१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

भारतबाट आएकाहरु भन्छन्–‘सरकार एक बोतल पानी त देऊ’

सुर्खेत — वीरेन्द्रनगर नगरपालिका–२ खोलीगाउँका कर्णबहादुर सार्की तीन दिनको यात्रापछि मंगलबार साँझ ६ बजे सुर्खेत उपत्यकाको प्रवेशद्वार सुब्बाकुनामा पुगे ।

भारतबाट आएकाहरु भन्छन्–‘सरकार एक बोतल पानी त देऊ’

भारतको उत्तराखण्डस्थित रानीखेतबाट आएका उनलाई लागेको थियो, ‘अब त घर आइपुगियो, क्‍वारेन्टाइमै भए पनि भोकतिर्खा मेट्नुपर्ला ।’ सुब्बाकुनादेखि उनको घरको दुरी करिब ५ किलोमिटर मात्र टाढा छ ।

पेटभरि खाने र मस्तले निदाउने उनको कल्पना भने मनमै मर्‍यो । बुधबार दिउँसो करिब २ बजे कान्तिपुरकर्मी सुब्बाकुना पुग्दा उनी भन्दै थिए, ‘बरु भारत सरकारले ठाउँठाउँमा खानेकुरा दिएको थियो, घर–आँगनमै आएपछि त झन् विजोग भयो, हामीजस्ता गरिबको लागि सरकार कहिल्यै साथमा नहुने रहेछ ।’

कर्णबहादुरको समूहमा उनीसहित ९ जना आएका थिए । सरकारले उनीहरुलाई न त वीरेन्द्रनगरको क्वारेन्टाइनमा लग्यो, न त खाने व्यवस्था नै गर्‍यो । भारतबाट तीन–चार दिनको यात्रा तय गरेर मंगलबार साँझ आइपुगेका उनीहरु रातभर सुब्बाकुनाको जंगलमा गएर बसे । १५–१६ घण्टासम्म मुखमा पानीको थोपा पनि परेन ।

बुधबार बिहान करिब ८ बजे कोपिला भ्याली विद्यालयले एक–एकवटा पानीको बोतल र बिस्कुट बाँड्यो । दिउँसो मोटे ग्याङ समूहले पानी, फ्रुटी र चाउचाउ दियो । ‘हाम्रो लागि न त सरकार छ, न देश, बरु अरु मान्छे आएर खानेकुरा दिएर गए,’दिल्लीबाट आएका वीरेन्द्रनगरकै अमर थापाले भने, ‘दुःख पर्दा नहेर्ने सरकार हाम्रो लागि कहिले चाहिने हो ? बरु हात खडा सक्दैनौं भनेको भए हुन्थ्यो नि !’

यी दुईमात्र होइनन् मंगलबार साँझदेखि बुधबार बिहानसम्म सुब्बाकुना आइपुगेका उनीजस्तै करिब ८० जना व्यक्ति भोकभोकै बसेका थिए । सुर्खेत उपत्यकाकामै कर्णाली प्रदेश सरकार र प्रदेशको स्रोतसाधन सम्पन्न वीरेन्द्रनगर नगरपालिका भए पनि उनीहरुको पीडा भुलाउन कोही गएनन् ।

भारतबाट दुःख–कष्ट सहेर आएका उनीहरुको लागि कर्णाली प्रदेश प्रवेश गर्ने प्रमुख नाका सुर्खेतको बबईबाट भोक र प्यासको यात्रा थप उकालो लाग्छ । केही स्वयंसेवीले फाटफुट रुपमा चाउचाउ र पानी दिए पनि सरकारको तर्फबाट खानपिनमा कुनै सरोकार देखिँदैन ।

प्रदेश सरकारले बबईमा राखेको हेल्थ डेस्कका प्रमुख अशोक भण्डारी भारतबाट आउने कर्णालीवासीको ‘भोक–यात्रा’ अनुभूति गर्ने एक भुक्तभोगी हुन् । ‘उनीहरु आउने बित्तिकै भोक लाग्यो, पानी खान भए पनि देऊ भन्छन्, यो दृश्य देख्दा मन कटक्क खाने गर्छ,’ उनले भने, ‘हामीले कहिलेकाहीँ आफूसँग भएको पानी, चाउचाउ र बिस्कुट दिने गर्छौं, सधैंभरि दिन पनि कहाँ सकिन्छ र ?’

उनका अनुसार जेठ १ गतेदेखि हालसम्म भारतबाट करिब १० हजार व्यक्ति कर्णालीमा प्रवेश गरेका छन् । मान्छे आउने क्रम अझै रोकिएको छैन । पछिल्लो समय आउने व्यक्तिहरु कोरोना संक्रमणको उच्च जोखिममा रहे पनि नाकामा स्वास्थ्य परीक्षण र ल्याब परीक्षणको काम भने सोमबारदेखि रोकिएको छ ।

‘हामीले ज्वरो नाप्ने र परामर्श दिने काम गरिरहेका छौं, यो पनि सबैको सकिने कुरा भएन,’ उनले भने, ‘बरु जतिसक्दो छिटो भोक, तिर्खा मेटाएर क्वारेन्टाइनमा बसाल्ने व्यवस्था गरिदिएको भए राम्रो हुन्थ्यो ।’

पञ्चपुरी नगरपालिका–९, विद्यापुरका लालबहादुर आलेमगरले त सरकारले नै आफूहरुमाथि पक्षपात गरेको आरोप लगाए । मंगलबार राति ११ बजे सुब्बाकुना पुगे पनि पछि आएकालाई गाडीमा हालेर लगेको, आफूहरुलाई भने अलपत्र छोडिएको उनको गुनासो थियो । ‘जनता त सबै एउटै होलान्, हामीलाई यतै बस भनेर अरुलाई लगेर गए,’ ५५ वर्षीय उनले भने, ‘चार दिनदेखि भात खान पाइएको छैन, यस्तै भए त कसरी पो बाँच्ने हो ?’


वीरेन्द्रनगरको सुब्बाकुनामा रोकिएका सुर्खेतका विभिन्न स्थानीय तहका नागरिकहरु ।

भारतबाट आएकालाई सम्बन्धित स्थानीय तहले गाडी पठाएर लैजाने व्यवस्था गर्ने गरेका छन् । तर, भनेको बेला गाडी नपठाउँदा उनीहरु भोकभोकै बस्ने गरेका छन् । यस्तो अवस्थामा प्रदेश सरकारले बाटोमा खानाको व्यवस्था गर्नतर्फ ध्यान दिएको देखिँदैन ।

लेकबेंशी नगरपालिका, दशरथपुरका इन्द्रबहादुर विकले कोरोनाको भन्दा पनि भोकले मरिन्छ कि भन्ने चिन्ता लाग्न थालेको बताउँछन् । ‘भारतको बोर्डर पास भएपछि खाना त टाढाको कुरा भइहाल्यो, घाँटी भिजाउने पानी पनि पाइएन,’ गुजरातबाट आएका उनले भने, ‘सरकार यसरी सुतेको त मैले कहिल्यै पनि देखेको थिइनँ ।’

थेग्‍न गाह्रो भयो : प्रदेश सरकार

प्रदेश सरकारले भने एकैपटक हजारौँको संख्यामा मान्छेहरु भित्रिन थालेपछि थेग्नै गाह्रो भएको बताउने गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभाको वैठकमा बोल्दै केन्द्र सरकारले जहाँ छन् त्यहीँ व्यवस्थापन गर्ने भने पनि कार्यान्वयन नभएकाले समस्या भएको बताए । ‘केन्द्र सरकारले प्रदेश सरकारले व्यवस्था नगरुन्जेल नागरिकलाई व्यवस्थापन गरिदिन आग्रह गरेका छौँ,’उनले भने, ‘तर नागरिकहरु कतै पनि नरोकिएपछि भोक प्यासले आक्रोश पोख्दै भित्रिएको अवस्थाले सरकारलाई अप्ठ्यारो परेको छ ।’ कर्णाली भित्रिनेलाई खानपानको व्यवस्था गर्न पनि समस्या भएको उनले बताए ।

प्रदेश भित्रिने सबैको आरडीटी चेकमा पनि समस्या भएको मुख्यमन्त्री शाहीको भनाइ छ । आरडीटी जाँच गर्ने की नगर्ने भन्ने पनि अन्यौल रहेको उनले संसदमा बताए । ‘एकैचोटि पीसीआर गर्ने कि भन्ने छलफल पनि चलायौँ, अब भारतबाट आएका धेरैजसोमा संक्रमण छ कि भन्‍ने आशंका पनि छ,’उनले संसदमा भने, ‘सकेसम्म आरडीटी र पीसीआर दुवै चेक गर्ने निचोडमा सरकार पुगेको छ ।’

भारतबाट आउने व्यक्तिलाई क्वारेन्टाइनमा व्यवस्थित गरेर संक्रमण समुदायमा जानबाट रोक्ने प्रयास भइरहेको उनले बताए ।

प्रकाशित : जेष्ठ १४, २०७७ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?