१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बोलात्कार

त्यो ग्रुप हालै ट्विटरमा एक्सपोज भयो । ग्रुपको उद्देश्य थियो, उस्तै उमेरका केटीहरुको फोटो सेयर गरी अंग हेरेर उमेर पत्ता लगाउनु । कसको कुन अंग राम्रो भनेर चर्चा गर्नु र कसैलाई सजिलै बलात्कार गर्ने योजना बनाउनु । 
व्यक्तिगत सम्बन्धलाई बजारमा ओछ्याएर अरुसँगै आफू पनि यौनिकताको मजा लिनु... के यो बलात्कार होइन ?
श्रेयज सुवेदी

गल्लीबाट निस्किएकी केटी अर्को गल्लीमा ओझेल नभएसम्म आँखा उसको शरीरभरि कुद्छ । हेराइलाई उसको अप्ठेरो मनाइसँग सरोकार हुँदैन । अनुहार हेरिँदैन ।

बोलात्कार

छातीको उचाइ र नितम्बको उठाइ हेरिन्छ । र, भर्जिनिटी अन्दाज लगाइन्छ । यदि उचाइ र उठाइ ठूलो छ भने, सजिलै भनिन्छ– खाइसक्यो, बनाइसक्यो, पड्काइसक्यो ।

छोरीहरुका लागि आज पनि 'भर्जिनिटी टेस्ट' गर्ने गल्ली, चोक र चौतारा सर्वत्र छन् । हेर्दा कसैले केही भनेनन्- अलिकति दम्भ बढ्यो । बोल्दा वरिपरिका सबै हाँसिदिए- अलिकति हिम्मत बढ्यो । दम्भ र हिम्मतको मिश्रणमा भोलिपल्ट सँगै हिँडेर कुम छोइदियो । साथी सर्कलले ताली पिट्यो- हिम्मत हिमाल भयो । पर्सिपल्ट अर्को गल्लीमा बलात्कार गरिदियो । अनि बल्ल एक हुल मान्छे 'बलात्कारीलाई फाँसी दे' वाला प्लेकार्ड बोकेर चोकमा निस्किए । ट्विटर, फेसबुक, इन्स्टाग्राममा ह्यासट्यागको ट्रेन्ड चल्यो ।

हेर्दा गाली, जिस्क्याउँदा खबरदारी र छुँदा थप्पड किन कसैले हान्न सकेन ?

कुनै जक्सनमा एक हुल केटा जम्मा हुन्छन् । चिया-चुरोट चल्छ । र, चल्छ कसैको पूर्व-प्रेमिकाको किस्सा । घुम्न गएका ठाँउहरु, लेनदेन गरेका गिफ्टहरु, रोएहाँसेका पलहरुको कुरा हुँदैन । कति माया गरेँ र गरिनँ भन्ने सवाल नै उठ्दैन । छाती फुलाएर भन्छ, 'तेल्लाई त मैले यति चोटि...।' सबको कान चनाखो हुन्छ । मानौं कसैले असर्फी गाडेर राखेको ठाउँको लोकेसन भन्दै छ । 'अनिअनि, त्यसपछि, अरु भन् न मुला' भनेर नारदहरु उसलाई जोत हाल्छन् । उसले केही पनि बाँकी नराखी बेलीविस्तार लगाउछ । कट्‍टु रङदेखि कन्डम फुटे/नफुटेको स्ट्याटससम्म । पोजिसनदेखि उसले निकालेको आवाजसम्म ।

भोलि कतै घुम्न जाँदा बाइकमा तेल हालिदिने सर्तमा उसले आफ्नो प्राइभेट फोटोहरु देखाउँछ । कुनै अश्लील कथाको कामुक पात्र बनाएर उसले आफ्नी पूर्व-प्रेमिकालाई बेचिदिन्छ, दुई लिटर पेट्रोल र कुनै बसाइको एक राउन्ड चिया-चुरोटमा । र, ऊ त्यही प्रेमिका हुन्छे, जसलाई कुनै साथीले 'सेक्सी' भन्दा एक थप्पड हानेर 'भाउजू भन्' भनेर थर्काएको ।

'अब मलाई मिलाइदे न त' भन्ने प्रस्तावमा कसरी उसले सजिलै फोन नम्बर बाँड्न सक्छ ? कसैको गोप्यता यसरी उदांगो बनाएर कोही कसरी गर्व गर्न सक्छ ? सुन्नेहरुले उक्त केटीप्रतिको सोचाइ र व्यवहार कुन हदसम्म गिराउँछन् होला ? व्यक्तिगत सम्बन्धलाई बजारमा ओछ्याएर अरुसँगै आफू पनि यौनिकताको मजा लिनु... के यो बलात्कार होइन ?

केही महिनापछि फेरि त्यस्तै भेटघाट हुन्छ । ऊसँग अब नयाँ हट टपिक हुन्छ । अघिल्लोपल्ट साथीहरुको नतमस्तकताले उसमा एक किसिमको सर्वोच्चता आइसकेको हुन्छ । उसले नयाँ सम्बन्धको यौनक्रीडा सप्रसंग व्याख्या गर्छ । आउँदा दिनमा उसलाई कसैको इज्जत उछाल्न, सम्बन्ध टुट्न जरुरी हुँदैन ।

अचम्म त तब लाग्छ, जब विवाहित पुरुषहरु पनि यहाँ अछुतो छैनन् । घरमा जमघट गरेर तास खेल्दा कसैले भाउजूको छातीमा एकोहोरो हेर्छ भने तपाईंलाई आँखा तर्ने अधिकार छैन । किनकि उसलाई हिम्मत र छुट तपाईं आफैंले दिनुभएको हो । नवविवाहित कलिगलाई पहिलो दिन अफिसमा आँखा सन्काएर जिस्क्याउनुभएको छ होला । साँझ रक्सी खाएर/ख्वाएर बेलीविस्तार पनि सुनाइमाग्नु भयो होला । पहिलो दिन लजाउँदै बिस्तारै ऊ खुल्दै गयो होला । त्यसैमा तपाईंले आफ्नो किस्सा पनि छोटकरीमा बताउनुभयो होला । केका लागि ? कसैको निजी यौन जीवनमा यति धेरै चासो किन ?

थुप्रै पोर्न साइट छन् । ब्यान्ड भए पनि खोल्ने/खोज्ने तरिका युट्युबभरि प्रशस्तै छ । सुन्नभन्दा त हेर्नै मजा आउनुपर्ने हो । कसैको व्यक्तिगत पाटोलाई रक्सीको सितन किन बनाउनुपर्‍यो ? तपाईंकी चेली पनि कसैको श्रीमती हुन बाँकी नै होला । आफ्नोमा पर्दा बज्रपात, अरुकोमा पर्दा झारपात !

'कस्तो सेक्सी यार' भन्दै बेन्चमा कपीको पाना कुच्याउनु, 'यसलाई पाए त' भन्दै दाह्रा किट्नु यौन कुण्ठाको पोखाइमात्र हो । कलेजमा कपी साटासाट गर्दा छोइएका औंलाहरुले सिरिंग गराउनु सामान्य हो । तर 'औंला छोएँ' भन्दै ग्रुपमा झ्याली बजाएर हात हुँदै छातीसम्म पुग्ने सपना देख्नु र देखाउनुलाई के भन्ने ? मिन्स हुदा पाइन्टमा लागेको रगतलाई व्यंग्य गर्दै अनुहार निलो हुने गरी आत्मबललाई गिराउने क्लासको गलल्ल हाँसोलाई के भन्ने ?

ट्वाइलेटमा नामसहित फोन नम्बर लेख्नु । नांगो तस्बिर बनाएर छेउमा नाम लेखिदिनु । 'त्यसलाई त एउटाले बिताइसक्यो' भन्दै कलेजभरि विज्ञापन गर्नु । र, यी सबै कुराको गसिप बनाएर क्यान्टिनमा समोसासँग चोप्ने अचार बनाउनु कतिसम्म उपयुक्त होला ?

समय बदलिँदो छ । हरेक क्षेत्रमा साधन र प्रविधिले सहजता ल्याएको छ । सोसल साइट यस्ता कुराको सुरक्षित प्लाटफर्म बनेको छ । जहाँ विभिन्न ग्रुप बनाएर, नकारात्मक रुपमा यौन कुण्ठाहरु पोखिन्छ ।

'ब्वाइजलकररुम' भन्ने एउटा इन्स्टाग्राम ग्रुपको चर्तिकलाले मथिंगल हल्लाइदियो । नागरिकता लिने उमेर नपुगेका नाबालिगहरुले ग्रुप च्याटमा ग्याङ रेपको योजना बनाएका गफले सबैलाई आक्रान्त बनायो । उस्तै उमेरका केटीहरुको फोटो सेयर गरेर अंगहरुको मजाकमा मजा लिइरहेको त्यो ग्रुप हालै ट्विटरमा एक्सपोज भयो । ग्रुपमा फोटो सेयर गरी अंग हेरेर उमेर पत्ता लगाई खेल्नु । कसको कुन अंग राम्रो भनेर चर्चा गर्नु र कसैलाई सजिलै बलात्कार गर्ने योजना बनाउनु । ग्रुप असाइनमेन्ट गरेजत्तिकै सहज हो ग्याङ रेप ?

यो दिल्लीको घटना हो । सामाजिक सञ्जालमा सारा विश्व फगत एक क्लिकमात्र हो । हाम्रोमा पनि यस्ता ग्रुप छैनन् या हुँदैनन् भन्नु मुर्खता हो । यस्ता घटनाले हामीलाई आगामी पुस्ता सोचेर झस्काउनुपर्ने हो । कसैलाई थाहा छैन, को कसरी कहाँ बलात्कारमा पर्दै छ ? आज हामीले गलतलाई गलत भनेनौं भने भोलि बलात्कारको विरोधमा माइतीघरमा प्लेकार्ड बोक्नु भनेको इन्सटाग्रामको स्टोरी मेटेरियल मात्र हुनेछ ।

भर्चुअल कर्तुतलाई स्क्रिनसटले बाहिर ल्यायो । तर हाम्रा तमाम चियापसल, भट्टीपसल, क्लासरुम, बाथरुम जस्ता ठाउँमा बोलेर गरिने बोलात्कार कसरी बाहिर आउँछ ? जुन हामी आफैले भोगेका र गरेका कुरा हुन् । यस्ता कुराले माध्यम र साधन परिवर्तन गर्दै छन्/गर्नेछन् । कतिले जानेर कतिले नजानेर । गर्दै हुनुहुन्छ भने नगर्नुस् । कोही गर्दै छन् भने गलत हो भनिदिनुस् । कसको कत्रो कसरी र कहाँ जस्ता प्रश्नले तपाईं कसैको बदनामी मात्र गर्दै हुनुहुन्छ । हिजोको दिनमा इज्जत उछाल्ने मौन अधिकार सर्कलले दियो होला । त्यो सर्कल सर्कसमात्र हो भन्दा मलाई पाप नलाग्ला । कानुनको अक्षर-धारा-उपधाराले अपराध मानेर सजाय देला भन्ने त्यति आशा छैन । तर तपाईंको एउटा खबरदारीले कसैको घैंटोमा घाम लाग्छ भने परिवर्तनको सुरुवाती बिन्दु त्यही हुनेछ ।

प्रकाशित : वैशाख २४, २०७७ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?