क्रसर नचल्दा १२ वर्षपछि सङ्लियो त्रिशूली - फिचर - कान्तिपुर समाचार

क्रसर नचल्दा १२ वर्षपछि सङ्लियो त्रिशूली 

'त्रिशुली नदीमा बालुवा प्रशोधन उद्योगका व्यवसायीहरुले बालुवा धोएको धमिलो फोहर पानी तथा लेदो मापदण्डविपरित सिधै खोलामा पठाएकोले त्रिशुली नदी धमिलिएको रहेछ भन्ने कुरामा लकडाउन पछिको त्रिशुली नदीको अवस्थाले दर्शाउँछ’
शब्द/तस्बिर : हरिहरसिंह राठौर

वैरेनी (धादिङ) — कोरोनाको प्रकोपले धेरैको जीवनमा परिवर्तन ल्याएको छ । सारा सहर बजार र बाटोघाटो बन्द छन् । सहरमा प्रदुषण घटेको र हावा स्वच्छ भएका समाचार आइरहेका छन् ।

र, त्रिशुली नदीलाई हेर्दा लाग्छ– लकडाउनले प्रकृतिलाई पनि राहत दिएको छ । नदी किनारमा चल्ने बालुवा धुने फिरफिरे बन्द भएपछि त्रिशुली १२ वर्षपछि सङ्लो देखिएको वैरेनीका स्थानीयले बताए ।

धादिङ र नुवाकोट जिल्लामा त्रिशुली नदी किनारमा ढिस्काको बालुवा धुने, नदीबाटै बालुवा झिक्ने र नदी किनारमै क्रसर चलाउने क्रियाकलापहरुले कन्चन बग्ने त्रिशुली नदी बाह्रै महिना धमिलिने गरेको थियो ।



हिउँदमा पनि कहिले बालुवा त कहिले ढुंगा झिक्नेहरुले गर्दा सँधै धमिलो हुने त्रिशुली अहिले सङ्लिन पाएको छ । न त त्रिशुलीमा अहिले गिट्टी बालुवा बोक्ने टिपरको लस्कर न छ बालुवा प्रशोधन र क्रसर उद्योग । बरु कञ्चन त्रिशुलीमा देखिन थालेका छन्– बल्छी र जाल थापेर माछा मार्नेहरु, चिसो पानीमा नुहाउने र पौडी खेल्नेहरु । नदी सफा भएपछि ठूल्ठूला माछाहरु पनि भेटिन थालेको स्थानीयले बताए । १२ केजी सम्मका गोज माछा र जलकपुर प्रजातीका माछा मारेको एक स्थानीयले बताए ।



नेपाल सरकारबाट तोकिएको मापदण्ड विपरित सञ्चालन भएका खानी, क्रसर तथा बालुवा प्रशोधन उद्योगहरुले नदी धमिल्याउने गरेको त्रिशुली बचाउ अभियानका अभियन्ताहरु बताउँछन् । नदी किनारका विभिन्न स्थानमा अवैध रुपमा सञ्चालनमा रहेका उद्योगबाट वातावरण प्रदुषण र प्राकृतिक सम्पदाहरुको क्षय समेत गरेको उनीहरुको भनाइ छ । लकडाउनका कारण ती उद्योगहरु सञ्चालन नहुँदा नदीको कञ्चन रुप देखिन थालेको छ ।



‘धार्मिक तथा जलयात्राको लागि ऐतिहासिक महत्व बोकेको त्रिशुली नदीमा बालुवा प्रशोधन उद्योगका व्यवसायीहरुले बालुवा धोएको धमिलो फोहर पानी तथा लेदो मापदण्डविपरित सिधै खोलामा पठाएकोले त्रिशुली नदी धमिलिएको रहेछ भन्ने कुरामा लकडाउन पछिको त्रिशुली नदीको अवस्थाले दर्शाउँछ,’ जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले बताए ।

त्रिशुली नदी धमिलिँदा पर्यटन उद्योग तथा नदीको स्वच्छतामा असर पर्ने र कालान्तरमा यसले गम्भीर समस्या निम्त्याउन सक्ने भएकोले यस्ता कार्य निरुत्साहित गर्न पहल भइरहेको पनि नेपालले बताए ।



त्रिशुली नदी र यसको आसपासका खोलाहरुवाट निर्माण सामाग्री उत्पादन गर्ने नाममा विगत २ दशकदेखि लगातार उत्खनन् हुँदै आईरहेको र यस कार्यले त्रिशुलीको स्वरुप बिग्रिएको अभियन्ता श्रवण त्रिपाठीले बताए ।



प्रकाशित : चैत्र २८, २०७६ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्

जसले पशुपन्छीलाई भोकै रहन दिएनन् [तस्बिरहरु]

लकडाउनका कारण आहारा अभावमा भोकाएका सामुदायिक कुकुर, बाँदर, परेवा लगायतका पन्छीलाई दानापानी जुटाउनेहरुको कथा
गणेश राई

काठमाडौँ — लकडाउनपछि काठमाडौं उपत्यकाको सार्वजनिक स्थलमा रहेका पशुपन्छी यतिखेर दानापानी नपाएर छटपिएका छन्। यहाँका मठमन्दिरमा पूजापाठ ठप्प छ। मन्दिर, सत्तल, पाटीका छिँडी र परम्परागत घरका आसपासमा बसेका परेवा तथा कागलगायत चराचुरुंगीले नियमित चारो खान पाएका छैनन्।

खुल्ला हुँदा भक्तजनले मन्दिरमा चढाउने चाम अक्षता, फूलपाती, किनेर खुवाउने मकै, गहुँजस्ता अन्न खाएर ती पन्छीले भोक मेट्थे।
ललितपुरको पाटन दरबार क्षेत्रमा रहेका बाँदरले स्थानीयको घर–घरमै पसेर उपद्रो मच्चाउन थालेका छन्। स्थानीयको गुनासोपछि ललितपुर महानगरपालिकाले ती बाँदरलाई गोदावरीको जंगलमा विस्थापित गर्ने योजना बनाएको छ। तर, विज्ञको सुझाव र कानुनले छेकेपछि तत्कालका निम्ति यथास्थानमै खानपिन गराउन थालिएको छ।

‘पाटनमा करिब ३० वटा बाँदरको बिगबिगी बढेको छ,’ ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन भन्छन्, ‘हामीले पक्रेर गोदावरीको जंगलमा छोड्ने विचार गर्‍यौं। त्यसका निम्ति राष्ट्रिय प्रकृति संरक्षण कोषलाई अनुरोध गर्‍यौं। विज्ञहरुले सहरमा बसेको बाँदरलाई एकैचोटि जंगलमा छोड्दा खान पाउँदैन, मर्छ भन्ने निष्कर्ष आयो। कानुनले समेत छेक्ने बुझियो। त्यसैले साता दिनदेखि तालिका बनाएर खानेकुरा उपलब्ध गराउन थालेका छौं।’
पशुपन्छीलाई खाना खुवाउने जिम्मा भैंसेपाटीमा रहेको स्नेहाज् केयरलाई दिइएको महर्जनले जनाए। महानगरले तत्काल दुई लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ भने थप रासन उपलब्ध गराउने तयारी गरेको छ।

पाटनका स्थानीय पत्रकार ईश्वर महर्जनका अनुसार यहाँ घरको छतमा सूर्यको पूजा गर्दै चराचुरुंगीलाई चामल, अक्षता चढाउने परम्परा छ। ‘सहरका बीचमा बसेका चराले केही हदसम्म खान पाउलान् तर गल्लीका कुकुर खान नपाएर बिचल्ली भएका छन्,’ उनले भने।
लकडाउनलगत्तै दुई महानगरसहित १८ नगरपालिकाको छाता संस्था उपत्यका नगरपालिका फोरम, काठमाडौंले संयुक्त विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्ध लड्न आह्वान गरेको थियो। फोरमले असहाय, विपन्न वर्ग र दैनिक ज्यालादारी गरेर गुजारा चलाउने मानिसलाई राहत सामग्रीसमेत वितरण गर्ने निर्णय गरेको छ। तर पशुपन्छीलाई सम्बोधन गर्न नसकेको फोरमका उपाध्यक्षसमेत रहेका मेयर महर्जनले बताए।

‘सबै नगरपालिकामा निम्न वर्गलाई राहत प्याकेज दिने निर्णय गर्‍यौं,’ मेयर महर्जनले भने, ‘तर, पशुपन्छीका निम्ति प्याकेज थप छुटेकाले आ–आफ्नो क्षमताअनुसार व्यवस्था गर्ने भन्ने निष्कर्षमा पुगेका छौं।’
काठमाडौं महानगर र भक्तपुर नगरपालिकाले पशुपन्छीलाई खानेकुराको व्यवस्था गर्न वडा कार्यालयहरुलाई नै जिम्मा दिइएको बताएका छन् ।
यसरी तयार हुन्छ आहार

यतिखेर काठमाडौं उपत्यकामा रहेका सामुदायिक कुकुर, गाईवस्तु, परेवा, कागलगायत पशुपन्छीलाई विभिन्न व्यक्तिदेखि संघसंस्था दाना, खाना खुवाउन तम्सिरहेका छन्। भैंसेपाटीस्थित स्नेहाज् केयरले बृहत् रूपमा अभियान चलाएको छ। यो संस्था सात वर्षदेखि पशु स्वास्थ्य सेवामा संलग्न छ। लकडाउन भएको अघिल्लो दिनबाट उपत्यकाको विभिन्न ठाउँमा कुकुर, बाँदर, गाईवस्तु, परेवालाई खाना खुवाउँदै आएको संस्थाको भनाइ छ।

‘हामीले तीन वटा रुट बनाएर खाना दिँदैआएका छौं,’ संस्थाका निर्देशक कपिल काफ्लेले कान्तिपुरसित भने, ‘हरेक दिन भैंसेपाटी र हात्तीवन गरी दुई ठाउँमा पशुको आहार तयार पार्छौं।’
उक्त संस्थाले कुकुरका निम्ति दैनिक १ सय ८० किलो चामल, दुई सय किलो कुखुराको मासु, चार सय वटा अण्डा, २५ किलो दाल पकाउने गर्छ। त्यसैगरी बाँदरका निम्ति १५ किलो चना भिजाएर र ५० किलो आलु उसिनेर नुनमा मोल्ने गरिएको छ। परेवाका निम्नि २० किलो कनिका र गाईवस्तुका निम्ति १ सय ५० किलोभन्दा बढी बन्दागोभी नुनमा मोलेर तयार पारिन्छ। पकाउनमै प्रत्येक दिन दुई सिलिन्डर ग्यास खर्च हुने संस्थाको भनाइ छ। खाना उपलब्ध गराउन नसकिने क्षेत्रमा कुकुरप्रेमी युवालाई सुक्खा खाना (डग फुड) उपलब्ध गराएर खुवाउन लगाउने गरिएको छ।

तयार गरिएका खाना लिएर हरेक दिन तीन वटा गाडीमा राखेर तीन क्षेत्रमा बाँड्ने गरिएको निर्देशक काफ्लेले बताए। ललितपुरको सातदोबाटोबाट एउटा टोली चक्रपथ बाहिर बज्रबाराही मन्दिरमा पशुपन्छीलाई खाना खुवाएर स्वयम्भूतर्फ फर्किन्छ। दोस्रो टोली धोबिघाट, झम्सिखेल, वाग्मती करिडोर हुँदै थापाथली, त्रिपुरेश्वर, रत्नपार्क र तेस्रो टोली लगनखेल, मंगलबजारतर्फ पशुपन्छीलाई खाजा खुवाउन पुग्छ।

थापाथली, पाटन दरबार क्षेत्र, सिफल, पशुपति तथा स्वयम्भूमा बाँदर र कुकुरलाई खाना दिइन्छ। त्यसैगरी पाटन, जावलाखेल, पशुपति, टुँडिखेलमा परेवा तथा गाईवस्तुलाई आहारा दिने गरिएको छ। भेटेरीनरी डाक्टर, नर्ससहितको टोलीले आहारासँगै बिरामी परेका पशुपन्छीलाई उपचारसमेत गर्ने गरेको छ।

स्नेहाज् केयरकी संस्थापक अध्यक्ष स्नेहा श्रेष्ठले यसरी पशुपन्छीको दाना र खाना पकाउने ग्याससमेत गरी दैनिक ५० हजार रुपैयाँ खर्च हुने गरेको बताइन्। ‘लकडाउनको पहिलो हप्तासम्म हामीले आफ्नै खर्चमा खुवायौं, दोस्रो हप्ताबाट ललितपुर महानगरपालिकाले सहयोग गर्दै छ,’ उनले भनिन्, ‘अब सपोर्ट पाए पनि नपाए पनि लकडाउन नखुलेसम्म पशुपन्छीलाई निरन्तर दाना खुवाउँछौं।’

उनको सेल्टरमा १ सय ६० वटा कुकुर, २६ वटा गाईवस्तु छन्। ‘यसलाई धान्न आफ्नै कृषि फार्म चलाएको छु। बल्खुमा आफ्नै तरकारी पसल छ,' उनले भनिन्, 'त्यहाँबाट अलि बिग्रिएका सागसब्जी लिएर गाईवस्तुलाई खुवाउने गरेको छु।’
त्यसैगरी बूढानीलकण्ठस्थित काठमाडौं पशु उपचार केन्द्रले लकडाउनको बेला सीमित क्षेत्रमा कुकुर र बाँदरलाई खाना खुवाउने गरेको छ। सार्वजनिक स्थलमा बिरामी परेका पशुहरूको उद्धार तथा उपचार गर्दैआएको छ। ‘लकडाउनको दोस्रो हप्ताबाट घाइते कुकुरको संख्या बढेको छ,’ केन्द्रका इन्चार्ज बासु पराजुलीले भने, ‘बाँदरलाई ठूलो केराउ, चना, राजमा भिजाए दिन्छौं। कुकरलाई भात, मासु कागजको प्लेटमा दिने गरेका छौं।’ डेढ दशकदेखि पशुजन्म नियन्त्रमा संलग्न केन्द्रले कुनै पनि ठाउँमा हुने पशु दुर्घटनामा तत्काल उद्धार र उपचार गर्ने गरेको छ।
बाच्छाबाच्छी संकलन
पशुपतिनाथ मन्दिर क्षेत्रमा पशुपति क्षेत्र विकास कोष र नेपाल मानव धर्म सेवा समितिअन्तर्गत युवा संगठनले पशुपन्छीलाई खाना खुवाउने गरेका छन्। परेवा, काग, कुकुर, बाँदरलाई दानापानी दिने गरेको युवा संगठनका केन्द्रीय संयोजक नवीन कोइरालाले बताए। सर्वसाधारणले नगरपालिका, स्वयंसेवक संस्थामार्फत पशुपन्छीका निम्ति दानाको सहयोग गर्दै आएका छन्।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले बुधबारबाट गाईका बाच्छाबाच्छी उद्धार थालेको जनाएका छन्। ‘बिहीबार काठमाडौंको महाराजगन्ज र बाँसबारी क्षेत्रबाट ६ र भक्तपुरको गठ्ठाघर, ठिमी र सल्लाघारीबाट १२ गरी १८ बाच्छाबाच्छीको उद्धार गरिएको छ। बाच्छाबाच्छीलाई गोठाटार, वाग्मती किनार नजिकै राखिएको छ,' उनले भने, ‘यहाँ पहिलेदेखि नै उत्तम पुडासैनी र साथीहरुले ७० भन्दा बढी बाच्छाबाच्छीलाई संरक्षण गर्दै आउनुभएको छ।’ उपत्यकाको सडकमा रहेका बेवारिसे बाच्छाबाच्छीको उद्धार कार्य जारी राख्ने उनले जनाएका छन्।
तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर



प्रकाशित : चैत्र २८, २०७६ १९:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×