१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जनता भोकै पर्न नदिने घोषणामात्रै गर्ने कि ‘कम्युनिटी क्यान्टिन’ पनि चलाउने ?

सजना बराल

नेपाल र भारतमा एकैसाथ लकडाउन सुरु भएको थियो । त्यहाँ अहिले खुकुलो भइसके पनि नेपालमा कडिकडाउ लम्बिँदैछ । सर्वसाधारणलाई तयारीको अलिकति पनि समय नदिई लकडाउन लागू गरिएकाले नेपालमा झैं भारतमा पनि लाखौं मानिस हिँडेरै घरतिर लागे । तीमध्ये कयौं नेपाली थिए जो अहिले पनि सीमा–नाकामा छटपटाइरहेका छन् ।

जनता भोकै पर्न नदिने घोषणामात्रै गर्ने कि ‘कम्युनिटी क्यान्टिन’ पनि चलाउने ?

लुधियानादेखि बिहार, गुरगाउँदेखि गोरखपुर, मुम्बइबाट रत्नागिरी, चण्डिगढबाट मुरादावाद, झाँसीबाट दक्षिण दिल्लीसम्मको सयौं किलोमिटर दूरी मानिसहरूले पैदल पार गरे । आवत–जावतको त्यो दृश्य भारत–पाकिस्तान विभाजनका बेलाको भन्दा फरक नदेखिएको ‘द गार्जियन’ पत्रिकाले लेखेको छ । यात्राका क्रममा कति भोकै मरे, कतिलाई रेलले किचेर मारेको दर्दनाक दृश्यले हामीले समाचारमा देख्यौं ।

यो सबैमाझ भारतकै केरला राज्य, जहाँबाट कोरोना भाइरसले भारतीय यात्रा सुरु गरेको थियो, त्यहाँ मानिसहरूको खासै ओहोर–दोहोर भएन । जो जहाँ छ, त्यहीं रहे । केरलामा अहिलेसम्म कोरोनाले ९ जनाको मृत्यु भएको छ । भारतमा केरलालाई हरेक हिसाबले अनुकरणीय र आकर्षक मानिन्छ । जहीँतहीँका मानिस रोजगारीका लागि यहाँ आइपुग्छन् । आयुर्वेदिक उपचार र घुमफिरका लागि यो उत्तिकै लोकप्रिय छ ।

कुनै बेला हाम्रा प्रोफेसर के. नागराज जो स्वयं मल्लु (केरलाबासी, मलयालम भाषीलाई माया गरेर भनिने शब्द) हुन्, ले केरलाबारे पढाउँदा हामी छक्क पर्थ्यौं । राम्रा जति सबै कुरामा केरला अगाडी ! शिक्षा, स्वास्थ, महिला अधिकार, सरसफाइ, स्वतन्त्रताजस्ता विकासका अधिकांश सूचकमा केरलाले भारतका अन्य राज्यलाई उछिनेको छ । सर आफू मल्लु भएकाले अलिअलि गफ दिए कि भन्ने आशंकासहित हामी गत डिसेम्बरमा केरला पुगेका थियौं । सरले भनेभन्दा स्तरीय लाग्यो ।

केरलाको पृष्ठभूमि बुझेपछि यो ठाउँमा कोरोना भाइरस किन मौलाएन भन्ने प्रश्न गरिँदैन । यसले अपनाएका तौरतरिका दुरुस्तै नक्कल गरौं भन्न पनि नसकिएला किनभने केरलाको संरचना, संस्कृति र परिवेश अन्यको भन्दा फरक छ । यहाँ मैले केरलाले के, कसरीले कोरोना भाइरस महामारीको कर्भ तेर्‍स्याइरहेको छ भन्ने बताउन पनि चाहेको छैन । तर, यसले नेपालको भन्दा धेरै, साढे तीन करोड जनसंख्यालाई कसरी भोको हुन दिएको छैन भन्नेबारे जानकारी दिन्छु ।

लकडाउनका बेला केरलाले कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई तीव्र बनाउनुका साथै भोकमरी रोकथामलाई प्राथमिकतामा राख्यो । ‘भोकमरीमुक्त केरला अभियान’ अद्यापि सञ्चानलमा छ । यसका लागि स्थानीय सरकारले ‘जनता किचन’ कार्यक्रमलाई व्यापक बनाएको थियो । यो कार्यक्रम आफैंमा नौलो वा केरलाको मौलिक कार्यक्रम होइन । विश्वका धेरै सहरमा ‘कम्युनिटि किचन’, ‘सुप किचेन’, ‘कम्युनिटि क्यान्टिन’ वा ‘फुड बैंक’ हरू सञ्चालनमा छन् ।

यस्ता क्यान्टिनमा पौष्टिक एवं स्वस्थ आहार, सुपथ मूल्य वा सित्तैमा पाइन्छ । यिनको सञ्चालन र व्यवस्थापन धार्मिक संगठन (गुरुद्वारा, चर्च), सामाजिक अभियन्ता, स्थानीय सरकार, महिला समूह जो कसैले गर्न सक्छ । केरलामा कुदुम्बश्री नामक महिला समूहले ‘जनता किचन’ सञ्चालन गर्छन् । तमिल नाडुको ‘अम्मा क्यान्टिन’ मा साकाहारी खानेकुरामात्रै पाइन्छ भन्ने कुरा मैले चेन्नईमा देखेकी थिएँ । कर्नाटकामा ‘इन्दिरा क्यान्टिन’, दिल्लीमा ‘जनता आहार’, ओडिसामा ‘दाल–भात केन्द्र’ सञ्चालनमा छन् ।

समाज सेवाको उदेश्यले खोलिएका यी क्यान्टिनलाई स्थानीय सरकारले रासन–पानी खरिदमा छुट दिएर होस् वा अन्य किसिमले सहयोग गर्छन् । बेलायत, ब्राजिल, संयुक्त राज्य अमेरिका, हंगेरी, अर्जेन्टिना, रुसलगायत देशका विभिन्न सहरका कम्युनिटि क्यान्टिले कोरोना भाइरस महामारीका बेला दुःख पाएकाहरूलाई खाना खुवाइरहेका छन् । विश्वकै सबैभन्दा ठूलो कम्युनिटि किचन मानिने भारतको गुरु रामदास लङ्गर हल (गोल्डेट टेम्पल) ले पनि सदााझैं अहिले पनि भोकालाई भोजन बाँढिरहेकै छ ।

केरलामा लकडाउन लागू हुनासाथ स्थानीय सरकार कुदुम्बश्रीसँग थप सहकार्य गर्न तत्पर भयो । मुख्य मन्त्री पिनरायी विजयनले ‘कोही भोको रहनु हुँदैन’ भन्ने नारा सहित केरलामा थप १ हजार कम्युनिटि क्यान्टिन स्थापना गर्ने उद्घोष गरे । जसमध्ये गत ८ सय ५३ वटा स्थापना भइसकेको केरला सरकारको कोरोनासम्बन्धी वेबसाइटमा उल्लेख छ । पहिले नै १२ सय ५५ वटा सञ्चालनमा थिए । गरिब, मजदुर, अपांगता भएका, प्रवासी कामदार, बेघर भएका, अशक्त, सुकुम्बासी जो कोहीलाई जनता क्यान्टिनले निःशुल्क खाना बाँढ्छन् । सक्नेले किनेर पनि खान्छन् ।

केरला सरकारको उक्त वेबसाइटका अुनसार मार्च ३० देखि मे १७ सम्म ८६ लाखभन्दा बढीलाई कम्युनिटि क्यान्टिनमार्फत बिहान–बेलुकाको खाना खुवाइएको छ । यीमध्ये साढे ७६ लाख खाना निःशुल्क रहेको र अधिकांश होम डेलिभरी गरिएको वेबसाइटमा उल्लेख छ । कसैले फोन गरेर खाना मगाएमा क्यान्टिन स्वयंसेवकले तिनको निवासमै पुर्‍याइदिन्छन्, त्यो पनि निःशुल्क । क्यान्टिनमा आउनेलाई खाना, खानाका प्याकेट दिने गरेको छ ।

क्यान्टिनको सञ्चालन खर्च प्रायोजन, चन्दा र स्थानीय विकाष कोषमार्फत् जुटाउने गरिएको छ । व्यक्ति तथा संस्थाले पनि स्वेच्छिक सहयोग गर्न सक्छन् । महामारीलाई ध्यानमा राखेर कुदम्बश्रीका सदस्य र अन्य स्वयंसेवकलाई केरला सरकारले बढो सतर्कता अपनाएर, मास्क र पञ्जा अनिवार्य गराएर, स्वस्थवर्दक हिसाबले खाना पकाउन लगाएको छ । सरकारको निर्देशनअनुसार खानामा हरियो सागपात अनिवार्य हुनुपर्छ । खाना वितरणका लागि स्वयंसेवक खटाइएका छन् । कोही नछुटुन् भनि हेल्पलाइन नम्बरसमेत बाँढिएको छ ।

‘न्युयोर्क टाइम्स’को समाचार अनुसार कोरोनाका कारण यो वर्षको अन्त्यसम्ममा विश्वका २ करोड ६५ लाखभन्दा बढी मानिसले विकराल भोकमरी झेल्नेछन् । तर, केरलाले झैं अन्य सहरले पनि कसैलाई भोको हुन नदिने अभियान चलाउने हो भने त्यो संख्या कम हुन सक्छ । विडम्बना, कम्युनिटि क्यान्टिन भएका कतिपय देश र भारतकै अन्य सहरमा मानिसहरू भोकभोकै परेका छन् । तसर्थ क्यान्टिन हुँदैमा कोहो भोको नहुने भन्ने हुँदैन रहेछ । हामीकहाँ त यस्ता क्यान्टिन छँदा पनि छैनन् !

एउटा स्विस संस्था रोक्पा नेटवर्कले काठमाडौंमा सुप किचन सञ्चालन गर्ने गरेको उसको वेबसाइटमा लेखिएको छ । यसले डिसेम्बरदेखि मार्चको सुरुसम्म स्थानीय कुक र कर्मचारीमार्फत् ६ सय सडक बालबालिका र बेघरलाई बिहानको खाना, दाल, आलु, तरकारी र भात खुवाउने गरेको जनाएको छ । भूकम्पताका नेपाललिंकले वि हेल्प नेपालसँगको सहकार्यमा काठमाडौं र गोरखामा कम्युनिटी किचन स्थापना गरेको भन्दै खाना वितरणका तस्बिर आफ्नो वेबसाइटमा राखेको छ । यी अहिले सञ्चालनमा छन् जस्तो लाग्दैन ।

कुपन्डोलको गुरुद्वारामा भने हरेक सप्ताहन्तमा लङ्गर सेवा उपलब्ध छ । भूकम्पका बेला पनि शीख धर्मावलम्बीको यो समूहले कम्युनिटि क्यान्टिन सञ्चालन गरेको थियो । ठमेलमा पनि एक रेष्टुरेन्ट व्यवसायीले सित्तैमा विरयानी विरतण गरेका थिए । यसबाहेक हामीकहाँ भोकालाई भोजन दिने अन्य कुनै संयन्त्र छैनन् । अहिले लकडाउनका बेला केही मनकारीले निःशुल्क खाना बाँढ्दै आएका छन् । मंलगबार कान्तिपुरमा प्रकाशित समाचारअनुसार खुलामञ्च र तिलगंगा आँखा अस्पताल अगाडी केही मनकारीले हरेक दिन भोकाहरूलाई खाना बाड्ने गरेका छन् ।

यो कोरोना महामारीले हामीलाई धेरै कुरा सिकाइरहेको छ । हाम्रा अभाव र कमजोरीहरू औंल्याइरहको छ । कम्युनिटि क्यान्टिन पनि एउटा अभाव हो । संकटका बेलामात्रै नभएर अन्य समयमा पनि यस्ता भोजनालय आवश्यक छन् । तिनले सहरका अति गरिबलाई सित्तैमा खाना खुवाउन सक्छन् भने निम्न वर्गीयलाई सस्तोमा खाना बेच्न सक्छन् । राम्ररी सञ्चालन गर्ने हो भने कम्युनिटि क्यान्टिनका फाइदै फाइदा छन् ।

चेन्नइको ताम्बरमस्थित अम्मा क्यान्टिन जाँदा हामीले त्यहाँ विभिन्न जात, धार्मिक समुदाय, उमेर समूह, पेसा–व्यवसायका मानिस एकै ठाउँमा बसेर इड्ली, साम्बर, पोंगल, कुर्मा खाइरहेको देखेका थियौं । यसले समाजलाई सहिष्णु बनाउन मदत गर्छ । त्यहाँ प्रायः महिला समूहले क्यान्टिन चलाउने भएकाले महिलाको आर्थिक विकासमा पनि अम्मा क्यान्टिनको ठूलो योगदान रहेछ ।

तत्कालीन मुख्यमन्त्री जयललिताको पहलमा तमिलनाडुमा अम्मा क्यान्टिन सुरु भएको थियो । हामीकहाँ पनि काठमाडौं महानगरपालिकाले यसका लागि जागरुता देखाउन सक्छ । प्रधानमन्त्रीले ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भनेर भाषण त गरिरहेका छन् तर त्यसका लागि संयन्त्र चाहिँ खोई ?

यस्तो बेला उनकै पार्टीका, अझै सालो नै भनेर प्रचारित काठमाडौंका मेयरले जनता क्यान्टिन थालेर आफ्ना ‘भिनाजु’को वचनलाई सार्थक गरिदिने हो भने उनीमाथि बेला बेला उठ्ने औंला उनको समर्थनमा उठ्न सक्थे ।

प्रकाशित : जेष्ठ २१, २०७७ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?