'चामल नभएपछि मेयरलाई फोन गरेँ, उठाएनन्'

मनोज पौडेल

कपिलवस्तु — जगदीशपुर तालमा डुंगा सञ्चालन गरेर साँझ-बिहान छाक जुटाउँदै आएका कपिलवस्तु नगरपालिका-९, का मनोज परियार अहिले संकटमा छन्। लकडाउनका कारण उनले ९ दिनयता डुंगा चलाउन पाएका छैनन्। ‘घरमा खानेकुरा छैन,’ उनले भने,‘मेयरलाई फोन गरेँ, उठाएनन्।’ उनका अनुसार वडाध्यक्षले समेत वास्ता गरेनन्।

'चामल नभएपछि मेयरलाई फोन गरेँ, उठाएनन्'

चामल नभएपछि हाल उनको परिवार चिउरा र भुजाको भरमा छाक टारिरहेको छ। उनीजस्तै ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका धेरै विपन्नलाई हातमुख जोर्न समस्या भएको छ।


कोरोना संक्रमणको जोखिम कम गर्न लकडाउन भएपछि दैनिक काम गरेर परिवार लालनपालन गर्दै आएका परिवार मर्कामा परेका छन्। धेरैले नगरपालिकामा गुनासो गरेपछि राहत वितरणबारे सुनुवाइ नभएको गुनासो गरेका छन्। रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका कपिलवस्तु नगरपालिका–३, शिवगढका भगेलु पासीले दुई दिनदेखि भुजा र नुन खुर्सानी खाएर परिवार बसिरहेको बताए।


‘रेडियो सुन्दा सरकारले राहत बाँडेको छ भन्छन्,’ उनले भने, ‘तर यहाँ पाएका छैनौं।’ छिमेकीसित सरसापट गरेर एक साता चलाएको उनले बताए। ‘रिक्सा चलाउनेसँग कति नै हुन्छ र,’ उनले भने, ‘बाहिर निस्कने अवस्था पनि छैन। छिमेकीले पनि दिन छाडे भने ६ जनाको परिवार भोकै बस्ने अवस्था आउँछ।'


उनीजस्तै तौलिहवाको धनौरा टोलकी सीमा कहारलाई पनि चुलोचौको गर्न गाह्रो हुन थालेको छ। पाँच जनाको परिवार भोकै बस्नु पर्ने अवस्था आउन थालेको उनले बताइन्। ‘टोलका घरमा काम गरेर साँझ-बिहान खाना जुटाउँथेँ,’ उनले भनिन्, ‘रोग सर्छ भनेर काम गर्ने ठाउँमा नआऊ भन्छन्। कसरी पेट पाल्ने?’


नगरपालिकाले भने कर्मचारी खटाएर गरिब विपन्नको विवरण संकलन गरिरहेको जनाएको छ। ‘४/५ दिन भइसक्यो गाउँगाउँ खटिएर विवरण संकलन गर्दै छौं,’ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी सापकोटाले भने, ‘अझै २/३ दिन लाग्छ।’


केही वडाले विवरण संकलन गरिसकेका छन्। नगरपालिकाले अहिलेसम्म कोरोना संक्रमणको न्यूनीकरण र रोकथामका लागि राहत कोष बनाएको छैन। जिल्लाका अन्य स्थानीय तहले कोष बनाएका छन्। नगरपालिकाले तीन स्थानमा ८५ शय्या भएको क्वारेन्टाइन स्थल निर्माण गरेको छ।

प्रकाशित : चैत्र २०, २०७६ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?