३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लकडाउनमा कराते प्रशिक्षक मल्लको टिप्स– 'पसिना निस्कने गरी व्यायाम गर्नुस्'

नमिता दाहाल

काठमाडौँ — कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि सम्पूर्ण खेलकुद कार्यक्रम बन्द छन्। जसका कारण खेलाडी तथा प्रशिक्षक पनि यतिबेला फुर्सदिला बनेका छन्। सधैं नियमित अभ्यास र खेलका साथै कसरतमा व्यस्त हुने खेलाडीले लकडाउनका बेला कसरी आफूलाई फिट राख्ने?

लकडाउनमा कराते प्रशिक्षक मल्लको टिप्स– 'पसिना निस्कने गरी व्यायाम गर्नुस्'


शारीरिक व्यायामका साथै खानपानमा विशेष ध्यान पुर्‍याउनुपर्ने बताउँछन्, कराते प्रशिक्षक ध्रुवविक्रम मल्ल। २०४८ सालदेखि कराते प्रशिक्षकको भूमिकामा रहेका उनले केही टिप्स फलो गर्न खेलाडीहरुलाई आग्रह गरे।


२०५२ सालमा राष्ट्रिय खेलकुद परिषद्‌बाट स्थायी प्रशिक्षकको रुपमा नियुक्त भएका उनले २०६३ सालमा अवकाश लिए। अहिले पनि खेलाडी उत्पादनमा सक्रिय देखिन्छन्। यसै वर्ष सम्पन्न सागमा उनका धेरैजसो प्रशिक्षार्थीहरु स्वर्णपदक विजेता बने।


देशव्यापी लकडाउन भएकाले उनी आफैंले पनि फिट रहन विभिन्न किसिमका व्यायामलाई निरन्तरता दिइरहेका छन्। घरभित्रै हल्का वार्मअप गर्छन्। ‘खेलाडीहरुले बिहान उठेर हल्का खालको वार्मअप गर्नुपर्छ। त्यसपछि लाइट ब्रेकफास्ट लिनु स्वास्थ्यको लागि राम्रो हुन्छ,' उनको सुझाव छ,' हेभी खाना र कोलेस्ट्रोल बढाउने खालको खाना खानु हुँदैन।’


बाहिर निस्कन नपाए पनि कराते खेलाडीका लागि घरभित्रै कसरत गर्न सक्ने विभिन्न उपाय छन्। उनका अनुसार, घरको कम्पाउन्ड नै वार्मअपका लागि उपयुक्त स्पेस हो।


शरीर फुर्तिलो बनाउन र खेलमा पनि निरन्तर लागिरहन शारीरिक कसरतले धेरै मद्दत पुर्‍याउँछ। यसका साथै मार्सल आर्ट इन्डोर गेम भएकाले खेलाडीहरु घरमा पनि प्रशस्तै अभ्यास गर्न सक्छन्। 'लकडाउन छ भनेर व्यायम नै नगरी बस्नु हुँदैन,' प्रशिक्षक मल्ल भन्छन्, 'खेलाडीले आफ्नै दैनिक खानपानलाई पनि ध्यान दिनुपर्छ। बिहानै उठ्ने, वार्मअप गर्ने, बिहानको खाजामा हल्का खानेकुरा खाने गर्नुपर्छ।'


सामान्य अवस्थामा जस्तो पूर्ण रुपमा व्यायाम र इन्डोर गेमलाई निरन्तरता दिन यो संकटका बेला गाह्रो छ। तथापि शारीरिक अभ्यासलाई चटक्कै नछाड्न उनको सुझाव छ। 'पसिना निस्कने गरी व्यायाम गर्नुस् ताकि त्यसले दिमाग पनि ताजा बनाउँछ,' उनले भने, 'घरको ठाउँअनुसार कता सहज पर्छ अभ्यास जारी राखौं।'


कराते मात्रै नभई सम्पूर्ण इन्डोर गेममा खेलाडी आफैले अनुकूलता मिलाएर घरमै समयको सदुपयोग गर्न सक्ने उनी बताउँछन्।

प्रकाशित : चैत्र २६, २०७६ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?