कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

लकडाउन प्रभाव : सडकमा गीत गाउनेहरु साबुन बनाउँदै

काठमाडौँ — गोकर्णेश्वरस्थित नयाँपाटी चोकबाट एक किलोमिटर हिँडेपछि दृष्टिविहीनका लागि आमा घरले बनाइएको टहरामा पुगिन्छ । सडकमा गीत गाएर गुजारा चलाउने दृष्टिविहीनहरु अहिले कोरोना महामारीका कारण लकडाउन भएपछि डल्ला साबुन बनाएर गुजारा चलाउन थालेका छन् । 

लकडाउन प्रभाव : सडकमा गीत गाउनेहरु साबुन बनाउँदै

टहरामा बसोबास गर्ने सात दृष्टिविहीन परिवारले अहिले डल्ला साबुन बनाउन सुरु गरेको छ । आइतबार टंकबहादुर राउत साबुन बनाउनका लागि एसिडाइल, पाम एसी र सिलकेड केमिकल पकाउँदै थिए । यी ३ प्रकारका केमिकल पकाएपछि झोलमा बन्ने उनले बताए ।

उक्त झोलमा कास्टिङ सोडा, जिसाल नुन, एसिड सोलारी र इन्सर्टन पाउडर राखेर पुन: पकाइन्छ । पकाइसकेपछि सबै केमिकलको मिश्रण नरम हुन्छ । केमिकलको मिश्रणलाई कुट्दै जाँदा बिस्तारै कडा हुँदै जान्छ । केमिकलको मिश्रणलाई डल्लो पार्दा गिर्खा नभेटाउने गरी कुट्नु पर्ने दृष्टिविहीन टेकबहादुर मगराती बताउँछन् । कुटिसकेपछि उक्त मिश्रणलाई डल्लो पारिन्छ ।

तीनवटा डल्ला एक किलोको हुने उनले बताए । डल्ला बनाइसकेपछि त्यसलाई हावा आउने ठाउँमा राखिन्छ । करिब ६ घण्टा सुकाइसकेपछि साबुनको डल्ला प्याकिङका लागि तयार हुने उनले बताए । प्याकिङ गर्दा पनि साबुनको डल्लालाई चिल्लो बनाउनको लागि प्लास्टिकमा घस्राइन्छ ।

मगरातीले केही वर्षअघि गरिबी निवारण कोषले दिएको तालिममा साबुन बनाउन सिकेका थिए । उनले नै अहिले टहरामा बसेका सबैलाई साबुन बनाउन सिकाइरहेका छन् । ‘साबुन बनाउन सकिन्छ, तर त्यसका लागि आवश्यक कुरा पकाउन हामी सक्दैनौं,’ उनले भने, ‘पकाइसकेपछि हामी सजिलै बनाउन सक्छौं ।’ राउत आँखा देख्न सक्छन्, त्यसैले उनैले साबुन बनाउनका लागि केमिकल पकाउँछन् । राउत आँखा देखे पनि खाना खान भने सक्दैनन् । विगत केही वर्षदेखि उनी पाइपबाट झोल पदार्थ मात्र खाएर बाँचिरहेका छन् । दृष्टिविहीनहरुलाई पकाउन गाह्रो हुने भएपछि राउतले पकाउने र अन्य दृष्टिविहीन र परिवारका सदस्यहरुले साबुन बनाउने काम गर्दै आएको मगरातीले बताए ।

उनीहरुले साबुन बनाउन थालेको १५ दिन भयो । त्यस अवधिमा ५०० केजी साबुन बेच्न लगिसकेको उनले बताए । ‘तीनवटा डल्ला भएको साबुनको एउटा प्याकेटको ६९ रुपैयाँ पर्न आउँछ,’ मगरातीले भने, ‘हामीले पसलमा बेच्दा ७५ रुपैयाँमा बेच्छौं ।’ लायन्स क्लबले उपलब्ध गराएको सामानबाट साबुन बनाइरहेको उनले बताए । ‘सुरुवाती चरणमा सहयोग पायौं भने हाम्रो व्यवसाय नै सुरु हुने थियो,’ उनले भने ।

काठमाडौं महानगरपालिकाले सडकमा बस्न, गीत गाउन नपाउने भनेपछि बेसाहारा मानव सेवा आश्रममा र परिवार भएकाहरु घरमै बस्न बाध्य भएका थिए । त्यस्तै सडकमा बस्न नपाउने भनिएपछि फुटपाथमा गीत गाएर गुजारा चलाउने दृष्टिविहीनहरुको रोजीरोटी नै खोसिएको थियो । त्यसपछि वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी (आमा घर) नेपालको सहयोगमा मगराती र राउतले सडकमा बस्न बाध्य दृष्टिविहीनका लागि टहरा बनाएका थिए । मगराती दृष्टिविहीन हुन भने राउत छोराको उपचार गर्न घरबार बेचेर बिचल्लीमा परेका छन् ।

टहरामा ९ वटा कोठा, एउटा भान्छा कोठा र २ वटा शौचालय छ । सडक फुटपाथमा गीत गाएर गुजारा चलाउने मगरातीसहित ९ वटा दृष्टिविहीन परिवार उक्त टहरामा बसोबास गर्छन् । कोभिड–१९ का कारण देशव्यापी भएको लकडाउनको अवधिमा टहरामा ७ परिवार मात्र बसोबास गर्दै आएका छन् । लकडाउन अगावै गाउँ गएका दुई परिवार फर्कन पाएका छैनन् ।

लकडाउनमा समय सदुपयोग गर्न साबुन बनाइरहेको भए पनि अब स्थायी रुपमा बनाउने उनीहरु बताउँछन् । लकडाउनको सदुपयोग र टहरामा बसोबास गर्नेको गुजारा चलाउन उनीहरुले वाग्मती नदी किनाराको बाँझो जग्गा खनेर फर्सीसमेत रोपेको बताए । तर टिप्ने बेला हुँदा असिना पानीले आफूहरुको सबै पसिना खेर गएको उनीहरु दुखेसो छ ।

लकडाउनको अवधिमा सातवटा परिवारलाई आमा घरकी सञ्चालक दिलशोभा श्रेष्ठले २२ हजार रुपैयाँको खाद्यान्न किनेर ल्याइदिएकी छिन् ।

प्रकाशित : असार १०, २०७७ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?