सुनौं, चुरोट छाड्नेको कथा- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनौं, चुरोट छाड्नेको कथा

खुसी बनाउन धेरै कुरा बटुल्नैपर्छ भन्ने छ र? कुनैकुनै चिज त्यागेर पनि त परिवार खुसी हुँदो रहेछ।
राजेन्द्र कोजु

चुरोट खानुहुन्न भन्ने सबैलाई थाहा छ। तर छोड्ने विरलै पाइन्छन्। यद्यपि छोड्नेहरु पनि छन्। आज छोड्नेको कथा सुनौं।

पहिलो कथा

प्रेमचरा चुरोट खान्थ्यो। खैनी खान्थ्यो। चियाको त के कुरा। प्रेमचरी भने चुरोटखैनीको गन्ध पनि मन नपराउने। दाजुले खैनी खाए दाजुसँगै बाझ्ने, बुवाले खाए थर्काइहाल्ने, कक्षाका साथीहरुले खाए नजिकै नपर्ने। उसका आफ्नै साथीहरुले पनि खाँदैनथे।


घुम्रिएको कपाल, छोटो दाह्री, बाक्लो आँखीभौं, हँसिलो अनुहार, छरितो ज्यानमा गोलगला टिसर्ट रजिन्स, कन्भर्स जुत्ता। प्रेमचरा देखेपछि प्रेमचरीको मनमा अनौठो लहर चल्यो। सायद कसैले त्यत्ति आकर्षण गरेकै थिएन होला, जत्ति त्यो केटाको हेराइले गर्‍यो। थाहै नपाई मिठो मुस्कान फर्काइदिई। गहुँगोरो, सुलुत्त परेको अनुहार, मुठ्ठा पारेको कपाल, लिपिस्टिक नै नलाए पनि टल्किने ओठ, हल्का गाजलमा अति सुन्दर आँखा, खिरिलो ज्यानमा जिन्स र टिसर्ट। खुल्ला आवाजमा हाँस्दा वातावरण नै भरिलो बनाउने बानी। प्रेमचरीले केटोलाई प्रेमचरो बनाइहाली। देखादेखमै केही हप्ता बित्यो।


प्रेमचरी साथीसँग हिँड्दै थिई। प्रेमचरोसँग भेट भयो। मसक्क हाँस्दै हाईहेल्लो चल्यो। हिँड्दै दुवैबीच केहीबेर कुरा भयो। उत्साह, रोमाञ्च, मक्ख, हतास र अलिअलि डरसँगै दुवैको पहिलो भेटघाट टुंगियो।


चिया पसलमा दोस्रो भेट भयो। अलि नजिकिए। दुवैले चिया खाए। प्रेमचरोलाई चुरोटको तलतल लागिसकेको थियो। प्रेमचरीको चुरोटप्रतिको धारणा थाहा पाइनसकेकाले सहेरै बस्यो। रमाइला कुरा गर्दागर्दै समय बितिहाल्यो।


भेटघाट र कुराकानीमा प्रेमचरीले चुरोट मन नपराउने र खाएको मान्छे पनि मन नपराउने कुरा उसले थाहा पायो। यसबीच दुवैमा गाढा माया बसिसकेको थियो। प्रेमचरोले आफ्नो चुरोट खाने बानीबारे भनेको थिएन।

एक दिन चुरोट खाइसक्नासाथ झ्वाट्टै प्रेमचरी देखापरी। प्रेमचरी नजिकै गएर के भन्न मात्र लागेकी थिई, ह्वास्सै चुरोटको गन्ध आयो।


‘चुरोट खाएको? मलाई चुरोट खाने मान्छे पट्टक्कै मन पर्दैन।’ यत्ति भनेर फन्‍किँदै ऊ हिँडिहाली। अब प्रेमचरोलाई फकाउन धौधौ भयो। यसो भन्यो, उसो भन्यो। अहँ, मानेकै होइन।


एक-अर्काप्रतिको माया गहिरो थियो। प्रेमचरो त झन् मायाको सागरमा डुबेकै थियो। संसार त्याग्न सक्ला, प्रेमचरीलाई चाहिँ, नाइँ। अन्तमा आफ्नी प्यारी प्रेमचरीको लागि चुरोट त्याग्ने निष्कर्षमा पुग्यो। आज चुरोटलाई ऊ हेर्दा पनि हेर्दैन। दुवै खुसी छन्। दन्तमञ्जनको विज्ञापनमा जस्तै दुवैले एक-अर्काको सास अधिक मन पराउँछन्।


दोस्रो कथा

एक भद्र पुरुष कता-कताबाट चुरोटको लतमा परिहाले। खानुहुन्न भन्ने थाहा छ। आफूले खाएको न श्रीमतीले मन पराउने, न छोरीले। कहिलेकाहीँ आमाछोरीले कुरा काटेको पनि सुनेका छन्। छोड्छु भन्छन्, सक्दैनन्। कमसेकम श्रीमती र छोरीको अगाडि त नखाऊँ भनेर कोसिस गरे तर साथीभाइ सँगै हुँदा, एक्लै हुँदा खाइहाल्ने।


आत्मग्लानि, श्रीमती र छोरीको मन नपराइ, स्वास्थ्यमा नराम्रो असर, कुनै महत्वपूर्ण बैठकमा कसैको नाक खुम्च्याइ, १०/२० रुपैयाँ गर्दै हजारौं खर्च, तलतलले गर्दा खानु नहुने ठाउँमा छटपटी। यस्ता कारणले गर्दा एक दिन निर्णय गरे– भगवान्, म तिमीलाई साक्षी राखेर चुरोट छोड्छु। यो मेरो भाकल पनि भयो।


र, त्यही भगवान्‌को मन्दिरमा पुगेर चुरोट त्यागिदिए। आज, भद्र पुरुष त खुसी छँदै छन्। श्रीमती छोरी अझै धेरै खुसी छन्।


‘खुसी बनाउन धेरै कुरा बटुल्नु नै पर्छ भन्ने छ र? कुनैकुनै चिज त्यागेर पनि त परिवार खुसी हुँदो रहेछ।’ आज उनी यसो भन्दै हिँड्छन्।


तेस्रो कथा

८५ वर्ष पुगेका हजुरबाले ६० मा चुरोट छाडे। बालखैमा खान थालेका रहेछन्। तमाखु र बिँडीबाट लत बसाएका उनले गैंडा, याकसम्म भ्याए। सूर्य त तान्नै पाएनन्।

‘कसरी छोडियो त बा?’

‘खानुहुन्न पनि थाहा थियो। हानिकारक छ पनि थाहा थियो। तैपनि छोडेको थिइनँ। कसैको कुरा सुन्न पनि सुन्दिनथेँ।’

‘अनि?’

‘एकदिन फुच्चे केटोले सोध्यो- अनि हजुरबा, हामीलाई चाहिँ खानुहुन्न भन्नुहुन्छ, आफूचाहिँ तान्ने? मेरो मनमा च्वास्सै बिझ्यो। यो फुच्चेले सोधेको प्रश्नमा पनि मैले ढाँट्ने? आफैलाई त ढाँटे, ढाँटे। यिनलाई चाहिँ ढाँट्नुहुन्न भनेर चटक्कै छोडेँ।'

आज हजुरबाले सुनाइरहनुछन् यो कथा। त्यो फुच्चे अहिले ठूलो भइसक्यो। अरुलाई चुरोट नखान उसले पनि यो कथा जोडिइरहन्छ।


चौथो कथा

कलेजका युवतीहरु विभिन्न भावभंगीमाका साथ चुरोटको धुवाँ उडाउँदै गफिँदैथे।


‘अस्तिको पार्टी त बब्बाल थियो, दुई जनालाई क्या बिल्ला गरियो।’

चुरोटको धुवाँ सहन नसक्नेले भनी, ‘कति चुरोट तानिराख्या? दुइटा सिध्याइसक्यो।’

‘मज्जा हुन्छ नि। तँ पनि तान् न। बोल्ड पनि देखिन्छ क्या।’

अर्कीले भनी, ‘रमाइलो गर्नुपर्‍यो नि। केटाहरुले मात्र खाने भन्ने त छैन नि यार्।’

‘मलाई बोल्ड पनि हुनुछैन। खानु पनि छैन। मेरो दिदीले पहिला कलेजमा साथीहरुसँग खाने गर्थी। घरमा थाहा पाउँदैनथे। मलाई थाहा भए पनि दिदीले भन्न दिँदैनथी। ऊ त पार्टीमा बियर, वाइन पनि मस्त पिउँथी।’

‘तैंले सिकिनस्?’ हाँस्दै अर्कीले सोधी।


‘अनि सुन् न, कुरा। डेढ वर्षअघि दिदीको बिहे भयो। भेना पनि खाने भएकाले खासै चुरोटको कुराकानी भएन। दिदी प्रेग्नेन्ट भएपछि जँचाउन गई। स्वास्थ्यकर्मीले भनेछन्- चुरोट खानुहुँदो रहेछ, यसले आमा र पेटभित्रको बच्चालाई निक्कै खराब गर्न सक्छ। बच्चाको वृद्धि विकासमा खराब असर पर्नेदेखि जन्मजात रोगी हुन हुन सक्छ। चुरोट छोडिहाल्नोस्। चुरोटको लती भएकाले दिदीले यसलाई गम्भीर रुपमा लिइन। सबैले चुरोट त्याग्ने सुझाव दिए। सायद उसले मातृत्वको महसुस गरी। शिशुको कल्पना, सपना, भविष्य सबै झल्झल्ती देखी होला। रोगी शिशु जन्मेको कल्पनाले मुटुमै गाँठो पर्‍यो सायद। तब उसले तत्काल धूमपान र मद्यपान छोड्ने निर्णय गरी। रमाइलो कुरो त भेना पनि दिदीकै पछि लागे र सब कुलत त्यागे।’


कुरा सुन्दै गरेकी एउटीको त आँखा रसाइसकेछ। पुछ्दै भनी, ‘यार् तैंले त रुवाइस्।’

‘तलाई रुन नि आउँछ?’

‘के मेरो हृदयमा मातृभाव आउँदैन र?’ (उसको केही दिनअघि मात्रै टीकाटालो भइसकेको थियो)।

'नो, वी मस्ट गिभ इट अप (होइन, हामीले त्याग्नैपर्छ),’ अर्कीले भनी।

*****

प्रेमचरी होस् वा भगवान्। फुच्चे केटा होस् वा ती बहिनी। हजारौं सकारात्मक संवाहक छन् हाम्रो समाजमा। जो चुरोटको कुलत छोडाउन लागिपरेका छन्। मात्र हामीले मनन गर्नुपर्‍यो। सलाम ती संवाहकलाई, जसले सयौंको ज्यान बचाएका छन्। हजारौंलाई बिरामी हुन दिएका छैनन्। लाखौं परिवारमा खुसी ल्याइदिएका छन्। तपाईं पनि यस्तै संवाहक बन्न सक्नुहुन्न र!

प्रकाशित : चैत्र २२, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्

कान्तिपुर मिडिया ग्रुपको सूचना

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड–१९ (कोरोना) को संक्रमण फैलन नदिन सरकारले देशभरी लकडाउनको घोषणा गर्दै खाद्यान्न, औषधिबाहेक अन्य वस्तुको ओसारपसार एवं आवागमनमा रोक लगाएपछि अघिल्लो शुक्रबारदेखि कान्तिपुर पब्लिकेसन्सका समाचार सामग्री डिजिटल माध्यमबाट मात्र प्रवाह हुँदै आएका थिए ।

सरकारले लकडाउनलाई थोरै खुकुलो बनाउने निर्णय लिएसँगै हामीले शनिबारबाट कान्तिपुर र दी काठमान्डू पोस्टका छापा संस्करणको पुनः प्रकाशन थालेका छौं । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग–प्रतिष्ठानहरु खोल्न दिने निर्णय गर्नुका साथै त्यसका निम्ति आह्वानसमेत गरेको थियो । यसबीच मुलुकमा संक्रमितको संख्या धेरै नबढेको अवस्थालाई दृष्टिगत गर्दै सरकारले यस्तो आह्वान गरेको हुन सक्छ, जसलाई हामीले सकारात्मक रूपमा लिएका छौं ।

हामीले पत्रिकाको उत्पादन एवं वितरण प्रक्रियामा विशेष सजगता अपनाएका छौं । बिक्रेता, वितरक वाहक एवं अन्य सहकर्मीका निम्ति मास्क, पन्जा, स्यानिटाइजर उपलब्ध गराउनुका साथै सुरक्षा सावधानीका अन्य उपायहरु पनि अवलम्बन गरिएको छ । पत्रिका मुद्रण गर्ने क्रममा छापाखानालाई स्यानिटाइज गर्ने व्यवस्था मिलाइएको छ । यसका बाबजुद हाम्रा कुनै ग्राहकले अहिलेको असामान्य अवधिभर पत्रिका लिन चाहनुहुन्न भने हाम्रो वितरण विभागलाई सूचित गर्न सक्नुहुन्छ ।

यसको बदलामा पछि थप अवधि पत्रिका उपलब्ध गराइनेछ । यसका लागि हामीलाई सम्पर्क गर्ने टोल–फ्री नम्बर : १६६०–०१–२२२२२ (एनटीसी प्रयोगकर्ताका लागि) र ९८०१५७२२२२ (एनसेल प्रयोगकर्ताका लागि) । नियमित ग्राहकहरुले यसअघि बन्द भएको अवधिको अतिरिक्त अंक पनि प्राप्त गर्नु हुनेछ ।

अहिलेको विशेष परिस्थितिमा पनि कान्तिपुरप्रति सधैंझैं विश्वास एवं भरोसा राख्नुभएकोमा हामी सम्पूर्ण पाठक एवं शुभेच्छुकहरुप्रति आभारी छौं ।

– कान्तिपुर मिडिया ग्रुप

प्रकाशित : चैत्र २२, २०७६ ०९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×