१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

अब देख्नुपर्दैन विष्णुले छोरो खोस्ने ट्रक

साढे ४ वर्षअघि भारतीय ट्रकले ठक्कर दिँदा सतुंगलका युगल श्रेष्ठले ज्यान गुमाए । अहिले प्रहरीले त्यही ट्रक लिलामीमा बेचेर पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउँदै छ ।
जनकराज सापकोटा

काठमाडौँ — सतुंगलका विष्णुदास श्रेष्ठलाई नजिकैको महानगरीय प्रहरी वृत्त, थानकोटमा हत्पती छिर्न मन लाग्दैन । तर कामविशेषले नपुगी धरै थिएन ।

अब देख्नुपर्दैन विष्णुले छोरो खोस्ने ट्रक

उनले प्रहरीलाई भने पनि, ‘मलाई यहाँ कहिल्यै आउनु नपरोस् जस्तो लाग्छ ।’ सुनेर वृत्तप्रमुख डीएसपी घनश्याम श्रेष्ठ अचम्ममा परे । प्रहरी जनताको साथी भएको सुनाउँदै उनले कारण सोधे । विष्णुले वृत्तको एक छेउमा थन्किएको सुन्तला रंगको ट्रकतिर औंल्याउँदै भने, ‘यहाँ छिरेपछि उः त्यही गाडी देखिन्छ ।’ यति भनिनसक्दै विष्णुका आँखा ओसिला भए ।

डीएसपी श्रेष्ठले साढे चार वर्षअघिको एउटा फाइल पल्टाएपछि बल्ल विष्णुको आँखा रसाउनुको कारण थाह पाए । २०७२ पुसको कुरा हो । कन्टेनर चालक विष्णुका एक मात्र छोरा युगल थप अध्ययनका लागि अमेरिका जाने तरखरमा थिए । उनका अनुसार २० वर्षीय छोराले चार्टर्ड अकाउन्टेन्ट कोर्स पढ्न भिसा लिईवरि टिकटसमेत काटिसकेका थिए । अमेरिका उड्नुभन्दा दुई दिनअघि पुस ५ गते युगल सानीमालाई मोटरसाइकलमा थानकोटस्थित डेरा पुर्‍याएर फर्किंदै थिए । तर, दाउरा डिपोनजिकै विपरीत दिशाबाट लेन मिचेर हुइँकिँदै आएको ट्रकले उनलाई ठक्कर थियो । युगलले चलाएको बा६३प १४१७ नम्बरको मोटरसाइकल घिस्रिँदै गएर रोशनकुमार चौधरीले चलाएको बा६७प ८८२९ नम्बरको मोटरसाइकललाई धक्का थियो । उनलाई ठक्कर दिने यूपी२५एपी १०१९ नम्बरको भारतीय ट्रक भने घटनास्थलनजिकै रोकियो । तर घाइते युगल र रोशनलाई अस्पताल नपुर्‍याउँदै भारतको बरेली, ठिरिया निजावट थाना–८ अस्थायी ठेगाना भएका चालक अकबर खान फरार भइसकेका थिए ।

रोशनलाई प्रहरी र स्थानीयले सतुंगलको बागेश्वरी अस्पताल लगे । बेहोस भएका युगललाई वीर अस्पताल पुर्‍याइयो । तर सोही राति ८ बजेर १५ मिनेटमा उनको मृत्यु भयो । रोशन भने केही दिन उपचारपछि निको भएर फर्के । घटनापछि प्रहरीले उक्त ट्रक थानकोट वृत्तमा राख्यो ।

त्यो घटना सम्झिँदा विष्णुको मन अहिले पनि भक्कानिन्छ । उनले भने, ‘घटनाको ६/७ महिनासम्म हामी सबै परिवार घरबाहिर निस्कनै सकेका थिएनौं । कति रोयौं, हिसाब गरी साध्य छैन ।’

घटनापछि वृत्तले सवारी ज्यान कसुरमा अनुसन्धान थाल्यो तर चालकलाई फेला पार्न सकेन । त्यसपछि प्रहरीले सवारी ज्यानसम्बन्धी कसुरको मुद्दा जिल्ला अदालत र क्षतिपूर्ति प्रक्रियाका निम्ति जिल्ला प्रशासन कार्यालयमा फाइल बुझायो ।

प्रशासनले २०७४ साउन ५ गते नियमानुसार उक्त भारतीय ट्रक लिलामी गरेर पीडित परिवारलाई क्षतिपूर्ति दिन पत्राचार गर्‍यो । तर त्यसयता ट्रक लिलामीको पहलै गरिएको थिएन । घटनाको इतिवृत्त पढेपछि डीएसपी श्रेष्ठले लिलामीको प्रक्रिया अघि बढाए । यसका लागि उनले जिल्ला प्रशासन, यातायात व्यवस्था विभाग र कोष तथा लेखा नियन्त्रकको कार्यालयसँग समन्वय गरे । गत फागुन २७ मा लिलामीका लागि मूल्यांकन समितिको बैठक बस्यो जसले ट्रकको मूल्य ६ लाख ३० हजार तोक्यो ।

डीएसपी श्रेष्ठले आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ५८ अनुसार लिलामीको सूचना निकाले । तर ट्रक किन्न कोही आएनन् । उनले फेरि समितिको बैठक डाकेर ट्रकको पुनः मूल्यांकन गरी ४ लाख ७५ हजार कायम गराई बोलकबोलको विज्ञापन गरे । पछिल्लो विज्ञापनपछि दुई दरखास्त परे । जेठ २९ गते थानकोट वृत्तमा जिल्ला प्रशासन, कोष तथा लेखा नियन्त्रक कार्यालय र विभागका प्रतिनिधिसहितको बैठकले ४ लाख ८० हजारमा ट्रक किन्न इच्छुकको निवेदन स्विकार्‍यो ।

चार वर्षदेखि रोकिएको लिलामीको काम झन्डै चार महिना लामो कागजी प्रक्रिया पूरा गरेर डीएसपी श्रेष्ठले विष्णुलाई फोन गरे । ‘डीएसपी सापले ट्रक विक्री भएको र केही दिनमा पैसा दिने कुरा सुनाउँदा म छक्कै परेँ,’ विष्णुले सुनाए, ‘यतिका वर्ष रोकिएको थियो ।’ कान्तिपुरसँग कुराकानी गर्दा उनी सामान ओसार्न आफ्नै ट्रक लिएर इटहरी पुगेका रहेछन् । तीन महिनासम्म घरमै लकडाउन भएपछि केही दिनअघि मात्र निस्केका रहेछन् । ‘भएको एउटै छोरा त गुमाएँ । तर क्षतिपूर्ति पनि पाएको थिइनँ । अब पाउँछु होला,’ उनले भने ।

त्यो पैसा हात परे के गर्ने भन्ने योजना विष्णुले पहिल्यै बनाइसकेका छन् । ‘मेरै टोलमा गणेशको मन्दिर बनाउन लाग्या छन् । छोराको नाममा केही पैसा त्यहाँ दिन्छु भनेर भन्या छु,’ उनले सुनाए ।

प्रकाशित : असार ८, २०७७ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?