कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

७१ वर्षीय भाइरोलोजिस्टको अनुभव : इबोला र एचआईभीसँग लडेँ, तर कोरोनासँग‍...

'जबसम्म खोपको विकास हुँदैन तबसम्म हामी सामान्य रुपमा बाँच्न सक्दैनौं । यो महामारी अन्त्यको रणनीति भनेको विश्वभर खोपको उपलब्धता नै हो । यो भनेको बिलियन डोजहरु उत्पादन गर्नु हो, जुन आफैमा चुनौतीपूर्ण छ ।'
डिर्क ड्रलान्स

पिटर पिअट भाइरोलोजिस्ट हुन् । उनी लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका निर्देशक हुन् । उनलाई मार्चको मध्यतिर कोभिड–१९ संक्रमण देखियो । उनले एक साताजति अस्पतालमा बिताए । उनी हाल लन्डनस्थित आफ्नो घरमा आराम गरिरहेका छन् ।

७१ वर्षीय भाइरोलोजिस्टको अनुभव : इबोला र एचआईभीसँग लडेँ, तर कोरोनासँग‍...

बेल्जियममा हुर्किएका उनी सन् १९७६ मा इबोला भाइरस पत्ता लगाउनेमध्ये एक हुन् । उनले आफ्नो जिन्दगीको धेरै समय संक्रामक रोगसँग लडेर बिताए । सन् १९९५ देखि २००८ सम्म उनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) अनन्तर्गत एचआईभी एड्स कार्यक्रमको नेतृत्व लिएका थिए । हाल उनी युरोपियन प्रेजिडेन्ट उरसुला भोन डेर लेयनका कोरोना भाइरस सल्लाहकार छन् । पोइट भन्छन्, 'कोरोना भाइरस मेरा लागि जीवन परिवर्तन गर्ने अनुभव हो ।'

मे २ मा उनीसँग साइन्स म्यागजिनका लागि लिइएको अन्तर्वार्ताको सारांश :

१९ मार्चका दिन मलाई एक्कासि उच्च ज्वरो आयो । अत्यधिक टाउको र कपाल दुख्यो । यो अचम्मलाग्दो पीडा थियो । खोकी नलागे पनि महसुसचाहिँ हुन्थ्यो । मैले घरमै बसेर टेलिवर्किङबाट काम गरिरहेँ , किनकि म 'वर्काहोलिक' हुँ । पछिल्लो वर्षदेखि हामीले यसरी टेलीबाटै काम गर्ने गरेका छौं ताकि धेरै यात्रा गर्न नपरोस् । त्यो लगानी अहिले कोरोना भाइरसको बेला काम लागिरहेको छ ।

शंका त लागेको थियो, परीक्षण गर्दा कोरोना पोजिटिभ नै देखियो । त्यसपछि म घरमा गेस्ट रुमको सेल्फ आइसोलेसनमा बसेँ । तर ज्वरो कम भएन । म अहिलेसम्म सिकिस्त बिरामी परेको छैन । पछिल्लो १० वर्षमा एक दिन पनि बिरामी बिदा लिएको छैन । म स्वस्थ्य जीवन बाँच्छु र नियमित हिँड्ने गर्छु । मेरा लागि एउटा मात्र जोखिमको कारण भनेको मेरो उमेर थियो । म ७१ वर्षको भएँ । सकारात्मक विचार राख्ने भएकाले यो रोगविरुद्ध लड्न सक्छु भन्ने आँट आयो । थकान र ज्वरो नघटेपछि अप्रिल १ मा डाक्टर साथीले अस्पताल जान सुझाव दिए । जँचाउँदा अक्सिजनको अभाव देखियो । मलाई भने श्वासप्रश्वासमा समस्या महसुस भएको थिएन । फोक्सोको परीक्षण गर्दा कडा खालको निमोनिया 'ब्याकटेरियल निमोनिया' देखियो । त्यही सामान्यतया कोरोनाको लक्षण हो ।

मलाई एकनासले थकावट महसुस भइराख्थ्यो तर पनि जहिल्यै ऊर्जाले भरिएको हुन्थेँ । म त्यो महसुस कहिल्यै बिर्सिन सक्दिनँ । यसैबीच मलाई कोरोना नेगेटिभ देखियो तर पनि अस्पताल भर्ना हुनुपर्‍यो । भाइरस हराइसक्छ तर पनि त्यसको असर हप्तौंसम्म रहिरहन्छ ।

मलाई भेन्टिलेटरमा तुरुन्त राखिनेछ भनेर एकदमै चिन्तित थिएँ । मैले कतै पढेको थिएँ, मेरो जस्तो अवस्थाको व्यक्तिमा मृत्युको सम्भावना बढी हुन्छ । त्यसैले केही डराएको थिएँ तर भाग्यवश चिकित्सकहरुले मलाई अक्सिजन मास्क लगाइदिए । त्यसले काम गर्‍यो । म आइसोलेसन रुममा नै रहेँ, इन्टेन्सिभ केयर डिपार्टमेन्टमा ।

जब तपाईं थकित महसुस गर्नुहुन्छ, आफ्नो भाग्यलाई पछि छोडिदिनुहुन्छ । पूर्ण रुपमा नर्सिङ स्टाफसामु आत्मसमर्पण गर्नुहुन्छ । हरेक दिन तपाईंको उही रुटिन हुन्छ- सिरिन्ज लगाउनु र यसले काम गरोस् भनेर आशा गर्नु । प्राय: सक्रिय रहने कोसिस गर्थें तर म बिरामी न थिएँ ।

मैले एक बेघर मानिस, कोलम्बियन क्लिनर र एक बंगलादेशका व्यक्तिसँग रुम सेयर गरेको थिएँ । उनीहरु सबै डायबेटिजका बिरामी थिए ।

ती दिनरात एकदम पट्यारलाग्दा थिए । एक्लो महसुस हुन्थ्यो । कसैसित बोल्ने ऊर्जा हुँदैनथ्यो । केही साता कानेखुसी गरेर मात्र बोल्न सक्थेँ । अझै पनि साँझ मेरो बोल्ने शक्ति कम हुन्छ । मलाई एउटा प्रश्नले भने सधैं सताउँथ्यो- म यो संकटबाट बाहिर निस्केँ भने कस्तो हूँला ?

विभिन्न भाइरससँग ४० वर्षभन्दा बढी लडिरहँदा म संक्रमणको विज्ञ नै भइसकेको छु । म खुसी पनि छु किनकि मलाई इबोला भएन । ब्रिटिस अस्पतालमा कोभिडको उपचार हुँदा पढेको थिएँ, ३० प्रतिशतको मृत्यु हुने सम्भावना भनेर । यो मृत्युदर सन् २०१४ मा वेस्ट अफ्रिकामा देखिएको इबोलाको जस्तै थियो । यसले गर्दा झन् डर हुने रहेछ, इमोसनले जित्ने रहेछ । मैले आफ्नो जिन्दगीभर भाइरसविरुद्ध लडेँ तर अन्त्यमा उनीहरुले मसँग बदला लिए । एक साता त जीवन-मरणको दोसाँधमा बाँचेजस्तो महसुस गरेँ ।

***

अस्पतालको बसाइपछि म डिस्चार्ज भएँ । घर जाँदा सार्वजनिक यातायातको प्रयोग गरेँ । किनकि मलाई सहर हेर्नु थियो, खाली सडक हेर्नु थियो, बन्द गरिएको पब र ताजा हावा लिनु थियो । तर सडकमा कोही थिएनन्, कस्तो फरक खालको अनुभव ! म राम्ररी हिँड्न पनि सकिरहेको थिइनँ, धेरै दिन हलचल नभएर होला मासंपेशी दुखिरहेको थियो ।

घर आएर धेरै बेरसम्म रोएँ । म केही समय त सुतको सुतै भएँ । दिमागमा जोखिम अझै पनि हुन्छ होला भन्ने भान पर्दो रहेछ । म अहिले नेल्सन मण्डेलालाई अझै प्रशंसा गर्न थालेको छु । उनी २७ वर्ष जेल बसे तर निस्किँदा झन् मजबुत बनेर निस्के ।

म आशा गर्छु, यो संकटले धेरै ठाउँका राजनीतिक संकटलाई समाधान गर्नेछ । यो एउटा भ्रममात्रै पनि हुन सक्छ, तर हामीले पोलियो खोप अभियानका क्रममा कैयौं युद्ध रोकिएको देखेका छौं ।

मलाई जहिल्यै पनि भाइरसप्रति सम्मान छ, जुन अझै हराएको छैन । मैले जिन्दगीको धेरै समय एड्स भाइरससँग लडेँ । हामी जहिल्यै पनि यी सबलाई रोक्ने प्रयास गरिरहेका हुन्छौं । मेरो शरीरमा भाइरस प्रवेश गरेसँगै भाइरसलाई फरक तरिकाले हेर्न थालेको छु । मलाई थाहा भयो यसले मेरो जीवन परिवर्तन गर्नेछ, जबकि भाइरसँगको भिडन्त भइसकेको छ । म झन् जोखिममा छु जस्तो लाग्छ ।

एक सातापश्चात् अस्पतालबाट डिस्चार्ज हुँदा मलाई श्वासप्रश्वासमा समस्या देखियो । फेरि अस्पताल जानुपर्ने भयो तर भर्ना नै हुनुपर्ने गरी उपचारको आवश्यकता थिएन । मलाई फोक्सोमा समस्या देखिएको थियो अनि निमोनिया पनि । यसलाई ‘साइटोकिन स्टर्म’ भनिन्छ । यो समस्या रोग प्रतिरोधात्मक क्षमता कम हुँदा झन् बढ्ने रहेछ । धेरै मानिस तन्तु नष्ट भएपछि मर्दैनन् बरु रोग प्रतिरोधी प्रणालीले बढी प्रतिक्रिया दिँदा असर गर्ने गर्छ। ती प्रतिरोधी प्रणालीले भाइरसप्रति कस्तो प्रतिक्रिया जनाउँछन्, यसमा अन्योल हुँदा मानिसको मृत्यु हुन्छ । म अझै पनि उपचार गराइरहेको छु । कार्टिकोस्टेरोइडको हाई डोज लिइरहेको छु, जसले इम्युन सिस्टमलाई सुस्त बनाउँछ । त्यो लक्षण पहिल्यै मसँग थियो भने कोभिड देखिँदा म बाँच्दिनथे । मेरो मुटुको धड्कन मिनेटको १७० पटक थियो । यसलाई थेरापीबाट नियन्त्रणमा ल्याइन्छ, ब्लड क्लोट तथा स्ट्रोक नहोस् भनेर ।

धेरैले सोच्छन्, कोभिडले १ प्रतिशत संक्रमितलाई मार्छ र अरुलाई भने फ्लुजस्तो लक्षण देखिन्छ । तर कथा भने अलि जटिल नै हुन्छ । धेरै मानिसमा यसले क्रोनिक किड्नी र मुटुको समस्या गराइदिन्छ । उनीहरुको न्युरल सिस्टममा अवरोध पुर्‍याइदिन्छ । विश्वभर यस्ता हजारौं संक्रमित हुनेछन् जसलाई जीवनभर मिर्गौलाको डायलसिस गराइराख्नुपर्ने पनि हुन सक्छ ।

हामी कोरोना भाइरसबारे जति जान्न खोजिरहेका हुन्छौं त्यति नै प्रश्नहरु उब्जिरहेका हुन्छन् । हामी यात्रा गर्दै सिकिरहेका हुन्छौं । कहिलेकाहीँ म क्रोधित पनि हुन्छु, जसले कुरै नबुझी वैज्ञानिक र नीति निर्माणकर्ताहरुलाई गाली गरिरेहका हुन्छन् । महामारी रोक्न सकिरहेका छैनन् भनिरहेका हुन्छन् । यो एकदम गलत हो ।

आज सात सातापछि मलाई आफ्नै स्वरुपमा पाएजस्तो महसुस भइरहेको छ । मैले घर छेउको टर्किस ग्रिनग्रोसरबाट मगाएको सेतो कुरिलो खाएँ । म बेल्जियमको किरबेर्गेन भन्ने ठाउँको हुँ, जहाँ कुरिलो खेती गरिन्छ ।

मेरो फोक्सोको एक्सरे अन्ततः राम्रो देखिएको छ । यही खुसीयालीमा धेरै समयपछि बोतलको वाइन खोलेँ र सेलिब्रेट गरेँ । मलाई फेरि काममा फर्किन मन छ, भलै मेरो कामको चाप केही समय कम हुन्छ । मैले भोन डेर लेयनको कोभिड-१९ का लागि आर एन्ड डी (अनुसन्धान र विकास) मा विशेष सल्लाहकारको रुपमा काम थालेँ । यो आयोग खोपको विकासको सहायतामा लागि परिराखेको छ ।

जबसम्म कोरोना भाइरसको खोपको विकास हुँदैन तबसम्म हामी सामान्य रुपमा फेरि बाँच्न सक्दैनौं । यो महामारी अन्त्यको रणनीति भनेको विश्वभर खोपको उपलब्धता हो । यो भनेको बिलियन डोजहरु उत्पादन गर्नु हो, जुन आफैमा चुनौतीपूर्ण छ । अहिले पनि खोप बन्न सम्भव छ कि छैन भनेर यकिन गर्ने अवस्था छैन ।

आज पनि एउटा विरोधाभास देखिन्छ, केही मानिस खोप नलगाई बाँचिरहेका हुन्छन् । उनीहरुले आफ्ना बालबच्चालाई पनि खोप लगाउँदैनन् । कोरोना भाइरसविरुद्धको खोप सबैतिर पुर्‍याउनुछ भने समस्या आउन सक्छ । किनकि धेरै मानिसले खोप लगाउन इन्कार गर्न सक्छन् । यस्तो भयो भने त महामारी कहिल्यै पनि नियन्त्रणमा ल्याउन सकिन्न ।

म आशा गर्छु, यो संकटले धेरै ठाउँका राजनीतिक संकटलाई समाधान गर्नेछ । यो एउटा भ्रममात्रै पनि हुन सक्छ, तर हामीले पोलियो खोप अभियानका क्रममा कैयौं युद्ध रोकिएको देखेका छौं ।

डब्लूएचओले कोभिडविरुद्ध लड्न सराहनीय काम गरिरहेको छ । यसलाई अझ कम कर्मचारीतन्त्रमुखी र सल्लाहकार समितिमा कम निर्भर बनाउँदै सुधार गर्न सकिन्छ । डब्लूएचओलाई प्रायः राजनीतिक खेलमैदान बनाइएको छ ।

म जन्मजातै आशावादी व्यक्ति हुँ । अहिले म मृत्युको सामना गरिरहेको छु तर वाहियात र बकवास कुराप्रति मेरो सहनशीलताको स्तर पहिलेभन्दा तल पुगेको छ । त्यसैले अहिले म बिरामी हुनुपूर्वभन्दा शान्त छु । उत्साह बोकेर होसियारीपूर्वक अघि बढिरहेको छु ।

प्रकाशित : जेष्ठ ४, २०७७ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?