कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सिजनमै सुक्खा स्वीमिङ पुल

पौडी पोखरीमा लकडाउन प्रभाव 
रीना मोक्तान

काठमाडौँ — पौडी पोखरीहरु गर्मीयामको व्यग्र प्रतिक्षामा हुन्छन् । पानीसँग खेल्न रुचाउनेहरु पनि यही मौसम कुरिरहेका हुन्छन् । चैतको अन्तिम साताबाट यस वर्षको गर्मी सुरु भइसकेको छ । तर, सहरका पौडी पोखरीको दृश्य अहिले सधैंझैं छैन ।

सिजनमै सुक्खा स्वीमिङ पुल

शनिबार भक्तपुरस्थित आदर्शमा रहेको क्लब बागमती पुग्दा त्यहाँको पौडीपोखरी निकै शान्त थियो । तर, कोरोना भाइरसको त्रासले देशमा लकडाउन नभएको भए सायद यहाँ खुट्टा टेक्ने ठाउँ हुन्थेन ।

‘अहिले त मान्छेहरु नआएको देखेर यहाँको पोखरी पनि जिल खाइरहेको होला,’ क्लब छेउ बस्ने ज्योती लामाले हामीसँग सुनाइन् ।

त्यहाँ पुुग्दा क्लबका आधिकारिक व्यक्ति कोही थिएनन् । बस शान्त पानी थियो, त्यो पनि लेउ लागेर हरियो भइसकेको ।

त्यस्तै, गत वर्षको असारमा खुलेको भक्तपुरको सिपाडोलमा रहेको भादगाउँ स्पोर्ट एन्ड रिसोर्ट पौडी पोखरी अवस्था पनि बागमतीभन्दा फरक थिएन । ‘स्वीमिङ पुलले राम्रै पिकअप लिइरहेको थियो । यो सिजनमा राम्रै व्यापार होला भन्ने अपेक्षा थियो तर कोरोनाले डामाडोल भयो,’ भादगाउँका म्यानेजर मनोज व्यन्जुले भने, ‘पुल खोल्न नपाउँदै यो सिजन जालाजस्तो छ । लाखौंको घाटा हुने भो । बैंकबाट लिएको ऋण कसरी तिर्ने, स्टाफलाई तलब कसरी खुवाउने अनि दिनहुँ पुलको सरसफाइ खर्च कसरी जुटाउने तनावमा छौं ।’

पौडी पोखरीमा सधैं पानी चलाइरहनुपर्छ । समयसमयमा पानी फोहोर हुन्छ, फेरिरहनु पर्छ । तर, अहिले पौडी पोखरी बन्द हुँदा सरसफाइमा ध्यान नगएको बताउँछन् म्यानेजर व्यन्जु ।

‘अब मानिसहरु आउने भएको भए पो पानी फेरिन्थ्यो होला स्वीमिङ पुलमा अहिले त लेउ नै लागिसक्यो होला,’ उनले भने ।

उक्त पौडी पोखरीमा ४० जना कर्मचारी काम गर्थे । तर, लकडाउन सुरु भएदेखि उनीहरुलाई घर पठाइएको छ । अहिले उनीहरुले पौडी पोखरीमा कसैलाई जान दिएका छैनन् ।

भक्तपुरको सबैभन्दा व्यस्त पौडी पोखरी हो, काठमाडौं फन भ्याली । काठमाडौं, ललितपुर र काभ्रे लगायतका जिल्लाबाट यहाँ रमाइलो गर्न मानिसहरु आउने गर्छन् । तर, अहिले यो पौडी पोखरी पनि सुनसान छ । सिजन सुरु हुनासाथ करिब ५० जनाले यहाँ अस्थायी रोजगारी पाउँथे । तर, यसपाली सबैको बेहाल छ ।

‘पुल बन्द भएपछि रोजगारी दिने कुरै भएन,’ फन भ्यालीका मार्केटिङ अफिसर विक्रम भूमि भन्छन्, ‘अहिले हाम्रो मात्र व्यापार बन्द छैन । अरु पनि बन्द छन् । हाम्रो मात्रै खोल्ने कुरा भएन हुन त हाम्रो व्यापार ६ महिना हुन्थ्यो । यसपाली त्यो पनि भएन । हिसाब त गरेको छैन तर लाखौंको घाटा हुने पक्का छ ।’

अप्रिलदेखि सेप्टम्बरसम्म स्वीमिङ एभ्रिडे (मोबाइल स्वीमिङ स्कुल)ले मानिसहरुलाई पौडी खेल्न सिकाउँथ्यो । उनीहरु विभिन्न पौडीपोखरीलाई भाडामा लिएर बालबालिका, युवा र असाधारणलाई पौडी खेल्न सिकाउने कक्षाहरु सञ्चालन गर्थे । यसपटक स्वीमिङ एभ्रिडेले विभिन्न स्थानमा आफ्नो कक्षाहरु बढाउने सोचेका पनि थिए । तर लकडाउन गर्दा योजना पूरा हुन नपाएको एभ्रिडेका सञ्चालक विवश श्रेष्ठले बताए ।

‘यसपटक जावलाखेल, बालुवाटार र त्रिपुरेश्वर लक्षित गरेर स्वीमिङ सिकाउने योजना थियो । तर लकडाउनले गर्दा हाम्रो योजना पूरा भएन । यसले त हाम्रो व्यापार नै शून्य बनायो,’ उनले भने । अहिलेसम्म १५ लाख नोक्सान भइसकेको विवशले दुखेसो पोखे ।

अन्य वर्षमाझैं यो वर्ष पनि पौडी सिक्न चाहनेले जाडो महिनादेखि नै एभ्रिडेमा बुकिङ गरिसकेका थिए । विवशका अनुसार २ महिनाको कक्षाहरु बुक नै भइसकेको थियो । तर अब यी कक्षा सञ्चालन नहुँदा पौडी प्रशिक्षक बेरोजगार भएको उनी सुनाउँछन् । ‘नेपालमा स्वीमिङ सिक्ने ठाउँ धेरै छैन । हामीकहाँ ५–६ जना स्वीमिङ इन्स्ट्रक्टर हुनुहुन्थ्यो । उहाँहरु अन्य समयका लागि गर्मीकै आम्दानीमा भर पर्नुहुन्थ्यो । तर यसपाली सबै स्वीमिङ इन्स्ट्रक्टर बेरोजगार हुनु भयो,’ विवश सुनाउँछन् ।

प्रकाशित : जेष्ठ ६, २०७७ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?