१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बिनायो खिप्दै गायक जितेन [भिडियोसहित]

उनले गीतमा जुनजुन शब्द घुसाए, तिनै शब्दप्रेममा डुबेर कर्दले कपीकपी बिनायो बनाइरहेका छन् । सबै बिनायो मालिंगोकै हुन् ।
गणेश राई

काठमाडौँ — 'मालिंगो काटी नि लै लै बिनायो बाजा, कर्दैले कपेर ए नि हजुर, भेटघाटै हुँदा नि लै लै बोलचालै भयो, लाऊँ माया हाँसेर ए नि हजुर...' 

बिनायो खिप्दै गायक जितेन [भिडियोसहित]

पूर्वेली लोकसंगीतका प्रसिद्ध गायक तथा संगीतकार जितेन राईले आफ्नै संकलन र संगीतमा गाएको गीतको अंश हो यो । उनले गीतमा जुनजुन शब्द घुसाए, तिनै शब्दप्रेममा डुबेर त्यही काम गर्दै छन्, लकडाउनका बेला ।

कर्दले कपेर बिनायो बनाइरहेका छन् । ती सबै बिनायो मालिंगो बाँसकै हुन् । बाँसका ती टुक्रा र कप्टेरा इलाम-पाँचथरको सीमा राँके र पौवाभञ्ज्याङबाट ल्याइएका हुन् ।

लकडाउनको ४३औं दिन संगीतकर्मी राईलाई भेट्न पुगियो ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित निवासमा । उनी माथिल्लो पटंगिनीमा बसेर बिनायो कपिरहेका थिए । खुलेको मौसम चर्को घामले उज्यालिएको थियो । उनी अघिल्तिर एक बिटो बिनायोका साथमा व्यस्त थिए ।

'लकडाउनको केही दिन त संगीत नै बिर्सेझैं भयो, मुड चलेन,' सांस्कृतिक अभियानका अगुवा जितेन भन्छन्, 'कोरोना भाइरसको त्रासले संसारै गाँजेको बेला छ । यो बाध्यतालाई घरभित्रै रहेर सिर्जनात्मक बनाउनुपर्छ भन्ने लाग्यो । गाउने र बजाउने मात्र कति गरौं भनेर बाजाको निर्माणमा जुटेको छु ।'

जितेनले बाजा बजाउनेमात्र नभई बनाउने सीप पनि सानैमा आर्जन गरेका हुन् । गाउनु त जो छँदै छ । यतिखेर बनाइरहेको मालिगो बाँसको छिप्पेको छेस्कोलाई बाजाको रूप धारण गराइरहेका छन् । यसलाई उनी 'जितेन राईको मायाको चिनो'का रूपमा लिएका छन् । त्यसैले हरेक बिनायो र मुर्चुंगा ढुंग्रीमा कर्दको तीखो धारले कुँदेका छन् आफ्नो नाम । छोटकरीमा 'जेराई' रोमनमा लेखिएको छ । जसलाई आँखा चिम्लेर छाम्दा पनि थाहा हुन्छ ।

'

नाम कुँद्नुको कारण यो छ,' मिठो पारामा जितेनले प्रस्ट्याए, 'कसले बनाएको बिनायो भनेर खोजी भयो भने जितेनले बनाएको भन्ने थाहा पाऊन् । हामी संगीतकर्मीलाई यो नातिकाजीको हार्मोनियम भन्दाखेरी जसरी गर्वका रूपमा छोइन्छ । त्यसैगरी यो बिनायो पनि त्यस्तै होस् भनेर चिनो राखेको हुँ । यसलाई व्यावसायिकभन्दा पनि अभियानका रूपमा लिएको छु ।'

उनका अनुसार बाँसको सानो कप्टेरो त हो, तर बाजाको आकार दिन त्यत्ति सजिलो छैन । यत्ति सानो वस्तुलाई हेर्दै आकर्षक बनाउनुछ । त्यसैले बुट्टेदार कुँद्नु पर्छ । बजाउँदा मनै हर्ने आवाज दिन सक्ने हुनुपर्छ । मसिना फलामे हतियार प्रयोग गर्नुपर्छ । उनी दिनको बढीमा तीन वटासम्म बिनायो बनाउँदै छन् । यसका लागि कलात्मक बुट्टा भर्ने मेहनत र धैर्य चाहिन्छ । तिखो आँखाले मस्तिष्क तान्नैपर्छ । त्यसैले गर्दा शिल्पी जितेन उज्यालो घामसँगै पावरदार चस्मा भिरेर खटिएका छन् ।

'बुवा ब्रिटिस इन्डिया पल्टनबाट फर्किंदा हार्मोनी बाजा ल्याउनुभएको थियो,' चोरऔंलाले चस्मा मास्तिर ठेल्दै जितेनले आफ्नो सांगीतिक यात्रा सम्झिए, 'बुवाबाटै हार्मोनी बाजा बजाउन सिकेँ । आमा पनि बिनायो, मादल बजाएर गीत गाउनुहुन्थ्यो । त्यहीँबाट मलाई प्रेरणा मिलेको भन्ने ठान्छु ।' उनको पहिलो गीत २०३५ सालमा धरानमा रेडियो बीएफबीएसमा रेकर्ड गरिएको थियो । त्यो 'शिथिलताले' बोलको गीत उनकै शब्दमा रहेको थियो ।

२०१३ सालमा पाँचथरको फलैचा गंगावागाउँमा जन्मिएका जितेन लोकआधुनिक संगीत फाँटमा अंकित छन् । उनका आफ्नै स्वर, संगीत र रचना डेढ सयजति छन् । अरुका रचना र संगीतमा गाएका छन् । गीति एल्बमकै हिसाबले १४–१५ वटा रहेको उनले बताए ।

प्रकृतिबाटै संगीतको सिर्जना भएको उनको बुझाइ छ । पुर्खाहरुले आफ्नो जीवनपद्धतिलाई संगीतमय तुल्याउने क्रममा बाँस काटेर बिनायो, मुरली, बाँसुरी, यलम्बर (टुङ) बाजा, चरी बाजा बनाएको अनुमान गर्छन् । बिनायो प्रेममा डुबेका उनले 'बिनायो' नामको फिल्मसमेत लेखन र निर्माण गरेका छन् । बिनायो बाजालाई प्रचारमा ल्याउन मुन्दुम कथालाई लिएर फिल्म बनाएको उनले बताए । भन्छन्, 'किरातीहरूलाई एकताको सूत्रमा बाँध्ने संस्कृति मात्रै हो ।'

उनका अनुसार गीत भनेको भाषामा गरिएका भावनाका थुँगाहरू हुन् । गीत मान्छेले आफ्नो विचार सम्प्रेषण, अभिव्यक्ति गर्ने साधनका रूपमा प्रयोग गरिएको हो । संगीत भनेको वाद्ययन्त्रहरूको समष्टि रूप जुन प्रकृतिको सुन्दर देन हो । निरन्तर साधनामा खारिँदा जीवन्त बन्छ । 'गीतसंगीत मानिसको भावना, जीवनशैली, जिउने सन्दर्भ, सभ्यताको क्रममा निर्माण, विकसित, परिष्कृत भावनाको समष्टि रूप हो,' उनको ठम्याइ छ ।

जितेनले नेपालीमा नभई बान्तावा, चाम्लिङ, कुलुङ, थुलुङ, लोहोरुङ, लिम्बु, तामाङ, शेर्पा, मैथिली, भोजपुरी, सतार, झाँगड भाषामा समेत गीत गाएका छन् ।

-तस्बिर र भिडियो : गणेश/कान्तिपुर

प्रकाशित : वैशाख २८, २०७७ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?