२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

व्यस्तै छन्, महिला लेखक

विद्या राई

काठमाडौँ — लकडाउन हुँदैनथ्यो भने लेखक शिवानीसिंह थारु यतिबेला नेपालगञ्जिया डायरीको वरिपरी हुने थिइन् । चैत १९ देखि एक हप्तासम्म नेपालगञ्ज बस्ने, त्यहाँको दैनिकीमा भिज्ने अनि डायरी लेख्ने । दुई महिनादेखिको यो योजना लकडाउनले थन्‍कियो ।

व्यस्तै छन्, महिला लेखक

‘डायरी लेख्ने खाका तयार भएको थियो, आधाजति काम पनि सकिएको थियो, लकडाउनले खत्तम भयो,’ उनले सुनाइन् । यद्यपि खासै दुखी छैनन्, र फुर्सद पनि ।

लकडाउन अवधि लेख्ने र पढ्ने काममै बितिरहेको छ । लकडाउनलाई सिर्जनशीलतासित जोडेकी छन् । प्रत्येक दिन बिहानदेखि साँझसम्मको अनुभूतिलाई बेलुकी साढे ५ देखि ७ बजेसम्म कवितामा उतार्छिन् । ‘यो दिक्दारी, छटपटिको अवस्थाले मान्छेलाई तनावतिर पनि लैजान्छ, मैले यसलाई सकारात्मक तरिकाले सिर्जनशीलतातिरै केन्द्रित गरेको छु,’ उनले भनिन् ।

किताब पढ्ने बानी अलि फरक छ उनको । दुई–चार किताब एकैचोटी पालैपालो पढ्नुपर्छ । ‘एउटा किताबमात्रै पढेर बस्न सक्दिनँ, खाना खादा दाल, भात, तरकारी, अचार खाएजस्तै तीन–चारवटा किताबहरु एकैचोटी पढ्दैछु,’ उनले भनिन् ।

उपन्यासकार सरस्वती प्रतिक्षाले सुरुका २० दिन अलमलमै बिताइन् । अधिकांश समय फिल्म हेरिन । चैतमा नयाँ उपन्यासका लागि स्थलगत भ्रमण गर्ने योजना थियो । लकडाउनले गर्दा स्थगित गर्नुपरेपछि काम गर्नै सकेकी थिइनन् । नयाँ वर्षको दिनदेखि चाहिँ अलमललाई थाँती राखेर उपन्यासतिर लागेकी छन् । ‘सधै अलमल भएर भएन, मन बलियो बनाएर काममा लागेको छु,’ उनले भनिन् ।

उपन्यास तयारीले गर्दा पहिलेदेखि नै ८० प्रतिशत जति क्वारेन्टाइनमा बसेजस्तै थिइन् । त्यसो त उनी लेखन र अध्ययनमा सक्रिय भएकाले एकान्तबास नै रुचाउँछिन् । लकडाउनले दैनिक जीवनमा खासै असर नपारे पनि केही अदलबदल भने छ । ‘स्वेच्छिक लकडाउन र बाध्यात्मक लकडाउन फरक पर्‍यो नि त, संसारभरिको मानिस कोरोनाले त्रसित भएको बेलामा आफू अछुतो हुने कुरा भएन, तैपनि कामलाई प्राथमिकतामा राखेको छु,’ उनले बताइन् ।

अर्की लेखक प्रगति राई तयारीको अन्तिम चरणमा पुगेको ‘थाङ्ग्रा’ उपन्यासलाई थप मसलेदार बनाउन लागिपरेकी छन् । खासगरी महिलाको वंश र अंशमाथि केन्द्रित उपन्यासको एक वर्षदेखिको लेखन व्यस्तताबाट बिस्तारै फुर्सद पाउँदै थिइन् । यही बेला लकडाउन भइदियो । ‘एकबर्षे लेखनको क्वारेन्टाइनबाट फ्रेस हुँदै थिएँ, लकडाउनले झन काम दियो,’ उनले ठट्टा शैलीमा भनिन् । ‘थाङ्ग्रा’ उपन्यास मार्च ८ मा प्रकाशित गर्ने लक्ष्य थियो । प्राविधिक कारणले नयाँ वर्षमा सरेको थियो । कोरोना महामारीले सम्भव भएन । आगामी दशैतिहारको सेरोफेरोमा ल्याउने बताइन् । उपन्यास लेखनले छुटेका किताब पढ्ने मौका जुरेको छ यतिबेला ।

लेखक विना थिङ चैत अन्तिम साता कथा संग्रह ‘याम्बुनेर’ बजारमा ल्याउने तयारीमा थिइन् । प्रेसमा पुगिसकेको कथासंग्रहलाई लकडाउनले प्रेसमै थन्‍क्याइदियो । १४ वटा फुटकर कथाहरु समेटिएको संग्रह गत वर्षको उनको ठूलो लक्ष्य थियो । बजारमा ल्याउन नपाएपछि नयाँ बर्ष नै खल्लो भएको सुनाइन् उनले ।


उनी यतिबेला फिल्म हेर्दै, उपन्यास, कथाहरु पढ्दै समय बिताउँदैछिन् । नयाँ र्सिजनामा भने हात हाल्न सकेकी छैनन् । ‘एकदमै झिंजो लागेको त होइन तर नयाँ सिर्जना गर्न सकेकी छैन । मजदुरहरु सयौं मिटर हिडेर घर गइरहेका खबरले मन दुखिरहेको छ,’ उनले भनिन् ।

निबन्धकार कुमारी लामा बेफुर्सदी छिन् । ‘एमफिलको थेसिस सक्नैपर्ने भएकोले अरु काम छाडेर यतै लागेको थिएँ, लकडाउनले वातावरण पनि त्यस्तै बनाइदियो,’ उनले सुनाइन् । यसबाहेक व्यस्तताले गर्दा पढ्न थन्‍क‍‍्‍याइराखेका किताबहरु पढ्दैछिन् । बिषेशगरी देश तथा विश्वभरमा महिला इतिहास जोडेर लेखिएका किताबहरु रुचाउँछिन् । रसियन लेखक स्वेतलाना अलेक्सिविचले लेखेको नोबेल पुरस्कार प्राप्त पुस्तक ‘द अनवुमनली फेस अफ वार’ केही दिन अघि मात्रै पढेर सिध्याइन् ।

यो किताबमा दोस्रो विश्वयुद्धमा रसियामा सोभियत युनियनका महिलाहरुले अग्रभागमा रहेर युद्ध गरेको इतिहास छ । महिलाहरुले अग्रभागमा रहेर युद्ध गरे पनि पुरुषहरुको योगदानलाई मात्रै बाहिर ल्याइयो । ‘उनीहरुको इतिहास लेखिएन, बरु युद्धपछि उनीहरुको चरित्रमाथि आक्षेप लगाइयो, यो किताब लामो समयदेखि थन्‍क्याइहेको थिएँ, पढिसक्‍न भ्याएँ,’ उनले बताइन् ।

आख्यानकार/लेखक उमा सुवेदी नयाँ उपन्यास लेखनका लागि बिषयको गहन अनुसन्धान गर्ने योजनामा थिइन् । ‘कोरोनाले गर्दा लेखिहाल्न, थालिहाल्न सकेको छैन,’ उनले भनिन् । सञ्चार माध्यममा कोराना अपडेट, अध्ययन लेखन र फिल्म हेरेर दिन बिताइरहेकी छन् । साथीहरुले सिफारिस गरेका फिल्महरु हेर्छिन् । ‘थ्रिलर’ फिल्महरु मन पराउँछिन् । महिला र सामाजिक बिषयसित जोडिएका फिल्म हेर्छिन् । घरैबाट कार्यलयका कामहरु पनि गर्छिन् । केही फुटकर कथा लेख्नका लागि बिषय छनौट गरिरहेकी छन् । भन्छिन्, ‘त्यति धेरै दिक्दारी त भएको छैन, दिनदिनै कोरोना संक्रमितहरु बढिरहेका छन्, टेस्टहरु भर्खर सुरु भैरहेको छ, हाम्रै परिवार, टोल, छिमेकी पो संक्रमित छन् डर भने लाग्दो रहेछ ।’

अनुसन्धानदाता दोभान राई कोभिड १९ सम्बन्धि जानकारीमुलक ‘अनलाइन पोर्टल’को काममा व्यस्त छिन् । करिब तीन हप्ताजति भयो, साथीहरुसित काम थालेको । दोभानलगायतले मार्च २२ मा डेटा वर्कसर्प आयोजना गरेका थिए । लकडाउनले गर्दा स्थगित गर्नुपरेपछि अनलाइन पोर्टलमा काम थाले । ‘म अनुसन्धानमा केन्द्रित भएकोले काममा फरक त छैन, तर लेखनलाई समय दिन भ्याएकी छैन,’ उनले भनिन् ।

प्रकाशित : वैशाख ४, २०७७ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?