कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिंहदरबारअघि जे देखियो : संयम प्रहरी, आक्रामक चिनियाँ [भिडियोसहित]

आफ्नो देश फर्किन चाहने चिनियाँ नागरिकले सिंहदरबारअघि प्रदर्शनका क्रममा नेपाल प्रहरीको बर्दी तान्दै मुक्का प्रहार गरेका छन् । 
मकर श्रेष्ठ

काठमाडौँ — एक हुल चिनियाँ नागरिक शुक्रबार बिहान चिनियाँ दूतावास पुगे । उनीहरुको माग थियो– ‘हामी आफ्नै मुलुक जान चाहन्छौं, छिटो फर्काऊ।’

सिंहदरबारअघि जे देखियो : संयम प्रहरी, आक्रामक चिनियाँ [भिडियोसहित]

त्यहाँबाट उनीहरुलाई प्रहरीले हटाए । त्यही हुल दिउँसो करिब साढे २ बजे सिंहदरबारतिर लाग्यो । सिहंदरबारको मुल गेटअगाडि पुगेर उनीहरुले नारा लगाउन थाले । ‘पैसा छैन,घर जान चाहन्छु’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरे ।

भिड नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत आफै खटिएका थिए । चिनियाँ नागरिक जबरजस्ती सिहंदरबारतर्फ अघि बढ्न चाहन्थे भने प्रहरी उनीहरुलाई रोक्न चाहन्थे । निकैबेर ठेलमठेल चलिरह्यो ।

चिनियाँहरु १५ जनाभन्दा बढी थिए । प्रहरी पनि यतिकै संख्यामा थिए । यही क्रममा एक चिनियाँ युवाले प्रहरी नायव निरीक्षक (सइ) को छातीमा समाएर तान्न थाले । यति हुँदा पनि प्रहरीले संयम अपनाए । सइलाई नै हातपात गर्न थालेपछि उनीहरुलाई सम्झाउन प्रहरी निरीक्षक अघि बढे । निषेधित क्षेत्र भएकाले यहाबाट पछाडि हट्न उनले चिनियाँहरुलाई आग्रह गरिरहे ।

उनले सम्झाइरहँदा एक चिनिया महिलाले ती प्रहरी निरीक्षकको दाहिने हात र लुगामा समाएर तान्न थालिन् । उनलाई साथ दिन अरु चिनियाँ पनि थपिए । त्यही बेला अर्को चिनियाँ पुरुषले ‘हामी घर जान चाहन्छौं’ भन्ने चिनियाँ र अंग्रेजीमा लेखेको प्ले कार्ड देखाए । निषेधित क्षेत्रमा प्ले कार्ड देखाएर चिनियाँ उग्र हुन थालेपछि प्रनाउ हरिबहादुर बस्नेतले त्यो प्ले कार्ड खोस्न अघि बढे ।

त्यसपछि चिनियाँहरु प्रहरीमाथि जाइलागे । मुक्का हान्न थाले । प्रहरीलाई उफ्रीउफ्री आक्रमण गर्न थालेपछि प्रहरीले लाठी प्रयोग गरेको थियो ।

एक हुल प्रहरीलाई आक्रमण गर्न थाल्यो भने अर्को हुल सिंहदरबारतर्फ बढ्न थाल्यो। खुट्टा, हात र केहीले त प्रहरीकै लाठी खोसेर लखेटीलखेटी प्रहरीलाई हान्न थाले । प्रहरीको टोली कम भएको फाइदा चिनियाँले उठाए । प्रहरी संयमित हुँदा चिनियाँको प्रहारबाट प्रनाउ बस्नेतको टाउकोमा चोट लागेको छ । झडपमा दुवै पक्षका सामान्य घाइते भएका छन् ।

यो घटना सिंहदरबारको सालिकअगाडि फुटपाथको मोडमा भएको हो । केही छिनको घम्साघम्सीपछि प्रहरीले उनीहरुलाई अघि बढ्न दिएनन् । त्यसपछि चिनियाँ फुटपाथमै बसे । केही प्ले कार्ड देखाउँदै प्रहरीसँग बाझ्न थाले । प्रहरीले उनीहरुलाई भद्रकालीतिर धकेल्न खोज्दा उल्टै प्रहरीलाई ठेलिरहेका थिए । यसरी भिडमा खटिने प्रहरीसँग न मास्क थियो न त पन्जा ।

प्रहरीले भने माइकिङ गर्दै निषेधित क्षेत्रबाट बारम्बार हट्न आग्रह गरिरह्यो । तर, चिनियाँ भने हट्नै चाहेनन् ।

प्रहरीको थप जनशक्ति आएपछि साढे ३ बजे मात्रै उनीहरुलाई नियन्त्रणमा लिइएको हो । ‘उनीहरु आफ्नो देश जान चाहन्छन् । एक महिनादेखि चिनियाँ दूतावासमा धाउँदा पनि चासो नदिएपछि चीनको विरोध गर्न सिंहदरबारमा धर्ना दिन आएको देखिन्छ,’ काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले भने, ‘कसरी हुन्छ हल्ला गर्ने, नेपाल र चीन सरकारको ध्यान तान्ने र योजनाबद्ध प्रहरीलाई आक्रमण गर्ने नियत राखेर आएको हुन सक्छ ।’

निषेधित क्षेत्रमा हुलहुज्जत गर्ने ४७ जनालाई नियन्त्रणमा लिएर भृकुटीमण्डपस्थित प्रहरी क्लबमा राखिएको उनले बताए । तीमध्ये १६ जना महिला छन् । ‘हामी उनीहरुलाई छाड्न चाहन्छौं । तर, बुझ्ने कोही छैनन्,’ उनले भने ।

यो पनि पढ्नुहोस्ः

सिंहदरबार अगाडि धर्ना बसेका ४५ चिनियाँ नागरिक पक्राउ

प्रकाशित : वैशाख २६, २०७७ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?