मामुली भूमिकाहरुको हिरो- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मामुली भूमिकाहरुको हिरो

यज्ञश

काठमाडौं — यो कथा अलि लामै हुनेवाला छ । यसमा केही आफ्ना स्मृति, केही सिनेमाका सम्झना र केही यताउताका कुरा मिसिएका छन् । यो लकडाउनका बेला तपाईंलाई लामो लेख पढ्ने फुर्सद होला भनेर यो ब्लगमा मैले धेरै कैंची नचलाएको बेहोरा अवगत गराउँछु । अरु बेला भएको भए म आफैं अक्षरहरुप्रति अलि बढी निर्मम हुने थिएँ ।

सुरुमा शीर्षककै कुरा । यो शीर्षक अरुन्धति रोयको उपन्यास 'गड अफ स्मल थिंग्स'को हिन्दी अनुवादको शीर्षकबाट लिइएको हो- 'मामुली चिजों के देवता'बाट । त्यसैले यो मामुलीको अर्थ बेकार वा झारेझुरे भन्ने होइन ।

यसको अर्को कारणचाहिँ यो ब्लग बर्षौं स-साना भूमिकाहरु, जसले पर्दामा निकै कम समय पाउँछन्, त्यस्ता भूमिकामा अभिनय गर्दै प्रमुख भूमिकामा आएका कलाकारहरुप्रति समर्पित छ । इरफान जब हिरो भए त्यसपछि पनि उनले साना मानिसहरुकै भूमिका धेरै निर्वाह गरे । कहिले रिटायर्ड हुन लागेको सरकारी कर्मचारी त कहिले समाजले हतियार उठाउन बाध्य बनाएको डाँकु त कहिले ट्याक्सीवाला !

...

पत्रपत्रिकामा लेख लेख्न थालेको, अन्तर्वार्ता र फिल्म समीक्षा लेख्न थालेको र होलटाइमर पत्रकार भएको सबै जोड्ने हो भने दिव्य बीस वर्ष पुग्दैछ । यो बीस वर्षमा धेरै फिल्म हेरियो, केही किताब पढियो र थोरै मान्छे भेटियो । विद्वानहरुका कुरा सुनेअनुसार हुनुपर्नेचाहिँ सायद उल्टो थियो- धेरै मानिस भेट्ने, केही किताब पढ्ने र थोरै फिल्म हेर्ने । हुनुपर्ने धेरै कुरा जीवनमा हुँदैनन् । नभए पनि हुने धेरै कुरा हुन्छन् । हुनै नहुने कुराचाहिँ थोरै नै हुन्छन् । त्यसैले जीवन बाँच्नलायक हुन्छ । गर्नै नहुने काम धेरै गरिएको भए त जीवन बाँच्न सकिने नै हुन्थेन होला !

कुरा झन्डै १२ वर्षअघिको हो । त्यसबेला दयाहाङ राई नेपाली सिनेमाको स्टार भइसकेका थिएनन् । न खगेन्द्र लामिछाने नै 'पशुपतिप्रसाद' भएका थिए । न त दीया मास्के र सिर्जना सुब्बा नाटक तथा फिल्ममा यस्तरी जमेका थिए ।

त्यतिबेला पनि यी सबै कलाकार थिए । कलाका माध्यमले समाजलाई हेर्ने आफ्नो नजरलाई तिखार्दै थिए । गिलो माटो मुछेर लिपेको भित्तामा आफ्नो हत्केलाको छाप छोड्न उद्दत कुनै किशोरजसरी उनीहरु कलाका पर्खालतिर हत्केला सोझ्याइरहेका थिए । यो टोलीका नेता थिए अनुप बराल । नयाँ दिल्लीमा नाटक पढेर फर्केका अनुपले काठमाडौंमा स्थापना गरेको एक्टर्स स्टुडियो चर्चामा थियो । अनुपले फिल्म निर्देशन थाल्न बाँकी नै थियो । केही फिल्ममा उनको अभिनय भने देखिइसकेको थियो । प्रकाश घिमिरे र आशान्त शर्मा पनि त्यतिन्जेल नाटकमै रमाइरहेका थिए ।

२००८ को जनवरीमा म यिनको टोलीमा मिसिएर नयाँ दिल्लीको राष्ट्रिय नाट्य विद्यालय (एनएसडी) पुगेको थिएँ, नाटक महोत्सवमा । अनुप बरालले निर्देशन गरेको नाटक 'टलकजंग भर्सेज टुल्के'को सो थियो । यो यात्रा सबैका लागि विशेष थियो । यो अनुप बरालले पढेको स्कुल थियो । नेपाली नाटकको पुनर्उत्थानमा लागेका सुनिल पोखरेलले यहीँ पढेका थिए । यो क्षेत्रकै नाटक र कलामा लाग्नेका लागि एउटा आस्थाको केन्द्रजस्तो यो स्कुलका एक शिक्षक थिए- एनके शर्मा ।

शर्माले अनुप बराललाई पढाएका थिए । अनुपले अनुरोध गरेपछि उनी मलाई अन्तर्वार्ता दिन तयार भए । शर्माले त्यसबेला एनएसडीको वार्षिक नाट्य भेला 'रंग महोत्सव'लाई बहिष्कार गर्न थालेका थिए । त्यसको कारण उनी यो महोत्सव पुँजीपति र धनीमानीका लागि मात्र हुन थालेको बताउँथे। उनी प्रसिद्ध भारतीय लेखक उदय प्रकाशका मित्र थिए । म त्यसबेला उदयप्रकाशको नोवेला 'मोहनदास' अनुवाद गर्ने तयारीमा थिएँ । फाइनप्रिन्टका अजित बरालले उदय प्रकाशको फोन नम्बर मलाई दिएका थिए । मसँग भारतको सिमकार्ड नभएकाले मैले एनके शर्माकै मोबाइलबाट उदय प्रकाशलाई फोनसमेत गरेको थिएँ ।

बलिउडदेखि बाहिरबाट आएका, कुनै स्टार, राजनीतिज्ञ वा नेताको आशीर्वाद वा नाम लिएर नआएका यी प्रतीभाहरुका आदर्श भएर इरफानले जहिले पनि प्रेरित गरे ।

एनके शर्मा एनएसडीमा मनोज बाजपेयीका गुरुको नाममा चिनिन्थे । यसको कारण थियो । बिहारको बेतियाबाट नाटक पढ्न दिल्ली आएका मनोजलाई एनएसडीले चारपटकसम्म प्रयास गर्दा पढाउन मानेको थिएन । शर्मा तिनै थिए जसले यो स्कुल प्रांगणमा रहेको निमको रुखमुनि बाजपेयीलाई 'नाटक' सिकाए । एनएसडीले भर्ना नलिए पनि मनोजजस्ता थुप्रै विद्यार्थीले शर्माको नाटक समूहमा कामसमेत पाए । जब चौथो वर्ष पनि मनोज पढ्नका लागि अन्तर्वार्ता दिन गए त्यसबेला उनलाई यस्तो भनेर इन्कार गरियो, 'अब त तिमी पढ्न होइन, पढाउनलाई आउ ।' एक अन्तर्वार्तामा मनोजले यसबारे बताएका छन्, 'यो कुरा साँच्चीकै भनिएको थियो कि मलाई टार्नका लागि थाहा पाइनँ ।'

मैले त्यो अन्तर्वार्तामा प्रोफेसर शर्मालाई मनोजबारे अलि धेरै नै सोध्न खोजेको थिएँ । किनभने 'सत्या' देखि 'पिंजर' सम्मका फिल्मबाट मनोज बाजपेयी गज्जबका अभिनेताका रुपमा स्थापित भइसकेका थिए । अलि बढी नै सोधेपछि शर्माले अलि झिजो मान्दै भनेका थिए- 'कति मनोज बाजपेयी मनोज बाजपेयी भन्छ्स् ? अरुलाई चिन्दैनस् ? बलिउडमा मनोजजस्ता मेरा पाँच सय विद्यार्थी छन् । कति जमिरहेका छन् । कति जम्न सकिनँ गुरुजी भन्दै गाउँ फर्किइसके ।' यो गफको अन्त्यमा उनले भनेका थिए- 'इरफान खानलाई चिन्दैनस् ?'

मैले इरफानलाई नचिन्ने कुरै थिएन । हिन्दी फिल्मसँग त्यसबेला भयंकर प्रेम थियो । फिल्ममात्रै होइन फिल्मका समाचार, समीक्षा र कलाकारका अन्तर्वार्ता छाप्ने/प्रसारण गर्ने पत्रिका, म्यागजिन र टिभी कार्यक्रमप्रति पनि प्रेम थियो । काठमाडौंमा बानेश्वरदेखि लगनखेलसम्म, न्युरोडदेखि सोह्रखुट्टेसम्म फिल्मका म्यागजिन झुन्ड्याउने सबैजसो स्टेसनरीका साहुजीसँग चिनजान भइसकेको थियो ।

इरफानको अनुहार पहिलोचोटी दमौली बस्दाखेरी टिभीमा देखिएको थियो- 'चन्द्रकान्ता'मा । त्यसपछि एकैचोटी बेलायती निर्देशक आसिफ कपाडियाको फिल्म 'द वारियर'मा उनलाई हेरेजस्तो लाग्छ । बेलायती दूतावासले गरेको आफ्ना देशको फिल्म फेस्टिभल थियो । गोपीकृष्ण हलमा फिल्म देखाइएको थियो । राजजस्थानको यो कथा एउटा योद्धा र उसको तरबारको थियो । इरफानको अभिनय यसमा उम्दा थियो । यो फिल्मसम्म पुग्न इरफानले धेरै संघर्ष गरेका थिए । राजस्थानको जयपुरमा साहबजादे इरफान अली खानका रुपमा जन्मिएका इरफान १९८४ मा नयाँ दिल्लीको नाट्य विद्यालय आइपुगेका थिए पढ्नलाई । यहाँ सुनिल पोखरेल र इरफान क्लासमेट थिए ।

अनुप बरालको टोलीसँग गएको अर्को वर्ष म फेरि सुनिल पोखरेल र गुरुकुलको टोलीसँग नाट्य विद्यालय पुगें । यस वर्ष सुनिलको नाटक 'डल्स हाउस'को सो थियो । निशा शर्मा र शेखर चापागाईं मुख्य भूमिकामा थिए । सुनिलले मलाई एक राउन्ड नाट्य विद्यालय घुमाएका थिए । पुराना नाटकहरुका तस्बिरलाई ठूलो बनाएर भित्ताभरी सजाइएको थियो । ती तस्बिरमा कतै सुनिल देखिए, कतै ओम पुरी, कुनैमा आशिष विद्यार्थी त कतै इरफान, मिता वशिष्ठ र राजेश विवेक । गिरिश कर्नाड, रामगोपाल बजाज, नसिरुद्दीन शाह र ओम पुरीचाहिँ यो विद्यालयका सान मानिँदा रहेछन् । भारतीय रंगमञ्चमा यिनको स्थान अलगै छ ।

यसबेला इरफान बलिउडमा जमिसकेका थिए । तिग्मांशु धुलियाको फिल्म 'हासिल' र विशाल भारद्वाजको 'मकबुल'ले इरफानलाई बलिउडमा भरुवा बन्दुकबाट निस्केको छर्राजस्तो धेरैतिर फैलाइसकेको थियो । टिभीको दुनियाँबाट उठेर इरफान ठूलो पर्दामा छाउन थालेका थिए । १९८७/८८ मा बम्बै पुगेका इरफानले त्यसै वर्ष मीरा नायरको फिल्म 'सलाम बम्बै'मा सानो भूमिका पाएका थिए । बम्बैका फुटपाथमा मानिसहरुका लागि चिठी लेखिदिने पात्रका रुपमा उनी थिए । यो फिल्मलाई त्यसवर्ष भारतले ओस्करमा पठायो । र, फिल्म उत्कृष्ट विदेशी भाषाको फिल्मको अन्तिम प्रतिस्पर्धामा पुग्यो ।

फिल्मले संसारभर प्रसिद्धि पायो तर त्यसमा इरफान थिएनन् । फिल्मको अन्तिम सम्पादनमा उनको चरित्र नै गायब थियो । काटेर फालिएको थियो । पछि जब फिल्म भिडियोमा रिलिज भयो त्यसबेला भने इरफानको भाग यसमा मिसाइयो । यसैले अहिले युट्युब वा अन्य प्लेटफर्ममा पाइने लिंकमा इरफान देखिन्छन् । मैले यो फिल्म काठमाडौं बबरमहलको मार्टिन चौतारीमा हेरेको थिएँ ।

इरफानका लागि रोल पाएको पहिलो फिल्मबाटै पत्तासाफ हुनु पक्कै राम्रो लाग्ने कुरा थिएन होला । फिल्ममा नाना पाटेकर र रघुवीर यादवजस्ता अभिनेता थिए । यसको झन्डै बीस वर्षपछि मीरा नायरले जब झुम्पा लाहिरीको पुलित्जर विजेता पुस्तक 'दी नेमसेक'माथि फिल्म बनाइन् त्यसमा मुख्य भूमिकामा इरफान थिए । 'सलाम बम्बै'बाट छुटेको ओस्करको रेलमा पनि इरफान 'स्लमडग मिलेनियर'बाट पुगे । 'सलाम बम्बै' खाली मनोनित मात्रै थियो, यसले ८ वटा विधामा जित्यो नै । उत्कृष्ट फिल्मको अवार्ड लिन कास्ट एन्ड क्रु मञ्‍चमा उत्रिँदा इरफान पनि सँगै थिए ।

...

१९८८ को 'सलाम बम्बै'बाट २००१ को 'वारियर'सम्म आइपुग्दा इरफानले बाँकी ती वर्षहरु टेलिभिजनमा बिताए । बलिउडले उनलाई निकै ढिलोगरी चिन्यो । स्टार पुत्रहरुको भीडले भरिन थालेको बलिउड केही सीमित मानिसहरुको मुट्ठीमा रहेजस्तो थियो । आदित्य चोपडा, करण जौहर र फरहान अख्तरजस्ता बलिउडका दोस्रो पुस्ताका निर्माता निर्देशकहरु जमिरहेका थिए । लाइमलाइट यिनको साथमा थियो । यो चकाचौधले भरिएको दुनियाँमा एउटा अर्को सिंगो लटका मानिसहरु प्रवेश गर्नलाई संघर्ष गरिरहेका थिए ।

यी संघर्षशीलहरु थिए तिग्मांसु धुलिया, मनोज बाजपेयी, इरफान खान, संजय मिश्रा, विशाल भारद्वाज, अनुराग कश्यप, मिलिन्द गुणाजी, आशिष विद्यार्थी आदि ।

सिनेमाका हरेक दृश्यमा कथा हुन्छ । संवाद हुन्छ तर शब्द नहुन सक्छ । हो, शब्दबिनाको संवाद र संवेदना सम्प्रेषण गर्नका लागि चाहिन्छ कलाकारको विशेष खुबी । यही खुबीले कलाकारलाई विशेष बनाइदिन्छ । त्यस कलामा इरफान मास्टर थिए ।

गोविन्द निहलानीको १९९४ को फिल्म 'द्रोहकाल'ले यो लटका केही मानिसहरुलाई एकैपटक प्लेटफर्म दियो । कम्युनिस्ट क्रान्तिकारी र प्रहरीको द्वन्द्वको यो कथाले आशिष विद्यार्थी, मिता वशिष्ठ र मिलिन्द गुणाजीलाई स्थापित गरिदियो । नसिरुद्दिन शाह र ओम पुरीजस्ता भेट्रानका साथ यी सबैले आफ्नो अभिनय कौशल देखाए । आशिष विद्यार्थीले यसबाट सह-अभिनेताको राष्ट्रिय पुरस्कार नै पाए । यो फिल्ममा मनोज बाजपेयी पनि सानो भूमिकामा थिए । अझै 'सत्या' आउन बाँकी नै थियो । त्यसै वर्ष आएको शेखर कपूरको फिल्म 'ब्यान्डिट क्वीन'मा पनि मनोज बाजपेयी डाँकु मानसिंहको भूमिकामा थिए । तर, यो फिल्मबाट निर्मल पाण्डे र सीमा विश्वास स्टार भए, मनोज बाजपेयी बाँकी नै रहे । 'द्रोहकाल'को चार वर्षपछि आएको रामगोपाल वर्माको फिल्म 'सत्या'ले पनि एकैपटक धेरै नयाँ प्रतीभालाई स्थापित गरेको थियो । अनुराग कश्यपलाई लेखकका रुपमा, मनोज बाजपेयीलाई अभिनेताका रुपमा र विशाल भारद्वाजलाई संगीतकारका रुपमा । हुन त विशालले यसअघि नै गुलजारको चर्चित फिल्म 'माचिस'मा संगीत दिइसकेका थिए ।

यी सबै स्थापित भइसक्दा पनि इरफान बाँकी नै थिए । तिग्मांशु र संजय मिश्रा पनि बाँकी थिए । केके मेनन पनि जमिसकेका थिएनन् । नवाजुद्दिन सिद्दीकी र पंकज त्रिपाठीको लट त संघर्षको मैदानमा उत्रिन बाँकी नै थियो ।

२००३ इरफानका लागि विशेष बन्यो । यस वर्ष उनका दुइटा फिल्म आए- 'हालिस' र 'मकबुल' । धुलियाले जिम्मी शेरगिललाई हिरो लिएर बनाएको फिल्ममा आशुतोष राणा र इरफान खान थिए । फिल्मको खलनायकका रुपमा देखिएका इरफानले सबैको ध्यान खिचे । यसले तिग्मांशुलाई निर्देशक र इरफानलाई अभिनेताका रुपमा बलिउडमा प्रवेश दिलायो । फरक स्वादको कमर्सियल फिल्मका रुपमा यसले प्रशंसा पनि पायो ।

उता भारद्वाजको 'मकबुल' अलि फरक थियो । शेक्सपियरका नाटकले संसारका धेरै कलाकारलाई प्रेरित गरेका छन् । खासगरी 'म्याकबेथ', 'ह्यामलेट' र 'ओथेलो'ले । भारद्वाजले यी तीनै नाटकको भारतीय एडप्टेसन पर्दामा उतारे । यी तीनैवटा फिल्म उनले उम्दा बनाएका छन् । भारतीय फिल्म अभिनयका धेरै हस्तीहरु 'मकबुल'मा थिए । नसिरुद्धिन शाह, ओम पुरी, पंकज कपुर, तब्बु र पियुस मिश्रा । यी सबका साथ थिए फिल्मको शीर्ष भूमिका मिया मकबुलका रुपमा इरफान । बम्बै अन्डरवर्ल्डमा प्रेम, वासना र धोकाको यो कथाले जादु गर्‍यो । सुन्दर तरिकाले बनाइएको फिल्ममा इरफान र तब्बुको अभिनय साँच्चीकै मोहक थियो ।

इरफान अब दुवैखाले फिल्ममा देखिन थाले । एकातिर उनी अनुराग बसुको 'लाइफ इन अ मेट्रो'मा कोनकोना सेन शर्माका साथ देखिए भने अर्कातिर मधुर भण्डारकरको भयंकर मसला फिल्म 'आन'मा ज्याकी श्रोफ र राहुल देवसँग खलनायकका रुपमा । उनी अनिस बज्मीको कमेडी 'थ्यांङ्क्यु'मा अक्षय कुमार, सुनिल शेट्टी र बबी देओलसँग जोक मार्दै गरेका पनि देखिए ।

जसरी किताबका हरेक पानामा लेखिएका कुरा उस्तै हुँदैनन्, कविताका हरेक लाइन 'पन्च लाइन' हुँदैनन् त्यसैगरी कलाकारका पनि हरेक फिल्म विशेष हुँदैनन् । यी फिल्म इरफानलाई सम्झाउने फिल्म होइनन् । ती फिल्म आउने क्रममै थिए । ती आए पनि । 'ल लन्चबक्स', 'पानसिंह तोमर', 'हिन्दी मिडियम', 'पिकु', 'करिब करिब सिंगल', 'कारवाँ', 'मदारी' आदि । यी यस्ता फिल्म हुन् जसले इरफानको अभिनयको आफ्नो शैली स्थापित गरिदिए । 'बिल्लु' र 'लाइफ इन अ मेट्रो' जस्ता फिल्म यिनका बीचमा थिए । यी दुवै मल्टी स्टारर थिए । बिल्लुमा शाहरुख खान र इरफान थिए । कृष्ण र सुदामाको जस्तो यो कथामा इरफान स्वभाविक रुपमा सुदामाको भूमिकामा थिए । कृष्णजस्तो मायावी फिल्मस्टारको भूमिकामा शाहरुख नै थिए । गरिब साथीको शीर्ष भूमिकामा इरफान थिए ।

सिनेमाका हरेक दृश्यमा कथा हुन्छ । संवाद हुन्छ तर शब्द नहुन सक्छ । हो, शब्दबिनाको संवाद र संवेदना सम्प्रेषण गर्नका लागि चाहिन्छ कलाकारको विशेष खुबी । यही खुबीले कलाकारलाई विशेष बनाइदिन्छ । त्यस कलामा इरफान मास्टर थिए । तपाईं एकपटक उनको फिल्म 'लन्चबक्स' हेर्नुस् । थाहा भइहाल्छ । वा 'पानसिंह तोमर' हेर्नुस् ।

'पानसिंह तोमर'मा इरफानको अभिनयबारे भारतीय पत्रकार रवीश कुमारको टिप्पणी पनि गज्जबको थियो । उनले भने, 'पर्दामा दौडिन त धेरैले दौडिए तर दौडमा पनि एउटा गरिबी र भोको मानिसको पीडलाई साथै लिएर दौडिने इरफान थिए । उनको दौडमा पनि अभिनय छ । पात्र छ, चरित्र छ ।'

विनय पाठक र रणवीर सौरीको जोडीले एकसमय 'खोसलाका घोंसला' र 'भेजा फ्राइ'जस्ता फिल्ममा आफ्नो प्रतीभा देखाए । रजत कपूरले कहिले 'फँस गए ओबामा' त कहिले 'आँखो देखी'मा । यही फिल्मदेखि यता संजय मिश्रा पनि स्टार बनेका छन् । 'मसान' र 'न्युटन'जस्ता फिल्मले बलिउडलाई अर्को धार देखाइरहेका छन् । नवाजुद्दीन सिद्दीकी, पंकज त्रिपाठी, ऋचा चढ्ढा, राजकुमार राव, सञ्‍जय मिश्रा, विजय वर्मा र विजय राजजस्ता कलाकारले एउटा समानान्तर स्टारडम कमाइरहेका छन् । हिन्दी फिल्मको आयातान तीन खान, अजय देवगन, अक्षय कुमार, ऋत्विक रोशन र रणवीर सिंहमा मात्र फैलिएको छैन भन्ने यिनले देखाइरहेका छन् ।

बलिउडदेखि बाहिरबाट आएका, कुनै स्टार, राजनीतिज्ञ वा नेताको आशीर्वाद वा नाम लिएर नआएका यी प्रतीभाहरुका आदर्श भएर इरफानले जहिले पनि प्रेरित गरे । यी धेरै कलाकारहरुले इरफान र मनोज बाजपेयीको संघर्ष र सफलताबाट प्रेरित भएर आफूले हिम्मत नहारेको बताउने गरेका छन् । यी जो सानामा मानिस थिए, जसले ससाना भूमिकाबाट अभिनय करिअर थाले ती सबै अहिले स्टार बनेका छन् । यिनका पहिलो फिल्म खोज्न तपाईंलाई मुस्किल पर्छ तर यिनका पछिल्ला फिल्म तपाईं खोजीखोजी हेर्नुहुन्छ । यही बलिउडमा अर्काथरी कलाकार छन्, जसको नाम ठूलो छ । यिनका पहिलो फिल्ममा धुमधडाका हुन्छ । व्यापक प्रचार गरिन्छ, अवार्ड पनि दिइन्छ । तर पाँच सात वर्ष नबित्दै ती रसातलमा पुगिसक्छन् । इरफान, मनोज र नवाजुद्दीनले दुईटा सिनबाट पाँचवटा सिन भएको फिल्ममा आइपुग्न गरेको संघर्षका बीच यस्ता कति कलाकार हराइसकेका थिए । यी तीनैजनाले मुख्य भूमिका पाउनलाई १० देखि १५ वर्ष संघर्ष गरे। नवाजुद्दिनले संघर्षकालमा फिल्ममा काम नपाएपछि चौकीदारी गरे, पंकज त्रिपाठीले वेटरको काम गरे ।

समयको बेइमानी कस्तो भने, सफलताको संघर्षमा झन्डै १५ वर्ष नहारेका इरफान क्यान्सरसँगको संघर्षमा दुई वर्षमा पराजित भए । ५३ वर्षको उमेरमा इरफानको निधनको समाचार पाएपछि मनोज वाजपेयीले आइएनएसलाई भने, 'हामी बेस्ट फ्रेन्ड थिएनौं तर सोबिजनेसमा भोगेको अस्वीकृति र पछि स्वीकृतिको अनौठो समानताले हामी जोडिएका थियौं ।' उनीहरुले भोगेको त्यही अस्वीकृति र गरेको संघर्षको कथाले हामीलाई पनि प्रेरित गर्छ सायद । अन्य अभिनेताहरुभन्दा यी संघर्षशील प्राणीहरु विशेष लाग्दा हुन् । आखिर गरिब देश र विकासशील अर्थतन्त्र भएका देशका धेरै युवाको कथा यस्तै त हुन्छ । युवाकालको ठूलो हिस्सा त संघर्षमै, एउटा नाम बनाउने प्रयासमै बित्छ ।

....

यो लेख्दै थिएँ, म्यासेन्जरमा दीपेन्द्र लामाको एउटा म्यासेज खुत्रुक खस्यो । लकडाउनका कारण आफ्नो फिल्म 'दुई नम्बरी'को सुटिङ रोकिएर बिलखबन्दमा परेको लामाले पठाएको रैछ इन्डिया टुडे पत्रिकाको एउटा समाचारको लिंक- 'ह्वाइ इरफन ड्रप्ड खान फ्रम हिज नेम ?'

खान भन्ने नाम नै सफलताको पर्याय भइरहेका बेला बलिउडमा आएका इरफानले आफ्नो नामबाट खान हटाए । उनको नाम खाली इरफानमात्रै थियो । इरफान रिलिजन र लिनेजलाई बोकेर हिँड्दैनन् भन्ने यो समाचारको सार थियो । समाजलाई जुन कुराले विभाजित गर्छ र मानिसलाई वर्गिकरण गर्छ त्यसलाई म अस्वीकार गर्छु भन्ने इरफानको भनाई थियो । मेरा पूर्खाले कमाएको नामको मलाई के अर्थ ? म आफ्नो नाम आफैं बनाउने कुरामा विश्वास गर्छु भन्ने इरफानको कुरा थियो । नेपाल वा भारतजस्ता समाज जहाँ व्यक्ति थरले नै वर्गको प्रतिनिधित्व गर्छ त्यहाँ थरलाई बोकेर नहिँड्ने कुरामा मेरो समर्थन छ ।

यो ब्लग कम निबन्ध धेरै नै लामो भयो । अब यसलाई बिट मार्नु पर्छ । म खाली एउटै कुरा सोचिरहेको छु कि इरफानको मृत्युले मलाई र हाम्रो पुस्तालाई किन धेरै छोइरहेको छ ? के त्यो उनी उम्दा अभिनेता भएकाले मात्रै हो त ? मलाई लाग्छ, पहिलो कारण त्यही हो । फिल्ममा उनको भूमिका बढेसँगै उनको अभिनयको विविधता पनि देख्दै आएकाले होला उनी हाम्रा लागि विशेष थिए ।

दोस्रो कारण मलाई लाग्छ, उनले बेलाबेला व्यक्त गर्ने विचारहरु । उनी कुनै जाति, धर्म र वर्गका हिमायती थिएनन् । उनी मानिसको समानता र प्रगतिशीलतामा विश्वास गर्थे । गुरुकुलले आयोजना गरेको नाटक महोत्सवमा सहभागी हुन काठमाडौं आउँदा उनले आफ्नो शालिनताको पनि नेपालीलाई परिचय दिएका थिए । बलिउडको स्टार भएर पनि उनका खुट्टा भूईंमा थिए ।

तेस्रो कारण पनि छ । त्यो हो उनी हाम्रो पुस्ताले फिल्म हेर्न थालिसकेपछि आएका हिरो हुन् । अर्थात्, हामीले उनलाई फिल्ममा एउटा 'नयाँ हिरो'का रुपमा चिन्यौं । र, त्यो नयाँ हिरोकै निधन हुनु हामीलाई थप आघात पुर्‍‍‍याउने कुरा हो । विनोद खन्ना, राजेश खन्ना, ओम पुरी वा ऋषि कपुर मैले फिल्म हेर्न थाल्नुअघि नै हिरो भइसकेका थिए । इरफानलाई 'वारियर', 'हासिल' वा 'मकबुल'मा हिरो वा प्रमुख कलाकारका रुपमा हेर्दा उनी नयाँ थिए । तर, उनी पहिला धर्तीबाट विदा भए । हिजोको भन्दा पहिले आज उदाएको सूर्य अस्त भएजस्तो !

प्रकाशित : वैशाख २०, २०७७ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्

सात दिने लकडाउनलाई ७ फिल्म– ७

यज्ञश

काठमाडौँ — मैले पहिले पनि लेखेको छु, स्कुलबाट भागेर फिल्म हेर्न आउँदा प्रायः फिल्म सकिने बेलातिर मेरो डर बढ्न थाल्थ्यो । यस्तो लाग्थ्यो– यो फिल्म कहिल्यै नसिध्दियोस् । र, म यो स्वप्‍निल संसारमा पंख फिँजाइ उडिरहुँ ।

एकैछिनमा फिल्म सकिन्थ्यो । अनि फेरि उही दमौली बजार, उही पतेनी र नेपालटार हुँदै अम्रेनी । बाटोमा कोही भेटिएला कि भन्ने डर । फिल्म हेर्न भागेर फलानो बिग्रियो भन्ने बदनामीको डर !

यसपाली संसारकै प्रतिष्ठित बर्लिन फिल्म फेस्टिभलमा हाभियर ब्राडमको नयाँ फिल्म 'द रोड नट टेकन' को वर्ल्ड प्रिमियर हेर्दा मैले फिल्म हेर्न दगुरेका ती खेतका आलीहरुलाई खुब सम्झिएँ । आखिर मानिस कि विगतको सम्झनामा कि भविष्यको आशामा न धेरै बाँच्छ। वर्तमानको तराजुको एउटा पल्लामा विगत र अर्को पल्लामा आगत हुन्छन् । वर्तमान त खाली कताको वजन बढी छ भन्ने देखाउने सुइरोजसरी बीचमा घरी यता, घरी उता हल्लिइरहन्छ !

कुरो के भने हरेक कुराको अन्त्य छ। जसरी फिल्म हलमा सो सिद्धिन्छ। जसरी मैदानमा खेल सिद्धिन्छ। र, जसरी हरेक चुनावपछि मन्त्रीहरुको सत्ताभोग सिद्धिन्छ। कोही भने फेरि जितेर आउँछन् । अनि तिनको म्याद केही दिनलाई फेरि थपिन्छ, जसरी अहिले लकडाउनको म्याद थपिएको छ।

पक्का छ, एक दिन यो पनि सकिन्छ ।

सातौं दिनमा आइपुग्दा लकडाउनले एउटा कुरा भने सिकाएको छ– यो संसारमा नभइ हुने ठानिएका कतिपय चिजहरु त्यस्ता होइन रहेछन् कि ! साह्रै नै महत्वपूर्ण भनिएका मिटिङहरु नहुँदा पनि संसार चल्दो रैछ ! साह्रै विशेष ठानिएका मानिसहरुलाई नभेट्दा पनि जीवन चल्दो रैछ । सँधै गइने अड्डाहरु नगए पनि समय रोकिँदैन रहेछ । त्यसो भए के ती कम महत्वपूर्ण थिए त ? होइन, ती साँच्चिकै महत्वपूर्ण थिए । भएको के थियो भने हामीलाई तिनको बानी परेको थियो । र, हामी आफ्नै बानी वा लतले गर्दा तिनको तलतलमा थियौं । थपिएका लकडाउनका दिनहरुले त्यो लतलाई कति कम गर्छ, हेरौं ।

मैले यो श्रृंखलाको पहिलो दिन भनेको थिएँ– म ७ दिनलाई सातवटा एशियाली देशका सात फिल्म सिफारिस गर्नेछु। प्रत्येक दिन एउटाको दरले । र, आज सातौं दिन । यो श्रृंखला बिसौनीमा आइपुगेको छ ।

हरेक साल संसारमा हज्जारौं फिल्म बन्छन् । तिनमा केही राम्रा हुन्छन् । केही साह्रै झुर हुन्छन् । धेरैजसो औसत । यो कुरा सायद, धेरै चिजमा लागु हुन्छ । चाहे किताब हुन् वा मान्छे, संसारमा औसतको संख्या भयंकर धेरै छ ।
मेरो उद्देश्य धेरै दर्शकमाझ नपुगेका केही राम्रा फिल्महरुसँग तपाईंहरुको परिचय गराउनु थियो । भन्दा ७ वटा फिल्म भने पनि यो श्रृंखलामा मैले धेरै फिल्मको नाम लिएको छु, चर्चा गरेको छु ।

आजको फिल्म
इट ड्रिंक म्यान वुमन (१९९४, ताइवान)

यो चाहिँ अलि अगाडिको फिल्म, जो अलि पछि हेरियो । कुनै फिल्म हुन्छन्, डिभिडीको चाङमा वा हार्ड डिस्कको मेमोरीमा पहिलेदेखि । तर केके नमिलेर ती फिल्म बेलैमा हेरिँदैन । त्यो फिल्मले पर्खिइरहन्छ । अनि एक दिन कुन मुडमा लौ न त यो पनि हेरौं भनेर हेर्दा त्यसले अचम्मित पारिदिन्छ ।

आङ लीको ‘इट ड्रिंक म्यान वुमन’ले मलाई त्यस्तै बनाइदिएको थियो । ‘ब्रोकब्याक माउन्टेन’ र ‘लाइफ अफ पाइ’का लागि दुईपटक ओस्कर पाएका ताइवानका आङ ली अहिलेको समयका सफलतम निर्देशकमध्येका हुन् । ‘क्राउचिङ टाइगर हिडेन ड्रयागन’जस्तो मार्सल आर्ट फिल्मबाट ओस्करमा प्रवेश गरेका आङ लीले पछि ‘हल्क’को समेत निर्देशन गरे । उनी कुनै एक जनरामा मात्रै रमाउने निर्देशक होइनन् ।

‘इट ड्रिंक म्यान वुमन’ चाहिँ ताइवानको कथा हो । ताइपेई सहरको । यो एउटा परिवारको कथा हो । यो कथामा छन्- एउटा सेफ बाबु र उनका तीन अविवाहित छोरी । एउटै घरमा बस्ने भए पनि परिवार टुक्रिएजस्तो लाग्छ । हरेक आइतबार छुट्टीका दिन सेफ बाबुले आफ्नी छोरीहरुका लागि बनाउने परिकारले यिनलाई जोड्छ । हरेक आइतबार पारिवारिक भोजजस्तो हुन्छ । त्यसदिन टेबलभरी खाना लिएर बाबु पर्खिन्छन्, मनभरी कुरा लिएर छोरीहरु आउँछन् । र, कुनै कुरा उद्‍घोष गर्नु छ भने पनि सबैले यही टेबलमा घोषणा गर्छन् ।

नौ वर्षअघि नै दिल टुटेर अध्यात्मतिर लागेकी जेठी छोरी । एयरलाइन्सकी एक्जुकेटिभ, आधुनिक सोचकी माइली छोरी । र, प्रेममा चुर्लुम्म डुबेकी कान्छी छोरी । यिनको आपसी खिचातानी र ईष्याको कुरा छुट्टै । फिल्मले नजानिँदो पाराले परिवारको लिगेसी र छोरीको उत्तराधिकारको पनि कुरालाई छुन्छ ।

अहिले सबै परिवारमा भेला भएर बसिरहेको लकडाउनका बेला परिवारकै कथा हेर्न पनि स्वाद हुन्छ होला । विस्तारै, प्याजका पत्रजसरी खुल्दै जाने पात्रहरुको चरित्र र कथाको बहाबले पनि तपाईंलाई तान्ला । मलाई भने फिल्मको सुरुकै सिक्वेन्सले तान्यो । खाना पकाउनु कति ठूलो कला हो भन्ने यही एउटा सिक्वेन्सले देखाउँछ । साथै, कुनै पेशाबारेको फिल्म बनाउनलाई त्यसको कतिसम्म ज्ञान चाहिन्छ भन्ने पनि ।

फिल्मले एउटा प्रश्न बोकेको छ । के खानापिना, महिला–पुरुष र यौनले नै मानिसको जीवन पूर्ण हुन्छ ? कि जीवनमा मानिसका अरु पनि केही लक्ष्य हुनुपर्छ ? फिल्मको बाबु पात्रले यो प्रश्न गर्छ पनि– मान्छेको जुनी यत्तिकै हो त ?

यतिमै खुशी हुनु सुखी हुनु हो कि धेरै ठूला लक्ष्य र उद्देश्य लिएर ती पूरा नभएकोमा दु:खी भइरहनु ?

वैकल्पिक फिल्म– ह्वाट टाइम इज इट दिअर, २००१

साइ मिन लियाङ ताइवानका अर्का भेट्रान हुन् । उनको २००१ को यो फिल्म कथा भन्ने शैलीका कारण चर्चित छ । फिल्मको शीर्षकजस्तै यसको कथा फुटपाथमा घडी बेच्ने एक युवा र उसको ‘अब्सेसन’को हो । तर, बलिउडी शैलीको भने होइन ।

संयोगले यसपालीको ७० औं बर्लिन फिल्मफेस्टिभलमा यी दुवै फिल्ममेकर उपस्थित थिए । मैले आङ लीले जापानी निर्देशक हिरोकाजु कोरेइदासँग गरेको संवाद सुनें भने साइ मिनको नयाँ फिल्म ‘रिजी’ हेरें । ‘रिजी’मा यति लामा स्टिल सटहरु छन् कि हलमै दर्शकहरु निदाउन थाले । मैले सोपछि प्रेस कन्फरेन्स रुममा उनलाई सोधें, ‘यति लामा सटहरु त्यो पनि फ्रिज गरेर किन ?’

उनले भने– ‘दर्शकलाई त्यसबाट आफ्नै अर्थ खोज्न र आफ्नै कथा बनाउनलाई समय दिएको । दर्शकलाई हामीले फटाफट काटेर, अनेक म्युजिक र इफेक्ट हालेर मैले भन्ने खोजेको यस्तो हो, तिमीले यही बुझ भन्ने होइन ।’

प्रकाशित : चैत्र १७, २०७६ १९:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×