चेपाङ गाउँको व्यथा : डालामा मकै रित्तिँदै, बारीमा बल्ल हुर्कंदै

मकै उम्रेपछि जोडले असिना पर्‍यो । आफ्नै बारीको उब्जनीले वर्षभरि खान पुग्ने चेपाङहरु निकै कम छन् । ६ महिना सहकाल र ६ महिना अनिकालमा बाँच्नु चेपाङहरुको पुस्तैनी बाध्यता हो ।
रमेशकुमार पौडेल

चितवन — इन्द्रमाया चेपाङ साँघुरो घरभित्र अँगेनाको आडमा रहेको जाँतोमा मकै पिस्दै थिइन् । साथमा ससाना दुई बालिका पनि थिए । दिउँसो पाखोबारीको मकै गोडेर उनी घाम अस्ताउनै लाग्दा मकै पिस्न जुटेकी थिइन् ।

बारीको मकै एक बित्ताभन्दा अग्लो छैन । ढुंग्याने जमिनको बाली भदौ लागेपछि बल्ल स्याहार्ने हो ।

जाँतो आडैको नाङ्लोमा दुई मानाभन्दा बढी मकै छैन । 'अब घरमा बाँकी मकै एक डोका पनि छैन,' उनले भनिन् । मकै सकिएपछि के गर्ने त ? प्रश्न सुन्नासाथ उनी जाँतो घुमाउन छाडेर बाहिर निस्किन् । आडैमा दुईवटा डोकाभरि गिट्ठा थिए । एउटा डोको अगाडि ल्याउँदै उनले भनिन्, ‘पिठो, फाँडोसँग यही गिट्ठा मिसाएर छाक टार्ने ।’ उनीहरु सिस्नोको मुन्टा टिपेर तरकारी बनाउँछन् ।

गिट्ठा तरुलजस्तो लहरा र पात हुने बिरुवामा लाग्ने फल हो । यो तितो हुन्छ । काटेर पातलो चाना बनाएपछि तितो नहोस् भनेर पानीमा खरानी मिसाएर रातभर पकाउनुपर्छ । चेपाङहरु वनमा हुने तरुल र भ्याकुर पनि यो बेला खोजेर राख्छन् । चेपाङ अगुवाका अनुसार राम्रोसँग नपकाई खाए भ्याकुरले फाइदा होइन बेफाइदा गर्छ ।

चितवनको पूर्वी भेगमा पर्छ राप्ती नगरपालिका । भरतपुरदेखि २० किलोमिटर पूर्वमा रहेको भण्डारा बजारमा नगरपालिकाको कार्यालय छ । त्यहाँबाट जिप चढेर उत्तर लागेपछि पहाडी बाटो हुँदै ३ घन्टामा कालिटार पुगिन्छ । कालिटारसम्म हिउँदमा जिप चल्छन् । कालिटारभन्दा पर पश्चिम-उत्तरमा छ, इन्द्रमायाको घर भएको गाउँ डबल टाक्साई । राप्ती नगरपालिका–१३ मा पर्ने यो गाउँमा घरहरु टाढाटाढा छन् ।

विकटको व्यथा

कालिटारबाट पैदल डेढ घन्टामा डबल टाक्साई पुगिन्छ । यो ठाउँ राप्ती नगरपालिकाको १३ नम्बर वडामा पर्छ । नगरपालिका भए पनि सडक र बिजुली छैन । उकालो भिरालो ठाउँमा फाट्टफुट्ट घरहरु छन् । ठाउँ दुर्गम र विकट छ । त्यहाँबाट करिब ३ घन्टा उकाली-ओराली हिँडेपछि कान्दा गाउँ पुगिन्छ । कान्दाका चेकराम चेपाङ मेहनती व्यक्ति हुन् । राम्रोसँग खेती गर्ने भएका कारण उनले अरुले जस्तो अनिकालको सामाना गर्नु पर्दैन ।

तर यसपटक चेकरामको मनमा पनि डर पसेको छ । उनको मकैबारीमा अहिले मकैका साना बुटासँगै तोरी पनि देखिन्छ । यो तोरीसँग विनाश जोडिएको छ । ‘हिउँदमा पाकेको तोरी उखेलेर उठाउन नपाउँदै असिना आएर सबै माटोमा मिसाइदियो । मकै छरेपछि त्यो तोरी उम्रियो । अनि अर्को आपत् मकै उम्रेपछि पनि जोडले असिना आयो । मकै हुर्कनै सकेको छैन । यो वर्ष मलाई पनि अनिकाल लाउँछ,’ चेकरामले भने ।


यतिबेला मकै हुर्कंदै छन् । पहाडको मुख्य बाली नै मकै हो । पाखापखेरमा घर बनाएर बस्ने अधिकांश चेपाङसँग धान रोप्ने खेत छैन । मकैबाहेक दोस्रो बाली लगाउने चलन पनि खासै छैन । चैत-वैशाखमा रोपेको मकै साउन-भदौमा बल्ल खान तयार हुन्छ । त्यसैले आफ्नै बारीको उब्जनीले वर्षभरि खान पुग्ने चेपाङहरु निकै कम छन् । ६ महिना सहकाल (खान पुग्ने), ६ महिना अनिकाल (अन्न सकिने) मा बाँच्नु चेपाङहरुको पुस्तैनी बाध्यता हो ।

चेपाङ गाउँमा अन्न अभाव पुरानै समस्या हो । यसपटक असिनाको आपत् पनि थपिएको छ । सबैभन्दा ठूलो संकट त लकडाउनले ल्याउनेछ । इच्छाकामना गाउँपालिका–६ का वडाध्यक्ष भुपेन्द्र चेपाङ भन्छन्, ‘घरमा अन्न सधैं अभाव हुन्छ । गाउँगाउँबाट उमेर र बल भएका युवा कुल्ली मिस्त्री काम गर्न भरतपुर, गोरखा, धादिङ, पोखरा, काठमाडौं जान्थे । थोरैधेरै कमाउँथे, किनेर खान्थे । अहिले लकडाउनले त्यो पनि बन्द भयो ।’


नेपाल चेपाङ संघ चितवन शाखाका पूर्वअध्यक्ष लक्ष्मण चेपाङका अनुसार जिल्लामा चेपाङको संख्या ३० हजारको हाराहारीमा छ । सबैको आयस्रोतको अवस्था लगभग एकैखालको छ । वर्षभरि खान पुग्ने चेपाङहरु निकै कम छन् । लकडाउन अवधि र लकडाउनपछि पनि चेपाङलाई संकटमाथि संकट छ ।

‘पालिकाको योजनामा गाउँकै केटाहरुलाई रोजगारी दिने कि भन्ने थियो । तर अहिले योजनाहरु धेरै रहेनछन् । भए पनि मेसिनले गर्ने काममात्र छ,' वडाध्यक्ष भुपेन्द्र चेपाङले भने, 'राहत दिएर सधैं पुग्दैन । दीर्घकालीन योजना बनाउनुपर्छ ।’ उनले चेपाङ गाउँमा अदुवा खेती राम्रो हुने देखेका छन् । तर अदुवाको बिउ किन्न एक किलोको अढाई सय रुपैयाँ खर्च हुन्छ । चामल किन्ने कि अदुवा भन्ने चेपाङहरुमा दोधार छ ।

बाख्रापालन र तरकारी खेती पनि चेपाङहरु बसोबास गर्ने क्षेत्रमा सम्भावना भएको क्षेत्र हो । ‘अहिले ठाउँठाउँबाट फर्केर गाउँ आएका युवाहरु छन् । उनीहरुलाई यसमा लगाउन सके चेपाङ गाउँको मुहारै फेरिन्थ्यो,' नेपाल चेपाङ संघ चितवनका अध्यक्ष भीमबहादुर चेपाङले भने, 'तर चेपाङले अहिलेसम्म जे गरेन, अब गरिहाल्दा फाइदा हुन्छ भन्न पनि गाह्रो छ ।’

इच्छाकामना–२ हपनी गाउँमा चेपाङहरुले तरकारी खेती सुरु गरेका थिए । गाडीमा राखेर फिस्लिङ बजार झारे बिक्री हुन्थ्यो । ‘अहिले बेच्ने बेलामा लकडाउन सुरु भयो । धेरै घाटा भयो । फेरि नयाँ तरकारी लगाएको त छ तर बिक्री नहोला भन्ने डर छ,’ हपनीकी खुसी कुमाल चेपाङले भनिन् ।

राहत पनि पालिकाहरुले कतै एकपटक कतै दुईपटकसम्म वितरण गरेको अध्यक्ष भीमबहादुरले बताए । ‘राहत पर्याप्त छैन । हुने कुरा पनि हुँदैन । किनकि अहिले संकट चेपाङलाई मात्र छैन संसारलाई छ,' उनले भने, 'हामीले चेपाङका लागि मात्रै माग्ने कुरा पनि भएन । तर यो कमजोर वर्गका आफ्नै खाले समस्याहरु छन् भनेर स्थानीय तहमा प्रस्टसँग कुरा राखेका छौं । अब स्थानीय तहले हाम्रा बारेमा सोचोस् ।’ प्रकाशित : जेष्ठ १०, २०७७ १७:४१

प्रतिक्रिया
पठाउनुहोस्

मुम्बईबाट आएका थिए झापाका संक्रमित

अर्जुन राजवंशी

बिर्तामोड — शनिबार कोभिड–१९ पुष्टि भएका झापा गाउँपालिकाका युवा हप्ता दिनअघि भारतको मुम्बईबाट फर्किएको खुलेको छ । रोजगारीका सिलसिलामा मुम्बई गएका उनी दुई जना साथीसँग लकडाउनकैबीचमा नेपाल आइपुगेका हुन् ।

गाउँपालिकाको लसुनास्थित सीमानाकाबाट लुकीछिपी उनीसहित तीन जना नेपाल प्रवेश गरेका थिए । सीमा प्रवेश गरेलगत्तै उनीहरुलाई देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । तीनै जनालाई जेठ ४ गते कुमरखोदस्थित डिल्लीराज माविको क्‍वारेन्टाइनमा राखिएको थियो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्षण विश्वकर्माका अनुसार उनीहरु र उत्तर प्रदेशबाट आएका ११ जनाको पीसीआर परीक्षणका लागि बिहीबार स्वाब नमुना संकलन गरेको थियो ।

पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएका युवासँगै आएका दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

संक्रमण पुष्टि भएका युवकलाई शनिबार नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको विश्वकर्माले बताए । हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ । दुई जना भने उपचारपछि घर फर्किसकेका छन् ।


प्रकाशित : जेष्ठ १०, २०७७ १७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×