोध छ उहाँहरुलाई ।'

गायक दुर्गेशले आफू फिचरिङ गीतको सुटिङ गर्दा सतर्कता अपनाइएको दाबी गरे । 'अब अहिले धेरै व्यक्तिहरु पनि राख्न दिँदैन,' उनले भने, 'पोहोरको भन्दा केही पृथक भिडियो ल्याउने खोजिरहेका छौं । स्यानिटाजर अनि सामाजिक दूरी नै कायम गरेर सुटिङ गर्ने हो । धेरैजनासँग घुलमिल नभएर थोरै समुहमा नै फोकस हुन्छु ।'

गीतको रेकर्डिङ पनि तीनजना बसेर गरेको उनी सुनाउँछन् । सुटिङस्थलमा १० जनाको समूहमा मात्र राख्ने योजनामा छन् दुर्गेश ।

गायिका प्रिती आले पनि 'फरिया लरीलै बरीलै' मा सामाजिक दूरी कायम गर्दै सतर्कता अपनाएर नै सुटिङ सकेको बताउँछिन् । 'एकहप्ताभित्र गीतको रेकर्डिङ र भिडियो तयार भएको हो,' उनले भनिन्, 'भिडियो सुटिङ पनि एक दिनमै सकियो । सँधैजसो सुटिङस्थलमा धेरैजनाको समूहमा काम हुन्थ्यो । कोरस साथीहरु पनि धेरै हुन्थे । तर यसपाली थोरै समूहमा काम गर्‍यौं । यसपाली मसँग नाच्ने साथीहरु चारमात्रै हुनुहुन्थ्यो । पहिला नाच्न, गाउन साथ पानी भन्ने हुन्थ्यो यसपाली स्यानिटाइजर भन्ने भयो । सतर्कता अपनाइयो ।'

यसअघिका तीजका गीतहरुमा ५० भन्दा बढी कोरससँग उनले नृत्य गरेकी थिइन् । यो गीतको सुटिङ १० जनाको सहभागितामा सम्पन भयो ।

प्रकाशित : असार १५, २०७७ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?