कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

३६ वर्ष शव जलाए, अहिले कोरोनाले डराए 

दामोदर न्यौपाने

काठमाडौँ — पशुपति आर्यघाटमा शव जलाएरै बिदुर बुढाथोकीले ३६ वर्ष बिताइसके । शवसँग उनी कहिल्यै डराएनन् । अचेल डराइ–डराइ शव जलाउँछन् । कारण हो— विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी ।

३६ वर्ष शव जलाए, अहिले कोरोनाले डराए 

‘नगरौं कामै यही,’ बुढाथोकीले भने, ‘गरौं भाइरसको त्रास छ । घाटमा ल्याइएकाहरु अनेक रोगले बितेका हुन्छन् । झन् मलामीले अनेक कुरा गर्छन् ।’ मलामी आउनेहरूले निजी अस्पतालले हेर्न नमानेको सरकारीमा पनि राम्रो उपचार नपाएर मृत्यु भएको सुनाउने गरेको उनले बताए । ‘तीन वटा अस्पताल घुमाउँदा पनि उपचार गर्न मानेन् भन्दै ल्याउँछन् । के हो, के हो,’ उनले भने ।

दाहसंस्कार अत्यावश्यक सेवाभित्र पर्छ । कोरोनाले विश्वभर त्रास फैलिरहेको बेला बुढाथोकीलाई डर नहुने कुरै भएन । ‘डर त छ नि,’ उनले भने, ‘डर छ भनेर शव बिस्कुन लगाएर सुकाउनु भएन । यो सेवा हो, जीवन नै यसैमा बिताइसकें । अहिले गर्दिन भन्न पनि मनले मानेन ।’ जलाउन ल्याएको शव कतै कोरोनाकै कारण मृत्यु भएकाको त होइन भन्ने डर लाग्ने गरेको बुढाथोकीले बताए । ‘माक्स लगाउँछु । मलामीसँग नजिक पर्दिन,’ उनले भने ।


घाटसेवामा काम गर्नेमध्ये बुढाथोकी उमेरले पाका छन् । उनीजस्तै दाहसंस्कार गर्ने चितातिर २५ र शवदाहगृहमा ३ जना छन् । ‘अरुलाई गर है भनेर पन्छिन पनि पाइँदैन,’ बुढाथोकीले भने, ‘बिहानै आउँछु, रातिसम्म बस्छु ।’

बिहीबार बिहान ६ बजेदेखि नै उनी आर्यघाटमा छन् । राति पनि उनकै पालो परेको छ । ‘शव आए दाहसंस्कार गर्छु,’ उनले भने, ‘आएन भने क्यान्टिनमा खाना खान्छु, यता उता गर्दा दिन कटिहाल्छ ।’

लकडाउन अवधिमा खाने बस्ने व्यवस्था पशुपति क्षेत्र विकास कोषले गरिदिएको छ । दाहसंस्कारमा संलग्न सबै घाटसेवाका कर्मचारीका लागि कोषकै क्यान्टिनमा व्यवस्था छ । ‘कोही मिठो भएन भनेर खाँदैनन्,’ बुढाथोकीले भने, ‘म त मिठो नमिठो जे जस्तो भए पनि खाइदिन्छु ।’

यो अवधिमा कोषले सेवा सुविधा पनि बढाइदिने आश्वासन दिएको छ । शवदाह गरेबापत एउटा शवको १५ सय रुपैयाँ पाउँछन् । त्यसमा ६/७ सय रुपैयाँ बढाइदिने आश्वासन पाएको उनले बताए ।


लकडाउन भएको १० दिन भयो । दसै दिन आइरहेका छन् बुढाथोकी । १० दिनमा उनको भागमा भने ५ वटा शव आए । ‘ लकडाउन भएपछि चितातिर शव कम आएका छन्,’ बुढाथोकीले भने, ‘त्यही भएर पनि भागमा कम परेको हो ।’

आरुबारी माकलबारीका उनी घाटसेवाको कार्ड गलामा झुण्ड्याएर बिहानै मोटरसाइकलमा निस्कन्छन् । अझ कुनै बेला सुरक्षाकर्मीले झमेला सिर्जना गरिदिन्छन् । ‘मुर्दा जलाउने त हो नि, के गइराख्नु पर्‍यो भनेर रोक्न खोज्छन्,’ उनले भने, ‘म घाटको महत्व बुझाइदिन्छु अनि छाडिदिन्छन् ।’

०३३ सालबाट सुरु भएको उनको शवदाह यात्रा निरन्तर छ । के झरी, के चैतको धूप, सधैं आउँछन् उनी । आफ्नो भागमा परेको शव जलाउँछन् अनि घर फर्कन्छन् ।

शवदाह गर्न कसरी आइपुगे बुढाथोकी ? यसको छुटटै कहानी छन् उनका । ०३३ सालअघि नेपाली सेनामा भर्ना भएका थिए । ४ वर्ष सेनाको जागिरे जीवनको अनुभव गरे । आर्मीको जागिर परिवार धान्न मुस्किल भएको अनुभव भयो उनलाई । ‘जम्मा ७५ रुपैयाँ पाइन्थ्यो,’ उनले सुनाए, ‘त्यति पैसाले परिवार चलाउनै मुस्किल भयो । अनि छाडिदिएँ जागिर ।’

नेपाल प्रहरीमा जागिरे उनका बुबा ०२० सालमै बिते । बुबाको मृत्युपछि परिवार पाल्ने जिम्मेवारी उनकै काँघमा आइलाग्यो । घरमा आमा, श्रीमती र छोरी थिए ।

जागिर त छाडे तर के गर्ने भन्ने विकल्प थिएन ।


जागेर छाडेको ३ वर्षसम्म केही पाएनन्, हल्लिएरै बित्यो । श्रीमतीको माइती पशुपति क्षेत्रमै । त्यही भएर ससुराली आइराख्थे । यहाँ आउँदा आउँदै उनलाई लाग्यो, शव जलाउने काम पो गर्नु पर्छ कि क्या हो ? ‘ससुराली आउँदा अरुले यही काम गरेर राम्रो कमाएको देखें, अनि यही काम गर्न सुरु गरें,‘ उनले भने, ‘एउटा शव जलाएको १ सय ५० पाइयो । आर्मीमा महिनाभरिमा ७५ रुपैयाँ, यहाँ एउटै जलाएको १ सय ५० । दिनमा कम्तीमा एउटा त भागमा आइहाल्थ्यो ।’ दिन र राति समेत गर्दा दिनमै ३ वटासम्म शव जलाउन पाएको उनले बताए ।


यही कमाइले माकलबारीमा तीन तले घर बनाए । कमाइ राम्रो भएपनि यसलाई सम्मानजनक पेशा भने लाग्दैन बुढाथोकीलाई । आफ्नो कारणले भन्दा पनि अरुले हेर्ने दृष्टिकोणको कारणले उनलाई राम्रो नलागेको हो । चिता छेउछाउमा मान्छे आउँछन्, जलाएको हेर्छन् । यो पेशा कस्तो लाग्छ ? भनेर सोध्छन् । ‘कस्तो लाग्छ भन्नु ?,’ उनले मान्छेलाई दिएको जवाफ सम्झिदै भने, ‘यही पेशाले मेरो रोजीरोटी चलेको छ भने मलाई त संसारको सबैभन्दा ठूलो पेशा लाग्छ ।’

कोही बेला राम्रो लाग्छ, कोही बेलाचाही नराम्रो पनि लाग्छ पेशा । ‘मान्छे जलाएर खानु परेको छ, के राम्रो भन्नु जस्तो लाग्छ,’ उनले भने, ‘फेरि त्यस्तो सोचेर पनि भएन । नराम्रो लाग्यो भने त नराम्रो लागेको दिनबाटै चटक्क छाडिदिए भै गो नि । नराम्रो लागि गरेको पेशामा राम्रो सेवा दिन पनि त सकिंदैन ।’

बुढाथोकीलाई पेशा सानो ठूलो हुँदैन, सबै पेशाको आफ्नै महत्व हुन्छ भन्ने लागे पनि उनका छोराछोरीले भने मानेका छैनन् । ४ छोराछोरी छन् । दुई छोरी विदेशमा छन्, दुई छोरा काठमाडौंमा । कोही बेला टिभीमा देखिन्छन् बुढाथोकी, त्यतिबेला पनि नराम्रो मान्छन् छोराछोरी ।

‘काम गरे पनि टिभीमा त नदेखिनुस् न भन्छन्,‘ उनले भने, ‘काम सानो ठूलो हुँदैन त भनिन्छ तर बाउ मुर्दा पोल्ने भन्दा नमजा लाग्दो रहेछ छोराछोरीलाई ।’ छोराहरु सरकारी जागिर खान्छन् । सरकारी जागिरको पनि उपल्लो तहमा छन्, एउटा उपसचिव, अर्को शाखा अधिकृत । ‘कोहीले फलानो त घाटमा मुर्दा पोल्नेको छोराछोरी त हो नि पनि भनिदिँदा रहेछन्,’ उनले सुनाए ।

अवकाश पाउन बुढाथोकीको दुई वर्षमात्र बाँकी छ । ‘कुन बेला घाटमा शव आउँछ ठेगान हुँदैन । त्यही भएर घाटमा कुर्न आउनुपर्छ,’ बुढाथोकीले भने, ‘हरेक दिन आउँछु, शव आए जलाएर जान्छु । आएन भने त्यतिकै फर्कन्छु । यसैगरी ३६ वर्ष बिते । अब बाँकी समय पनि यसैगरी बित्नेछन् ।’

घाटसेवा समेत ठप्प पारिदिएपछि गत असोजमा घाटमा काम गर्ने मजदुरका समस्या सुन्न बाध्य भयो पशुपति क्षेत्र विकास कोष । पटक–पटक माग राख्दा कोषले सुनेन, बिहान २ घण्टा शवदाह बन्द गरिदिएपछि कोषले हतार–हतार कोषका पदाधिकारीको बैठक बोलायो ।

केही माग तत्काल पूरा गरिदियो, केही माग नीतिगत निर्णय गर्नु पर्ने भएका परिषद्‌बाट पास गर्ने गरी पूरा गर्ने निर्णय गर्‍यो । कोषले तत्काल गर्न सक्ने काम अन्तगर्त प्रति शव जलाएको ३ सय रुपैयाँ बढाइदियो । पहिला एउटा शव जलाएको १२ सय रुपैयाँ पाउँथे, त्यसमा ३ सय बढाएर १५ सय पुर्‍याइदियो ।

प्रकाशित : चैत्र २०, २०७६ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?