१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

क्‍‌वारेन्टाइनमा बस्नेहरु घरबाटै ल्याएको खाना खान्छन्

खाद्यान्न तथा सुत्नका लागि ओढ्ने, ओछ्याउने, भाँडाकुँडा र दाउरासमेत उनीहरुले घरबाटै ल्याएर चलाइरहेका छन् ।
हरि गौतम

रुकुम पूर्व — लकडाउनकै बीचमा पत्रकार मैत्या घर्ती मगर घर फर्किए । काठमाडौंबाट परिवारका अरु सदस्यसहित पुथाउत्तरगंगा गाउँपालिका–१०, तक पुगेका उनी १४ दिन वडा कार्यालयले बनाएको क्वारेन्टाइनमा बसे ।

क्‍‌वारेन्टाइनमा बस्नेहरु घरबाटै ल्याएको खाना खान्छन्

आफ्नो परिवार तथा अरु छरछिमेकका गरी १३ जना तक पुगेका थिए । १३ जना नै १४ दिन क्वारेन्टाइनमा बसे । क्वारेन्टाइनबाट बस्दासम्म उनीहरुलाई वडा कार्यालय वा गाउँपालिका कार्यालय कसैले पनि खानाको व्यवस्थापन गरेन । न उनीहरुले नै खाना व्यवस्थापनको माग गरे । १४ दिनसम्म नै घरबाटै ल्याएको खाना खाएर बसे ।

वडा कार्यालय तथा गाउँपालिका कार्यालयले खानाको व्यवस्थापन नगरेर उनीहरु घरबाट खाद्यान्न तथा अरु सामान मगाएका होइनन् । उनीहरुले आफैले घरबाटै खाना मगाएका थिए । खानाका लागि खाद्यान्न तथा सुत्नका लागि ओढ्ने, ओछ्याउने, पकाउने तथा खाने भाँडाकुँडा र दाउरासमेत घरबाटै ल्याएर चलाए ।

तकमा बसेका १३ जनामात्रै होइन । सोही ठाउँका अरु क्वारेन्टाइनमा बसेकाले पनि आफै आफ्नो सम्पूर्ण व्यवस्थापन गरेका छन् । गाउँपालिकाले सबै वडामा क्वारेन्टाइन बनाएको छ । क्वारेन्टाइनमा बसेका सबैले आफ्नै घरबाट सम्पूर्ण व्यवस्थापनको सामग्री ल्याएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलने भन्दै सबैतिर लकडाउन गरिएको छ । लकडाउनमा बाहिरबाट आउनेहरुलाई गाउँको क्वारेन्टाइनमा राख्ने गरिएको छ । क्वारेन्टाइनमा बस्नेहरुलाई सरकारले हरेक दिन एक जना प्रहरीको राशन भत्ता बराबरको सुविधा एक जना क्वारेन्टाइनमा बस्नेहरुलाई दिने भनेको छ । तर पुथाउत्तरगंगा गाउँपालिकामा रहेका हरेक क्वारेन्टाइनमा बसेकाहरुले आफ्नो सम्पूर्ण व्यवस्थापन आफै गरेका छन् ।

गाउँपालिकाभर हालसम्म ५ सय १४ जना क्वारेन्टाइनमा बसेर घर फर्किएका छन् भने २२ पुरुष र १६ महिला गरी ३८ जना क्वारेन्टाइनमा छन् । आफ्नो परिवारका सदस्य आउँदै छन् भनेर घरका अरु सदस्य आफै सरसामग्री बोकेर क्वारेन्टाइनमा छाड्ने गरेका छन् । घरबाट सम्पूर्ण व्यवस्थापनका सामग्री ल्याएर क्वारेन्टाइनमा बसेको पत्रकार घर्तीले बताए ।

'आमाले १४ दिन सम्म खाना पकाउनका लागि आवश्यक सामग्री ल्याएर आउनुहुन्थ्यो,' घर्तीले भने, 'गेटमा राखिएका खानेकुरा लिएर हामीले पकाएर खान्थ्यौं । घरबाट मकै, मकैको पिठो, सिस्ने, साग, गुन्द्रुक, दाउरा आउने गरेको उनको भनाइ छ ।

गाउँपालिकाले सबै वडाका विद्यालयमा क्वारेन्टाइन बनाएको छ । देशका विभिन्न ठाउँबाट आउने र तेस्रो मुलुकबाट आउन सबैलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ । स्वास्थ्य संयोजक समिर गिरीले क्वारेन्टाइन बनाउने काम गाउँपालिकाले गरे पनि अरु व्यवस्थापन स्वयं व्यक्तिले स्वस्फूर्त गर्दै आएको बताए । ‘आफन्त आउने भएपछि आवश्यक सरसामग्री बोकेर परिवारका सदस्य पहिल्यै क्वारेन्टाइन पुग्नुहुन्छ,’ संयोजक गिरीले भने, ‘यस मानेमा यहाँको क्वारेन्टाइन व्यवस्थापनमा सर्वसाधारणले नै सजिलो बनाइरहनुभएको छ ।’

उक्त गाउँपालिकाले हालसम्म राहत पनि वितरण गरेको छैन । स्थानीय स्तरमा उत्पादन भएको खाद्यान्न सामग्री नै वितरण गर्ने तयारी गाउँपालिकाले गरिरहेको छ । पछिल्लोपटक भने गाउँपालिकाले भारत तथा तेस्रो मुलुकबाट आउनेलाई १०, १२ र १४ नम्वर वडामा राख्ने र सबैलाई स्थानीय सरकारको व्यवस्थापनमा राख्ने निर्णय भएको छ भने देशभित्रबाट आउनेहरु भने सम्बन्धित वडामा जानुपर्ने र आफै व्यवस्थापन गरेर गाउँपालिकाकै क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

हालसम्म गाउँमा समस्या नदेखिएको र लगत संकलनको काम भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्लले राहत दिनुपर्ने घरधुरी छनोट भएपछि राहतस्वरुप स्थानीय स्तरमा उत्पादन हुने मकै नै वितरणको तयारी भएको जानकारी दिइन् । हाल मकैको मौज्दात र राहत वितरण गर्नुपर्नेको लगत संकलनको काम भइरहेको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ १३, २०७७ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?