२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

पानी बोक्‍ने सास्ती हटेपछि...

ज्योति कटुवाल

दैलेख — भैरवी गाउँपालिका–१ जडारमुलकी देउकला कार्की घर–आँगनमै धारो पाउँदा निकै दंग छिन् । एक गाग्री पानीको लागि बिहान ४ बजे उठेर कुवामा धाउनुपर्ने बाध्यता टरेको छ । लकडाउनको समयमै घरमा पानीको धारा पुगेपछि यसले झन् खुसी थपेको छ ।

पानी बोक्‍ने सास्ती हटेपछि...

जडारमुल सोलारलिफ्ट खानेपानी तथा सरसफाइ आयोजना सम्पन्‍न भएसँगै एक महिनाअघि गाउँमा पानी पुगेपछि उनीजस्तै अन्य महिलाहरु पनि खुसी भएका छन् । उनीहरु वर्षौंदेखि करिब ४ घण्टा हिँडेर जडारमुल खोलामा रहेका कुवाको पानी पिउन बाध्य थिए । ‘अब त धित मर्ने गरि पानी पिउन पाइने भयो,’ देउकलीले भनिन्, ‘पानी आएपछि त सरसफाइ गर्न पनि सजिलो हुने भयो ।’

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको ५२ लाख रुपैयाँमा गाउँमा खानेपानी पुगेको हो । यसबाट जडारमुलका ५२ परिवार लाभान्वित भएका छन् । परियोजनाका संयोजक चक्र भण्डारीका अनुसार गत मंसिरदेखि आयोजनाको काम सुरु भएको थियो । लकडाउनको बेला पनि सुरक्षाको सावधानी अपनाउँदै काम भएकोले निर्धारित समयमै उपभोक्तालाई पानी दिन सफल भएको उनले बताए ।

घण्टौं हिँडेर कुवामा पुगे पनि महिलाहरु लाइनमा लागेर पानी ल्याउँथे । कहिलेकाहिँ त कुवामा पानी सुक्दा रित्तै फर्किनु परेको स्थानीय शर्मा कार्कीले बताइन् । ‘पानीको लागि जीवनभरि दुःख पाइयो, अब सुखका दिन फर्केका छन्,’ उनले भनिन्, ‘अब घरमै बसीबसी पानी पिउन पाइने भयो ।’

परियोजनाले लकडाउन अवधिमै ठाँठीकाँध–१, नुवावनमा पनि पानी पुर्‍याएको छ । पानी पुगेपछि ४० घरधुरी लाभान्वित भएका छन् । ३० लाख रुपैयाँ लागतमा नुवावन खोलाबाट पानी पुर्‍याइएको परियोजनाले जनाएको छ । स्थानीय लालसरा सुनारले गाउँमै पानी पुगेपछि घण्टौं हिँडेर पानी ल्याउनुपर्ने बाध्यता हटेको बताइन् । ‘पानीकै लागि दौडिँदा बालबच्चालाई समय दिन पनि सकिन्थेन,’ उनले भनिन्, ‘पानीले बालबच्चाको पढाइन पनि सप्रिने भयो ।’ गाउँमा पानी पुगेपछि बढी भएको पानीलाई करेसाबारीमा प्रयोग गर्ने गरिएको उनले बताइन् ।

परियोजनाले अहिले यहाँका ५ स्थानीय तहका ३४ वडामा खानेपानी, सिँचाइ र जीविकोपार्जनको लागि ८ करोड ८० लाख रुपैयाँ खर्च गरेको छ । परियोजना प्रमुख लक्ष्मीचन्द्र महतले पाँचै स्थानीय तहका विद्यालय, वडा कार्यालय र स्वास्थ्यचौकीमा खानेपानीको व्यवस्था गरिएको बताए ।

लकडाउन अवधिमा गाउँमा पानी पुर्‍याउन स्थानीय तहले पनि हातेमालो गरेका छन् । भैरवी–१ का वडाध्यक्ष काशीराम कार्कीले लकडाउनको कारण गाउँमा मान्छेहरु भएको मौका मिलेपछि परियोजनाको काम छिटो सक्न सघाउ भएको बताए । ‘लकडाउनले जनतालाई दुःख भए पनि खानेपानीले गाउँमा खुसी ल्याएको छ,’ उनले भने ।

प्रकाशित : असार ५, २०७७ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?