कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनमा भलिबल प्रशिक्षक भट्टको टिप्स- ‘खानपान र व्यायाममा ध्यान दिनुहोस्’

नमिता दाहाल

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि लकडाउन गरेसँगै खेलकुदका कार्यक्रम पनि बन्द छन् । सधैं अभ्यास र खेलमा व्यस्त हुने खेलाडीले आफूलाई कसरी फिट राख्ने ? 

लकडाउनमा भलिबल प्रशिक्षक भट्टको टिप्स- ‘खानपान र व्यायाममा ध्यान दिनुहोस्’

व्यायाम र खानपानमा ध्यान दिन सुझाउँछन्, राष्ट्रिय भलिबल प्रशिक्षक जगदिश भट्ट । सन् २००६ बाट राष्ट्रिय भलिबलका प्रशिक्षकका रुपमा नियुक्त भएका उनले लकडाउनका बेलामा पनि खेलाडीले आन्तरिक रुपमा व्यायाम र कसरतलाई निरन्तरता दिनुपर्ने बताउँछन् ।

भलिबल खेलाडीले कोलेस्ट्रोल कम हुने खाना खानुपर्ने उनी बताउँछन् । घरभित्रै बसेर पनि खेलाडीले धेरै किसिमका व्यायाम र कसरत गर्न सकिने सल्लाह दिन्छन् उनी । ‘गाउँघरमा भएका खेलाडीले घरकै वरिपरि कसरतका साथै घरायासी काम गर्दा पनि राम्रो कसरत हुन्छ,’ उनले भने, ‘सहरमा हुने खेलाडीले घरको सिँढीमा तलमाथि गर्दा राम्रो कसरत हुन्छ ।’

भलिबल इन्डोर गेम भएपनि नेपालमा पर्याप्त मात्रामा कभर्ड हल नहुँदा बाहिर खेलाइन्छ । उनी भन्छन्, ‘नेपालको राष्ट्रिय खेल भलिबल खेल्ने खेलाडी पछिल्लो समय निकै व्यस्त हुन्थे । अहिले उनीहरुलाई फुर्सद मिलेको छ ।’

लकडाउन भइसकेपछि भट्ट महेन्द्रनगरमा परिवारसँगै छन् । दिनमा १–२ घन्टा कसरत तथा व्यायाम गर्ने गर्छन् ।

प्रशिक्षक भट्ट भन्छन्, ‘भलिबल खेलाडीले पुसअप, स्क्वार्ट, प्ल्याङ्क, ट्राइसेप, बुप्र्रे जस्ता कसरत गर्न सकिन्छ । यी कसरतले शरीर स्वस्थ राख्न र खेलमा पुनआगमन गर्न सजिलो हुन्छ ।’

शारीरिक एवं मानसिक स्वास्थ्यका साथसाथै खानपानमा प्रोटिनयुक्त खानेकुरामा जोड दिन उनले सुझाए । यसका साथै लकडाउनका बेला खेलाडीले शारीरिक मात्रै नभइ मानसिक स्वास्थ्यमा पनि ध्यान दिइ किताब पढ्न, फिल्म हेर्न र साथीभाइसँग च्याट गर्न सकिने उनले बताए ।

लकडाउनको समय परिवारकासँग समय बिताउनको लागि उचित समय रहेकाले घरमै बसी स्वास्थ्यको ख्याल गर्दै समयको सक्दो सदुपयोग गर्न उनको आग्रह छ ।

याे पनि पढ्नुहाेस्ः

प्रकाशित : चैत्र २९, २०७६ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?