कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जब आफ्‍नैले हात छोडिदिए, उनीहरू ‘लकडाउन’ मा परे

‘जिन्दगी भन्‍नु नै आशाको त्यान्द्रो त रहेछ’
बिनु सुवेदी

काठमाडौँ — घटना कति वर्षअघिको हो, उनको स्मरणमा छैन । तर स्मृतिमा आउँछ बाआमा, भाइ र आफूले खेलेको आँगन । काभ्रेका सन्तोष प्रधान सानै छँदा बुवा अकालमै बिते, बुवा बितेको एकाध वर्षमै आमा अर्कै बिहे गरेर गइन । बाआमा नै नभएको घर सन्तोषलाई घरजस्तो लागेन, भाइ बोकेर काठमाडौं हानिए । बेढंगका ढुंगा कुँदेर सुन्दर मूर्ति बनाउन सिके, तिनै बेचेर बनाए झन् सुन्दर जिन्दगी ।

जब आफ्‍नैले हात छोडिदिए, उनीहरू ‘लकडाउन’ मा परे

मूर्ति कुँद्दा कुद्दै सन्तोषसँग ठोकिन आइपुगेकी उनकी प्रेमिका एकदिन अचानक अलप भइन, उनलाई नेपालमा बस्नै मन लागेन । सबै बिर्सेर भारतको दिल्ली पुगे, तर आफैंलाई बिर्सिए । विगतका संघर्ष र सिकेको कला बिर्सिए । जिन्दगीको हण्डर ठक्कर र घामपानीका कारण ओइलिएका सन्तोष ७ महिना अघि पुल्चोकको सडकमै सुतिरहेका भेटिए । मानव सेवा आश्रमको टोलीले उनलाई उद्धार गरेर ललितपुरको हात्तिवनस्थित आश्रममा ल्याइपुर्‍यायाे । त्यसयता कहिलेकाहीँ अस्पताल जानेबाहेक अरु बेला सन्तोष आश्रमबाट बाहिर निस्किएका छैनन् ।

कहिल्यै बाहिर निस्किन मन लाग्दैन ?’ मैले उनलाई सोधें । ‘निस्किएर पनि कहाँ जानु छ र ?’ सन्तोषले आश्रमकै जिन्दगीमा सन्तोष व्यक्त गरे । एक दुईपटक उनको बारेमा बुझ्न उनको भाइ नआएका पनि होइनन । तर उनको जिम्मेवारी लिन अस्वीकार गरिदिए । त्यसैले उनलाई आश्रम नै प्यारो लाग्छ । ‘आमाले मीठो मीठो खानेकुरा खुवाएको मलाई धेरै याद आउँछ, भाइसँग खेलेको पनि सम्झिन्छु,’ सन्तोषले भने, ‘अहिले देशभरी बन्द छ भन्ने सुन्छु, मेरो लागि त सधैं बन्द छ नि ।’

मानव सेवा आश्रमका केन्द्रीय उपाध्यक्ष धर्मप्रसाद पौडेलका अनुसार देशभरका १८ शाखामा विभिन्न कारणले परिवारबाट बिछोडिएका सन्तोषजस्ता १२ सय भन्दा धेरै व्यक्तिहरू छन्, जसलाई परिवारको सम्झना आउँछ तर परिवारलाई उनीहरूको याद आउँदैन ।

त्यसैमध्येकी हुन, सिन्धुपाल्चोककी फूलमाया तामाङ । श्रीमानले अर्कै बिहे गरे, सहन सकिनन् । काखको बच्चा च्यापेर घरबाट निस्किइन । ज्याला मजदुरी गर्न थालिन्, होटेलका भाँडा माझिन् । जसोतसो छोरा हुर्काइन् । तर छोराले आमाको दुःख बुझेनन् । ‘उसको संगतै त्यस्तै थियो,’ फुलमायाले भनिन, ‘खराब मान्छेसित संगत गरेर सात कक्षा पुगेपछि पढ्नै छोड्यो, कोठामा पनि आउन छोड्यो ।’ १५ वर्षको छोराले हात छोडेपछि फूलमायाको दैनिकी दयनीय बन्दै गयो । भाडा तिर्न नसकेर घरबेटीले निकालिदिए । उनी सडकमै लडखडाउन थालिन् । बाटोमा सुतेकै बेलामा प्रहरीले उठाएर मानवसेवा आश्रमसम्म पुर्‍याएको हो फूलमायालाई । त्यसयता उनी आश्रमकै चौघेराभित्र ‘लक्ड’ छिन् ।

अहिले बाहिर बन्द छ रे भन्ने उनले पनि सुनेकी छिन् । छोराले कहाँ के गर्दै होला भनेर बहुत याद आउँछ उनलाई । तर आश्रमले आफन्त लिन नआएसम्म उनीहरूलाई बाहिर निस्किन दिन्न । छोरा आमालाई सम्झेर आँउदैनन् । ‘छोरालाई खोज्न पनि आश्रम छोडेर बाहिर निस्किन मन छ,’ फूलमायाले भनिन् ।

फूलमाया तामाङ र कान्छी चौलागाईं

बाहिर निस्किन मन छ, रिता अधिकारीलाई पनि । तर आफन्त को छन् र आफ्नो घर कहाँ हो भन्ने स्मरण भने उनीसँग केही छैन । जिन्दगी होस्मा चल्दा उनले हातमा नाम लेखेकी थिइन । त्यही नामका आधारमा सबैले उनलाई रीता भनेर बोलाउन थाले, अधिकारी थर उनी आफैले भनेकी हुन् । तैपनि बाहिर निस्किन पाए कोही आफन्त भेटिन्थे कि भन्ने उनको मनमा लागिरहन्छ । हो नी, उनीहरूको आश्रमको बसाइ पनि अहिले हाम्रो घरको बसाइजस्तै बाध्यात्मक त हो नि । कसैले सानोमै मन्दिरमा ल्याएर छोडिदिएको हो भन्छिन् रीता बेलाबखत । तर यतिका जिन्दगी बाचुञ्जेलसम्म कति कति पो हण्डर खाइहोलिन्, त्यसैको असरले उनी पुराना दिन सम्झिन सक्दिनन् । तर पनि मनले कता कता आफन्तहरू खोज्छ ।

मानव सेवा आश्रमका केन्द्रीय उपाध्यक्ष पौडेलका अनुसार अधिकांश मानसिक अवस्था बिग्रिएपछि घरपरिवारबाट बहिष्करणमा परेकाहरू मानवसेवा आश्रममा पुगेका छन् । पोखरा तालचोक घर बताउने चित्रबहादुर बस्नेत के कारणले घरमा अट्न सकेनन उनलाई पनि थाहा छैन । तर घरपरिवारको बेवास्ताकै कारण काठमाडौं बागबजारको चोक र गल्ली उनले धेरैपटक नापेका छन् । बागबजारमा उनको अवस्था एकदमै नाजुक देखेपछि एकजना डाक्टरले उनलाई आश्रमसम्म ल्याएका थिए । चित्रबहादुरले भनेअनुसार उनका परिवारका मान्छे बागबजारमा सडकमै भेट्न पनि आउँथे तर घरमा जाम कहिल्यै भनेनन् । त्यसकारण चित्रबहादुरको मन परिवारसँग कुँडिएको छ । ‘म यही छु भन्ने थाहा पाएर पनि उनीहरूले सम्झिएनन,’ चित्रबहादुरले भने ।

कतिका त छोराबुहारी नै डाक्टर छन्, कतिको घरको कुरा सुन्दा एकदमै हुनेखाने जस्ता देखिन्छन्,' उपाध्यक्ष पौडेलले भने, ‘तर हामीले उठाएर यहाँ ल्याउनेबेलासम्म एकदमै विक्षिप्त भएका हुन्छन् ।’ त्यति हुँदाहुँदै पनि कतिले घरमा छोराछोरी या छोराबुहारीले गरेको नराम्रो व्यवहारका बारेमा बोल्नै चाहन्नन् । त्यही आश्रममा पनि होस् छोड्दिनुस् पुराना कुरा भन्ने धेरै भेटिए ।

रीता अधिकारी र सेतीमाया तामाङ

तर पुराना कुरा, दोलखा चरिकोटको घर, छोरी र बुहारी बिर्सिन सक्दिनन ५३ वर्षकी सेतिमाया तामाङ । कोटेश्वरमा बुहारीको कोठामा आउँदा उनी हराएकी हुन् । त्यसपछि फर्किएर फेरि कोठामा जान सकिनन् । बाटोमा भेटेको प्रहरीले आश्रममा पुर्याइदियो । ‘मलाई कति खोजेको खोज्यै गरेका होलान, तर भेटेनन होला,’ सेतीमाया भन्छिन्,‘पोहोर असारमा श्रीमान् बितेर गएपछि छोरी बुहारीले झन धेरै माया गर्थे ।’ ५ महिनादेखि आश्रममै रहेकी सेतीमाया बेलाबेला आश्रमको चरबाट चिहाएर बाहिर हेर्छिन् । तर देख्दिनन् आफ्नाहरूलाई जसलाई उनले खोजेकी हुन् ।

भित्रको भित्रै थुनिएर बस्न उनीहरूलाई पनि पट्यार लाग्दो हो, जसरी अहिले हामीलाई घरभित्रको बसाई उकुसमुकुस भइरहेको छ । हामी त एक दिन बाहिर निस्किन सकौंला तर विविध कारणले परिवारसँग छुट्टिएर आश्रममा जिन्दगी काटिरहेका यिनीहरू त तब बाहिर निस्किन पाउछन् जब छोराछोरी या आफन्त लिन त्यही पुग्छन् । तै आफन्त आउछन् र वर्तमानले कोरेको घेरा तोडिन्छ भन्ने आश मरेको छैन उनीहरूको । सायद त्यसैले म आश्रमबाट बाहिरिँदै गर्दा काभ्रे पाँचखालकी कान्छी चौलागाईंले भनिन्, ‘मेरो भिडियो फेसबुकमा हाल्दिनुस् है, दिदीले देखिन् भने लिन आउँछिन् ।’ आखिर जिन्दगी भन्नु एक त्यान्द्रो आशै त रहेछ ।

प्रकाशित : चैत्र १८, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?