शिव श्रेष्ठको डेब्यू स्मृति : सुटिङ सेटबाट तीन पटक भागेको थिएँ

'म आफै हिरो बनेको होइन, मलाई प्रकाश थापाले हिरो बनाइदिनुभएको हो'
रीना मोक्तान

काठमाडौँ — विराटनगरको जलजला हल नजिकै थियो, शिवसुन्दर श्रेष्ठको घर । काठमाडौंको किलागल किसी गल्लीमा जन्मेका उनी अध्ययनको सिलसिलामा पुगेका थिए विराटनगर ।  महेन्द्र मोरङ क्याम्पसमा आईए पढ्दै थिए । यो २०३७ को कुरा हो ।

शिव श्रेष्ठको डेब्यू स्मृति : सुटिङ सेटबाट तीन पटक भागेको थिएँ

हलनजिकै भएकाले नयाँ फिल्म लाग्नेबित्तिकै उनी साथीहरुसँग फिल्म हेर्न पुगिहाल्थे । प्रकाश थापा निर्देशित 'सिन्दुर' फिल्म उनले त्यहीँ हेरेका थिए । उनलाई फिल्म असाध्यै मन परेको थियो । फिल्म हेरिसकेपछि साथीहरुसँगै शिव क्यारम खेल्नतिर थाले ।

क्यारम खेल्दै गर्दा एकजना साथीले उनीहरुलाई निर्देशक थापा पनि जलजलामा आएको खबर गरे । साथीहरु सबै थापालाई हेर्न आतुर भए । शिवले मानेनन् । किनकि उनी क्यारममा जितिरहेका थिए । जित्नेले समोसा खान पाउँथ्यो । त्यसैले उनको ध्यान जितेर समोसा खानेतिर नै थियो । साथीहरु बीचमै खेल छोडेर निर्देशक थापालाई भेट्न हलतिर दौडिए । एक्लै कसरी क्यारममा खेल्नु, शिव पनि साथीहरुलाई पछ्याउँदै हल पुगे ।

निर्देशक थापा भीडले घेरिएका थिए । पान चपाउँदै गरेका निर्देशक थापालाई देख्नेबित्तिकै शिवको मुखबाट अचानक फुत्कियो, 'दाय नमस्ते तपाईंलाई बधाई छ ।'

'मलाई कसले नमस्कार गरेको ?' भन्दै प्रकाशले भीडबाट आवाज दिए । परिचय खुलाएपछि उनले शिवलाई तलदेखि माथिसम्म नियाले । भोलिपल्ट ११ बजे भेट्न बोलाउँदै प्रकाश छुट्टिए । भोलिपल्ट निर्धारित समयमा शिव प्रकाशलाई भेट्न हल पुगे । घण्टौं कुरे तर प्रकाश आइपुगेनन् । घर फर्के । भोलिपल्ट फेरि त्यही समयमा हल पुग्दा भने प्रकाशसँग उनको भेट भयो । शिवसँग भेट्ने भनेको दिन उनी बुवाको आँखा जँचाउन गएका रहेछन् । दोस्रो भेटमा शिवले प्रकाशलाई सोधिहाले, 'दाइ तपाईंले मलाई किन बोलाउनु भएको ?'


त्यसदिन पनि प्रकाशले शिवलाई तलदेखि माथिसम्म नियाले । अनि भने, 'भाइ फिल्ममा खेल्ने हो ?'

शिवले सिधै अस्वीकार गरे, 'मलाई अभिनय गर्न आउँदैन दाइ । म गर्दिनँ फिल्म ।' उनको जवाफ सुनेर प्रकाश मात्र मुस्कुराइरहे । 'अन्त्यदेखि सुरुसम्म' भन्ने पुस्तकको कथामा फिल्म बनाउन लागेको भन्दै उनले शिवलाई गोरखापत्र हेर्न भने । काठमाडौं फर्केपछि उनले गोरखापत्र हेरे । त्यसमा फिल्मका लागि आवेदन खुल्ला गरिएको थियो । उनले खलपात्र भूमिकाका लागि आवेदन दिने सोचे । आवेदन दिन तत्कालीन शाही नेपाली चलचित्र संस्थान, बालाजुमा गए ।

त्यहाँ उनलाई तीन किसिमका डायलग दिइयो । तयारीका लागि १५ मिनेट समयावधि । क्यारिकेचर गर्न माहिर शिवले मज्जाले डायलग बोलिदिए । त्यसपछि खलपात्र बन्न गएका उनी फिल्मको 'हिरो'मा छनौट भए । शिवका अनुसार त्यतिबेला भुवन केसी, शम्भुजित बास्कोटाले पनि उनीसँगै आवेदन दिएका थिए । त्यो फिल्मको नाम थियो 'जीवनरेखा' । जहाँबाट सुरु भयो शिवको अभिनय यात्रा । ‌'मैले जीवनमा थुप्रै फिल्ममा काम गरेँ तर आज पनि पहिलो फिल्मका अनुभंति विशेष लाग्छ', यो फिल्मसँग जोडिएका रमाइला र अविस्मरणीय किस्साहरु अझै उनको स्मृतिमा ताजै छ ।

सुटिङबाट भाग्दा…

यो फिल्ममा शिवलाई 'हिरो'को भूमिका दिइए पनि खासमा उनी खलपात्रकै रुपमा देखिन चाहन्थे । त्यसैले सुटिङ सुरु भइसक्दासम्म पनि उनले पटकपटक निर्देशकसँग अनुरोध गरेका थिए, 'दाइ मलाई गुन्डाको रोलमा लिनुस् । फाइट सिनमा लिनुस । हिरो त सक्दिनँ ।' तर निर्देशक थापाले मानेनन् । मुस्कुराउँदै जवाफ फर्काउँथे, 'मेरो नाम प्रकाश थापा हो । म छु नि, तिमीले मलाई पछ्याउनू ।'

यसरी फिल्म 'जीवनरेखा'को सुटिङ सुरु भयो । फिल्मकी अभिनेत्री थिइन् मिनाक्षी आनन्द । मिनाक्षी छेउमा आउनासाथ शिव थरथर काँप्थे । २३ वर्षीय शिवले त्योबेला न कुनै अभिनयको तालिम लिएका थिए न अभिनय गर्ने सोचेका थिए । अभिनय गर्न गाह्रो पर्‍यो उनलाई । त्यसैले आफूले अभिनय गर्न नसक्ने भन्दै सुटिङबाट तीन पटक भाग्दाको क्षण आज पनि शिवको मानसपटलमा ताजै छन् । 'सुटिङमा के गर्नी, कसो गर्नी थाहा थिएन। त्यो फिल्मबाट म तीन चोटि भागेको थिएँ,' नोस्टाल्जिक हुँदै शिवले सुनाए ।

निर्देशक थापा हौसलासहित उनको ढाड थपथपाउँथें । तर, सुटिङ सुरु गर्न लाग्दा शिव 'सक्दिनँ' भन्दै पछाडि हट्थे । एकदिन निर्माण टिम पोखरामा अन्य कलाकारको सुटिङ गर्दै थियो । त्यसदिन शिवको सुटिङ थिएन । टिम पोखराको अन्य ठाउँमा सुटिङ गर्न गएको मौकामा शिवले काठमाडौंको बस समाते । टिमले फेरि बोलायो, उनी पोखरा फर्के ।

त्यसपछि फेरि काठमाडौंमा सुटिङ भइरहँदा भागेर विराटनगर पुगे । निर्माण टिमले त्योबेला पनि फकाइफुलाइ उनलाई बोलायो । त्यसपछि फेरि काठमाडौं फर्के । तेस्रो पटक फेरि काठमाडौंको सुटिङ छोडेर दार्जीलिङ भागे । 'अब त म फिल्म खेल्दै खेल्दिनँ भनेर दार्जीलिङ भागेको थिएँ । साथीसँगै दार्जीलिङ घुम्ने योजना थियो,' उनले पुराना दिन सम्झे । त्यतिखेर स्वर्गीय गौरीकार मैनाली प्रोडोक्सन कन्ट्रोलमा थिए । चेतन कार्की प्रोडोक्सन चिफ । दुवैले शिवलाई सम्झाइबुझाइ काठमाडौं फर्काए ।

'अरु भूमिका दिनुस् गर्छु तर मुख्य भूमिका गर्दिनँ,' काठमाडौं फर्केपछि उनले सर्त राखे । त्यतिखेर आँखाभरि आँसु लिँदै प्रकाशले भनेका कुरा आज पनि सम्झन्छन् उनी, 'हेर शिव दुनियाँ मान्छेले मलाई हिरो हुन सोर्सफोर्स लगाए । तर मैले तिमीलाई चुनेँ । तिमीमा जे छ तिम्रो आँखामा छ ।'

सुटिङ छोडेर भागिरहँदा पनि टिमले शिवलाई यसरी बोलाइरह्यो । उनीहरुले नबोलाएका भए आज आफू यो स्थानमा नपुग्ने शिव सुनाउँछन् । 'त्यतिखेर उहाँहरुले मलाई नबोलाउनु भएको भए आज म शिव श्रेष्ठ हुन्थिन् होला,' उनले भने, 'म आफै हिरो बनेको होइन, मलाई प्रकाश थापाले हिरो बनाइदिनुभएको हो । आखिर उहाँले मलाई कसरी बोल्ने, कसरी हिँड्ने, कसरी हाँस्ने, कसरी रुने सिकाउनुभयो ।'

यसरी फिल्मको काम सक्न बाध्य भए उनी । 'तिम्रो भागको जति खिचाइमा खर्च भएको छ त्यति तिमीले बेहोर्नुपर्छ भन्दै मलाई उहाँहरुले तर्साउनु पनि भयो । त्यसपछि त म फिल्म गर्न बाध्य भएँ,' उनले सुनाए ।

फिल्म तयार भयो । फिल्मको ट्रायल सो उनीहरुले बालाजुमै हेरे । त्यो ट्रायल सो पनि उनी कहिल्यै बिर्सँदैनन् । 'भाइलाई कस्तो लाग्यो फिल्म ?' मौन मुद्रामा रहेका शिव प्रकाशको प्रश्नले झस्किएका थिए । 'मैले सोच्दै नसोचेको कुरा पर्दामा देखें । स्क्रिनमा साँच्चै मैले नै अभिनय गरेको हो त भनेर म छक्कै परें,' उनले ट्रायल सो सम्झँदै भने, 'त्यसपछि मैले उहाँको गोडा छोएँ ।'

त्यसपछि शिवले कास्टिङमा आफ्नो नाम छुटेको गुनासो पोखे । 'हिरोको नाम पनि छुट्छ' भन्दै प्रकाशले फेरि कास्टिङ रिप्ले गर्न लगाए । त्यहाँ कलाकारको नामहरुमा शिव श्रेष्ठ पनि थियो । 'मेरो नाम त शिवसुन्दर श्रेष्ठ हो' शिवले यस्तो भन्नेबित्तिकै प्रकाशले थपिहाले, 'सुन्दर त तिमी छँदैछौ अबदेखि तिमी शिव श्रेष्ठ ।' त्यस दिनदेखि उनी दर्शकमा शिव श्रेष्ठको नामले चर्चामा आए ।

शिवले कहिल्यै फिल्म क्षेत्रमा प्रवेश गर्ने सोचेका थिएनन् । उनको एउटै सपना थियो पाइलट बन्ने । पछि इन्स्पेक्टर बन्ने सोचेका थिए । 'मामा द्वारिका श्रेष्ठ डीएसपी हुनुहुनथ्यो । उहाँले पहिला असई बन अनि इन्सपेक्टर बनाइदिन्छु भन्नु भएको थियो। तर म सुरुमै इन्सपेक्टर बन्न चाहन्थें, ' उनले भने, '६ महिनापछि मात्र इस्पेक्टर बन्ने भएपछि म आर्मीमा गए । ब्रिटिस क्याम्पमा परीक्षा थियो । परीक्षमा नाम निकालें । कलाकार नभएको भए आज म लाहुरे हुन्थें होला ।'

प्रकाशित : जेष्ठ ३२, २०७७ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?