१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

यौन दुर्व्यवहारविरुद्ध अभिनेत्रीको ‘जिरो टोलरेन्स’

रीना मोक्तान

काठमाडौँ — पाँच महिना भयो, अभिनेत्री ऋचा शर्माकी आमाले संसार छोडेको । युट्युब च्यानलमा अझै आमाको अन्तिम दाहस‌ंस्कारका भिडियोहरु यत्रतत्र देख्छिन्, ऋचा । उनको अनुमतिबिना खिचिएका ती भिडियोसँग उनलाई गुनासो छ । त्यसो त आर्यघाटमा भिडियो खिच्दै गरेको उनले नदेखेकी होइनन् ।

यौन दुर्व्यवहारविरुद्ध अभिनेत्रीको ‘जिरो टोलरेन्स’

तर, मातृशोकमा डुबेकी उनले त्यो बेला के नै गर्न सक्थिन् र ! सोचेकी थिइन्, ‘आमाको दाहसंस्कार सकेपछि युट्युब च्यानलबाट भिडियो हटाउन लगाउँछु ।’ पैंतालीस दिन त्यतिकै बित्यो । वैवाहिक जीवन त्यहीमाथि कामतिर व्यस्त हुन थालेपछि त्यो कुरा त्यतिमै रह्यो ।

०००

अभिनेत्री निशाले रेड्डिट वेबसाइटमा तस्बिर दुरुपयोग गरेको भन्दै एक युवतीले आत्महत्या गरेको खबर ‘द काठमाडौं पोस्ट’मा पढिन् । त्यसले उनलाई झन्डै आठ वर्ष पहिले फेसबुकमा तस्बिर दुरुपयोग भएर आफ्नै साथीले आत्महत्या गरेको घटना सम्झाइदियो । अनि उनलाई लाग्यो, ‘अब सहन सकिन्नँ । साइबर बुलिङ, अनलाइन ह्यारेसमेन्ट र विद्युतीय सञ्चारमाध्यमबाट प्रकाशित अश्लील र मिथ्या कन्टेन्टविरुद्ध फेरि आवाज उठाउनैपर्छ ।’

त्यसपछि निशाले ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) नामक अभियान नै सुरु गरिन् । फेसबुकमा यसै नामबाट ग्रुुप खोलिन् । ग्रुुपमा कलाकार, सञ्चारकर्मी, कानुन, खेलकुद, सौन्दर्यलगायत विभिन्न क्षेत्रका परिचित व्यक्तित्व आबद्ध छन् । मानिसहरुमा सचेतना जगाउन यो ग्रुुप खोलेको निशा बताउँछिन् । ‘रेड्डिटजस्तो तुच्छ प्लटफर्मले गर्दा एक महिलाले सुसाइड गर्नुपर्‍यो । यदि त्यो नियन्त्रणमा ल्याउन सकिन्थ्यो भने उक्त महिलाले आफूमाथि भएको बुलिङ सहनु पर्थेन,’ निशाले प्रस्ट्याइन् ।

अभियानको पहिलो चरणमा विद्युतीय सञ्चार माध्यमहरुबाट प्रकाशित समाचारले पुर्‍याएको असरमाथि बहस भयो । सबैले आ–आफ्नो समस्या समूहमा राखे । निशाले आफ्नो अनुमतिबिना लिएको भिडियो र युट्युबको अश्लील कमेन्टका विषयमा आवाज उठाइन् । उनका अनुसार यस्ता कमेन्टले आममानिसमा आफ्नो खराब चरित्रचित्रण निर्माण हुन्छ र मानसिक तनाव दिन्छ ।

‘कमेन्ट डिलिट गर्नुभन्दा लकडाउनमा समय छैन भनेर उम्कन नपाउने भयो । अहिले जसरी हामी हाम्रो घर सफा गर्छौं, दिमाग सफा गर्छौं । भर्चुअल वर्ल्ड पनि सफा गर्ने समय हो यो,’ उनले भनिन्, ‘अहिले सबै बालबालिकाले वास्तविकभन्दा भर्चुअल संसारमा धेरै सिकिरहेका हुन्छन् । आमाको भिडियोमा आएको नकारात्मक कमेन्ट देख्दा मेरो छोरामा कस्तो प्रभाव पर्ला ?’

कृत्रिम संसारले नयाँ पुस्तालाई यौन दुर्व्यवहारतिर प्रेरित नगरोस् भनेर यस्तो निर्णय गरेको निशाको भनाइ छ । धेरैले उनको अनुरोधअनुसार भिडियोमा आएको प्रतिक्रिया हटाए । उनकै अनुरोधअनुसार एउटा युट्युब च्यानलले उनका २५ भिडियोको सबै अश्लील कमेन्ट हटाएको उनले जानकारी दिइन् ।

अभिनेत्री ऋचा शर्माले पनि अनुमतिबिना खिचेको आमाको श्रद्धाञ्‍जली भिडियो हटाउन विभिन्न मिडियालाई अनुरोध गरेकी छिन् । ‘मेरो आमाको श्रद्धाञ्जली भिडियो मलाई नसोधी खिचेको हो । त्यो त नितान्त मेरो व्यक्तिगत कुरा हो नि त । मलाई एकदमै चित्त बुझेको थिएन,’ उनी भन्छिन्, ‘कति युट्युब च्यानलले डिलिट गरिसके । कतिले गरिरहनुभएको छैन ।’

युट्युबमा अश्लील कमेन्ट गर्ने समुह त छँदैछ । अभिनेत्रीहरुलाई विशेषत सामाजिक सञ्जाल फेसबुक इन्स्टाग्रामका कमेन्ट र मेसेजमा अश्लील तस्बिर, भद्दा शब्दहरु लेखेर पनि तनाव दिइरहेका हुन्छन् । ऋचाले पनि त्यस्तो अनलाइनबाट गरिने यौन दुर्व्यवहारको सामना गरेकी छिन् । इन्स्टाग्राममा ब्लक गरेको सूची लामै भइसक्यो । तर, अब भोलिका दिनमा कुनै अभिनेत्री वा महिलाले यस्तो दुर्व्यवहार सामना नगरुन् भन्ने हेतुले यो अभियान सुरु गरेको उनी बताउँछिन् ।

‘भोलि अरु कलाकारले यस्तो दुःख नपाउन् । हामीले त हाम्रो समयमा जति भोग्नु पर्‍यो, भोग्यौं,’ उनले भनिन्, ‘यो सेलिब्रेटी होइन, आममहिलाको अभियान हो । साइबर बुलिङ, महिलाहरुलाई ताली बजाउने, जिब्रो पड्काउने, सिट्ठी बजाउने त्यो सबै चिजलाई हामीले सहनु पर्नेछैन । जिरो टोलरेन्स त्यसैको विरुद्धमा हो ।’

अभिनेत्री रिमा विश्वकर्माले यो महिलाको मात्र नभई पुरुषको पनि अभियान भएको बताइन् । रिमाले आफ्नो अनुमतिबिना सामाजिक सञ्जालबाट तस्बिर तानेर नानाथरी विषयमा बनाएको युट्युब भिडियो हटाउन अनुरोध गरिसकेकी छिन् । ‘डिभोर्स र बिहेसम्बन्धी अरुको समाचारलाई आधार मानेर बनाएको भिडियो हटाइदिनुस् पनि भनेको छु,’ उनले भनिन्, ‘डिजिटल अधिकारको दुरुपयोग गरेर कसैको चरित्र हत्या गर्न र मानसिक तनाव दिन मिल्दैन । पछिल्लो समय युट्युब च्यालनमा हामीलाई खराब चरित्रको देखाइदिँदा दर्शकलाई त जे लेख्दा पनि हुने रहेछ भन्ने भइहाल्छ ।’

युट्युब भिडियोमात्र होइन, अन्य प्लेटफर्ममा चरित्र हत्या गर्न नमिल्ने बताउँदै रिमाले भनिन्, ‘यदि कुनै पनि प्लेटफर्ममा तपाईंलाई यौन दुर्व्यवहार, यौन प्रस्ताव अथवा बुलिङ गर्छ भने तपाईंलाई हामी साथ दिन्छौं । यो जिरो टोलरेन्सको उद्देश्य हो ।’

पछिल्लो समय अभिनेत्रीहरु डिजिटल कन्टेन्टतर्फ केन्द्रित हुँदा कतिले यो अभियानलाई सेलिब्रेटी भर्सेस मिडिया भनेर बुझेका छन् । ‘यो मिडिया भर्सेस सेलिब्रेटी पक्कै पनि होइन,’ निशा भन्छिन्, ‘युट्युब हेडलाइनको मात्र कुरा पनि होइन । एकदमै राम्रो भलाद्मी सोमा जाँदा पनि कमेन्टमा गाली खाइन्छ । यो त हाम्रो समाजको प्रतिबिम्ब हो । त्यसैले हामी सजग भयौं भने त महिलाले मात्र होइन, पुरुषले पनि गाली खानु पर्दैन ।’

यही सन्दर्भमा रिमाले थपिन्, ‘मिडिया र सेलिब्रेटी एउटै धरातलमा बस्छौं । हामीले सचेतना जगाउन खोजेका हौं । आज चार जनाले बोलिरहेका हौंला । यो आवाजले सार्थकता पायो भने भोलि धेरैले न्याय पाउँछौं ।’

अझै पनि महिलाहरु मिडियाको यौनजन्य आक्रमणबाट बच्न नसकेको तर्क गर्छिन् निशा । भन्छिन्, ‘श्रीषा कार्कीले त्यतिखेर एउटा लेखको भरमा आत्महत्या गर्नु र अहिले रेड्डिटजस्तो तुच्छ प्लेटफर्ममा आफ्नो तस्बिर दुरुपयोगको भएको भरमा आत्महत्या गर्नु भनेको समाजमा नारीहरुको स्थान केही परिवर्तन भएको रहेनछ । पहिरन फेरबदल भयो होला, भाषामा फेरबदल भयो होला । तर मानसिकता उही रहेछ । हाम्रो लडाइँ त्यसकै विरुद्ध हो ।’

सन् २०१७ मा क्रिकेटर शरद भेषावकरसँग बिहे गरेको भोलिपल्ट दावा स्टेभिन शेर्पासँग नाम जोडेर युट्युबमा निशाको चर्चा गरिएको थियो । दावासँगको मिथ्या खबर छापेको भन्दै उनले एक महिना टेकु धाएर त्यस च्यानलविरुद्ध लडेकी थिइन् । कति च्यानल त बन्दसमेत गराएकी थिइन् । आफ्नो अनुमतिबिना बनाएको कन्टेन्टमा आएको भद्दा टिप्पणी अब न सुन्न चाहन्छिन्, न पढ्न नै । ‘सेलिब्रेटी हुँदैमा म किन त्यस्तो कमेन्ट सहेर बाँचू,’ उनले भनिन् ।

निशाका अनुसार यो अभियानले अबको चरणमा विभिन्न हक अधिकारबारे छलफल गरेपछि कानुनी उपचारको बाटो अंगाल्छ । ‘सकारात्मक हिसाबले छलफल गर्‍यौं । अब कानुनी बाटो रोज्छौं,’ उनले भनिन्, ‘कति मिडियालाई हामीले चेतावनी दिइसक्यौं । मान्नु भएन भने कानुनी उपचारतिर लाग्छौं ।’

प्रकाशित : जेष्ठ १०, २०७७ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?