कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

१० वटा गर्भ खेर गएपछि पहिलोपटक आमा बनिन् गंगा

१७ वर्षभित्र १० पटक धारण गरेको गर्भ सबै खेर गएको थियो। ११औं पटक भने उनले बच्चालाई सकुशल जन्म दिइन्।
विप्लव भट्टराई

इलाम — इलाम नगरपालिका-१२ की गंगामाया लिम्बूको अनुहारमा सुखी छाउन १७ वर्ष कुर्नुपर्‍यो। यसअघि लगालग गंगाको १० वटा गर्भ खेर गएका थिए ।

१० वटा गर्भ खेर गएपछि पहिलोपटक आमा बनिन् गंगा

आइतबार भने उनले जिल्ला अस्पतालमा सकुशल बच्चा जन्माइन्। अस्पतालको डेलिभरी वार्डमा भर्खरै बच्चा जन्माएका अरु पनि महिला छन् तर उनको खुसी भने तुलनात्मक रुपमा बढी छ ।

३९ वर्षीया गंगामाया खुसी नहुन् पनि किन? १७ वर्षदेखि उनी यो खुसीको प्रतीक्षामा थिइन् । यो समाचारले गंगामाया मात्र होइन उनको परिवार र गाउँलाई नै खुसी दिएको छ ।

सदरमुकामभन्दा करिब ८ किलोमिटर मात्र टाढा घर भए पनि यसअघि उनले कहिल्यै सकुशल बच्चा जन्माउन सकेकी थिइनन् । यो पटक भने इलाम अस्पताल उनका लागि बरदान सावित भयो। ‘विवाह गरेको १८ वर्षसम्म पनि बच्चा हातमा नहुँदाको पीडा कसरी सुनाऊँ,’ आइतबार जन्मिएकी छोरीलाई छेउमा सुताएकी गंगामायाले भनिन्, ‘घर परिवारले कहिल्यै मानसिक तनाव नदिए पनि आफैमा पिरोलिइरहन्थेँ।’

१७ वर्षभित्र १० पटक धारण गरेको गर्भ सबै खेर गएको थियो। ११औं पटक भने इलाम अस्पतालका डा. प्रभु शाहको मेडिकल टिमले उनको बच्चाको ज्यान जोगायो । ‘जेठ ५ मात्र उनको डेट थियो,’ शाहले भने, ‘उनको स्वास्थ्यको अवस्था हेरेर २० दिनपहिला नै अप्रेसन गरेर बच्चा सकुशल राख्न सक्यौं, केही दिन ढिलो गरेको भए यो बच्चालाई पनि जोगाउन मुस्किल हुने थियो ।'

गर्भधारण गरेको कहिले ५ महिनामै त कहिले ८ महिनामा उनको गर्भ खेर जान्थ्यो। कहिले भने जन्मिँदा मृत बच्चामात्र जन्मिन्थ्यो । गएको वैशाख १ गते भिडियो एक्सरे गर्न इलाम अस्पताल आएकी गंगालाई यसअघिको अवस्था सोध्दा चिकित्सकहरु छक्क परेका थिए। त्यही कारण पनि उनलाई छिटो अस्पताल बोलाएर शल्यक्रिया गरिएको थियो। २०६० सालमा उनको पहिलो बच्चा खेर गएको थियो।

‘शल्यक्रिया गरेर हेर्दा बच्चाको साल छुट्टिन लागेको जस्तो देखियो, सायद उनको गर्भ खेर गएको कारण त्यही कारण हुन सक्छ,’ डा. साहले भने, ‘गर्भ खेर गएको कारण पत्ता लगाउने परिवारले प्रयास नगरेको कारण निरन्तर गर्भ खेर गइरहेको हुन सक्छ।’ दुरदराजका मानिसहरु अझै पनि गर्भसम्बन्धी सचेत नहुँदा यस्ता घटना भइरहने गरेका छन् ।

गंगाका पति नवीनकुमार लिङदम भने खुट्टाको चोटका कारण अस्पताल आउन पाएनन्। ‘आफ्नो पहिलो बच्चालाई छातीमा टाँसेर राख्न मन छ’, फोनमार्फत उनले खुसी साटे।

प्रकाशित : वैशाख १७, २०७७ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?