‘क्वारेन्टाइन हाउगुजी हैन,  आफू सुरक्षित बन्ने घर हो’

भारतबाट फर्किएकाको क्वारेन्टाइन अनुभव
पर्वत पोर्तेल

बाहुनडाँगी, झापा — झापा मेचीनगर–४ बाहुनडाँगीका यामबहादुर विष्ट पछिल्लो पटक दुई महिना अघि मात्रै दक्षिण भारतको केरला पुगेका थिए । त्यहाँको एक होटलमा कार्यरत उनी ६ महिना, वर्ष दिनमा आउजाउ गरिरहन्थे । तर, यसपटक उनी समय अगावै फर्किनु पर्यो । 

‘क्वारेन्टाइन हाउगुजी हैन,  आफू सुरक्षित बन्ने घर हो’

‘कोरोना संक्रमण बढ्न थालेपछि केरलाका होटलहरु धमाधम बन्द भए ’, विष्टले सुनाए, ‘ मैले पनि घर फर्किने निर्णय लिएँ ।’ उनका होटल साहुले त त्यतै बस्न सुझाएका थिए । तर, उनी मानेनन् । अन्ततः केरलामै कार्यरत छिमेकी बिक्रम बुढाथोकी, सतीस दर्जी, सचिन थापा र निरथ रायको साथ लागेर यिनी फर्किए । ‘साहुले तलब पनि दिएको थिएन’, उनले भने, ‘ पकेट खर्च मात्रै बोकेर हिडियो ।’


चैत ९ यिनीहरु फर्किए । फर्किएकै दिन मेचीनगर नगरपालिकाको पहलमा स्थानीय सरस्वती माविको क्वारेन्टाइनमा यिनीहरुलाई राखियो । क्वारेन्टाइनमा १४ दिन बिताएर शनिवार पाँचै जना घर फर्किए । ‘१४ दिनपछि घर फर्किन पाउँदा औंधी खुसी लागेको छ’, दर्जीले भने । क्वारेन्टाइनमा रहुन्जेल खान, बस्न र स्वास्थोपचारको प्रबन्ध वडा कार्यालयले मिलाएको थियो ।


उनका अनुसार त्यहाँ खाने र बस्ने व्यवस्था राम्रो थियो । बेला बेला स्वास्थ्यकर्मीहरु स्वास्थ्य जाँचका लागि आउँथे । क्वारेन्टाइनमा इन्टरनेटको समेत प्रबन्ध थियो । जसका कारण दिन काट्न सहज भएको थियो । ‘इन्टरनेट नभएको भए चै हामीलाई गाह्रै हुन्थ्यो होला’, दर्जीले भने, ‘इन्टरनेटले दिनहरु सहज वनाइदियो । ’


क्वारेन्टाइनमा रहदा खाने, वस्ने र सुत्ने वाहेक काममै थिएन । खाना खाएपछि फेसबुकको भित्तामा उनी औला चलाउन थालिहाल्थे । ‘१४ दिनको बसाईमा इन्टरनेट यति चलाइएछ कि अब हेर्न बाँकी केही छैन होला जस्तो लागेको छ’, सचिन थापा मुस्कुराउदै भने, ‘अब निक्कै दिनलाई पुग्ने गरी चलाइसकिएको छ ।’


विक्रम वुढाथोकीले आफ्नो सुरक्षाका लागि पनि अनिवार्य क्वारेन्टाइनमा बस्न भारत र विदेशबाट फर्किएकाहरुलाई आग्रह गरे । ‘धेरैले क्वारेन्टाइनलाई हाउगुजी ठानेको देखियो’, उनले भने, ‘तर, क्वारेन्टाइन हाउगुजी हैन, आफू सुरक्षित बन्ने घर पो हो त ।’


शनिबार घर पठाउनु अघि चिकित्सक टोलीले अन्तिम पटक यिनीहरुको स्वास्थ्य जाँच गरेको वडाध्यक्ष नवीन बरालले बताए । उनका अनुसार पाँचै जना कोरोना संक्रमणवाट मुक्त छन् । उनले भने,‘उनीहरु ढुक्क भएर घर फर्किएका छन् । उनीहरु ढुक्क हुनु भनेको परिवार ढुक्क हुनु हो ।’

प्रकाशित : चैत्र २२, २०७६ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?