सडक महिलाको लकडाउनः के खाने ? कसलाई माग्ने ?

पर्वत पोर्तेल

काँकडभिट्टा — पूर्व–पश्चिम राजमार्गबाट बेला–बेला जनप्रतिनिधिका चिल्ला गाडी हुइकिन्छन्, बेतोडले । राजमार्गको पेटीमा बसिरहेकी सडक महिला गाडी हुइकिए तिरै फर्किन्छिन् र हेरिरहन्छिन् परसम्म । एकछिनमै गाडीले उडाएको धुलाले ढाकिन्छ शरीर । 

सडक महिलाको लकडाउनः के खाने ? कसलाई माग्ने ?

खाद्यान्न र तरकारी बोकेका ट्रक पनि बेपर्वाह हुइकिरहेकै छ । उनी घुटुक्क थुक निलेर एक छिन भोक विर्सिन्छिन् । मेचीनगर, इँटाभट्टा खण्डको बस बिसौनी नजिकै सडकमा बस्छिन् एक अधबैसें महिला । यिनको मानसिक सन्तुलन ठीक छैन । थोत्रा र मैला लुगाले जसोतसो शरीर ढाकेकी छन् । तर, भोक लुकाउन सकेकी छैनन् । यिनीको साथमा रित्तो स्टिलको ग्लास छ, बिल्कुल खाली । सायद यिनले पानीसम्म पिएकी छैनन् ।

पहिला स्थानीय व्यवसायीहरुले दिने चिया, नास्ताले भोक मेटाउँथिन् । तर, अहिले अवस्था अर्कै भइसक्यो । पसलहरु बन्द छन् । सिंगो बजार लकडाउनमा छ । मान्छे पनि दैलो लगाएर घरभित्रै छन् । यिनी बिल्कुल एक्ली छन् सुनसान सडकमा । ‘बजार बन्द भएपछि यिनको मुख पनि बन्द भएको छ’, स्थानीय व्यवसायी सन्दिप ओलीले सुनाए, ‘ केही दिन अघिसम्म स्थानीय केशव पाण्डे परिवारले खाना दिदै आएको थियो, अहिले के छ। थाहा छैन, निक्कै दिनदेखि यिनी सडकमा भोकै भौतारिरहेकी देख्छु ।’


करिब तीन वर्षयता यी महिलाको सडकपेटीमा बास छ । यिनको घर कहाँ होला ? आफन्त को, कहाँ होलान् ? कसैलाई थाहा छैन । स्थानीयले एकैचोटी सडकमा देखेका हुन् । बोल्दिनन् । टोलाई मात्रै रहन्छिन् निरन्तर । भर्खरै कठांग्रिदो हिउँद सडकमै बित्यो । त्यसअघि साउने झरी पनि पचाइन् । तर, यिनलाई कोरोना संक्रमणपछिको लकडाउन ज्यादै सकसपूर्ण भएको छ । वोल्न सक्ने भा भन्थिन् होली, ‘कोरोनाले मलाई पहिला किन नलगेको ?’ तर, त्यसो भन्न पनि सक्दिनन् ।

अहिले विश्वमै महामारीको रुपमा कोरोना भाइरसको संक्रमण फैलदो छ । त्यही भएर मुलुक लकडाउन छ । लकडाउनले यिनको भोक पनि लकडाउन बनाएको छ । यदि लकडाउन थिएन, बजारहरु पनि गुल्जार थिए भने यिनको गुजारा जसोतसो चल्ने नै थियो । जुठोपुरो मागेर बाँच्ने नै थिइन । तर, अहिले माग्ने ठाउँहरु नै बन्द छन् । कहाँ माग्ने ? कसलाई माग्ने ? यिनलाई के थाहा ?

जनप्रतिनिधिहरु लकडाउनबाट समस्यामा परेका विपन्नलाई राहत बाँड्ने चटारोमा छन् । खासगरी आफ्ना पार्टीका कार्यकर्ताहरु चै राहतबाट बन्चित होलान कि ! भन्ने चिन्ता जनप्रतिनिधिहरुलाई छ । तर, सडक महिलाबारे जनप्रतिनिधि बेखवर छन् । ‘किन कि यिनको भोट काम लाग्दैन भन्ने जनप्रतिनिधिलाई थाहा छ’, एक स्थानीयले भने ।

अधिवक्ता दिपेन्द्र भट्टराईका अनुसार यस्ता महिलाहरुको उद्धार र संरक्षणका लागि सम्बन्धित स्थानीय सरकारलाई जिम्मेवारी तोकिएको छ । तर, कुनै पनि स्थानीय तहले सडकपेटीमा अलपत्र परेकाहरुको सहयोगमा कदम चालेको देखिदैन ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ को खण्ड ‘त’ मा जेष्ठ नागरिक लगायतका समस्याहरुको समाधान र व्यवस्थापन गर्नु पर्ने प्रावधान छ । ऐनमा मानसिक सन्तुलन गुमाएका र सशक्तहरुलाई पुर्नस्थापना र संरक्षणको दायित्व समेत नगरकै रहेको भनी तोकिएको छ । उता मुलुकी देवानी संहिताले वृद्ध भएका वा आमालाई गच्छे अनुसार पालनपोषण गर्नु पर्ने उल्लेख छ । ‘दुवै काुननले समातेको छ ’, अधिवक्ता भट्टराई भन्छन्,‘कानूनी व्यवस्था पूर्ण रुपमा छ तर, कार्यान्वयन पक्ष फितलो छ ।’

प्रकाशित : चैत्र २१, २०७६ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?