जनआन्दोलन-२ डायरी : राजा झुकाउने मानवसागरको साक्षी हुँदा

पहेँलो ज्याकेट लगाएर हातमा माइक बोकी आन्दोलनका हटस्पटतिर रिपोर्टिङ गर्दा रमाइलो लाग्थ्यो । डर थिएन । हामीमा आन्दोलनको रिपोर्टिङ गर्ने नसा चढिसकेको थियो । दैनिक सुरक्षाकर्मीले प्रहार गरेको अश्रुग्यास र आन्दोलनकारीले बालेको टायरको गन्ध बानी परिसकेको थियो । आन्दोलनकारी र प्रहरीबीच झडप नभएको दिन हामीलाई सामान्य लाग्थ्यो ।
गंगा बीसी

अहिलेजस्तै त्यसबेला पनि काठमाडौंको सडक किनारका बिरुवामा पालुवा पलाएका थिए, फूल फुलेका थिए । सडकमा भने टायर र बारुदको गन्ध आउँथ्यो । सडकमा सार्वजनिक सवारीसाधन ठप्प थिए । प्रमुख सहरमा कफ्र्यु लगाइएको थियो । शाही नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका बख्तरबन्द गाडी चोकचोकमा तैनाथ थिए । ‘गणतन्त्र जिन्दावाद’ को नारा आफैंमा बम पड्केजस्तो लाग्थ्यो किनकि त्यतिबेला राजतन्त्र थियो, शाही निरंकुश शासन थियो ।

जनआन्दोलन-२ डायरी : राजा झुकाउने मानवसागरको साक्षी हुँदा

राजधानीका सडक अहिलेजस्तो फराकिला भइसकेका थिएनन् । सडकमा मान्छेको भेल बग्दै थियो । वसन्त मासमा राता (झन्डाका) फूल फुलेजस्तो देखिने सडकको त्यही भेलमा थियौं हामी । अर्थात् पत्रकारहरू । म कान्तिपुर टेलिभिजनमा प्रवेश गरेको ६ महिना भएको थियो । जसरी वैशाखको गर्मी चढ्दै थियो, त्यसरी नै जनआन्दोलनको राप बढ्दै थियो । त्यो रापको दृश्य उतार्न अहिले गाह्रो छ तर आँखामा त्यतिबेलाका दृश्य रिलझैं नाचिरहेका छन् ।

राजधानीबाहिर माओवादीले बम पड्काउने र सुरक्षा निकायमाथि आक्रमण गर्ने काम जारी राखेको थियो । त्यो पनि युद्धमा भएको माओवादी र नेपाली कांग्रेस, एमालेलगायत सात दलको समझदारीमा । कांग्रेस, एमाले र युद्ध गरिरहेको माओवादीको निसानामा शाही सरकार थियो । यी वैधानिक र युद्धमा रहेको दलबीच ६ महिनाअघि नै चर्चित १२ बुँदे समझदारी भइसकेको थियो । आन्दोलन उर्लनुको आधार यही समझदारी थियो ।

०००

हामी दैनिक जनआन्दोलन–२ को रिपोर्टिङमा खासगरी चक्रपथतिर जान्थ्यौं । गोंगबु, कलंकी, चाबहिल, बल्खु, महाराजगन्ज, कीर्तिपुर आन्दोलनका हटस्पट थिए । सेनाका बख्तरबन्द गाडी पनि त्यतैतिर तैनाथ थिए । पहेँलो ज्याकेट लगाएर हातमा माइक बोकी हटस्पटतिर रिपोर्टिङ गर्दा रमाइलो लाग्थ्यो । डर थिएन । हामीमा आन्दोलनको रिपोर्टिङ गर्ने नसा चढिसकेको थियो । दैनिक सुरक्षाकर्मीले प्रहार गरेको अश्रुग्यास र आन्दोलनकारीले बालेको टायरको गन्ध हामीलाई बानी परिसकेको थियो । आन्दोलनकारी र प्रहरीबीच झडप नभएको दिन हामीलाई सामान्य लाग्थ्यो । भन्थ्यौं, ‘आज त जुलुस मात्र भयो, झडप भएन । न्युज र दृश्य राम्रो भएन ।’ यसका पछाडिको कारण थियो, आन्दोलनले चर्को रूप लेओस् भन्ने चाहना ।

कान्तिपुर मिडिया ग्रुप आन्दोलनकारीको प्रिय सञ्चारमाध्यम थियो । फ्रन्टलाइनमा कान्तिपुर टेलिभिजन र कान्तिपुर दैनिकका क्यामेराम्यान, पत्रकार हुन्थे । आन्दोलनका समाचार खुलेर दिने सञ्चारमाध्यम यही थियो । कान्तिपुर टेलिभिजनका क्यामेराम्यान र संवाददाता कहिलकाहीँ आन्दोलनकारी र सुरक्षाकर्मीको बीचमा पर्दा आन्दोलनकारीले उद्धार गर्थे । उनीहरूले पहेँलो ज्याकेट लगाएका कान्तिपुरकर्मीलाई धेरैचोटि काँधमा बोकेर सुरक्षित स्थानमा लगेको दृश्य झलझली आउँछ । ती आन्दोलनकारी अहिले कहाँ होलान् ?

०००

कीर्तिपुर, गोंगबु, कलंकीमा आन्दोलन निरन्तर चर्किरहेको थियो । वैशाख ८ वा ९ गते हुनुपर्छ, कीर्तिपुरको रिपोर्टिङ गर्नु थियो । नयाँ बजारचोकमा माथिपट्टि आन्दोलनकारी र तलपट्टि प्रहरी थिए । केही आन्दोलनकारी त्रिभुवन विश्वविद्यालयको छात्रावास र वरपर लुक्दै, निस्कँदै प्रदर्शन गरिरहेका थिए । आन्दोलनकारी थपिँदै थिए, प्रहरी आन्दोलनकारीलाई तल झर्न नदिन प्रयास गरिरहेको थियो ।

आन्दोलनकारी उग्र हुँदै गएपछि प्रहरीको टोली पछि हट्यो । त्रिभुवन विश्वविद्यालयको सडकतिर प्रहरी भाग्दै थिए, आन्दोलनकारी उग्र हुँदै थिए । आन्दोलनकारी लखेट्दै, प्रहरी भाग्दै थिए । भाग्दाभाग्दै एकजना प्रहरी अधिकृत लडे, भाग्दाभाग्दै उनी कान्लामुन्तिर लडे । आन्दोलनकारीले इँटा, ढुंगा प्रहार गरिरहे । उनी अर्धचेत अवस्थामा पुगिसकेका बेला एकजना आन्दोलनकारी ती प्रहरीमाथि बसेर आक्रमण गर्न दिएनन् । ती अधिकृतको ज्यान जोगियो । आन्दोलनमा जे पनि हुन्छ र आन्दोलनमा मानवीयता पनि हुन्छ भन्ने त्यहाँ देखियो । प्रहरी टीयू गेटसम्म भागेपछि आन्दोलनकारी कीर्तिपुर नयाँबजारतिर फर्किए, ती प्रहरी अधिकृतको उद्धार भयो, ज्यान जोगियो ।

आन्दोलनकारीले सीआईडीभन्दै धेरै मान्छेलाई कुटपिट गरिरहन्थे । कतिपय कुटाइ खानेमा आन्दोलनकारी हुन्थे, कतिपय सादा पोसाकका सुरक्षाकर्मी पनि हुन्थे । मुख्य भिडन्त भने आन्दोलनकारी र पोसाक लगाएका सुरक्षाकर्मीबीच हुन्थ्यो, दिनहुँ ।

०००

२०६३ वैशाख ९ गते हुनुपर्छ । खासगरी कलंकी, स्वयम्भू, गोंगबु क्षेत्रमा मानवसागर उर्लियो । दिनहुँ रिपोर्टिङमा जाने हाम्रा लागि पनि ती ‘नौला’ आन्दोलनकारी थिए । प्राय:जसो हटस्पटका धेरै आन्दोलनकारी चिनिन्थे । कांग्रेस, एमालेका नेता–कार्यकर्ताले नेतृत्व गरेका हुन्थे । वैशाख ९ मा भने मान्छेको सागर थियो, कोही चिनिँदैनथे ।

जनआन्दोलनमा खासगरी दुईथरी झन्डा हुन्थे । कांग्रेसको चार तारे र एमाले, जनमोर्चा, मजदुर किसान पार्टीको हँसियाहथौडा झन्डा आन्दोलनमा देखिन्थे । हामी त्यस दिन कलंकी क्षेत्रमा रिपोर्टिङमा थियौं । आन्दोनकारीको हातमा झन्डा त थियो नै, केहीको हातमा रुखका हाँगा पनि थिए । एक प्रकारले रातो र हरियो क्रान्तिजस्तो । बेलाबेला हामी टेलिफोनबाट प्रत्यक्ष रिपोर्टिङ गथ्र्यौं, मलाई अहिले पनि झलझली सम्झना छ । टेलिभिजन स्टुडियोबाट सोधिन्थ्यो, आन्दोलनमा कति सहभागी छन् ? झडप भयो कि भएन ? गोली चल्यो कि चलेन ?

त्यस दिन पनि सोधियो । हाम्रो उत्तर यस्तो थियो, ‘आन्दोलनमा यति मान्छे सहभागी छन् कि शब्दमा व्यक्त गर्न सकिन्न । आन्दोलनकारीले बल्खुदेखि स्वयम्भूसम्म चक्रपथ पूरै भरिएको छ । आन्दोलनकारीको हातमा झन्डा र रुखको हाँगा पनि छ ।’ स्टुडियोबाट प्रश्न सोधियो, ‘किन हाँगा बोकेका छन् आन्दोलनकारीले ?’ हामीले त्यसबेला केही आन्दोलनकारीसँग सोधेका थियौं, किन रुखका हाँगा बोक्नुभएको ? उनीहरूको सामान उत्तर थियो, ‘गर्मी छल्न ।’ हामीले पनि टेलिभिजनको समाचारमा त्यही भनेका थियौं ।

तर सत्य त्यो रहेनछ । त्यसको रहस्य माओवादी शान्ति प्रक्रियामा आएपछि खुल्यो । त्यो आन्दोलनमा हरियो रुखको हाँगा बोक्नेजति सबै माओवादी लडाकु रहेछन् । उनीहरूको हातमा हाँगा र जीउमा हतियार पनि रहेछ । धेरै समयपछि यसबारे एउटा मोर्चाको नेतृत्व गरेका लडाकु कमान्डर चन्द्रबहादुर थापा ‘सागर’ ले बताएका थिए । काठमाडौं उपत्यका वरिपरिबाट माओवादीले आफ्ना लडाकुलाई आन्दोलनमा सहभागी हुन पठाएको रहेछ । त्यस दिन कलंकी र गोंगबुमा प्रहरीेको गोली चल्यो तर माओवादी लडाकुले चलाएनन् । त्यसको कारणचाहिँ उनीहरूलाई गोली नचलाउनु भन्ने आदेश रहेछ । गोली चलाए, सेनाले फायरिङ खोल्ने र नरसंहार हुने डर नेताहरूलाई रहेछ ।

त्यतिबेलाका गृहमन्त्री कमल थापाले आन्दोलनमा माओवादी घुसपैठ भएको बताएका थिए । उनीसँग सही सूचना रहेछ । त्यो सागर उर्लेको जुलुस हेर्दा यस्तो लाग्थ्यो, त्यो शान्त बगेको नदी हो । जसको उद्देश्य सागर भेट्न जानु हो । अर्थात् गणतन्त्र स्थापना गर्नु । यसरी झन्डा र रुखको हाँगासहितको आन्दोलन राजाले ‘जनताको नासो’ फिर्ता नगर्दासम्म जारी रह्यो । त्यही मानवसागरले राजालाई घुँडा टेक्न बाध्य बनायो ।

०००

आन्दोलन चर्किंदै थियो । कान्तिपुर टेलिभिजनको लोगो भएको पहेँलो ज्याकेट लगाउनु खतरा भयो । शाही सरकारले कान्तिपुरलाई निसाना बनाउन थालिसकेको थियो । कान्तिपुरलाई आठौँ दल भनिन्थ्यो । प्रहरीले कान्तिपुरको लोगो हेरीहेरी आक्रमण गर्न थाल्यो । कान्तिपुर टीभीले लोगो नभएको पहेँलो ज्याकेट दियो, क्यामेराबाट लोगो पनि हटायो । त्यसपछि केही सहज भयो । त्यतिबेला हामी आन्दोलनको रिपोर्टिङका लागि एक साता अफिसमै सुतेका थियौं ।

जनआन्दोलन–२ को रिपोर्टिङ गर्ने क्रममा आँखामा बिझ्ने केही दृश्य पनि देखिए । सुरक्षाकर्मीको गोली लागेर आँखै अगाडि ढलेका आन्दोलनकारीको दृश्य अझै ताजा छ । घाइतेका तस्बिर, अश्रुग्यासले बेहोस भएका अनुहारले बेलाबेला त्यही आन्दोलनतिर लैजान्छन् । ती सबै दृश्य भुल्ने गरी तत्कालीन राजा ज्ञानेन्द्र शाहले वैशाख ११, २०६३ मा विघटित संसद् पुन:स्थापना गरे । पुन:स्थापित संसद्ले राजाका अधिकार व्यापक कटौती गर्‍यो । अनि युद्धलाई बिराम लगाई माओवादी अन्तरिम व्यवस्थापिका संसद्मा प्रवेश गरेको दृश्य पनि आँखामा यतिबेला फनफनी घुमिरहेको छ । त्यो सबै लोकतान्त्रिक गणतन्त्रका लागि थियो । कामना छ, फेरि गोली, अश्रुग्यास छल्दै रिपोर्टिङ गर्ने दिन नआओस् ।

प्रकाशित : वैशाख ११, २०७७ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?