कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कोरोनाले मृत्यु भएको युवक भनेर भाइरल ‘फेक फोटो’को कथा 

रीना मोक्तान

काठमाडौँ — जेठ ३ गते कोरोना भाइरसले नेपालमा पहिलोपटक एक सुत्केरी महिलाको मृत्यु भएको पुष्टि भयो । त्यो खबर तीव्र रुपले फैलियो । सामाजिक सञ्जालहरुमा ती महिलाको फोटो धमाधम सेयर हुन थाल्यो । यसरी तस्बिर सार्वजनिक गर्नेको आलोचना पनि निकै भयो ।

कोरोनाले मृत्यु भएको युवक भनेर भाइरल ‘फेक फोटो’को कथा 

त्यसको भोलिपल्ट बाँकेको नरैनापुर गाउँपालिकामा क्वारेन्टाइनमा रहेका एक २५ वर्षीय युवकको पनि कोरोनाले मृत्यु भएपछि देशैभर चिन्ता बढ्यो । गाउँपालिकाको मटैया–५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा बस्दै आएका युवकको तस्बिर पनि महिलाकै जसरी एकैछिनमा सामाजिक सञ्जालमा सार्वजनिक हुन थाल्यो ।

तस्बिरमा युवाको नाकमा सेतो कपास घुसाइएको देखिन्छ । तस्बिर सेयर गर्दै हार्दिक श्रदाञ्जली लेख्नेहरुलाई भ्याई–नभ्याई थियो ।

अचानक जेठ ५ गते सामाजिक सञ्जालमा एक युवकको पोस्टले त्यो तस्बिर सेयर गर्नेहरुलाई झस्कायो । ‘कोरोना भाइरसबाट मृत्यु हुने २५ वर्षीय युवक म होइन । मलाई कसैले फसाएको हो । सुतिरहेको मान्छेको फोटो खिचेर ग्रुपमा हालेछ । मलाई थाहा छैन’ आइतवीर लिम्बूको फेसबुकबाट यो पोस्ट अन्जली अधिकारी ˆयान क्लबमा सार्वजनिक हुनासाथ सबैको ध्यान तानिएको हो ।

कान्तिपुरसँग भिडियो कलमार्फत् सम्पर्कमा आएका आइतवीर लिम्बूले आफ्नो तस्बिर यसरी प्रयोग भएको देख्ना सुरुमा झट्का लागेको बताए । ‘हिजो फेसबुक खोलेर हेर्दै थिएँ । अचानक फेसबुकमा मेरो फोटो आयो । मेरो फोटो यहाँ कसरी आयो भनेर हेर्दा, कोरोनाले मरेको २५ वर्षीय केटा यही हो भनेको लेखेको थियो । त्यसपछि म त छक्क परें । कसले त्यसो गर्‍यो मलाई थाहा छैन,’ उनले भने, ‘पछि मैले म यो मान्छे होइन । म मरेको छैन भनेर फेसबुकमा अपलोड गरें । त्यतिबेलासम्म धेरै ग्रुपहरुमा मेरो फोटो सेयर भइसकेको थियो ।’

२२ वर्षका आइतवीर काठमाडौं कोटेश्वरमा बस्छन् । तीन महिनाअघि मात्रै ताप्लेजुङबाट विदेश जान काठमाडौं आएका थिए । उनी काठमाडौं आएको केही दिनमै कोरोनाको महामारी फैलिन थाल्यो । त्यसपछि काठमाडौंमा रहेका तीनजना साथीसँग बस्दै आएका छन् ।

यस घटनाबारे गाउँमा भएका आमाबुवा, दाई र भाइसम्म बेखबर छन् । ‘गाउँमा त नेट पनि छैन । फेसबुक नै चल्दैन । परिवारले यसबारे थाहा पाउनु भएन,’ उनले सुनाए ।

आफ्नो तस्बिर दुरुपयोग कसले गर्‍यो त ? आइतवीरको अनुमानमा कसैको अनुहार आउँदैन । आफूसँगै बस्दै आएका साथीहरुले यस्तो नगरेको तर्क गर्छन् उनी । उनी भन्छन्, ‘मेरै साथीहरुले त किन यस्तो गर्थे र । कोही अरु नै हुनुपर्छ ।’

कानूनी उपचारमा जानेबारे सोध्दा उनको जवाफ थियो, ‘के गर्नु अब गर्नेले गरिसके । अब के गर्ने र ! म यहाँ नयाँ पनि छु ।’

प्रकाशित : जेष्ठ ७, २०७७ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?