कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

लकडाउनमा घर फर्केका सांसद : कोही मल बोक्दै, कोही बारी जोत्दै

लकडाउनले अलपत्र परेका मजदुर, विद्यार्थीहरु 'समस्या भयो गाउँ फर्कनुपर्‍यो' भन्दै फोनमा गुनासो गर्छन्। उनीहरु घरबाटै समन्वयको प्रयास गरिरहेका छन्।
विद्या राई

काठमाडौँ — लकडाउनले उकुसमुकुस महसुस गरेपछि नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी आइतबार घर फर्किएन्। वीरगन्जमा पढ्दै गरेकी छोरी एक महिनाअघि नै घर पुगिसकेकी थिइन्।

लकडाउनमा घर फर्केका सांसद : कोही मल बोक्दै, कोही बारी जोत्दै

चितवनमा पढ्दै गरेका छोरा लकडाउनले त्यहीँ थुनिएका थिए। सांसद चौधरीले चितवनबाट छोरालाई लिएरै दाङको घोराही उपमहानगरपालिका–४ डाँडागाउँस्थित घर पुगिन्।

अहिले उनको दिनचर्या फेरिएको छ। ‘घरमा आएपछि काम भइहाल्छ। तरकारी रोपियो, मल ओसारियो, यस्तै छ,’ बुधबार बेलुकी फोन सम्पर्कमा उनले सुनाइन्। उनले मल ओसार्दै गरेको भिडियो पनि फेसबुकमा पोस्ट गरेकी छन्। जहाँ लेखिएको छ- ‘खेती गर्ने, अर्गानिक खानेकुरा खाने, खाद्यान्न किनेर खान सकेसम्म नपर्ने, यही निष्कर्ष निकाल्दै हामी आजबाट खेती गर्ने अभियानमा जुटियो, छोरा अनिल जोतेर साथ दिँदै। भिडियोमा सांसद चौधरीसहित केही महिलाले मल ओसार्दै गरेको र छोरा अनिलले खेतबारी जोतिरहेको देखिन्छ।

यसबारे धेरैले टीकाटिप्पणी गरेको विषयलाई जोड्दै चौधरीले भनिन्, ‘गर्दा पनि सुख छैन, नगर्दा पनि सुख छैन, आज (बुधबार) त दिनभरि नै मल बोकेको हो। अरुलाई पनि उत्प्रेरणा होस् भनेर हो। अरुले नाटक ठान्छन्, ठाने नि ठानून् आफूले नाटक नगर्ने त हो नि।’ उनले माइतीघरमा पनि काम सघाउन भ्याएको सुनाइन्।

लकडाउनमा गाउँघरको बसाइ कस्तो हुदो रै'छ भन्ने जिज्ञासामा उनले भनिन्, ‘म अरुबेला पनि महिनामा दुईतीन फेर आउँदै गर्छु। सधैं गाउँमा बसेको, हुर्केको, काम गरेको मान्छेलाई कुनै नौलो कुरा नै भएन।’

चौधरी ललितपुरको ग्वार्कोस्थित डेरामा बस्छिन्। सधैजसो संसदीय गतिविधि र अध्ययनमा व्यस्त हुने उनलाई लकडाउनले एकैकोठाको बसाइ निक्कै सकसपूर्ण भएको थियो। ‘कोठामा गुम्सिँदा सासै थुनिएला जस्तो गाह्रो भो, छोराछोरीसँग पनि छुट्टिएर बस्नुपर्ने, भोलि केही भो भने पानी पिउने मान्छे नि नहोला भनेर घर आएँ,’ उनले भनिन्। घर गएपछि मानसिक र शारीरिक रुपमा सहजता भएको उनले महसुस गरेकी छन्।


मजदुरहरुको उद्धार गर्नुपर्ने, राहत दिनुपर्ने फोनहरु आइरहन्छन्। फोनबाटै समन्वय गर्छिन्। स्वास्थ्य समस्याले भौतिक रुपमा जनताका माझ पुग्न भने सम्भव छैन। ‘जनताका बीच गएर समस्या बुझिदिँदा उनीहरु अझ खुसी हुन्छन्। कोरोना रोगबारे बताउँछु,' उनले भनिन्, 'म प्रेसर र दमको औषधि खान्छु, यसले गर्दा जनताकै बीचमा गएर काम गर्न गाह्रो छ, फोनमार्फत सहयोग र समन्वय गरिरहेको छु।’

गतवर्ष एसईई पास गरेकी उनी कानुन विषयमा कक्षा ११ की विद्यार्थीसमेत हुन्। वैशाखमा हुने भनिएको वार्षिक परीक्षा कोरोना महामारीकै कारण स्थगन भएपछि विद्यार्थीहरुलाई अन्योल भइरहेको छ। उनी भने फुर्सद निकालेर बेलाबेला पढ्न बस्छिन्। ‘कोरोनाको तनावले गर्दा पढेको पनि उतिखेरै बिर्सिन्छ,’ उनले भनिन्। दैनिकीलाई जतिसक्दो सरल र सहज तरिकाले बिताउने प्रयत्न गर्छिन्। कोरोना महामारीलाई उनले मानव सभ्यता र आत्मनिर्भताको सिकाइ ठानेकी छन्।

यसैगरी, प्रतिनिधिसभा सांसद भवानीप्रसाद खापुङ पनि लकडाउन अवधि तेह्रथुमस्थित घरमै बिताइरहेका छन्। उनले बारी जोत्दै गरेको फोटो फेसबुकमा भाइरल नै भयो। बिहीबार उनीसित फोन गर्दा आफू होम क्वारेन्टाइनमा बसेको सुनाए। ‘म त गाउँघरको मान्छे, खेतीकिसान गरिरहेको छु, यसो दिन काट्ने मेलो,’ उनले भने, ‘माननीय भएर पनि जोतेको भनेर अनौठो मानियो होला, म त किसानै मान्छे परे नौलो भएन, पहिलेदेखि गरिल्याको काम हो।’

उनी लकडाउन हुनुभन्दा चार दिनअघि मात्रै गृहजिल्लाका कार्यक्रम भ्याएर काठमाडौं आइपुगेका थिए। कोरोना महामारीले संसद् स्थगन हुने भएपछि लकडाउन घोषणासँगै फर्किइहाले।

लकडाउनले अलपत्रमा परेका मजदुर, विद्यार्थीहरु समस्या परेको भन्दै फोनमा गुनासो गर्छन्। जिल्लाभित्र फर्कने जिल्लावासी र गाउँमा मरिमराउ, निम्ता मान्न आएकाहरु थातथलो फर्कन नपाएर फोन आइरहन्छन्। कोही घर आउन नपाएर बिजोग भयो भन्दै फोन गर्छन्, कोही राहत भएन भनेर। खापुङ भने फोनबाटै समन्वय गरिरहेका छन्।

महामारीले गर्दा गाउँमा नयाँ मान्छे आए त्रसित हुने अवस्था छ। यस्तोबेला फर्कन चाहनेलाई कसरी फर्काउने तयारी भइरहेको उनले बताए। ‘यस्तोबेला घर बसेको भनेर मान्छेले अनेक भन्लान् तर वर्तमान परिस्थितिमा के गर्ने कसो गर्ने भन्नेबारे जिल्लाको ‘हाइकमान्ड कन्ट्याक’मा रहेर काम गरिरहेको छु,’ उनले भने, ‘पूरै बेखबर भएर गाउँको कुनामा हलो जोतेर बसेको बुझ्लान्, त्यस्तोचाहिँ होइन।’

प्रकाशित : वैशाख ११, २०७७ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?