३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

'नमस्कार, कोभिड-१९ को दैनिक अपडेटमा स्वागत छ'

बुनु थारु

काठमाडौँ — सधैंझैं सोमबार दिउँसो सवा ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक अपडेटमा उपस्थित भइसकेका थिए, मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा । कोभिड-१९ को नियमित अपडेट गराइरहँदा एक्कासि उनलाई खोकी लाग्यो ।

'नमस्कार, कोभिड-१९ को दैनिक अपडेटमा स्वागत छ'

ख्याक…ख्याक… गर्दै मुस्किलले सम्हालिए र अपडेटलाई निरन्तरता दिए ।मन्त्रालयको आधिकारिक फेसबुकबाट प्रसारण भइरहेको लाइभ हजारौंले हेरिरहेका थिए । एक जनाले कमेन्टमा लेखिहाले, 'डाक्टरसा'बलाई पनि पीसीआर गराउनुपर्ने जस्तो देखियो, बिरामी पर्नुभयो कि क्या हो ।'

'त्यो दिन छेउमा पानी पनि थिएन,' मंगलबार बिहान मन्त्रालयमा कान्तिपुरसँग कुरा गर्दै डा. देवकोटाले भने,' खोकी लागेर हल्का गाह्रो भएको थियो । तर एकछिन सम्हालिएर फेरि बोल्न सुरु गरेँ ।'

दुई महिनादेखि निरन्तर

'नमस्कार, कोभिड-१९ को दैनिक अपडेटमा स्वागत छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट उपस्थित छु, म डा. विकास देवकोटा…'

उनले यसरी अपडेट सुरु गर्न थालेको दुई महिना पूरा भयो । चैत १२ गतेदेखि मन्त्रालयले सुरु गरेको नियमित प्रत्यक्ष प्रसारणमा पछिल्ला दिन भने प्रवक्ता डा. देवकोटासँगै सांकेतिक भाषामा सहयोग गर्ने दुई जना पनि पालो मिलाएर उपस्थित हुने गरेका छन् ।

कोभिडको संक्रमण बढ्दै जान थालेपछि सरकारले लकडाउन घोषणा गर्‍यो । लकडाउन पालना र संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले लाइभबाटै अपडेट गराउन थाल्यो । हरेक दिन सवा ४ बजेदेखि सुरु हुने लाइभ हेर्नेको संख्या पनि बढिरहेको छ ।

यसबीच डा. देवकोटालाई सामान्य खोकीबाहेक अरु बिरामले भने छोएको छैन । दिनहुँ उही समयमा आधिकारिक अपडेट प्रस्तुत गर्नु निकै चुनौतीपूर्ण हुने उनको अनुभव छ । 'आधिकारिक सूचना आउँछ भनेर विश्वासका साथ कुरेर बसेका हुन्छन्,' भन्छन्, 'तथ्यांकको पनि चुनौती हुन्छ । हरेक दिन अपडेट गराउनुपर्ने भएकाले बिदा पाइँदैन ।'

प्रवक्ताको हिसाबले पनि उनका धेरै जिम्मेवारी छन् । दिनहुँ विभिन्न बैठक, प्रेजेन्टेसन, जुम मिटिङ लगायतमा सहभागी भइरहनुपर्छ ।

कोरोनासम्बन्धी नीतिनियम बनाइरहँदा कुनै दिन रातको ३ पनि बजेको उनले सुनाए । दैनिक १० देखि ११ घन्टासम्म खटिने उनी घर पुग्दा पनि थकाइ मार्न भ्याउँदैनन् । भर्चुअल मिटिङको सेड्युलले पर्खिराखेको हुन्छ ।

घरमै आइसोलेट

कोभिड रोकथाम र नियन्त्रणका लागि 'फ्रन्टलाइन'मा खटिनेहरु जत्तिकै व्यस्त छन्, उनी । सुरु-सुरुमा त घरमा मास्क नै लगाएर परिवारका सदस्यसँग कुराकानी गर्थे । अहिले भने कोरोनासँग 'युज टु' भइसकेको हो कि भन्ने लाग्छ । संक्रमणको डरले उनी करिब डेढ महिनादेखि घरमा छुट्टै बसिरहेका छन् ।

अपडेटसँगै कोरोनाबारे सचेतनासमेत दिइराख्ने उनले परिवारलाई कसरी सम्झाउछन् त ?

'परिवार बुझक्की छन्, डराउँदैनन्,' उनले भने, 'परिवारले मबाट धेरै आशा राख्छन् । विभिन्न छलफलका कुरा उनीहरुलाई पनि सेयर गरिरहेको हुन्छु ।'

घर पुगेर सकेसम्म परिवारसँगै बसेर खाना खान्छन् । टीभी हेर्छन् । एकछिन फुर्सद भइहालेमा फेसबुक स्क्रोल गर्छन् । केही सामचारका हेडलाइन पढ्छन् ।

बिहान ५ बजे उठेर आधा घन्टा हल्का व्यायाम गर्छन् । साढे ८ बजेसम्ममा मन्त्रालय पुगिसकेका हुन्छन् । बिहान घरबाट सादा रोटी-तरकारी खाएर निस्कने उनी दिउँसोको खाना भने मन्त्रालयको क्यान्टिनमा खान्छन् ।

बिहान खाली समयमा उनी घर नजिकै दूध, तरकारी लिन जान्छन् । बाटोमा भेट हुने छिमेकी साथीभाइले कोरोनासम्बन्धी कुरा सोधिहाल्छन् । संक्रमण कत्ति बढेको होला, अब के हुन्छ होला भन्ने जिज्ञासा राख्छन् । 'त्रसित छन् तर उनीहरुमा आशा पनि देख्छु,' डा. देवकोटाले भने, 'मन्त्रालय र त्यससँगै जोडिएको मैले केही गरिरहेको छु भन्ने आसय राख्छन् । उनीहरुको आशावादी विचारले अझै काम गर्ने उत्साह जगाइरहेको हुन्छ ।'

उनका आमाबुवा दाङमै छन् । उताबाट पनि फोन आइरहन्छ । 'चिन्ता नगर्न भन्छु, उहाँहरुले पनि स्वास्थ्यको ख्याल गर भनेर सम्झाइरहनुहुन्छ,' उनले भने, 'दैनिक अपडेट उहाँहरुले पनि हेर्नुहुँदो रहेछ ।'

विश्वव्यापी महामारी, मानवीय सन्त्रास, संक्रमितको बढ्दो संख्या अनि दैनिक अपडेटको तयारीले कहिलेकाहीँ उनी सपना पनि त्यस्तै खालका देख्दा रहेछन् । 'एक दिन राति अव्यवस्थित क्वारेन्टाइनमा हुल हुलका मानिस बसेको र उनीहरु गाउँतिर गइरहेको देखेछु,' उनले भने, 'क्वारेन्टाइनको अझ व्यवस्थापन गर्नुपर्ने हो कि भन्ने लाग्छ । कोरोनासम्बन्धी समाचारले पनि हो कि, त्यस्तै सपना देखिरहेको हुन्छु ।'

तथ्यांक मजबुत बनाउने प्रयास

संक्रमितको स्थायी र अस्थायी ठेगाना नमिल्दा वा पालिका र वडा नम्बरमा त्रुटि हुँदा त्यसको असर कन्ट्याक्ट ट्रेसिङमा देखिन्छ । मन्त्रालयले सार्वजनिक गर्ने तथ्यांकमा कहिलकाहीँ त्रुटि हुने गरेको गुनासो पनि आउने गरेका छन् । डा. देवकोटा तथ्यांकमा एकरुपता तथा विश्वसनीय बनाउन मन्त्रालयले अझै मेहनत गरिरहेको बताउँछन् । यसका लागि प्रदेशसँगको समन्वय अझै बढाउनुपर्ने उनको भनाइ छ । 'तथ्यांकको मुल उत्पतिमा विचार पुर्‍याउनुपर्छ,' उनले भने, 'कुनै संक्रमितले आफू बसिरहेको ठेगाना नभनी स्थायी ठेगाना भनिदिँदा समस्या हुन्छ । नम्बर गलत दिने, कसैको फोन नै अफ हुने, नेटवर्कका कारण सम्पर्क गर्न नसकिने समस्या पनि भइरहेका हुन्छन् ।'

दैनिक अपडेटका लागि विभिन्न प्रादेशिक प्रयोगशालाबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका तथ्यांक आउँछन् । यसलाई मिलाउने काम इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्छ । महामारीका बेला समाचारले ठूलो भूमिका खेल्ने भएकाले विश्वसनीय तथा आधिकारीक तथ्यांक दिन समय-समयमा रणानीति परिवर्तन गर्ने गरेको उनी बताउँछन् । बिस्तारै तथ्यांकलाई व्यवस्थित रुपमा दिने प्रयास गरेको र प्राविधिक तथा तथ्यांकमाथिको अध्ययन अनुसन्धान बढाउन लागिएको उनको भनाइ छ ।

'संक्रमितलाई हेला नगरौं'

डेरावाललाई कोरोना परीक्षणको प्रमाणपत्र देखाउन लगाउनेमात्रै होइन स्वास्थ्यकर्मीलाई समेत घरबेटीले निकालेका समाचार आउने गरेका छन् । संक्रमितलाई समुदायले हेला गरेको देख्दा डा देवकोटालाई सबैभन्दा बढी चित्त दुख्छ । 'कोरोना भनेर सर्वसाधारणलाई त भेदभाव र दुर्व्यवहार गरिएको छ नै, स्वास्थ्यकर्मीलाई पनि घरबाटै निकाल्नुचाहिँ अत्ति हो,' उनी भन्छन्, 'कोरोना सुरुवात हो, भोलि बढ्दै जाँदा आफू पनि संक्रमित हुन सकिन्छ र उपचार गर्ने तिनै स्वास्थ्यकर्मीले हुन् भन्ने सोचिदिनुपर्‍यो । स्वास्थ्यकर्मीलाई दुर्व्यवहार र भेदभाव गरेर मनोबल गिराउने काम राम्रो होइन ।'

'क्वारेन्टाइन व्यवस्थापन सुधारौं'

क्वारेन्टाइनको व्यवस्थापनमा कमीकमजोरी भइरहेको तथ्यलाई डा देवकाटा स्वीकार्छन् । उनका अनुसार कतिपय क्वारेन्टाइनको व्यवस्थापन (सरसफाइ, हाजिरी, क्षेत्र निर्धारण) मापदण्डअनुसार भएको छैन । 'यसको व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारले धेरै हेर्नुपर्ने देखिन्छ,' उनी भन्छन्, 'हामी त लागेका छौं । तर मुख्य जिम्मेवारी उहाँहरुको हो ।'

भारतबाट अव्यवस्थित रुपमा भित्रिँदा समस्या बढेको उनको बुझाइ छ । पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने र क्वारेन्टाइनको व्यवस्थापनमा अझै जोड दिनुपर्ने उनले बताए । 'मापदण्डअनुसार चेकलिस्ट बनाएर यो आवश्यक छ भनेर बजेट माग गर्नुपर्छ । गाइडलाइन बनाइदिएका छौं । त्यहीअनुसार पूरा गर्नुपर्छ,' उनले भने ।

सिक्ने अवसर

कोराना महामारीले डा देवकोटालाई भने धेरै कुरा सिकाइरहेको छ । कोरोनासम्बन्धी अध्ययनको दायरा बढेको छ । अहिले प्रविधिमैत्री बन्न पुगेका छन् । भर्चुअल मिटिङमा सहभागी भइरहन्छन् । त्यतिमात्र होइन विदेश बस्ने डाक्टरहरुले राम्रो काम गरिरहेको भनी भाइबारमार्फत अझ हौसला प्रदान गर्छन् । 'प्रवक्ताको हिसाबले जिम्मेवारी बहन त छँदै छ, दबाब पनि उत्तिकै हुन्छ,' भन्छन्, 'फोन उठ्दैन, समय दिनुभएन भनेर गुनासा र सुझाव दुवै आइरहेका हुन्छन् ।'

महामारीका बेला यही रफ्तारको व्यस्तता कहिलेसम्म चलिरहला ? उनी आफै पनि भन्न सक्‍दैनन् । तर पोलिसी लेभलमा महामारी व्यवस्थापनको जुन भूमिकामा छन्, धेरैले उनलाई नोटिस गरिरहेका छन् । गर्विलो भावमा उनले भने, 'त्यो त मेरो सौभाग्य हो ।'

प्रकाशित : जेष्ठ २२, २०७७ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?