क्‍‌वारेन्टाइनमा बस्नेहरु घरबाटै ल्याएको खाना खान्छन्

खाद्यान्न तथा सुत्नका लागि ओढ्ने, ओछ्याउने, भाँडाकुँडा र दाउरासमेत उनीहरुले घरबाटै ल्याएर चलाइरहेका छन् ।
हरि गौतम

रुकुम पूर्व — लकडाउनकै बीचमा पत्रकार मैत्या घर्ती मगर घर फर्किए । काठमाडौंबाट परिवारका अरु सदस्यसहित पुथाउत्तरगंगा गाउँपालिका–१०, तक पुगेका उनी १४ दिन वडा कार्यालयले बनाएको क्वारेन्टाइनमा बसे ।

आफ्नो परिवार तथा अरु छरछिमेकका गरी १३ जना तक पुगेका थिए । १३ जना नै १४ दिन क्वारेन्टाइनमा बसे । क्वारेन्टाइनबाट बस्दासम्म उनीहरुलाई वडा कार्यालय वा गाउँपालिका कार्यालय कसैले पनि खानाको व्यवस्थापन गरेन । न उनीहरुले नै खाना व्यवस्थापनको माग गरे । १४ दिनसम्म नै घरबाटै ल्याएको खाना खाएर बसे ।

वडा कार्यालय तथा गाउँपालिका कार्यालयले खानाको व्यवस्थापन नगरेर उनीहरु घरबाट खाद्यान्न तथा अरु सामान मगाएका होइनन् । उनीहरुले आफैले घरबाटै खाना मगाएका थिए । खानाका लागि खाद्यान्न तथा सुत्नका लागि ओढ्ने, ओछ्याउने, पकाउने तथा खाने भाँडाकुँडा र दाउरासमेत घरबाटै ल्याएर चलाए ।

तकमा बसेका १३ जनामात्रै होइन । सोही ठाउँका अरु क्वारेन्टाइनमा बसेकाले पनि आफै आफ्नो सम्पूर्ण व्यवस्थापन गरेका छन् । गाउँपालिकाले सबै वडामा क्वारेन्टाइन बनाएको छ । क्वारेन्टाइनमा बसेका सबैले आफ्नै घरबाट सम्पूर्ण व्यवस्थापनको सामग्री ल्याएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलने भन्दै सबैतिर लकडाउन गरिएको छ । लकडाउनमा बाहिरबाट आउनेहरुलाई गाउँको क्वारेन्टाइनमा राख्ने गरिएको छ । क्वारेन्टाइनमा बस्नेहरुलाई सरकारले हरेक दिन एक जना प्रहरीको राशन भत्ता बराबरको सुविधा एक जना क्वारेन्टाइनमा बस्नेहरुलाई दिने भनेको छ । तर पुथाउत्तरगंगा गाउँपालिकामा रहेका हरेक क्वारेन्टाइनमा बसेकाहरुले आफ्नो सम्पूर्ण व्यवस्थापन आफै गरेका छन् ।

गाउँपालिकाभर हालसम्म ५ सय १४ जना क्वारेन्टाइनमा बसेर घर फर्किएका छन् भने २२ पुरुष र १६ महिला गरी ३८ जना क्वारेन्टाइनमा छन् । आफ्नो परिवारका सदस्य आउँदै छन् भनेर घरका अरु सदस्य आफै सरसामग्री बोकेर क्वारेन्टाइनमा छाड्ने गरेका छन् । घरबाट सम्पूर्ण व्यवस्थापनका सामग्री ल्याएर क्वारेन्टाइनमा बसेको पत्रकार घर्तीले बताए ।

'आमाले १४ दिन सम्म खाना पकाउनका लागि आवश्यक सामग्री ल्याएर आउनुहुन्थ्यो,' घर्तीले भने, 'गेटमा राखिएका खानेकुरा लिएर हामीले पकाएर खान्थ्यौं । घरबाट मकै, मकैको पिठो, सिस्ने, साग, गुन्द्रुक, दाउरा आउने गरेको उनको भनाइ छ ।

गाउँपालिकाले सबै वडाका विद्यालयमा क्वारेन्टाइन बनाएको छ । देशका विभिन्न ठाउँबाट आउने र तेस्रो मुलुकबाट आउन सबैलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ । स्वास्थ्य संयोजक समिर गिरीले क्वारेन्टाइन बनाउने काम गाउँपालिकाले गरे पनि अरु व्यवस्थापन स्वयं व्यक्तिले स्वस्फूर्त गर्दै आएको बताए । ‘आफन्त आउने भएपछि आवश्यक सरसामग्री बोकेर परिवारका सदस्य पहिल्यै क्वारेन्टाइन पुग्नुहुन्छ,’ संयोजक गिरीले भने, ‘यस मानेमा यहाँको क्वारेन्टाइन व्यवस्थापनमा सर्वसाधारणले नै सजिलो बनाइरहनुभएको छ ।’

उक्त गाउँपालिकाले हालसम्म राहत पनि वितरण गरेको छैन । स्थानीय स्तरमा उत्पादन भएको खाद्यान्न सामग्री नै वितरण गर्ने तयारी गाउँपालिकाले गरिरहेको छ । पछिल्लोपटक भने गाउँपालिकाले भारत तथा तेस्रो मुलुकबाट आउनेलाई १०, १२ र १४ नम्वर वडामा राख्ने र सबैलाई स्थानीय सरकारको व्यवस्थापनमा राख्ने निर्णय भएको छ भने देशभित्रबाट आउनेहरु भने सम्बन्धित वडामा जानुपर्ने र आफै व्यवस्थापन गरेर गाउँपालिकाकै क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

हालसम्म गाउँमा समस्या नदेखिएको र लगत संकलनको काम भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्लले राहत दिनुपर्ने घरधुरी छनोट भएपछि राहतस्वरुप स्थानीय स्तरमा उत्पादन हुने मकै नै वितरणको तयारी भएको जानकारी दिइन् । हाल मकैको मौज्दात र राहत वितरण गर्नुपर्नेको लगत संकलनको काम भइरहेको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ १३, २०७७ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्

देवघाटमा सन्तबहादुरको दु:ख

देवघाटको जग्गा व्यवस्थापनसम्बन्धी समस्या निकै जटिल बनेको छ । लालपुर्जा नभएका जग्गा बिक्री भएका छन् । वर्षौंदेखि यहाँ बस्दै आएका सन्तबहादुर भने लखेटिने अवस्थामा पुगेका छन् ।
रमेशकुमार पौडेल

चितवन — एउटा धार्मिक विश्वास छ- 'देवघाट धाममा देवताहरु नै आएर स्नान गर्छन् ।' यही विश्वासमा डोहोरिएर माघे संक्रान्तिमा यहाँ नुहाउन आउनेको घुइँचो लाग्छ । 'पुण्य कमाउन' आउने लाखौं भक्तजन हुन्छन् । तर ती सबैभन्दा फरक छन्, सन्तबहादुर गुरुङ । जो गुजाराका लागि ३७ वर्षदेखि देवघाटमै बस्दै आएका छन् । 


देवघाट मन्दिरको सेवामा सन्तबहादुरले ३७ वटा वसन्त पार गरे । तर यो पवित्र स्थलको सेवाले उनको दु:ख कम भएन । उमेरसँगै दु:खको भारी पनि थपिँदै गयो । न उनलाई यहाँका भगवान्‌ले हेरे, न त शान्ति नै पाए ।

उनी आएर बस्न सुरु गर्दा सुनसान जस्तै लाग्ने यो ठाउँ अहिले गुलजार बनेको छ । वरपर राम्रा घरहरु ठडिएका छन् । उनको रात भने अझै छाप्रोमै कटिरहेको छ । बसेको जमिन पनि उनको नभएको तथ्य प्रमाणहरु पेस हुन थालेका छन् । सन्तबहादुर बस्दै आएको जमिन कसको हो ? यसको उत्तरसँगै देवघाटको जमिनसँग जेलिएका धेरै अव्यवस्था पनि जोडिएर आउँछन् ।

देवघाट धामले चितवनसहित तनहुँ र नवलपुर (पूर्वी नवलपरासी) गरी तीन जिल्ला छोएको छ । चितवनको भरतपुर महानगरपालिका–१ अन्तर्गत देवघाट क्षेत्र रहेको छ । यो ठाउँमा २०२६ सालमा नापी हुँदा २७ बिघा जग्गा तत्कालीन नारायणगढ गाउँ पञ्चायतसहित राम मन्दिर, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, संस्कृत पाठशाला र विश्व शान्ति महायज्ञको नाममा छुट्याएर राखियो । तर अझैसम्म लालपुर्जा निस्केको छैन ।

चितवनतर्फको देवघाटमा नापी भएको भनेको यही २७ बिघा जग्गामात्रै हो । जसमध्ये विश्व शान्ति महायज्ञले पाएको जग्गा ५ बिघा हो । २०१८ सालमा तत्कालीन राजा महेन्द्रसहितको उपस्थितिमा महायज्ञ भएको थियो । सोही महायज्ञपछि मन्दिर बनाउने, होम आरती लगायतका नित्य कार्य जारी राख्न भन्दै २०२६ जेठमा विश्व शान्ति महायज्ञलाई राजाको हुकुम प्रमांगीबाट ५ बिघा जग्गा प्राप्त भयो ।

त्यही जग्गामा खेती लगाउने काममा सहयोगी बनेर २०४० सालमा तनहुँ काफलडाँडाबाट आएका हुन्, सन्तबहादुर गुरुङ । जग्गाको एउटा कुनामा उनले घर बनाए । त्यहीँ ७ छोरी र एक छोरा जन्मिए । २०५८ सालमा विश्व शान्ति महायज्ञको नाममा रहेको ५ बिघामध्ये २ बिघा देवघाट क्षेत्र विकास समितिलाई दिने कुरा उठ्यो । विश्व धार्मिक मञ्च बनाउनका लागि सो जग्गा क्षेत्र विकास समितिले मागेको थियो ।

‘समितिलाई दिने २ बिघा जग्गा नाप्दै जाँदा सन्तबहादुरजी बसेको जग्गा पनि पर्ने भयो । हामीले त्यसको सट्टा उनलाई हाम्रो उपभोगमा रहेको मध्येबाटै अर्को ठाउँमा जग्गा व्यवस्थापन गर्ने भनेर सबै जग्गा समितिको साँध सिमानाभित्र पारेका थियौं,’ विश्व शान्ति महायज्ञका सचिव लक्ष्मण सुवेदीले भने । सन्तबहादुरले नयाँ ठाउँमा जग्गा पाए तर उपभोग गरेनन् । क्षेत्र विकास समितिकै जग्गामा बस्दै आए ।

पछिल्लो दिन सन्तबहादुरको घर आडमा नयाँ घर पनि बन्न थाले । त्यो देखेर समितिले घर बनाउने कार्य रोक्न भन्दै पत्र काट्यो । सन्तबहादुरले आफूले लामो समयसम्म भोगचलन गरेको जग्गामा आफ्नै भाइछोराहरु आएर बसेको जिकिर गरे । आफू बसेको जग्गामा आफ्नै हक लाग्ने सन्तबहादुरको दाबीपछि समितिले समस्याको समाधान खोज्न आइतबार छलफल गरेको थियो ।

लालपुर्जाबिनाको जग्गा किनबेच

बैठकमा पुराना कागजपत्रसहित आएका विश्व शान्ति महायज्ञका सचिव सुवेदीले सन्तबहादुरलाई पुरानो ठाउँ छाड्ने सर्तमा नै सट्टाभर्नामा नयाँ जग्गा दिएको जानकारी गराए । त्यसपछि उक्त जग्गाबारे सोधखोज गर्दा जग्गा बिक्री भइसकेको तथ्य खुल्यो । लालपुर्जा नै नभएको हकभोगसम्म नलाग्ने जग्गा बिक्री भएको सुन्नेहरु छक्क परे ।

उनले सो जग्गा अधिकारी थर भएका व्यक्तिहरुको संस्था कश्यप गोत्र अधिकारी समाजलाई बेचेको पत्ता लाग्यो । ‘लालपुर्जा नभएको, व्यक्तिको नाममा पनि नभएको जग्गा कसरी बिक्री भयो ?’ देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरण घिमिरेले सोधे ।

विश्व शान्ति महायज्ञको यज्ञशाला र मन्दिरलाई सहयोग गरे आश्रम बनाउन ठाउँ पाइने नियम चल्दै आएको रहेछ । कश्यप गोत्र समाजले केही वर्षपहिले यहाँ आश्रम बनाएको रहेछ ।

‘विश्व शान्ति महायज्ञबाट जग्गा लिएर हामीले बनाएको आश्रम भएको ठाउँमा सन्तबहादुरले भोगचलन गर्नुपर्ने जग्गा थियो । हामीले केही संरचना बनाउन मिल्छ भनेर आडैको जग्गा पनि लियौं । खास गरेर सन्तबहादुरजीकै अनुरोधमा जग्गा लिएको हो,’ कश्यप गोत्र अधिकारी समाजका महासचिव युवराज अधिकारीले बैठकमा जानकारी गराए ।

माघदेखि क्यान्सर रोगबाट थलिएकी श्रीमतीको उपचार खर्च चाहिने बताएपछि उनीबाट नगद दिएरै जग्गा लिएको युवराज अधिकारीले बताए । 'नभए सन्तबहादुरका लागि जुगेडीमै नम्बरी जग्गा व्यवस्था गर्ने सोच बनाएका थियौं,' उनले भने । उनका अनुसार समाजले १३ लाख २० हजार रुपैयाँमा सन्तबहादुरबाट सो जग्गा किनेको हो ।

सट्टाभर्ना पाएको जग्गा भोगचलन नगरेर सन्तबहादुरले नगदमा बेचेपछि पहिलेदेखि बस्दै आएको भन्दैमा क्षेत्र विकास समितिको जग्गामा हकदाबी गर्न नपाइने आवाज बैठकमा उठेको थियो । ‘तर हामी सन्तबहादुरजीलाई बिना व्यवस्था तत्कालै उठाउने पक्षमा छैनौं । उहाँको आडमा बनेका अन्य संरचनाहरु भने हट्नुपर्छ,’ देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बैठकको निष्कर्ष सुनाए ।

बैठकमा भाग लिन गएका भरतपुर महानगरपालिका–१ का कार्यबाहक अध्यक्ष यमबहादुर बाचे मगरले देवघाटको जग्गा समस्या सन्तबहादुरमा मात्रै केन्द्रित भएर टुंग्याउन नहुने मत राखे । उनका अनुसार देवघाटको जग्गा व्यवस्थापनसम्बन्धी समस्या निकै जटिल बन्दै गएको छ । लालपुर्जा नभएका कारण स्थानीय तहले नक्सा पास लगायतका काम नगर्ने तर ठूलाठूला भवनहरु बन्दै जाने समस्या भएको देवघाटमा सन्तबहादुरलाई मात्रै खेद्ने तरिकाले निर्णय लिन नहुने अडान उनको थियो ।

सट्टाभर्ना पाएको जग्गामा गएर नबस्ने मात्रै होइन जग्गा नै बेचेर पैसा बुझेका सन्तबहादुरलाई समितिको दाबी लाग्ने जग्गामा कहिलेसम्म कसरी राख्ने भन्ने प्रश्न पनि बैठकमा खडा भएको थियो । समितिको क्षेत्राधिकारभित्र ३ जिल्लाका ५४ सय ३८ हेक्टर जमिन रहेको छ । समितिले सदस्य नवराज ढकालको संयोजकत्वमा सार्वजनिक जग्गा संरक्षण एवं उपयोग कार्य दल बनाएको छ ।

‘हाम्रो समितिले निजी जग्गा भएको ठाउँमा हुकुम प्रमांगीले जग्गा पाएर नापी भएको ठाउँमा उनीहरुको अधिकार क्षेत्रभन्दा बढी जमिन भोगचलन भएको छ वा छैन भनेर हेर्छ । यसका साथै सार्वजनिक जग्गाको अवस्था पनि के कस्तो छ भनेर निर्क्यौल गर्नेछ,’ कार्यदलका संयोजक नवराज ढकालले भने । यसका साथै हुकुम प्रमांगीबाट पाएको जग्गा उद्देश्यअनुरुप प्रयोग भए/नभएको पनि अध्ययन गर्ने उनले बताए । संस्कृत पाठशाला र तत्कालीन नारायणगढ नगर पञ्चायतको नाममा आएको जग्गाको अहिलेको अवस्था के हो ? मन्दिरको नाममा गएको जग्गाको प्रयोग के कसरी भएको छ भन्ने अध्ययन गरेर प्रतिवेदनमा लेख्ने योजना रहे पनि जग्गाबारेमा थप केही गर्न सक्ने अवस्थामा कार्यदल नरहेको उनको भनाइ छ ।

मन्दिरको नामको जग्गा उनीहरुको सम्प्रदायअनुसारका व्यक्तिहरुलाई कल्पबास बस्नका लागि घर बनाउन दिने चलन छ । जीवनको बाँकी समय तीर्थस्थलकै नजिकमा बिताउने इच्छाले आएर घर बनाएर बस्नेहरुलाई कल्पबास भन्ने गरिन्छ । २०२८ सालदेखि सुरु भएको यो चलन जारी नै छ । तर २०४६ सालपछि धर्मभन्दा पनि व्यापार प्रयोजन हाबी हुँदै गएको र जग्गाको सही उपयोग हुन नसकेको गनासो देवघाटवासीको छ । ‘यहाँ धेरै खाले समस्या छन् । अहिले सन्तबहादुरलाई मात्रै यसो उसो गर भन्ने हुँदैन, सबै कुरा अध्ययन गरेर एउटा निचोडमा पुग्नैपर्छ,’ कार्यवाहक वडाध्यक्ष मगरले भने ।


प्रकाशित : जेष्ठ १३, २०७७ १६:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×