मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ...
काठमाडौँ — को–कति कट्टर पञ्च (अल्ट्रा रोयलिस्ट) को जुँगाको लडाइ चलिरहेका बेला कालीप्रसाद रिजालले यो गीत लेखेका थिए । उनी सूचना विभागका निर्देशक थिए । घन्टाघर जामे मस्जिदको छेउमा थियो, सूचना विभागको कार्यालय ।
बीचमा रानी पोखरीमा घन्टाघरले बल्छी थाप्थ्यो । पारिपट्टि जमलमा सांस्कृतिक संस्थानमा अल्लारे नारायणगोपाल तबला र हार्मोनियम ठटाएर जागिर खान्थे। चिनजान नहुने कुरै भएन, त्यो समयको हिट गायक र सूचना विभागको निर्देशकको ।
एक दिन खाजा खाने समयमा सुसेल्दै नारायणगोपाल रिजालको अफिस आइपुगे । चियाको सुर्की लगाउँदै उनले भने, 'रिजालजी, गीत लेख्नुस्, म गाउँछु ।'
जसको फ्यान भएर फुर्सदको बेला उसैको गीत गुनगुनाइन्छ, उसैले गीत लेख्न भनिरहेछ । कालीप्रसाद रिजालका तालुबाट पसिना निस्के । 'होइन, नारायणजी, तपाईं मेरा कविता पढेकै भरमा त्यसो नभन्नुस् । अहिले मैले गीत लेख्न छाडेको २० वर्ष भैसक्यो । लेख्न सक्दिनँ ।'
'ए, त्यसो भए ठीकै छ !' केही धम्कीजस्तो लवजमा नारायणगोपाल बोले । नारायणगोपालका लागि गीत लेख्नसक्ने आत्मविश्वास नभएका कारण नारायणगोपालले सिढीमा पाइला चाल्दै सिढी झर्दा पनि कालीप्रसाद कापिरहेका थिए ।
कालीप्रसादलाई लाग्यो, 'यो नारायणगोपाल भन्ने जिनिस क्या जिद्दी छ । घमण्डी छ तर आत्माभिमान र स्वाभिमानको ।'
कालीप्रसादलाई फसाद परिसकेको थियो, कुन दिन गीत लेख्न नसकेको भनेर थर्काउने हो नारायणगोपालले । बीचमा फोन गर्न भने छाडेका थिएनन्, नारायणगोपालले ।
असार मासको समयमा शनिबारको दिन एउटा गीत लेखे कालीप्रसादले | फेरि झलक्क सम्झे,नारायणगोपालले मन नपरेका गीतहरूलाई गरेको तिरस्कार- मन नपरे त नारायणगोपालले गीत च्यातेर फालिदिन्छ । होइन, अर्को पनि लेख्नुपर्छ भनेर एकै दिन दुइटा गीत लेखे ।
नभन्दै त्यसको केही दिनपछि नारायणगोपाल उनको अफिसमा आए र कुर्सीमा नबस्दै भने, 'मेरो काम भयो ?'
कालीप्रसादलाई आफूले लेखेका गीत देखाउन लाज, डर र अप्ठ्यारो लागिरहेको थियो । डराई-डराई कोटको भित्री खल्तीबाट निकालेर उनले दुइटा गीत दिए । नारायणगोपालले सरसर्ती हरे । यसो गुन्गुनाएजस्तो गरे अनि भने, 'ल, ठीक छ । म गएँ । पछि फोनमा कुरा गरौंला ।'
'नारायणजी, चिया आउँदै छ । चिया खाएर जानुस् ।' कालीप्रसादको आग्रह सुनेको नसुनेझैं गरी नारायणगोपालले भने, 'चियापछि खाँदै गरौंला रिजालजी !'
हप्ता दिन बित्यो । नारायणगोपालको फोन आएन । मान्छे पनि भेट्न आएनन् | कालीप्रसादलाई लाग्यो, नारायणगोपाललाई गीत मन परेनछ । रिसाए होलान् । गीतका कारण बेकारको दुश्मनी कमाइयो । साथी त थिए कम्तीमा !
त्यसपछिका केही दिनसम्म नारायणगोपालको न फोन आयो, न मान्छे नै । त्रिचन्द्र क्याम्पसको अगाडिबाट कोही सुसेल्दै हिँड्यो भने पनि कालीप्रसाद झस्किने भैसकेका थिए, कतै नारायणगोपाल पो आए कि !
समय १० दिनजति बितेको थियो होला, अचानक नारायणगोपाल हातमा चक्का (क्यासेट) बोकेर उनको अफिसमा आइपुगे । टस र मसको अवस्थामै कालीप्रसादलाई उनले चक्का थमाए र भने, 'सुन्नुहोला, तपाईंलाई कस्तो लाग्छ ?'
कालीप्रसादले 'हुन्छ' भन्नुको विकल्प थिएन । उनले हुन्छ भन्न नपाउँदै नारायणगोपाल गए । कालिप्रसादले सोचे, अरू कसैका गीत सुनाउन मलाई देका होलान् । त्यसो त त्यो समयमा उनी अरूका गीत र कवितामा टिप्पणी पनि गर्थे ।
दिन बित्यो । साँझ घर पुगेर क्यासेट प्ल्येरमा क्यासेट हाले । एकचित्त मनले सुन्न थाले । सुरुको ५-६ सेकेन्ड 'स्वाँ' मात्र गर्यो । त्यतिन्जेल उनलाई नारायणगोपालले ठट्टा गरेजस्तो पनि लाग्यो । जब ७ सेकेन्ड पर भो, एउटा अनौठो धूनमा नारायणगोपालको हमिंग सुनियो, 'आँखा छोपी नरोउ भनी भन्नु पर्या छ !'
क्यासेट बज्दै गयो । कालिप्रसादको मन र गह भरिएर आए । साइड बी पल्टाए । अर्को गीत बज्यो, 'झरेको पातझैं भयो उजाड मेरो जिन्दगी !'
यी दुई गीतको रेकर्डिङ्पछि कालीप्रसाद कविबाट प्रसिद्ध गीतकार बने । कविको छवि धुमिल हुँदै गयो । आफूले लेखेका दुई गीतको भावविपरीत उनी रेडियो नेपालको फर्माइसी कार्यक्रममा सर्वाधिक बज्ने गीतकार बने। कालीप्रसादको गीतकार जीवनमा लाली थपियो ।
ओठमा त लाली थपिएकै थियो । अनेक भावका पत्रहरूले उनको कार्यालयमा हाजिर जनाउन थाले ।
तर, अचानक रेडियो नेपालबाट उनका गीत बज्न छाडे | कारण उनलाई थाहा थिएन । नारायणगोपाललाई पनि थाहा थिएन । एकदिनको भेटमा कवि धुस्वाँ सायमीले कालिप्रसादलाई गीत नबज्नुको कथ्य यसरी सुनाए, 'बाजे ! राजदरबारमा तपाईंको गीतको विषयलाई लिएर कसैले बेनामी बिन्ती पत्र चढाएछ | त्यो पत्र 'जाँचबुझ केन्द्र'मा आएको थियो । (सायमी त्यति बेला त्यहाँको कुनै प्रोजेक्टमा काम गर्थे) सरकारी नून खाएर, अझै सूचना विभागको प्रमुखजस्तो मान्छेले शासन-सत्ताकै विरोध गरेर गीत लेख्ने ? यस्ता देशद्रोहीलाई फाँसी दिनुपर्छ भन्ने व्यहोरा छ बिन्ती पत्रमा ।'
कालीप्रसादका ओठ-तालु सुके । अनुहारको भंगीमा निभेको अगुल्टोजस्तो भो ।
बिन्ती पत्र जाँचबुझ केन्द्रबाट सञ्चार मन्त्रालय पठाइयो । त्यसका निर्देशक थिए, भोग्यप्रसाद शाह (बिदा हुने भैगयो बेला गीतका गीतकार) । सञ्चार सचिव थिए, प्रसिद्ध गीत 'मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्नै सकिन' का गीतकार तीर्थराज तुलाधर । राजा वीरेन्द्रसँग भोग्यप्रसाद शाह र तीर्थराज तुलाधरले 'यो गीत सृजना हो, कसैको उक्साहटमा लाग्नुहुन्न महाराज !' भन्दै सो काण्ड मिलाए ।
फेरि रेडियोमा गीत बज्न थाल्यो । दिनमा ७ पटकसम्म फर्माइसमा बज्न थाल्यो ।
२०१३ सालमा एसएलसी पास गरेर पढाइसँगै गायक हुने सपना बोकेर काठमाडौं पसेका कालीप्रसाद रिजाल गायक हुन नसकेपछि कवि हुन चाहन्थे । वकालत गर्नैका लागि कानून पढेका थिए । तर, अनौठो बाध्यताका कारण सरकारी जागिर खाएका थिए । अर्थशास्त्रका एमए उनले धनकुटा डिग्री क्याम्पसको प्रमुख भएर पढाएका थिए । पछि निजामति सेवामा जाँच दिएर सरकारी जागिर खाएका थिए । उनले आफ्नै जीवनशैलीप्रतिको रोस र विरोधमा लेखेको गीत थियो त्यो । आफैंले सृजेको गीतका कारण झन्डै आफैं फाँसीमा चढ्नुपरेन ।
अहिले चाबहिलस्थित घरमा कोरोनाको लक-डाउनमा थुनिएका रिजाल भन्छन्, 'त्यो मेरो घुम्रिएको कपाल, ती चिठी आउने दिनहरू, त्यो स्वतन्त्रता खोज्ने समयका पलहरू सम्झिरहेछु । र, आफ्नै गीतका पंक्तिझैं लाग्छ, 'फर्की आउने हो कि होइन, केही थाहा छैन !'
कोरोनाको एकान्तबासमा म पनि चुपचाप यही गीत सुनिरहेछु-
भोलि उठी कहाँ जाने, केही थाहा छैन,
फर्की आउने हो कि होइन, केही थाहा छैन !
छातीभरि गाउँबेसी पखेरीको छाया
आँखाभरि मेलापात मायालुको माया ।
आफैंलाई छोडी कतै जानु पर्या छ...
मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ ।
प्रकाशित : चैत्र १९, २०७६ १६:१८