अब झोवा विकलाई बोल्न डर लाग्दैन

पहिलो अधिवेशनमा बोल्न नसक्दा उनले राजीनामा दिने सोच पनि बनाएकी थिइन् । पछि आँट भरियो । भन्छिन्, 'जानी/नजानी भए पनि पहिलोपटक बोल्नेबित्तिकै मेरो हाईहाई भयो, अहिले त मलाई केही डर लाग्दैन ।'
चाँदनी कठायत

वीरेन्द्रनगर — मुस्कुराउँदै निर्धक्क रोस्ट्रममा उभिँदा कर्णाली प्रदेशसभाको ध्यान उनीतिरै हुन्छ । उनी संसद्‌मा गर्वसाथ रैथाने 'मुगाली' लबजमा हाँसीहाँसी बोलिरहेकी हुन्छिन् । संसदमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने ४७ वर्षीया झोवा विकको पोसाकले पनि सार्वजनिक कार्यक्रममा फरक पहिचान दिएको छ ।

उनी अधिकांश कार्यक्रम र संसद् बैठकमा सधैं ज्यार्मा (हिमाली क्षेत्रमा लगाइने कपडा) लगाउँछिन् ।

उनी कहिले सरकारले चित्तबुझ्दो कार्यक्रम नल्याएको भन्दै 'रातो किताब' फिर्ता गरिदिन्छिन् त कहिले विकट क्षेत्रका योजनाका बजेट माग्छिन् । 'सरकारका मन्त्रीहरु हेलिकप्टरमा उड्छ,' उनले भनिन्, 'जनता धेरै दिन पैदलै हिँडेर औषधि गर्न जान्छ, यो देखेकै छैन ।'

सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रमबारे सामान्य रुपमा टिप्पणी गर्दै उनले सरकारको ध्यानाकर्षण गराइरहेकी छिन् । 'म पनि त्यही ठाउँबाट आएकी हुँ,' उनी भन्छिन्, 'जनताले दुःख भोगेको देख्दा मन रुन्छ, अनि जे देख्यो त्यही भन्दिन्छु म त !' कर्णालीका सामान्य नागरिकले भोगेका ससाना कष्टलाई सरकारसामु छर्लंग पारिरहेको उनले बताइन् ।

उनका भाषणमा कहिल्यै राजनीतिक आरोप–प्रत्यारोप देखिँदैन । आफूलाई पार्टी र जनताले विश्वास गरेर यो ठाउँमा पुर्‍याएको भन्दै उनले गलत गरे जनताको श्राप लाग्ने सुनाइन् । 'कुहिरामा गाई-गोरु चराउने ममाथि जनताले विश्वास गरेका छन्,' उनले भनिन्, 'मैले काम गरेन भने जनता रिसाउँछ, मलाई पाप लाग्छ ।'

पढ्न नपाएकोमा दुःख

मुगुकी यी सांसद किताब पढ्न सक्दिनन्, न त लेखेर वाचन गर्नै । तर आफ्नो भेगका जनताले भोगेका पीडालाई कर्णाली संसद्‌मा खुलस्त राखिरहेकी हुन्छिन् ।

मुगुको मुगुमकार्मारोङ गाउँपालिका (साबिक मान्ग्री गाविस) मा २०३० वैशाख १६ गते छेवाङपुटिक र टेसाङ विककी कान्छी छोरीका रुपमा जन्मिएकी झोवाको बाल्यकाल सामान्य अवस्थामै बित्यो । '९ महिना काम गरेपछि ३ महिना खान पुग्थ्यो,' उनले भनिन्, 'मभन्दा अगाडिको दिदी अपांग भएपछि घरको धेरै काम म एक्लै गर्थें, त्यही भएर मैले पढ्न पाइनँ ।'

आफूलाई पढाउनेबारे घरमा कहिल्यै पनि छलफल नभएको उनी सुनाउँछिन् । 'हामी त बाहिरको मान्छे देखे पनि डराउँथ्यो,' उनले भनिन्, 'किसानी काममात्रै जान्थ्यो, पढ्ने सोच आएन, बाआमाले पनि पढाएनन् तर म घरको अंश खाने छोरी हो ।' बाल्यकालमा नपढेकाले अहिले दुःख लागेको उनको भनाइ छ । 'पढेको भए सायद म धेरै अगाडि पुग्ने थियो,' उनले भनिन्, 'पढ्नुपर्छ भन्ने सानैमा लागेन, अहिले साह्रै मन दुख्छ ।'

२० वर्षको उमेरमा उनले सामान्य परिवारकै मोइटुक छेवाङसँग बिहे गरेपछि उनका पति घरज्वाइँ बसेका छन् । पतिकै कारण राजनीतिक क्षेत्रमा सफलता पाएको उनी बताउँछिन् । 'मलाई मेरो बूढाले धेरै हेल्प गर्छ,' उनले भनिन्, 'म काममा गएपछि मेरो लुगा पनि धुन्छ, खाना पनि पकाउँछ ।' सबैको साथ र सहयोगले बोल्ने र काम गर्ने आँट आएको उनले बताइन् । 'नपढेकोमा दुःख त अचम्मै लाग्छ,' उनले भनिन्, 'अहिले सांसद भइसकेपछि किताब नपढे पनि देशको अवस्था पढेको छ मैले, कर्णालीवासीको टिठलाग्दो जीवन देखेको छु ।'

आँटेरै राजनीतिमा

२०७०/७१ सालतिर मुगु कांग्रेसको नयाँ कार्यसमिति चयन हुँदै थियो । झोवालाई पनि दलित महिलाको प्रतिनिधित्व गर्दै कार्यसमिति सदस्य बन्न भनियो । आफ्नै पार्टीभित्र नै उनको फुर्वा कुलारी र तुलसिं नेपालीसँग सदस्यका लागि प्रतिस्पर्धा हुने भयो ।

उनले आफू महिला भएका कारण स्थान दिन भनेपछि फुर्वा पछि हटे तर तुलसिंह भने उनीसँग चुनावी प्रतिस्पर्धामा उत्रिए । अन्ततः तुलसिंहले भन्दा एक भोट बढी (७७) भोट ल्याएर उनी पहिलोपटक राजनीतिक यात्रामा प्रवेश गरिन् । त्यो क्षण सम्झिँदै उनी भन्छिन्, 'त्यतिखेर मैले त्यति आँट नगरेको भए आज म यो ठाउँमा हुन्नथेँ ।'

कार्यसमिति सदस्य हुँदा खासै उपलब्धिमूलक काम नगरे पनि सांसद भइसकेपछि आफ्नो क्षेत्रको विकासमा लागेको उनी बताउँछिन् । 'सरकारले समानुपातिक भनेर कम महत्व दिन्छ,' उनले भनिन्, 'तर पनि मैले जति बजेट परेको छ, आफ्नो जिल्लाका योजनामा लगाएको छु ।'

२०७४ मंसिरमा भएको प्रदेश तहको निर्वाचनका लागि जिल्लाका केही अगुवा नेताहरुले टिकटका लागि उनको नाम पनि केन्द्रमा पठाए । 'तिमीले पनि टिकट पाउँछौ समानुपातिकतर्फ भन्दा विश्वास लागेन,' उनले उनले भनिन्, 'पछि १३ नम्बरमा मेरो नाम आएपछि धेरै खुसी भएँ । त्यो क्षण सम्झिँदा अहिले पनि खुसीको आँसु झर्छ ।'

सुरुमा बोल्न नसक्दा…

यसअघि झोवाले लामा (भोटे) भाषामात्रै बोल्न जानेकी थिइन् । प्रदेशसभाको पहिलो अधिवेशनका कुनै पनि बैठकमा उनी बोलिनन् । 'भोटे भाषामात्रै बोल्न जानेको थियो मैले,' उनले भनिन्, 'रातभरि सोचिरन्थे भोलि त बोल्छु भनेर तर सभाहलमा गइसकेपछि डर लागेर बोल्नै सकेन, धेरै चिन्ता लाग्यो ।' आफ्नो भाषा कसैले नबुझ्ने भएकाले पनि बोल्ने आँट नआएको उनको भनाइ छ ।

'पछि त अब म सक्दैन भन्ने लाग्यो,' उनले भनिन्, 'मुगु गएर पार्टीकै कर्च्युं लामासँग म राजीनामा दिन्छु भनेँ, उसले मलाई धेरै गाली गर्‍यो, पाएको अवसर नगुमा भनेर ।' मुगुबाट केही आँट लिएर उनी प्रदेश राजधानी फर्किइन् ।

अन्नतः उनी मुगाली लबज मिसाएर नेपाली भाषामै हिउँदे अधिवेशनमा पहिलोपटक बोलिन् । 'पहिलो अधिवेशनमा नबोल्दा धेरैले मेरो खिसी गर्‍यो,' उनले भनिन्, 'तर जानी/नजानी भए पनि पहिलोपटक बोल्नेबित्तिकै मेरो हाईहाई भयो, अहिले त खुसी छ, मलाई केही डर पनि लाग्दैन ।'

पहिला नपढेको र बोल्न नजान्ने भनेर खिसी गर्नेले नै अहिले उनको प्रशंसा गरिरहेका छन् । 'लेखपढ गर्न राम्रोसँग नजाने पनि जनताका दुःख पढेकी छु,' उनले भनिन्, 'मेरा जनताका गाउँमा मैले बाटो पुर्‍याउनुछ, खान नपाएर भोकै हुनेलाई खान दिनुछ, उनीहरुको ससानो आवश्यकता पूरा गर्नुछ ।'

सरकारले गर्ने राम्रो काममा सहयोग गर्ने र जनताविरोधी काम गरेमा खबरदारी गर्ने उनले बताइन् । अहिले कोरोना भाइरसको महामारी फैलिरहेको बेला सरकारले नीति तथा कार्यक्रम पनि ठोस योजनालाई समेटेर नल्याएको उनको गुनासो छ । 'कोरोनाले गर्दा सबैजना बेरोजगार भएको छ,' उनले भनिन्, 'यति ठूलो योजना कहिले कार्यान्वयन गरेर सबैलाई रोजगार दिन्छ सरकारले ? मलाई चिन्ता लागेको छ ।' प्रकाशित : जेष्ठ १७, २०७७ १८:४७

प्रतिक्रिया
पठाउनुहोस्

लिपुलेक विवाद वार्ताद्वारा नै हल हुन्छ : भारतीय रक्षामन्त्री सिंह

उपेन्द्रराज पाण्डेय

काठमाडौँ — भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेकमा नेपालसँग उत्पन्न भएको सीमा विवाद वार्ताद्वारा नै हल गरिने बताएका छन् । भारतीय टेलिभिजन च्यानल आजतकसँगको अन्तर्वार्तामा रक्षामन्त्री सिंहले लिपुलेकलगायतका क्षेत्रको सीमा विवाद वार्ताद्वारा नै हल गरिने बताएका हुन् । 

सिंहले अन्तर्वार्तामा भने, ‘लिपुलेकको विषयमा नेपालसँग केही समस्या उत्पन्न भएको छ । त्यसलाई दुवै देश वार्तामा बसेर नै हल गर्छौं ।’ रक्षामन्त्री सिंहले नेपाल र भारतबीच पारिवारिक सम्बन्ध रहेको उल्लेख गर्दै सीमा विवाद वार्ताद्वारा सहजै हल हुने बताए ।

यसअघि गत वैशाख २६ गते भारतीय रक्षामन्त्री राजनाथ सिंहले नै नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेका थिए । नेपाली पक्षसँग कुनै सल्लाह नगरी एकतर्फी रुपमा बनाइएको उक्त सडकको रक्षामन्त्री सिंहले दिल्लीबाटै भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए ।

त्यसलगत्तै नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत नेपाली भूमिमा आफ्ना सबै गतिविधि रोक्न भारतलाई आग्रह गरेको थियो । साथै नेपालका लागि भारतीय राजदूतलाई विनयमोहन क्वात्रालाई बोलाएर कूटनीतिक नोट दिएको थियो । नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा पनि सार्वजनिक गरेको छ । नयाँ नक्सामा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको करिब ३३५ वर्ग किलोमिटर जमिन समेटिएको छ ।

भारतले भने नेपालले जारी गरेको नयाँ नक्सा आफूलाई मान्य नहुने प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले उक्त सडक भारतीय भूमिमै बनाइएको दाबी गर्दै सीमा विवाद वार्ताका माध्यमबाटै हल हुनुपर्ने बताएका छन् । उनले सकारात्मक र रचनात्मक पहलबाट मात्रै नेपाल–भारतबीच सीमा विवाद समाधानका लागि वार्ता हुने बताएका छन् ।

चीनसँगको सीमा विवाद हल हुन्छ : सिंह

भारतीय रक्षामन्त्री राजनाथ सिंहले चीनसँगको पछिल्लो तनाव पनि वार्ताबाटै हल गरिने बताएका छन् । वार्ताद्वारा समस्या समाधानका लागि दुवै देश तयार भएको उनले बताए । साथै उनले चीनसँगको सीमा विवाद समाधानका लागि अमेरिकी मध्यस्थता नचाहिने पनि प्रस्ट पारेका छन् । यसै हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन–भारत सीमा विवाद समाधानका लागि आफू मध्यस्थकर्ताको भूमिका निभाउन तयार रहेको बताएका थिए । तर उनको प्रस्तावलाई चीन र भारत दुवै देशका विदेशमन्त्रीले अस्वीकार गरेका थिए ।

रक्षामन्त्री सिंहले भारतले सबै छिमेकी देशसँग असल सम्बन्ध राख्न चाहेको बताए । ‘सबै छिमेकीसँग असल सम्बन्ध राख्नुपर्छ भन्ने भारतीय नीति हो । हामीले लामो समयदेखि सबै छिमेकीसँग सम्बन्ध सुधारका लागि प्रयास गर्दै आएका छौं । तर कहिलेकाहीँ अहिले चीनसँग देखिएको जस्तो समस्या देखिन्छ,’ उनले भने ।

उनले सन् २०१७ मा दोक्लाममा विकसित घटनाले दुई देशबीचको सम्बन्ध अति नै बिग्रे पनि अन्ततः समाधान गरेको उल्लेख गर्दै अहिले पनि वार्ताद्वारा नै चीनसँगको विवाद हल गरिने बताए ।

यसै महिनाको सुरुवातमा चीनले लद्दाख सीमा नजिकै गाल्वान उपत्यका र पाङगोङ क्षेत्रमा थप सुरक्षा फौज खटाएको थियो । भारतले सीमारेखा(लाइन अफ् एक्चुअल कन्ट्रोल) पार गर्दै भौतिक संरचना निर्माण गरेको भन्दै चीनले त्यसलाई रोक्न अतिरिक्त फौज खटाएको थियो । त्यही क्रममा भारतीय सेना र चिनियाँ सेनाबीच झडपसमेत भएको थियो ।

प्रकाशित : जेष्ठ १७, २०७७ १८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×