नागरिक भन्छन्- ‘स्थिति सामान्य नभएसम्म लकडाउन गर्नुपर्छ’ : सर्भे- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिक भन्छन्- ‘स्थिति सामान्य नभएसम्म लकडाउन गर्नुपर्छ’ : सर्भे

‘आँगन खनेर कोइला निकालेमा निको हुन्छ’ भन्‍ने पनि भेटिए
सरकारको प्रयासबाट सन्तुष्ट छु भन्‍ने धेरै
उपेन्द्रराज पाण्डेय

काठमाडौँ — नेपाली नागरिकहरुले कोरोना भाइरस(कोभिड–१९) संक्रमणले निम्त्याएको जटिल अवस्था सामान्य नभएसम्मका लागि लकडाउनलाई निरन्तरता दिए राम्रो हुने बताएका छन् । शेयरकास्ट इनिसियटिभ नेपालले कोरोना भाइरससँग सम्बन्धित विषयमा गरेको राष्ट्रिय सर्वेक्षणमा सहभागी अधिकाशंले स्थिति सामान्य नहुञ्जेलसम्मका लागि लकडाउन गरेकै राम्रो हुने विचार व्यक्त गरेका हुन् । 

शेयरकास्ट इनिसियटिभ नेपालका लागि मधु आचार्य, भूमिराज चापागाईं र रमेशप्रसाद अधिकारीले गरेको सर्वेक्षणमा सहभागीमध्ये ६८.२ प्रतिशतले अवस्था सामान्य नहुँदासम्मका लागि लकडाउन गरेकै राम्रो हुने बताएका हुन् । त्यस्तै ५.९ प्रतिशतले भने अझै एक हप्ता लकडाउनको अवधि बढाउँदा राम्रो हुने बताएका छन् । सरकारले दोस्रो पटक लकडाउनको अवधि बढाउँदै वैशाख ३ सम्म पुऱ्याएको छ । त्यस्तै सर्वेक्षणमा अझै २ हप्ता लकडाउन गर्नुपर्छ भन्नेहरु ५.९ प्रतिशत रहेका छन् भने ३ हप्ता र ४ हप्त गर्नुपर्छ भन्नेको संख्या क्रमश: १.७ प्रतिशत र १.६ प्रतिशत रहेको छ ।


त्यस्तै केहीले भने सरकारले लकडाउनको विकल्प सोच्नुपर्ने बताएका छन् । लकडाउनको साटो व्यापक रुपमा स्वास्थ्य परीक्षण र उपचारमा जोड दिनुपर्छ भन्नेहरुको संख्या ५.२ प्रतिशत रहेको छ । त्यस्तै यसबारेमा थाहा नहुने र भन्न नचाहनेको संख्या पनि ११.३ प्रतिशत रहेको छ ।


लकडाउनअघि खाद्यान्न र तरकारी किन्ने धेरै

त्यस्तै सर्वेक्षणमा सोधिएको अर्को प्रश्न ‘लकडाउन सुरु हुनुभन्दा अघि तपाईंले आफ्नो घरपरिवारका लागि आवश्यक के–के सामग्री किन्नु भएको थियो ?’ भन्ने प्रश्नमा अधिकांशले खाद्यान्न र तरकारीको जोहो गरेको बताएका छन् । सर्वेक्षणमा सहभागीमध्ये ५३ प्रतिशतले लकडाउन सुरु हुनुभन्दा अघि खाद्यान्न र तरकारी किनेको बताएका छन् । सरकारले पूर्वतयारीको समय नदिएकाले पनि हुन सक्छ झन्डै आधाले भने ‘खासै तयारी केही गरिएन’ भन्ने जवाफ दिएका छन् ।


सर्वेक्षणमा सहभागीमध्ये ४३.६ प्रतिशतले लकडाउनअघि खासै तयारी नगरेको बताएका छन् । त्यस्तै १७ प्रतिशतले लकडाउनअघि मास्क किनेको बताउँदा एक प्रतिशतले पञ्जा किनेको उल्लेख गरेका छन् । लकडाउनअघि औषधि(प्राथमिक औषधि) किन्नेहरुको संख्या ७.६ प्रतिशत रहेको छ भने स्यानिटाइजरको जोहो गर्नेको संख्या ७.१ प्रतिशत रहेको छ । त्यस्तै लकडाउनअघि ग्याँसको जोहो गऱ्यौं भन्नेको संख्या पनि १६.९ प्रतिशत रहेको छ । सर्वेक्षणमा सहभागीमध्ये २३.५ प्रतिशतले लकडाउनअघि साबुन किनेको बताएका छन् ।


कोरोना भाइरसबाट बच्न मास्क लगाउनुपर्छ भन्ने धेरै

सर्वेक्षणमा कोरोना भाइरसबाट आफू र परिवारका सदस्यलाई कसरी सुरक्षित राख्ने भन्नेबारेमा थाहा छ भन्नेहरु ९८.६ प्रतिशत रहेका छन् । यसमा थाहा छैन भन्ने नगण्य १.४ प्रतिशत मात्रै रहेका छन् । तर कोरोना भाइरसको संक्रमणबाट बच्न मास्क लगाउनुपर्छ भन्नेहरुको संख्या भने अत्यधिक रहेको छ ।


सर्वेक्षणमा सहभागी ७५.१ प्रतिशतले कोरोना भाइरसको संक्रमणबाट बच्न मास्क लगाउनुपर्छ भनेका छन् । त्यस्तै बेलाबेलामा साबुनपानीले हात धुने वा अल्कोहलयुक्त स्यानिटाइजर प्रयोग गर्नुपर्छ भन्ने पनि ९० प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । त्यस्तै हाछ्युँ गर्दा वा खोक्दा रुमाल वा टिस्यु वा कुहिनाले नाकमुख छोप्नुपर्छ भन्नेको संख्या ३० प्रतिशत रहेको छ । त्यस्तै भीडभाडबाट टाढा रहुनपर्छ भन्नेहरु ८६.३ प्रतिशत रहेका छन् ।


कोरोना भाइरसले रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई बढी असर गर्छ भन्ने चिकित्सकहरुको भनाइका कारणले पनि होला सर्वेक्षणमा सहभागीमध्ये १६.९ प्रतिशतले पोषिलो खानेकुरा खानुपर्छ भनेका छन् । अहिलेसम्म घरपालुवा जनावरबाट कोरोना संक्रमणको पुष्टि भएको छ । तर सर्वेक्षणमा सहभागीमध्ये ४.३ प्रतिशतले शाकाहारी बन्दा वा मासु नखाँदा कोरोना भाइरसको संक्रमणबाट बच्ने सम्भावना रहेको बताएका छन् । त्यस्तै बिरामी, रुघाखोकी लागेको व्यक्तिबाट टाढा रहनुपर्छ भन्नेहरु २२.१ प्रतिशत रहेको सर्वेक्षणले देदाएको छ ।


‘कोरोना भाइरस संक्रमणको डर धेरै छ’

सर्वेक्षणमा सोधिएको अर्को महत्वपूर्ण प्रश्न ‘के तपाईंलाई आफू वा आफ्नो परिवारका सदस्यहरु कोरोना भाइरसको महामारीमा परिन्छ कि भन्ने डर लागेको छ ?’ भनेर सोधिएको थियो । यस प्रश्नमा ‘डर लागेको छ’ भन्नेहरु ६४.४ प्रतिशत रहेका छन् । त्यस्तै ३५.६ प्रतिशतले ‘डर लागेको छैन’ भन्ने उत्तर दिएका छन् । यो प्रश्नकै पूरक प्रश्नका रुपमा ‘तपाईंलाई किन डर लागेको होला ?’ भनेर सोधिएको थियो । धेरैले खुला सिमाना भएकाले कोरोना संक्रमणको उच्च जोखिम रहेको उल्लेख गर्दै आफूलाई डर लागेको बताएका छन् । २८.१ प्रतिशतले खुला सिमाना भएको र यसले संक्रमण निम्त्याउन सक्ने उल्लेख गर्दै आफूलाई डर लागेको बताएका हुन् ।


त्यस्तै ‘विदेशबाट फर्केकाहरुको कोरोना परीक्षण नभएकाले गर्दा’ आफूलाई डर लागेको बताउनेहरु २८ प्रतिशत रहेका छन् । त्यस्तै आफ्नो घर समुदायमा विदेशबाट आउनेहरु धेरै भएकाले पनि डर लागेको बताउनेहरु २१.७ प्रतिशत रहेका छन् । स्वास्थ्य परीक्षण र उपचारको सुविधा नभएकाले डर लागेको बताउनेहरु २४.३ प्रतिशत छन् भने कोरोना भाइरसको संक्रमणबाट बच्ने पर्याप्त जानकारी नभएकाले डर लागेको बताउने १४.८ प्रतिशत छन् ।

त्यस्तै साबुन, मास्क र स्यानिटाइजर किन्न आफूसँग पैसा नभएकाले पनि संक्रमणको डर लागेको बताउने १०.२ प्रतिशत रहेका छन् । त्यस्तै ‘मलाई यसबारेमा केही पनि थाहा छैन, त्यसैले लागिहाल्छ कि भन्ने डर लाग्छ’ भन्नेहरु ५ प्रतिशत रहँदा ‘थाहा छैन’ भन्नेहरुले १२.२ प्रतिशत छन् ।


रेडियो सबैभन्दा बढी प्रभावकारी

कोरोना भाइरसको प्रभावसँगै अधिकांश छापामाध्यम बन्द भएका छन् । अहिले रेडियो, अनलाइन र टेलिभिजनबाट नै नियमित रुपमा समाचार प्रकाशन तथा प्रसारण भइरहेको छ । सर्भेले देखाएको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणका बारेमा सबैभन्दा प्रभावकारी ढंगले सूचना सम्प्रेषण रेडियोले गरेका छन् । सर्वेक्षणमा सहभागीमध्ये ६७.३ प्रतिशतले रेडियोबाट नियमित रुपमा सूचना तथा जानकारी पाएको बताएका छन् ।


त्यस्तै ६२.७ प्रतिशतले आफूले प्राप्त गर्ने सूचनाको प्रमुख माध्यम टेलिभिजन बताउँदा ०.७ प्रतिशतले मात्रै पत्रपत्रिकाबाट सूचना पाएको बताएका छन् । पछिल्लो समय नेपालमा अनलाइन न्युज पोर्टलहरुको संख्या बढे पनि सर्वेक्षणमा सहभागीमध्ये ११.६ प्रतिशतले मात्रै अनलाइनलाई आफ्नो सूचना प्राप्त गर्ने माध्यमका रुपमा लिएको पाइएको छ । त्यस्तै फेसबुकबाट नियमित रुपमा जानकारी पाइरहेको छु भन्ने २५.९ प्रतिशत छन् भने ट्विटरबाट ०.७ प्रतिशत मात्रै । त्यस्तै साथीभाइ र परिवारका सदस्यबाट थाहा पाएको छु भन्नेहरु क्रमश: १९.६ प्रतिशत र ११.४ प्रतिशत रहेका छन् ।


‘आँगन खनेर कोइला निकालेमा निको हुन्छ’

कोरोना भाइरसको संक्रमण फैलिएसँगै नेपालमा पनि विभिन्न अफवाहहरु फैलिएको थियो । कसैले प्राथना गरेमा निको हुन्छ त कसैले बेसार पानी खाएमा निको हुनेसमेतका अफवाह फैलाएका थिए । विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म कोरोना भाइरसको औषधि पत्ता लागको छैन । यसबाट निको हुने भनेको अहिलेसम्म आफ्नो रोग प्रतिरोधात्मक क्षमता नै हो । तर सवेक्षणमा सोधिएको ‘तपाईंले कोरोना भाइरसको महामारीका बारेमा घर, छिमेक तथा समुदायमा के कस्ता कुरा सुन्नु भएको छ ?’ भन्ने प्रश्नमा केही उत्तर हाँसोउठ्दा पनि छन् ।


बहुउत्तर शैलीमा सोधिएको यस प्रश्नमा ७.८ प्रतिशतले ‘आँगन खनेर कोइला निकालेमा निको हुन्छ’ भन्ने कुरा छरछिमेक तथा समुदायमा सुनेको बताएका छन् । त्यस्तै भगवानको पूजा गरेमा निको हुन्छ भन्नेको संख्या ३.७ प्रतिशत रहेको छ भने येशुको प्रार्थना गरे निको हुन्छ भन्नेहरु ७.८ प्रतिशत रहेका छन् ।


तर यस प्रश्नमा घरभित्रै बस्नुपर्छ र साबुनपानीले बारम्बार हात धुनुपर्छ भन्ने सुनेको बताउने नै धेरै छन् । ४५.२ प्रतिशतले कोरोना महामारीबाट बच्न घरभित्रै बस्नुपर्छ भन्ने सुनेको बताएका छन् । त्यस्तै ४५ प्रतिशतले भने साबुनपानीले बारम्बार हात धुनुपर्छ भन्ने कुरा छरछिमेक तथा समुदायमा सुनेको बताएका छन् ।


सरकारको प्रयासबाट सन्तुष्ट छु भन्ने धेरै

त्यस्तै ‘कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले हाल गरिरहेको प्रयासबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?’ भन्ने प्रश्नमा ६२.८ प्रतिशतले ‘सन्तुष्ट छु’ जवाफ दिएका छन् । त्यस्तै १४.२ प्रतिशतले ‘न सन्तुष्ट, न असन्तुष्ट’ भन्ने उत्तर दिएका छन् । त्यस्तै ९.४ प्रतिशतले ९.४ प्रतिशतले ‘असन्तुष्ट छु’ भन्ने जवाफ दिँदा ८.६ प्रतिशतले भने ‘एकदमै सन्तुष्ट छु’ भन्ने उत्तर दिएका छन् ।


लकडाउनको पालना कति ?

सर्वेक्षणमा सोधिएको ‘तपाईंको घर वरिपरि सरकारले घोषणा गरेको बन्दाबन्दी वा लकडाउनको कत्तिको पालना भएको छ ?’ भन्ने प्रश्नमा ‘पूर्ण रुपमा पालना भएको छ’ भन्ने ५९ प्रतिशतले जवाफ उत्तर दिएका छन् । त्यस्तै आंशिक रुपमा पालना भएको छ भन्नेहरु ३८.८ प्रतिशत छन् । त्यस्तै १.८ प्रतिशतले कत्ति पालना भएको छैन भन्ने जवाफ दिएका छन् भने ०.४ प्रतिशतले थाहा छैन वा भन्न चाहन्न जवाफ दिएका छन् ।


निष्कर्ष

शेयरकास्ट इनिसियटिभ नेपालले सर्वेक्षणका क्रममा विभिन्न १३ वटा प्रश्न सोधेको थियो । सर्वेक्षणमा सहभागीले दिएका उत्तरको आधारमा अधिकांश नेपाली नागरिकलाई कोरोना भाइरसको संक्रमण कसरी हुन्छ र यसबाट कसरी जोगिने भन्ने कुरा थाहा भएको शेयरकास्टले निष्कर्ष निकालेको छ । त्यस्तै अधिकांशलाई कोरोना भाइरसको लक्षणका बारेमा थाहा भएको र केहीमा मात्रै यससम्बन्धी भ्रम रहेको पनि सर्भेले देखाएको छ । त्यस्तै धेरैले खुला सिमाना र विदेशबाट फर्किएका व्यक्ति आफ्नो समुदायमा धेरै भएको र उनीहरु क्वारेन्टाइनमा नबसेका कारण आफूहरुलाई डर लागेको बताएका छन् ।


कसरी भएको थियो सर्वेक्षण ?

शेयरकास्ट इनिसियटिभ नेपालले यही चैत २२ २३, २४ गते एक हजार एक सय १० जनासँग प्रत्यक्ष टेलिफोन अन्तर्वार्ता गरी तथ्यांक संकलन गरेको जनाएको छ । तथ्यांक संकलनमा तालिमप्राप्त १२ जना गणक सहभागी भएको पनि उसले जनाएको छ ।


सर्वेक्षणमा प्रदेश एकबाट १८५, प्रदेश २ बाट २०१, वाग्मती प्रदेशबाट २६९, गण्डकी प्रदेशबाट ९९, प्रदेश ५ बाट १९१, कर्णालीबाट ६८ र सुदूरपश्चिमबाट ९७ जना सहभागी भएका थिए । उत्तरदातामध्ये ५०‍.४ प्रतिशत पुरुष रहेका थिए भने ४९.६ प्रतिशत महिला थिए ।


शेयरकास्ट इनिसियटिभ नेपालले गरेको सर्भे हेर्नुहाेस्

प्रकाशित : चैत्र २६, २०७६ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्

के कोरोना भाइरसबारे पहिले नै भविष्यवाणी गरिएको थियो ? 

उपेन्द्रराज पाण्डेय

काठमाडौँ — करिब आधा विश्वमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) का बारेमा के पहिले नै भविष्यवाणी गरिएको थियो ? साहित्यकारहरुले विभिन्न रोग तथा महामारीहरुको बारेमा आफ्ना कृतिमा समावेश गर्दै आएका छन् । चाहे त्यो आदिमकालमा लेखिएका साहित्य हुन् वा उत्तरआधुनिक कालमा । कतै न कतै भविष्यमा हुने खतरा र महामारीको प्रसंग कोट्याइएको भेटिन्छ ।

त्यसो भए के साहित्यरकारहरुले केही वर्षअघि नै अहिले महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबारेमा भविष्यवाणी गरेका थिए त ?

पछिल्लो समय सामाजिक सञ्जालमा केही वर्षअघि नै लेखिएको उपन्यासमा लेखिएझैँ नै अहिले चीनको वुहानबाट भाइरसको संक्रमण फैलिएको दाबी गरिएको छ । यहाँ ती दुई उपन्यासमा प्रस्तुत गरिएका भाइरस र अहिले देखिएको भाइरसमा समानता छ/छैन भन्नेबारे अहिले सामाजिक सञ्जालमा बहस चलेको छ ।

धेरैजसो समाचार पोर्टल र सामाजिक सञ्जालमा दुई लेखकले आफ्नो कृतिमा दशकअघि नै कोभिड–१९ महामारीको भविष्यवाणी गरेको दाबी गरेका छन् ।

पहिलो पुस्तक हो, सन् १९८१ मा अमेरिकी उपन्यासकार डिन कुन्जद्वारा लिखित साइन्स फिक्सन ‘द आइज अफ् डार्कनेस’ । उपन्यासमा काल्पनिक रुपमा एउटा बायोलोजिकल विपन(जैविक हतियार) को चर्चा गरिएको छ । उपन्यासमा उक्त मानवनिर्मित भाइरसलाई ‘वुहान–४००’ नाम दिइएको छ । उपन्यासमा मानिसलाई मार्ने उद्देश्यले बनाइएको भनिएको उक्त भाइरसले अन्जानमै बालबालिकाको भने मानसिक क्षमताको वृद्धि गराइदिन्छ ।

वुहानबाट सुरु भएको भाइरसलाई प्राविधिक रुपमा ‘सार्स–कोभ–२’ नाम दिइए पनि अहिले कोभिड–१९ (कोरोना भाइरस डिजिज २०१९) ले चिनिन्छ । अहिले फैलिएको भाइरस र उपन्यासमा चर्चा गरिएको भाइरसबीच समानता भनेको चिनियाँ सहर वुहान मात्रै हो । तर यसको सुरुवातका बारेमा भने समानता पाइँदैन । उपन्यासमा प्रस्तुत गरिएको काल्पनिक रोग वुहान सहरबाहिर रहेको प्रयोगशालामा तयार पारिन्छ । तर अहिले देखिएको भाइरस भने वुहान सहरबाटै सुरु भएको मानिएको छ । र अर्को कुरा, अहिलेसम्म यो भाइरस कृत्रिम रुपमा तयार पारिएको भन्ने कुनै प्रमाण फेला पारिएको छैन ।

उपन्यासको वुहान–४०० र कोभिड–१९ मा अर्को पनि भिन्नता रहेको छ । उपन्यासमा यो भाइरसको संक्रमणपछि कोही पनि २४ घण्टाभन्दा बढी नबाँच्ने भनिएको छ । यो हिसाबमा यो रोगको मृत्युदर शतप्रतिशत पक्का हो भन्ने देखिन्छ । अहिले देखिएको भाइरसमा भने त्यो कुरा लागू हुँदैन । विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ को मृत्युदर ३.४ प्रतिशत मात्रै हो ।


उपन्यासमा प्रस्तुत गरिएको भाइरस मान्छेमा मात्रै संक्रमण हुने र अन्य पशुपन्छीमा नहुने उल्लेख छ । तर कोभिड–१९ चमेरो हुँदै समुद्री जीवजन्तुबाट मान्छेमा सरेको आँकलन गरिएको छ । कोभिड–१९ मुख्यतया श्वासप्रश्वाससम्बन्धी रोग हो । तर उपन्यासमा भने भाइरसले सिधै मस्तिष्कमा आक्रमण गर्ने उल्लेख छ । यसले मस्तिष्कको कोषलाई ब्याट्रीमा प्रयोग गरिने एसिडले एकदमै नरम कपडा (चीजक्लथ) लाई नष्ट गरेझैँ समाप्त पार्ने उपन्यासकारले कल्पना गरेका छन् ।

तर यसमा छुटाउनै नहुने कुराचाहिँ ‘आइज अफ् डार्कनेस’ को पहिलो संस्करणको सन्दर्भ हो । सन् १९८१ प्रकाशित कुन्जको उपन्यासमा ‘वुहान–४००’ भाइरस नै उल्लेख नभएको साउथ चाइना मोर्निङ पोस्टमा केट ह्वाइटहेडले दाबी गरेकी छिन् । पहिलो संस्करणमा उपन्यासकारले भाइरसको निर्माण तत्कालीन सोभियत संघको गोर्कीमा भएको उल्लेख गरेका छन् । गोर्की रुसको सानो गाउँ हो ।

पहिलो संस्करणमा गोर्की–४०० भाइरस को चर्चा गरिएको छ । जसमा रुसी वैज्ञानिक इल्या पोपारोपवले गोर्की–४०० नामक जैविक हतियार बोकेर अमेरिका प्रवेश गरेको कुरा उल्लेख छ । उपन्यासमा लेखिएको छ, ‘...रुसी नागरिकले उक्त जैविक हतियारलाई गोर्की–४०० भन्ने गर्छन् । किनभने त्यो गोर्कीभन्दा बाहिरको ‘आरडीएनए’ ल्याबमा तयार पारिएको हो । यो अनुसन्धान केन्द्रमा तयार पारिएको मानवनिर्मित ४००औं सूक्ष्म जीव हो ।’

अमेरिका र तत्कालीन सोभियत संघबीच शीतयुद्ध चलिरहेका बेला उपन्यास लेखिएकाले उपन्यासकारले रुसले जैविक हतियार बनाउन सक्ने भन्दै उपन्यास लेखेको हुन सक्ने समीक्षक बताउँछन् । तर सोभियत संघको पतनपछि उपन्यासकारले उपन्यासको पुनर्लेखन गरेका हुन् । प्रकाशकको आग्रहमा वा आफैंले उपन्यासमा केही पात्र र कथावस्तु परिवर्तन गरे भन्नेबारे केही स्पष्ट छैन । साउथ चाइना मोर्निङ पोस्टले यसबारे उपन्यासकार र प्रकाशकसँग बुझ्ने प्रयास गरे पनि जवाफ नआएको बताएको छ ।

आइज अफ् डार्कनेसको पहिलो संस्करण र संशाेधित संस्करणमा उल्लेख गरिएको भाइरस

तर सन् १९८९ मा हार्डकभरमा पुनः प्रकाशित उपन्यासमा गोर्की–४०० को ठाउँमा वुहान–४०० भाइरस उल्लेख गरिएको छ । त्यस्तै रुसी वैज्ञानिक इल्या पोपारोपोवलाई चिनियाँ वैज्ञानिक ली चेन बनाइएको छ । उपन्यासमा गोर्कीलाई वुहान र इल्यालाई ली बनाउने काम बाहेक खासै अरु परिवर्तन गरिएको छैन । हङकङमा रहेको ब्लिक हाउस बुक्सकी संस्थापक जेनी स्मिथ सन् १९८६ बाट रुस र अमेरिकाबीच सम्बन्ध सुधार हुँदै गएपछि उपन्यासका पात्र र कथावस्तु परिवर्तन गरिएको हुन सक्ने बताउँछिन् । पछिल्लो विश्व राजनीतिक वातावरणअनुसार रुसलाई खलनायक बनाइराख्न उपयुक्त नहुने देखेर उपन्यासमा चीनलाई प्रस्तुत गरिएको स्मिथको बुझाइ छ ।

त्यतिबेलाका शक्ति राष्ट्र फ्रान्स, बेलायत, जापानलगायतका मुलुकहरु अमेरिकाका ‘असल मित्र’ भएको र चीनसँगको सम्बन्ध राम्रो थिएन । त्यसैले पनि चीनलाई शंकाको दृष्टिकोणमा त्यसरी प्रस्तुत गरिएको हुन सक्ने स्मिथले साउथ चाइना मोर्निङ पोस्टसँगको कुराकानीमा बताएकी छिन् । साथै सन् १९८९ को तियानमेन स्क्वायरको घटनापछि विभिन्न मुलुकहरुले जैविक हतियारको उत्पादनलगायतका हल्लाहरु चलेकाले पनि उपन्यासमा ठाउँ र नाउँ परिवर्तन गरिएको धेरैजसोको बुझाइ छ ।

त्यस्तै कोरोना भाइरससँग जोडेर हेरिएको अर्को उपन्यास हो, सिल्भिया ब्राउनद्वारा सन् २००८ मा लिखित ‘इन्ड अफ् डेज : प्रेडिक्सन एन्ड प्रोफेसिज अबाउट द इन्ड अफ द् वर्ल्ड’ ।

उपन्यासमा लेखिएको छ, ‘सन् २०२० तिर निमोनियाजस्तै गम्भीर रोग विश्वव्यापी रुपमा फैलिनेछ । जसले फोक्सो र श्वासनलीमा आक्रमण गर्नेछ । जसको उपचार सम्भव छैन ।’

यसमा ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा के हो भने कोभिड–१९ को उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन आविष्कार भएको छैन । मानिसमा रहेको रोग प्रतिरोधात्मक क्षमताबाट नै यो रोगबाट निको हुने एउटा मात्र उपाय सुझाइएको छ अहिलेसम्म । आशा गरौं, निकट भविष्यमै भ्याक्सिन र औषधि बन्ला । निकै घातक भनिए पनि यो भाइरसको संक्रमणपछि निको भएका थुप्रै बिरामी रहेका छन् । भ्याक्सिन र उपचारका अन्य पद्दतिबारे अहिले अनुसन्धान भइरहेको छ ।

सिल्भिया ब्राउनको उपन्यास 'इन्ड अफ द डेज'को अंश

सिल्भिया ब्राउनले सन् २०२० मा फैलिने निमोनियाजस्तै रोग केही समयमात्रै सक्रिय हुने र १० वर्षपछि पुनः देखा परेर सधैँका लागि हराउने कुरा उपन्यासमा लेखेकी छिन् । नोट गर्नुपर्ने अर्को कुरा के हो भने सिल्भियाले सार्स महामारी फैलिइसकेपछि उस्तै प्रकारको भाइरसबारे भविष्यवाणी गरेकी हुन् । साथै उपन्यासमा सन् २०२० पछि अन्धोपनको समस्या नहुने पनि उल्लेख गरिएको छ ।

उपन्यासकारले केका आधारमा भविष्यवाणी गर्छन् ?
कोरोना भाइरस(कोभिड–१९) का बारेमा डिन कुन्जले उपन्यासमा उल्लेख गरेको वुहान सहर बाहेक केही पनि मिलेको देखिँदैन । त्यस्तै सिल्भिया ब्राउनको उपन्यास ‘इन्ड अफ् द डेज’ मा पनि ‘सन् २०२०’ मा निमोनियाजस्तै केही रोग विश्वव्यापी रुपमा फैलन्छ भनेको बाहेक केही मिलेको देखिँदैन ।

तर साहित्यकारले आफ्नो रचनाको आधार धेरै हदसम्म आफूले बाँचेको र भोगेको समाजलाई नै बनाउने भएकाले भविष्यका बारेमा गरेका केही संकेतहरु भने मिल्ने गरेका छन् । त्रिभुवन विश्वविद्यालय, अंग्रेजी केन्द्रीय विभागका उपप्राध्यापक राजकुमार बराल साहित्यकारको कल्पनाको आधार उ बाँचेको तत्कालीन समाजको विकास हुने बताउँछन् ।

उनी भन्छन्, ‘समाज कतातिर जाँदैछ भन्ने कल्पना वा आँकलन साहित्यकार मात्रै होइन, आम मानिसले पनि केही हदसम्म गर्ने गरेका छन् । मुख्यतया तत्कालीन समाजको परिवेशअनुसार नै साहित्यकारले आफू बसेको, देखेको र भोगेको समाजका कुरा नै साहित्यमा उतार्छ । कल्पनाका आधार चाहिँ लेखकले बाँचेको समाजको सामाजिक, सांस्कृतिक, वैज्ञानिक परिवेश नै हुन्छ ।’


सन् १९८० को दशकपछि धेरै सिद्धान्तकारहरुले साहित्य समाजका लागि र समाजकै कुरा लेखिनुपर्छ भन्ने गरेको उल्लेख गर्दै उपप्राध्यापक बरालले यसअघि पनि थुप्रै ‘डिस्टोपियन’ उपन्यासहरुमा गरिएका भविष्यवाणी केही हदसम्म मिलेको बताउँछन् । ‘डिस्टोपिया’ एउटा यस्तो काल्पनिक मुलुक हो जहाँ दमन, प्रकोप, महामारी, आवश्यकताभन्दा बढी जनसंख्या र डरको साम्राज्य हो । जहाँ सबै कुरा गलत भइरहेको हुन्छ । डिस्टोपिया युटोपियाको ठीक उल्टो हुन्छ, जुन आदर्श समाजको पर्याय हो । जसमा न अपराध हुन्छ, न गरिबी ।

बेलायती उपन्यासकार जर्ज अर्वेलले सन् १९४९ मा ‘१९८४’ उपन्यासमा ‘मास सर्भिलेन्स’(सामूहिक निगरानी) को कुरा उठाएका थिए । उनले सन् १९४९ मै भविष्यमा सर्वसत्तावादी सरकारहरुले आफ्ना नागरिकमाथि व्यापक निगरानी गर्ने उल्लेख गरेका थिए । जर्ज अर्वेलले उपन्यासमा प्रस्तुत गरेझैं अहिले हरेक कार्यक्षेत्रदेखि सार्वजनिकस्थलसम्म सीसीटीभी क्यामेरालगायतले मानिसको निगरानी भइरहेको छ । उपन्यासमा रहेको चर्चित लाइन ‘बिग ब्रदर इज वाचिङ यु’ ले सर्वसत्तावादी सरकारको कार्यशैलीलाई प्रहार गरिएका थियो । तर अर्वेलले सन् १९४९ मै रहेका विश्वका केही सर्वसत्तावादी सत्तालाई इङ्गित गर्दै ‘मास सर्भिलेन्स’ को कुरा उठाएका थिए ।

त्यस्तै रे ब्राडबरीको ‘फरेनहाइट ४५१’, एल्डक्स हक्स्लेको ‘ब्रेभ न्यू वर्ल्ड’ जस्ता उपन्यासमा पनि पश्चिमा समाजको ‘ड्रग कल्चर’, तथा प्रविधि र चिकित्सा विज्ञानको प्रभावका बारेमा भविष्यवाणी गरिएको उपप्राध्यापक बराल बताउँछन् ।

हक्स्लेको उपन्यास ‘ब्रेभ न्यू वर्ल्ड’ को सेटिङ सन् २५४० को लन्डन रहेको छ । सन् १९३२ मा लेखिएको यो उपन्यासको वास्तविक समय आउन अझै ५२० वर्ष बाँकी छ । तर उनले उल्लेख गरेका आंशिक कुराहरु अहिले नै मिलिसकेका छन् । उनले पूरा विश्वमा एउटै सरकार रहेको र विश्व जनसंख्या नियन्त्रण लिइएको र २ अर्ब स्थायी जनसंख्या भएको कथा प्रस्तुत गरेका छन् ।

त्यस समाजमा महिलाले बच्चा पाउँदैनन् । उनीहरुले आफ्नो गर्भाशय सरकारलाई दिन्छन् । सरकारी शिक्षा केन्द्रमा सरकारले नै बच्चा पैदा गरिदिन्छ । समाजलाई ५ वर्णमा विभाजित गरिएको हुन्छ, अल्फा, बेटा, गामा, डेल्टा र एप्सिलन । शिशुहरुलाई सिसाको बोतलमा राखेर हुर्काइन्छ । साथै विभिन्न रसायनको प्रयोग गरेर बच्चाहरुको शारीरिक र बौद्धिक विकास गरिन्छ । हक्स्लेको उपन्यास प्रकाशित भएको केही वर्षपछि सन् १९७८ मा विश्वकै पहिलो टेस्ट ट्यूब बेबी लुइस ब्राउनको जन्म भयो । अहिले पनि महिलाहरुले आफ्नो गर्भमा बच्चा नहुर्काइ टेस्ट ट्यूब र आईभीएफ(इन भिट्रो फर्टिलाइजेसन) मार्फत शिशुलाई जन्म दिने क्रम बढ्दो छ ।

त्यस्तै फ्रान्सेली औद्योगिक क्रान्तिपछि सन् १८१८ मा लेखिएको मेरी शेलीको ‘फ्रयांकस्टेइन’ मा पनि पछिल्लोपटक भएको प्रविधिको विकासबारेको भविष्यवाणी मानिएको छ । उपन्यासममा झैं हाडखोर जम्मा पारेर मान्छे बनाउने काम सफल नभए पनि ‘सिमुलेसन’ (नक्कल) मार्फत रोबोटजस्ता स्वचालित यन्त्र बनाउने काम सफल भइसकेको छ र यसलाई अझै परिष्कृत गर्दै लैजाने क्रम तीव्र छ ।

त्यस्तै थुप्रै ‘डिस्टोपियन’ उपन्यासहरुमा रोग, महामारी तथा विभिन्न प्राकृतिक प्रकोपको भविष्यवाणी गरिएको छ । जुन कुराहरु आंशिक रुपमा समयसँगै मेल खाएका छन् ।

–एजेन्सीहरुको सहयोगमा

प्रकाशित : फाल्गुन २४, २०७६ १२:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×