बिरामी पत्नी भेट्न यो कष्ट...

रीना मोक्तान

काठमाडौँ — बिहीबार राति अचानक सोमराज बोम्जनलाई मेलम्चीबाट फोन आयो, ‘दिदी सिकिस्तै छिन् । पैसा छैन, कसरी उपचार गर्ने ? छिट्टो आउनु ।’ फोन सालीको थियो । एकै सासमा थाहा भयो, श्रीमती कमला बिरामी छन् । 

१० बजे राति पत्नी बिरामी भएको खबर पाएपछि सोमराजको मन थामिएन । आत्तिए । के गरौं कसो गरौं भयो । भेट्न जाउँ देश लकडाउनमा । आँखामा निन्द्रा परेन । रात कोल्टे फेर्दैमा बित्यो । उज्यालो नहुँदै उनले हेटौंडादेखि हिँडेर मेलम्ची जाने निधो गरे ।

उनका केही साथी लकडाउनमा काठमाडौंबाट हिँडेरै गाउँ आइपुगेका थिए । उनीहरुलाई सोधे– हिँडेर काठमाडौं कति घण्टामा पुगिन्छ ? साथीले तीन घण्टामै काठमाडौं पुग्ने सुनाएपछि ब्यागमा लुगा कसे । गोजीमा अस्पताल खर्च बोके । बाटोमा बोल्नकै लागि भए पनि साथी चाहिएला भन्ने लागेर भाइलाई आफूसँगै हिँड्न भने । तर, भाइले मानेनन् । माइला बुबाको छोरा छेवाङ (११ वर्ष) भने काठमाडौं हेर्ने रहरले सोमराजसँग हिँड्न तयार भए ।

त्यसपछि सुरु भयो सोमबाराजको बाध्यता र छेवाङको रहरको यात्रा ।

पाँच बजे बिहानै मकवानपुरको रानीसेराबाट ठिंगनतिर हिँडे । त्यहाँबाट फास्टट्र्याक बाटो हुँदै काठमाडौं पुग्ने उनीहरुको तयारी थियो । त्यो बाटोले काठमाडौं चाँडै पुर्‍याउँछ भन्ने थाहा थियो उनीहरुलाई । कतै नरोकीई जंगलको बाटो हिँड्न थाले । सायद छेवाङलाई काठमाडौं हेर्न आतुरी थियो त्यसैले दाइलाई उछिनेर अघिअघि पाइला चाल्दै हिँड्थे ।

सोमराज पहिला यसरी कहिल्यै हिँडेका थिएनन् । त्यसैले होला हिँडेको दुई घण्टा नबित्दै उनका गोडा थरथराउन थाले । ब्याग पनि बोक्न सकेनन् । ब्याग छेवाङले बोकिदिए । लगातार चार घण्टा हिँडेपछि उनीहरु ठिंगन आइपुगे । सोमराजको पाइला अघि बढेन । थाकेर लखतरान भए । ठिंगनमै मामा माइजूको घरमा त्यसदिन रात काटे ।

भोलीपल्ट बिहान सबेरै त्यहाँबाट फास्टट्र्याकको बाटो लागे । सिमसिम पानी परिहेको थियो । एउटा छातामा जसोतसो पानी छेल्दै अघि बढे । सडकको बाटो हिँडिरहँदा सोमराजलाई बिरामी पत्नीको पीरले सताउँथ्यो, कहिले पहिरोले । ‘सडकतिर हिँड्दा पहिरो पनि गइरहेको थियो । पहिरोले पुरियो भने के गर्ने होला ? कसैलाई थाहा पनि हुँदैन भनेर डर लाग्थ्यो । त्यसैले छेउछेउको बाटोमा हिँड्यौं,’ उनले सुनाए, ‘कहिल्यै नहिँडेको बाटो, डर लाग्दोरहेछ नि । काठमाडौं नपुगे अर्कै ठाउँमा निस्किएला कि भन्ने पनि हुँदो रहेछ !’

सुनसान सडकमा चोर लाग्ला भन्ने पनि डर हुन्थ्यो उनलाई । त्यसैले बीचबीचमा श्रीमतीको लागि बोकेको खर्चतिर उनको हात पुग्थ्यो । सिस्नेरी भन्ने ठाउँमा आएपछि पानीले चुट्न थाल्यो । छाताले पानी थेग्न सकेन । बागमती नदी पनि झन ठूलै हुँदै गयो । नदीले बगाउला भन्ने डरले फेरि उनीहरुले जंगलकै बाटो रोजे ।

जंगलमा दोबाटो आउँदा अलमल पर्थे, त्यतिबेला साथीलाई फोन घुमाइहाल्थे सोमराज ।

जंगलको बाटोमा उनीहरुले कहिल्यै थकाई मारेनन् । गफिनभन्दा गन्तव्यतिर उनीहरुको ध्यान हुन्थ्यो । ‘अँध्यारो होला भनेर जंगलको बाटो छिटोछिटो हिँड्यौं । यस्तो बेलामा कसैले बास पनि दिँदैन । बिचल्ली होला भनेर हामी लगातार हिँड्यौं,’ उनले सुनाए ।

अनकन्टार जंगलमा हिँड्न सजिलो पक्कै थिएन । जंगल सडकजस्तो होइन, कोही बटुवा भेट्ने । दुई दाजूभाइ गफिँदै जंगलको बाटो हिँड्थे । कहिले मौनतामै कति डाँडा काटे । ‘हामीलाई बाटो नै थाहा थिएन । तर जंगलको बीच भाइलाई केही भइहाल्छ कि भन्ने चिन्ता हुन्थ्यो । त्यसैले जेसुकै होस् भनेर फटाभट हिँड्यौं,’ उनले सुनाए ।

सोमराजको मनमा काठमाडौं पुगे आफन्त कोही भेटिहाल्ने आशा थियो । त्यही आशामा डाँडापाखा, उकाली ओराली गर्न छोडेनन् । छेवाङ पनि दाइकै कदमसँग कदम मिलाउँदै हिँड्थे ।

बीचबीचमा सोमराज छेवाङलाई सोध्ये, ‘खुट्टा दुखेन ?’, छेवाङ भन्थे, ‘अहँ दुखेको छैन ।’

घण्टौं हिँडेर पनि काठमाडौं नआइपुग्दा सोमराजको ढुकढुकी बढ्न थाल्थ्यो ।

‘३ घण्टामै काठमाडौं पुगिन्छ भनेको थियो । तर हामी जति हिँडे नि काठमाडौं आइपुगेन,’ उनले भने । तर पनि उनीहरुले हिँड्न छोडेनन् ।

सोमराजलाई थाहा थियो, हिँडेपछि गन्तव्य अवश्य पुगिन्छ । उनको कामै बाटो खोज्ने हो । लकडाउनअघि मुस्ताङतिर थिए । त्यता उनी ब्लास्टिङको काम गर्थे । ठूलाठूला ढुङ्गालाई पड्काएर बाटो खोल्ने काम उनैको हुन्थ्यो । उनी मुस्ताङ हुँदा उनकी पत्नी भने कक्षा १२ को परीक्षा दिन मेलम्ची गएकी थिइन् ।

मुस्ताङ पुगेको केही दिनमै लकडाउन घोषणा भएपछि उनी गाउँ फर्केका थिए । श्रीमती मेलम्चीमै भइन् । गत बैशाखमै मात्र बिहे गरेकी पत्नी बिरामी हुँदा सोमराजको मन छटपटाइरहेको थियो । मेलम्चीमा कोही बिरामी भयो भने पाँचखालसम्म उपचारका लागि ल्याउनुपर्छ । यस्तो अवस्थामा बिरामी भएको श्रीमतिलाई भेट्न उनलाई हतारो थियो ।

त्यसैले गोडाले आराम खोज्दा पनि उनीहरु कतै रोकिएनन् । बाटोमा छेवाङले चाउचाउ र बिस्कुट खान्थे । तर, सोमराजलाई त्यो पनि रुचेन । ठिंगनबाट हिँडेको १२ घण्टामा उनीहरु ललितपुरको टिकाभैरव आइपुगे । बल्ल सोमराजले ढुक्कको सास फेरे । त्यो रात चापागाउँमा एक आफन्तकहाँ बिताए ।

त्यसपछि शनिबार सबेरै बिहान पाँच बजे हिँडे मेलम्चीका लागि ।

यात्राभरी सोमराजलाई जे कुराको डर थियो, त्यही भयो । चापागाउँमा उनीहरुलाई प्रहरीले रोक्यो । केरकार गर्न थाल्यो । उनले डराउँदै आफ्नो समस्या बेलिबिस्तार लगाए । केही क्षणमा प्रहरीले उनीहरुलाई छोडिदियो ।

यस्तै केरकारमा परिने डरले फेरि जंगलको बाटो रोजे । ‘मलाई झन डर भयो । त्यसपछि सडकको बाटो नहिँडेर जंगलको बाटो हिँडे । चापागाउँबाट सानोगाउँ । त्यहाँबाट कौशलटार आइपुगें । अनि कौशलटारबाट फेर सडककै बाटो हिँड्न थाल्यौं,’ उनले सुनाए ।

सूर्यविनायक पुगेपछि छेवाङले दाइलाई सोधेछन्, ‘मेलम्ची पुग्न अझै कति छ ? अब चाहिँ मेरो पनि खुट्टा दुख्न थाल्यो ।’ छेवाङले यति भनेपछि सोमराजलाई पनि भाइको पीडा महसुस भयो । पत्नी बिस्तारै निको हुँदै गएको खबर पाए । मन केही हलुका भयो ।

तर, भक्तपुरबाट मन अगाडि बढे पनि उनको खुट्टा चल्न मानेन । चप्पलले खुट्टाभरी घाउ बनाएको थियो । भाइ उस्तै लखतरान । त्यसपछि भक्तपुरमा साइँला काकाकहाँ रात काटे । ‘खुट्टा टनटन दुखिराछ । रातभरी सुत्न सकिनँ,’ उनले खुट्टाका घाउहरु देखाउँदै भने । छेवाङमा कतै थकान देखिन्थेन । छेवाङलाई मैले सोधें, ‘कस्तो रहेछ त काठमाडौं ?’ उनले भने, ‘ठूलो ठूलो घरहरु रहेछ ।’

कक्षा ४ मा पढ्दै आएका छेवाङ र सोमराज अहिले भक्तपुरमा साइँला काकाको डेरामा छन् । काठमाडौंमा तरकारी पुर्‍याउन आउने मेलम्चीको गाडीमा चढेर पत्नीलाई भेट्न मेलम्ची पुग्ने सोमराजको विचार छ ।

अब उनीहरु हिँड्ने हालतमा छैनन् । तर, गाडीले मानेन भने हिँडेरै जानुपर्ने बाध्यता छ । ‘गाडीले लगेन भने छोटो बाटो खोजेर भए पनि हिँड्नै पर्‍यो । हामीलाई अहिले आराम गर्नुभन्दा कहिले मेलम्ची पुगौं भन्ने चिन्ता छ,’ २३ वर्षिय सोमराजले भित्तामा अढेस लाग्दै सुनाए ।

सोमराजको यात्रा अझै पूरा भएको छैन । जीवन यस्तै आधा अधुरा यात्राहरुले स्मरणीय बनाउँछन् । आफ्नी पत्नी/प्रेमिकाको प्रेमले डोर्‍याएको सोमराजको यो यात्रा झन् विशेष छ । प्रकाशित : वैशाख २१, २०७७ २१:४२

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कुखुरालाई दानाको सट्टा घाँसपात

न मासु बिक्छ, न दाना पाइन्छ 
रीना मोक्तान

काठमाडौँ — सरकारले लकडाउन थपेसागै भक्तपुर सिपाडोलका कुखुरा व्यवसायीले कुखुरा पाल्न छाडेका छन् । लकडाउनमा दानाको अभाव र पालेका कुखुराको बिक्री हुन छोडेपछि उनीहरुले लाखौंको घाटा व्यहोर्नु परेको छ ।

शुक्रबार सिपाडोल पुग्दा अधिकांश कुखुरा फार्म खाली थिए । त्यहाा न कुखुरा थिए, न कुखुरा व्यवसायी नै ।

एउटा खाली फार्मभित्र सरफाई गर्दै भेटिइन्, माइली तामाङ । लकडाउनअघि पालेको १७ सय कुखुरा बल्ल–तल्ल बिक्री गरिन् । कुखुरा बिक्री भएपछि फार्म सफा गर्ने,चल्ला ल्याउने गर्थिन् । लकडाउन अनिश्चित भएपछि उनी चल्ला हाल्ने–नहाल्ने दोधारमा छिन् ।

‘अब बन्द हुने हो कि खुल्ने हो ? कुखुरा राख्ने/नराख्ने ठेगान छैन,’ उनले भनिन्,‘अब राखे पनि सप्लाई भएन भने घाटा हुन्छ ।’

लकडाउन भएससँगै कुखुरालाई चाहिने दानाको अभाव भएको छ । तीनवटा टहरामा उनले ६ वर्षदेखि कुखुरा पाल्दै आएकी छन् । एउटा टहराको भाडा वार्षिक १ लाख तिर्नुपर्छ ।

फोहोर बर्ड फ्लू यसपाली कोरोनाले गर्दा उनको व्यवसाय चौपट बनेको छ । उनले भनिन्,‘यही लकडाउनले गर्दा कुखुरा नबिकेपछि १५ सय कुखुरा मार्नुपर्‍यो । ’ अरुबेला ४०/४२ दिनमा सबै कुखुरा बिक्री हुने गरेको उनले सुनाइन ।

माइली तामाङको घर नजिकै छ, समुन्द्रको कुखुराको टहरा । समुन्द्र फार्मलाई चल्ला र दाना दिएर कुखुरा पालन गर्न लगाउँथे । हुर्किसकेको कुखुरालाई सूर्यविनायकमा रहेको मासु पसलमा बेच्थे । उनी दिनमा ४ सय केजीसम्मको मासु बेचेर ३५ हजारसम्मको व्यापार गर्थे । तर लकडाउनले मासु खानेहरु घटे । उनको व्यापार पनि डामाडोल भएको छ ।

‘हाम्रो कुखुरा बेच्ने पसल छ । मेरो पसल मासु नभइ चल्दैन । अहिले कुखुरा पाउनै गाह्रो । लकडाउनले गर्दा फार्महरुले कुखुरा पाल्न छाडे,’ उनले भने । लकडाउनपछि मासु बेच्न कुखुरा नपाइने डरले अहिले उनले आफ्नो घर नजिकै टहरा बनाएर १२ सय चल्ला पालेका छन् ।

लकडाउनअघि उनले विभिन्न फार्मलाई चल्ला पाल्न दिएका रहेछन् तर दाना नपाएपछि सबै कुखुरा मर्‍यो । लकडाउनले १७/१८ लाखको घाटा भएको उनले बताए ।

मासुबाट कोरोना सर्ने हल्ला फैलिएपछि मासुको बिक्री घटेको उनले बताए । ‘अरुबेला दिनमा २० केजी मासु बेच्ने पसलले लकडाउनमा ३–४ केजी मात्र बेचे,’ श्रेष्ठले भने, ‘कोरोना कुखुराबाट त सर्ने होइन । मासुबाट लागेको भए कुखुरा मारिन्थ्यो होला । कसैले भ्रम फैलाइदियो ।’

दानाको सट्टा घाँसपात :

पाँच वर्षदेखि कुखुरा पालन गर्दै आएका प्रेम तामाङले लकडाउनमा दाना अभाव हुँदा घाँस पनि टुक्रा पारेर कुखुरालाई खुवाए । अहिले जसोतसो गहुँ, मकै उसिनेर दाना बनाइरहेका छन् ।

पालेको कुखुरा बेच्नका लागि तयार भएपनि लकडाउनले गर्दा मासु पसलहरु पनि बन्द छन् । कुखुरा बेच्ने समयमा दानापानी खोजेरै उनको दैनिकी बितिरहेको छ ।

उनले लोकल कुखुरा पालेका छन् । अरुबेला यी कुखुरा चार महिनामा बेचिसक्थे । ‘कुखुरा बेच्ने ठाउँ छैन । दानापानी अपुग छ । दाना नभएर कुखुराले मान्छे नै खाला जस्तो गर्‍यो,’ उनले भने, ‘त्यतिबेला त घाँस काटेर दियौं । अहिले चाहीँ गहुँ, मकै उसिनेर दिँदैछौं ।’

प्रकाशित : वैशाख १९, २०७७ २०:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×