कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

संकटमा विकल्प: 'वर्क फ्रम होम'

लकडाउनमा बाहिर निस्किन नपाएपछि ‘वर्क फ्रम होम’ अवधारणा अँगाल्न थालिएको छ। नयाँ प्रविधिको उपयोगसँगै भर्चुअल मिटिङ उपयोगी बनेको छ।
राजु घिसिङ

काठमाडौँ — सरकारले देशव्यापी लकडाउन घोषणा गरेको ठिक एक साता भयो। मजदुर र कर्मचारी जहाँ छन्, त्यहीँ बस्नुपरेपछि उद्योग र कार्यालयहरूमा ताल्चा लागेको छ। तर, यही संकटमा केही कम्पनी/कार्यालयले भने ‘वर्क फ्रम होम’ को अवधारण पछ्याउँदै लकडाउन उल्लंघन नगरी घरबाटै निरन्तर काम गरिरहेका छन्। म्यासेन्जर, भाइवर, ह्वाट्सएप लगायतमा भर्चुअल्ली मिटिङ भइरहेको छ।

संकटमा विकल्प: 'वर्क फ्रम होम'

अमेरिकी अर्बपति वारेन वफेटको ब्रेकसायर हाथवे कम्पनीअन्तर्गत पर्छ टीटीआई इन्क। टेक्सासमा मुख्यालय रहेको यसैको एउटा कार्यालय नेपालमा छ। सन् २०१३ मा स्थापना गरिएको टीटीआई इलेक्ट्रोनिक्स नेपाल प्रालिमा ५३ जनाले काम गर्छन्। तर, १० चैतको बेलुका सरकारले भोलिपल्टदेखि देशभर लकडाउन गर्ने घोषणा गरेपछि चौबीसै घन्टा काम गर्नुपर्ने यो कार्यालय संकटमा पर्‍यो। कामको चाप एकातिर थियो भने सरकारको नियम मान्नुपर्ने बाध्यता अर्कोतिर।


‘सोचिएकै थिएन, अचानक लकडाउन भयो,' धुम्बाराहीमा कार्यालय रहेको टीटीआई इलेक्ट्रोनिक्स नेपालका महाप्रबन्धक नवीन पाँडे भन्छन्, 'हाम्रो कम्पनीको प्राथमिकतामा स्टाफहरुको सेफ्‍टी पनि हो । सरकारको नियम मान्‍नै पर्‍यो । त्यसैले लकडाउन उल्लंघन नगरी कसरी काम गर्ने भन्‍ने विकल्पको खोजीमा ‘वर्क फ्रम होम’को अवधारणा अपनाउने निर्णय गरियो।’ उनीहरुले दुई-तीन दिनमै कार्यालयबाट कम्प्युटर घरघरमा लगेर वर्क स्टेसन तयार गरे। अनि धमाधम काम।

अहिले ५३ जनामध्ये ४९ स्टाफले घरबाटै काम गरिरहेका छन्। ‘काम पनि चलिरह्यो, आफूलाई बजारको नकारात्मक हल्लाबाट टाढै राख्दै काममै फोकस हुन सकियो। यस्तो उत्पादनमूलक काम गर्दा मानिस अझै स्वस्थ हुन्छ, मानसिक तनावबाट मुक्त रहन्छ,’ उनले थपे, ‘काम नहुँदा उत्पन्न हुने आर्थिक संकट पनि टरेको छ। हाम्रा सबै स्टाफ काम गर्न उत्सुक छन्।’


टीटीआईले अमेरिका, युरोप, कोरिया, चीन, भारतलगायत धेरै देशमा इलेक्ट्रोनिक कम्पोनेन्ट वितरण गर्छ। हाल आफूहरु कोभिड १९ को उपचारमा आवश्यक पर्ने इक्वीपमेन्ट वितरणमा केन्द्रित रहेको पनि महाप्रबन्धक पाँडेले बताए। यसमा नेपालको कार्यालयबाट प्रशासनिक काम हुन्छ। अब लकडाउन अलि लामै अवधि गए पनि आफ्नो कम्पनीलाई खासै असर नहुने उनको भनाइ छ।


आरटीआई इन्टरनेसनलअन्तर्गत एक्ट इस्ट प्रोग्रामको कार्यालय पाटनढोकामा छ। हात्तीपाइले रोगसम्बन्धी काम गर्ने यस संस्थाकी फाइनन्स एन्ड ग्रान्ट्स म्यानेजर दीप्ति सिलवालले पनि लकडाउन लागू भएदेखि घरबाटै काम गरिरहेकी छन्। भन्छिन्, ‘लकडाउन भएदेखि बाहिर निस्किएकी छैन। इन्टरनेट भएर काम भइरहेको छ ।’ यस संस्थामा कार्यरत सबैले नै ल्यापटपमार्फत् घरबाटै काम गरिरहेको उनले बताइन्।


अडिटिङ फर्म जोशी एन्ड भण्डारीका साझेदार प्रवीनकुमार झाले पनि आफ्नो फर्ममा कार्यरत ५८ जनाले नै लकडाउन सुरु भएयता घरबाटै काम गरिरहेको बताए। ‘हाम्रो ९० प्रतिशत क्लाइन्ट नेपाली छन्, उनीहरुको अफिस गएर काम गर्नुपर्छ तर अडिटिङ अत्यावश्यक वस्तुमा पर्दैन,' उनले भने, 'त्यसैले आफ्नौ घरबाट काम गरिरहेका छौं।' उनको टिमले मिटिङ पनि भाइबरबाटै गर्ने गरेको छ।


नयाँ अवधारणा

नेपालमा ५ वर्षअघि भूकम्पले संकट निम्त्याएको थियो। त्यसपछि नाकाबन्दीले अस्तव्यस्त बनायो। अनि चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारी आइलाग्यो। मानवीय जीवनमा यो बेग्लै खालको संकट हो। यसैसँग जुध्दै गुजाराको लागि ‘वर्क फ्रम होम’को अवधारणा पनि आइपुग्यो।


‘छोटो अवधि काम नगरे पनि कम्पनीले तलब त दिन्छ तर लकडाउन लामो अवधि गयो भने केही भन्न सकिँदैन, त्यसको लागि पनि घरबाटै काम गर्ने अवधारणा उपयुक्त हो,’ टीटीआई नेपालका महाप्रबन्धक पाँडेले भने, ‘यो अवधारणा नेपालमा नौलो भए पनि टीटीआईमा विदेशमा ८० प्रतिशतले घरबाटै काम गरिरहेका छन्।'


इन्टरनेट ब्यान्डविथको माग उच्च

संकटको बेला घरमै काम गरे पनि कार्यालयबाटै गरेजस्तो भने नहुने कतिपय बताउँछन्। अफिसमा त्यही कामको लागि बढी स्पिडको इन्टरनेट लिइएको हुन्छ, जुन घरमा उपलब्ध हुँदैन। त्यसैले घरबाटै काम गर्दा इन्टरनेट स्लो भएको धेरैको गुनासो छ। लकडाउनमा खपत बढेपछि इन्टरनेट ब्यान्डविथको माग ५० प्रतिशतसम्म बढेको बताइन्छ।


‘इन्टरनेट ब्यान्डविथको डिमान्ड बढेको छ तर लकडाउने गर्दा इन्टरनेट बिग्रिएको घरमा बनाउन जान पनि पाइएको छैन,' भाय-नेटका महानिर्देशक विनय बोहरा भन्छन्, 'अत्यावश्यक सेवामा परे पनि लकडाउनले समस्या परेको छ।’ अहिले जेनतेन चले पनि डिमान्डअनुसार लकडाउनलगत्तै नेटवर्क बढाउनुपर्ने आवश्यकता देख्छन् उनी।


‘सबैले अनलाइन पे चलाउँदैनन्, इन्टनेट नवीकरण गर्ने बेला कसरी गर्ने भन्ने समस्या छ,' उनले भने, 'त्यसैले पैसा उठाउन र स्टाफलाई तलब खुवाउन पनि गाह्रो भएको छ। अहिलेको हाम्रो मुख्य चुनौती यही हो।’

प्रकाशित : चैत्र १८, २०७६ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?