मध्याह्नमै अस्ताएको ‘सूर्य’

‘रिल लाइफ’ मा छोरालाई जीवनप्रतिको मोह पैदा गरेका सुशान्तसिंह राजपुतले ‘रियल लाइफ’ मा आफैंले आफ्नो जीन्दगीको अन्त्य गरेका छन् ।
गोकर्ण गौतम

काठमाडौँ — ‘जिन्दगीमा सबैभन्दा महत्त्वपूर्ण केही छ भने त्यो जिन्दगी नै हो ।’ फिल्म ‘छिछोरे’ मा सुशान्तसिंह राजपुतले बोल्ने संवाद हो यो । यसमा उनी बुबाको भूमिकामा छन्, उनको छोराले परीक्षाको सोचेजस्तो नतिजा नआएपछि आत्महत्याको प्रयास गर्छन् । सुशान्त अस्पतालको शय्यामा छोरालाई अनेक तरहले बाँच्न र फेरि संघर्षमा रमाउन उत्प्रेरित गर्छन् ।

माथिको संवाद नै फिल्मको मूल मर्म हो । हलमा रिलिज भएको उनको अन्तिम फिल्म हो ‘छिछोरे’ । ‘रिल’ मा छोरालाई जीवनप्रतिको मोह पैदा गरेका सुशान्तले ‘रियल’ मा आफैंले आफ्नो जिन्दगीको अन्त्य गरेका छन् । आइतबार मुम्बई बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा उनी झुन्डिएको अवस्थामा फेला परे । कस्तो नमीठो संयोग !

लकडाउनयता सुशान्त अपार्टमेन्टमा एक्लै थिए । आइतबार अबेरसम्म उनको पोस्टमार्टमको रिपोर्ट आएको छैन । ६ महिनायता उनी डिप्रेसनबाट पीडित थिए भनिएको छ । उनी झुन्डिएको देखेपछि घरको सहयोगीले प्रहरीलाई खबर गरिदिएका थिए । सात वर्षको फिल्म करिअरमा सुशान्तले जे जति कमाए, त्यो साँच्चै लोभलाग्दो छ ।

उनका फिल्म बक्सअफिसमा चम्किएनन् मात्र, दर्शकको दिलमा पनि बसिरहे । सधैं प्रशंसाको केन्द्रमा हुन्थ्यो, सुशान्तको जीवन्त अभिनय । उनी पर्दामा जे बन्थे, जीवन्त लाग्थ्यो । बलिउडका पण्डितहरूले त्यसै भनेका थिएनन्– ‘फिल्मस्टारमा हुनुपर्ने तर सुशान्तसँग नभएको त्यस्तो कुनै गुण नै छैन ।’ बच्चादेखि तन्नेरी हुँदै पाका उमेरका समूहका दर्शकको माया जितेका सुशान्तले ३४ वर्षमै जीवनयात्रा टुंगाए ।

नेपालमा पनि नेतादेखि कलाकारसम्मले उनीप्रति संवेदना प्रकट गरेका छन् । राप्रपा नेता कमल थापाले ट्वीटरमा महेन्द्रसिंह धोनीको बायोपिकमा सुशान्तको अभिनय मन परेको उल्लेख गर्दै उनको आत्माको शान्ति कामना गरेका छन् । मनीषा कोइरालाले ट्वीटरमा लेखेकी छन्, ‘यो सुनेर एकदमै स्तब्ध छु । विभिन्न विषयमा उनको बहस मन पर्थ्यो । हार्दिक समवेदना । ओम शान्ति ।’

अभिनेता प्रियंका कार्कीले ट्वीटरमा सुशान्तको तस्बिर पोस्ट गर्दै डिप्रेसनको अनुहार नहुने भएकाले सबैसँग नम्र हुन आग्रह गरेकी छन् । उपन्यासकार बुद्धिसागरले लेखेका छन्– ‘गज्जबका अभिनेता थिए । युवा थिए, भविष्य स्वर्णिम थियो । तर, सुटुक्क हिँडिहालेछन् ।’ सुशान्तको निधनको खबर सार्वजनिक भएको केही घण्टामै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत समवेदना व्यक्त गरे । ‘एउटा प्रतिभाशाली युवा अभिनेता छिट्टै गए । मनोरञ्जनको दुनियाँमा उनको उदयले धेरैलाई प्रेरणा दिएको छ र अनेकौं यादगार अभिनयले उनी बाँचिरहनेछन् ।’

बलिउडका बादशाह शाहरूख खानले भावविह्वल भएको उल्लेख गरेका छन् । शाहरूखको ट्वीट छ, ‘उनी मलाई असाध्यै माया गर्थे । म उनलाई सधैं सम्झनेछु । उनको उर्जा, उत्साह अनि खुसीले भरिएको मुस्कान...।’ अक्षयकुमार, अनुराग कश्यप, अजय देवगन, आलिया भट्ट, महेश चाब्रालगायत बलिउडकर्मी मर्माहत बनेका छन् । सन् २०१३ मा ‘काई पो चे’ मार्फत बलिउडमा पाइला राखेका सुशान्त १९८६ मा पटनाको मध्यम वर्गीय परिवारमा जन्मिएका थिए । पढाइमा अब्बल उनलाई मेकानिकल इन्जिनियरिङ पढ्दै गर्दा कलाकारिताको चस्काले छोयो ।

यो सन् २००४ तिरको कुरा हो । उनले चाहेर पनि आफ्नो अभिनयमोह परिवारमा व्यक्त गर्न सकेनन्, २००२ मा आमाको निधनपछि थप अन्तरमुखी बनेका उनले गत जुन ३ मा इन्स्टाग्राममा आमा र आफ्नो तस्बिर पोस्ट गरेका थिए । सन् २००५ मा फिल्मफेयर अवार्डस् सोको कोरसमा नाच्नेमध्ये सुशान्त पनि एक थिए । अर्को वर्ष कमनवेल्थ गेम्सको उद्घाटनमा नाच्न अस्ट्रेलिया पुगे । नृत्य र अभिनय प्रशिक्षणमा लीन भएकाले पढाइ छाडेर अभिनयको अनन्तयात्रामा निस्किए । सुरुमा मुम्बईकै नाट्य समूहसँग जोडिएका उनले भनेका थिए, ‘मलाई मुक्तिको अनुभव भयो । दर्शकसँग संवाद गर्न सक्छु । मैले थाहा पाएँ कि म सदैव अभिनय गर्न चाहन्छु ।’

सुशान्त २००८ मा स्टार प्लसको ‘किस देश में हे मेरा दिल’ मा देखिए । सहायक भूमिकाका कारण खासै ‘नोटिस’ भने भएनन् । ‘पवित्र रिस्ता’ (सन् २००९–२०११) ले चाहिँ उनलाई टेलिभिजन दर्शकमाझ लोकप्रिय बनायो । अभिषेक कपुरले ‘काई पो चे’ मा अभिनय गराएर सुशान्तको एक तहको सपना पूरा गरिदिए । यसले बक्सअफिसमा कमाल गर्‍यो, सुशान्तले वाहवाही पाए । रोमान्टिक–कमेडी ‘शुद्ध देशी रोमान्स’ (सन् २०१३) ले उनको लोकप्रियताको दायरा फराकिलो बनाइदियो । आमिर खानको ‘पिके’ (सन् २०१४) मा सहायक भूमिकामात्र थियो उनको, तैपनि फिल्मको अन्त्यतिर उनलाई देख्दा जो कोहीको आँखा रसाउँथ्यो । एक्सन–थ्रिलर फिल्म ‘डिटेक्टिभ बम्केश वक्षी !’

(सन् २०१५) भने उत्साहप्रद हुन सकेन । जब भारतीय क्रिकेट टिमका तत्कालीन कप्तान महेन्द्रसिंह धोनीको बायोपिक ‘एम.एस. धोनी : द अन्टोल्ड स्टोरी’ (सन् २०१६) मा देखिए, तब सुशान्तको करिअर कायापलट भयो ।

‘राब्ता’ (सन् २०१७) मा उनको अभिनयले प्रशंसा बटुले पनि हिट भएन । ‘केदारनाथ’ (सन् २०१८) मा उनी भरिया बनेका थिए, यो उनको करिअरको अर्को माइलस्टोन फिल्म बन्यो । गत वर्ष उनका ‘सोनचिडिया’ र ‘छिछोरे’ रिलिज भएका थिए । उनको मुख्य भूमिका थियो । ‘द फल्ट इन आवर स्टार्स’ को हिन्दी रिमेक ‘दिल बेचरा’ पोस्ट प्रोडक्सनका क्रममा छ । यो नै उनको अन्तिम फिल्म बन्ने भएको छ ।

प्रकाशित : असार १, २०७७ ०५:५४
प्रतिक्रिया
पठाउनुहोस्

रंगभेदविरुद्ध फ्रान्समा बढ्यो प्रदर्शन

ददि सापकोटा

पेरिस — अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको प्रहरी नियन्त्रणमा ज्यान गएपछि सुरु भएको विरोध प्रदर्शन फ्रान्समा बढ्दै गएको छ ।

फ्रान्समा बढ्दो अन्याय, जातीय विभेदको उन्मूलन, प्रहरी क्रूरता र रंगभेदको अन्त्य गर्न आह्वान गर्दै शनिबार तथा आइतबार हजारौं अल्पसंख्यक प्रदर्शनकारीले नाराजुलुस गरेका छन् । लकडाउनको नियम उल्लंघन गर्दै भएको प्रदर्शनमा सहभागीले उत्तेजित नारा लगाएका थिए । प्रहरीले प्रदर्शनकारीलाई लक्षित गरी दर्जनौं अश्रुग्यास प्रहार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनकारीहरूले फ्रान्सको गणतन्त्रको प्रतीक ‘मारियान’ को विशाल मूर्तिमा चढेर ‘न्याय छैन भने शान्ति पनि छैन’ भन्ने नारा लगाएपछि प्रहरीले तितरबितर पारेका थिए । त्यसपछि मध्य पेरिसको ओपेरा हाउसमा जान खोजेका प्रदर्शनकारीलाई प्रहरीले रोकेको थियो ।

फ्रान्सका पेरिस, मासेई, लियों, बोर्दो, निसलगायत विभिन्न सहरमा भएका प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच केही मुठभेड भएका छन् । सम्भावित हिंसा रोक्न प्रहरीले ‘ब्ल्याक मार्च मार्ग’ लाई घेरा हालेर नियन्त्रणमा राख्न खोजेको छ ।

फ्रान्स अफ्रिकी मूलका नागरिकहरूको संख्या सबैभन्दा बढी भएको युरोपेली मुलुक हो । फ्रान्सको कुल जनसंख्या ६ करोड ५० लाखमध्ये ८ प्रतिशत अफ्रिकी मूलका नागरिक छन् । खासगरी आप्रवासी मूलका नागरिकहरूमाथि समान सुविधा नदिएको, विभेदपूर्ण व्यवहार नगरेको र फ्रान्सेली प्रहरीले क्रूर व्यवहार गर्ने भन्दै बारम्बार प्रदर्शनहरू हुँदै आएका छन् ।

एटलान्टामा २७ वर्षीय अश्वेत नागरिक रेसर्ड ब्रुक्सको प्रहरीको गोली लागी मृत्यु भएपछि फ्रान्समा पनि त्यसले ठूलो प्रभाव पार्ने देखिन्छ । यो घटनापछि अश्वेत नागरिकहरू साँच्चै राज्यद्वारा अपहेलित र असुरक्षित रहेका भन्दै थप आन्दोलन चर्काउने अधिकारकर्मी र अफ्रिकी मूलका नागरिकहरूले घोषणा गरेका छन् ।

पेरिसमा आयोजित विरोध प्रदर्शनको नेतृत्व अदामा ट्राओरेका समर्थकहरूले गरेका थिए । उनको मृत्यु अमेरिकी नागरिक जर्ज फ्लोयडको समान छ । फ्रान्सेली अश्वेत नागरिक ट्राओरेको सन् २०१६ मा प्रहरी हिरासतमा ज्यान गएको थियो ।

उनको मृत्युबारे अनेक अड्कलबाजी र शंका छन् । यद्यपि, उनको मृत्युका लागि जिम्मेवार को थिए भन्नेबारे हालसम्म पनि केही जनाइएको छैन । अफिकी मूलका नागरिकले उनको हत्यामा दोषी किटान गर्न निरन्तर माग गर्दै आइरहेका छन् ।

फ्रान्समा हुने जातिवाद र रंगभेदविरुद्धको प्रदर्शनीमा ट्राओरेले न्याय पाउनुपर्ने भन्दै माग गरिँदै आएको छ । ट्राओरे र जर्ज फ्लोयडको घटनाका कारण पनि फ्रान्समा अश्वेत नागरिकविरुद्ध विभेद भएको भन्दै प्रदर्शनीहरू बढेका छन् ।


प्रकाशित : जेष्ठ ३२, २०७७ २२:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×