१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गोरोमात्र सुन्दर होइन भन्दै ‘फेयर एन्ड लभ्ली’ को नामबाट ‘फेयर’हटाइने 

काठमाडौँ — सौन्दर्य प्रसाधनका सामाग्रीहरु उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी युनिलिभरले सुन्दरताको परिभाषालाई समावेशी बनाउने निर्णय गरेको बताउँदै गोरो वा सेतो रंगलाई महत्व दिने शब्दहरु आफ्ना उत्पादनबाट हटाउने निर्णय गरेको जनाएको छ ।

गोरोमात्र सुन्दर होइन भन्दै ‘फेयर एन्ड लभ्ली’ को नामबाट ‘फेयर’हटाइने 

युनिलिभरले बिहीबार आफ्नो वेबसाइट मार्फत् 'फेयर-फेयरनेस’,‘ह्वाइट–ह्वाइटेनिङ’ र ‘लाइट–लाइटेनिङ’जस्ता शब्दको प्रयोग आफ्ना उत्पादनको ब्रान्डिङ र विज्ञापनबाट हटाउने घोषणा गरेको हो । फेयर एन्ड लभ्ली क्रिमबाट पनि फेयर शब्द हटाइने भएको र यसको नयाँ नामाकरण केही महिनामा गरिने बताइएको छ ।

कम्पनीका ब्युटी एन्ड पर्सनल केयरका प्रमुख सन्नी जेनले भनेका छन्, 'हामी छालाको कुनै एउटामात्रै रंग सुन्दर हुन्छ भन्ने होइन कि हरेक रंग सुन्दर हुन्छन् र सौन्दर्य कुनै एउटामात्रै रंगमा निहीत छैन भन्ने मान्यता राख्छौं । फेयर, ह्वाइट र लाइट (गोरो र सेतो) शब्दको प्रयोगले एक किसिमको रंग र वर्णलाई मात्र सुन्दरका रुपमा संकेत गर्छ र यो ठिक होइन भन्ने कुरालाई हामी स्वीकार गर्छौं । यी शब्दको प्रयोगलाई नयाँ ढंगले संवोधन गर्न चाहन्छौं ।' उनले भनेका छन्, 'हामी छालाको चमक बढाउने र निखार ल्याउने उत्पादनहरुमा प्रयोग हुने भाषालाई परिवर्तन गर्न चाहन्छौं ।'

उनले एसियाभर बिक्री हुने गरेको क्रिमको विज्ञापनको भाषा पनि परिवर्तन गरिने बताएका छन् । यसको विज्ञापनमा गोरामात्र नभइ अन्य वर्णका महिलाहरुलाई प्रयोग गरिने उनले बताएका छन् । 'हामी कुनै एउटा रंग वा वर्णको होइन व्यक्तिको छालाको चमक र सुन्दरताको पक्षमा छौं, जसमा कुनै एउटा रंगको महत्व हुँदैन,' उनले भनेका छन् । साथै दक्षिण एशियामा बिक्री हुने उत्पादनहरुको प्याकेजिङ पनि परिवर्तन गरिने उनले बताएका छन् ।

सौन्दर्य क्रिम र अन्य उत्पादनहरुले केवल गोरो रंगलाई मात्र सुन्दर ठहर्‍याएर अन्य रंगका मानिसहरुको आत्मसम्मानमा चोट पुर्‍याएको आरोप लाग्दै आएको छ । आफ्नो बजार विस्तारका लागि अन्य रंगका व्यक्तिलाई कमशल वा कुरुप देखाउने विज्ञापनहरुको आलोचना हुँदै आएको छ । यस्ता विज्ञापनका उत्पादनले रंगभेदलाई बढावा दिएको भन्दै प्रतिबन्धको समेत माग हुने गरेको छ ।

यस्ता क्रिमको प्रचारमा देखिने फिल्मस्टारहरुको समेत आलोचना हुने गरेको छ । हालै अमेरिकामा काला जातिका व्यक्तिमाथि रंगका आधारमा भएका हिंसाको विरोध गर्ने कलाकारहरुले गोरो बनाउने क्रिमको विज्ञापनमा पनि अभिनय गरेको भन्दै उनीहरुलाई 'दोहोरो मापदण्ड' अवलम्बन गरेको भनिएको थियो । अश्वेत जर्ज फ्योएडको हत्यापछि उठेको विरोध अभियान 'ब्ल्याक लाइभ्स म्याटर' पछि युनिलिभर यस्तो निर्णयमा पुगेको केही मिडिया रिपोटहरुमा उल्लेख गरिएको छ ।

प्रकाशित : असार ११, २०७७ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?