१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कलाकार रवीन्द्र श्रेष्ठको लकडाउन डायरी

‘सकारात्मक भाइब्स दिन खोज्दैछु’

काठमाडौँ — ढिला सुतेर ढिलै उठ्ने बानी छ मेरो । लकडाउनमा पनि परिवर्तन भएको छैन । कामको प्रकृति र विषयवस्तुलाई भने कोरोना भाइरसको त्रासले प्रभाव पारेको छ ।

कलाकार रवीन्द्र श्रेष्ठको लकडाउन डायरी

कसैले घरमा झुन्डिनेभन्दा सकारात्मक भाइब्स दिने आर्ट सिर्जना गर्न तल्लिन छु ।

अनावश्यक समाचारले मान्छेमा निकै भय पैदा गरेको छ । एउटै कुरा दसपटक सुन्दा दिक्क लाग्दो रहेछ । हात धुने सूचना सुन्दा–सुन्दा मलाई नै झिंझो लागिसक्यो । फरक तरिकाले मन हल्का बनाउने सन्देश बाँड्न पाए हुन्थ्यो भन्ने लाग्छ । कलाकारको नाताले मैले आज (आइतबार) त्यस्तै प्रयास गर्दैछु ।


गुलाफका फूलहरू ल्याएँ, त्यसलाई सेतो पृष्ठभूमिको क्यानभासमा रंग नलगाइ गोलो बनाएर राखेको छु । सामाजिक सञ्जालमा पोस्ट गर्छु, शीर्षक वा त्यसको केही व्याख्या गर्दिनँ । कोरोना शब्दै लेख्दिनँ । हेर्नेले आ–आफ्नो तरिकाले बुझुन् । क्यानभासमा गुलाफ देखेपछि सबैलाई आनन्द मिलोस् भन्ने चाहना हो । लकडाउन अगाडिबाटै मठ–मन्दिरका टुँडाललाई लाइनको रुप दिएर काम गरिरहेको थिएँ । लाइन भनेको ‘सिम्बोल अफ कनेक्सन’ हो । त्यो आर्ट भर्खरै सकाएँ ।


हरेक समयले केही सिकाउँछ । कहानी बनाएर जान्छ । कोरोना हाम्रो जीवनकै सबैभन्दा ठूलो घटना बन्न सक्छ । जीवनमा देखे/भागेकै कुरालाई सर्जकले आफ्नो काममा उतार्ने हो । म त्यसबाट अलग कसरी हुनसक्छु र !


चीनको वुहानबाट हामीले एक सय ७५ नेपालीलाई उद्धार गरेर ल्यायौं । यसबाट विश्वलाई हामी पनि गर्न सक्छौं भनेर सन्देश दियौं । चालक दल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित १४ जनाले आफ्नो ज्यान जोखिममा पारेर उच्च तहको मानवीयता देखाउनुभयो । १४ दिन क्वारेन्टाइनमा बस्नुभयो । यसले हामी सबैलाई ऊर्जा दियो, भावनात्मकरूपमा जोड्यो । म असाध्यै प्रभावित भएँ । उहाँहरूमाथि पछिसम्म रहने गरी केही गर्न खोज्दैछु ।

उहाँहरूमध्ये ६ जनासँग मेरो सम्पर्क भयो । भर्चुअल माध्यमबाटै फिंगर प्रिन्ट लिइसकें । हामी सबैको फिंगर प्रिन्ट फरक हुन्छ । जाति, भाषा, समुदाय पनि अलग छ तर मानवीय संवेदना र सम्बन्धको सवालमा एक छौं । त्यसैले रेस्क्युमा सहभागीको औंठा–छापमा रेडलाइन थप्ने गरेको छु । यसको मतलब हो, हामी कहीं न कहीं जोडिन खोजेका छौं । १४ जनाकै जम्मा भएपछि कुनै म्युजिम र ग्यालरीमा राख्छु, ऐतिहासिक डकुमेन्ट हो यो । त्यसमध्ये केही फिंगर प्रिन्टलाई ‘जुम इन’ गरेर ६ फिटको साइजमा प्रिन्ट गर्छु, एयरपोर्ट, ठूला चोकजस्ता सबैले देख्ने ठाउँमा राख्ने योजना छ । उहाँहरूलाई पनि दिन्छु ।

खासमा सबैलाई प्रत्यक्ष भेटेरै औंठा–छाप लिनुपर्ने हो तर अहिले त्यस्तो अवस्था छैन । त्यसैले इन्टरनेटबाट सम्पर्क गरेर औंठा–छाप मगाइरहेको छु । हामीले अहिले के छैन भनेर गुनासो गर्ने बेला होइन, जे उपलब्ध छ, त्यसमै काम गर्नुपर्छ ।


म बन्द कोठाभित्र क्यानभासअगाडी बसेर पेन्टिङमात्र गर्ने आर्टिस्ट होइन । आर्टको अवधारणाअनुसार नयाँ ठाउँमा घुम्ने, मान्छेलाई भेट्ने गर्नुपर्थ्यो तर अहिले घरभित्रै काम गरिरहेको छु । परिवेशअनुसार आफूलाई ढाल्न सक्नुपर्छ । रेस्क्यू विमानका स्टाफलाई सामान्य अवस्था भएपछि भेट्छु । पहिल्यै अर्डर लिएका पेन्डिङको काम पनि यही समयमा सक्न खोज्दैछु ।

कोरोनासम्बन्धी समाचार ठिक्क मात्र पछ्याउँछु, त्यो पनि आधिकारिक स्रोतमार्फत् । युट्युब, फेसबुकमा जे देख्यो, त्यसकै पछि लाग्नुहुन्न । झन् तनाव हुन्छ । अहिले फिल्म खासै हेरेको छ्रैन । बरु गणेश पौडेलले लिनुभएको कुमार नगरकोटीको अन्तर्वार्ताको सिरिज युट्युबमा निरन्तर हेरिरहेको छु । अखबारको पुराना साहित्यिक विशेषांक पढिरहेको छु । ऊर्जा दिने गुणात्मक कन्टेन्ट पढ्ने प्रयन्त गर्छु ।

कोरोनाले करुणा भाव जन्माएको छ । प्रकृति सन्तुलित भएको छ । फूलले स्वच्छ हावा लिन पाएका छन् । आकाश हेर्दा मज्जा आइरहेको छ । घरकै झ्यालबाट हिमाल देखिन थालेको छ । केही दिनपछि बाटोमा कहिल्यै नदेखिएका जनावर देखिएलान्, खोलामा टन्नै माछा देख्न पाइएला । हामी सर्जकले यो समयले भनिरहेको यस्तै कुरालाई चिन्न र उतार्न सक्नुपर्छ ।

कुनै ठूलो ड्रइङ वा पेन्टिङको आइडिया आयो भने सुरु गरिहाल्ने बानी छैन मेरो । केही दिन मज्जाले फिल्म हेर्छु, मन लागेको ठाउँमा पुग्छु, मिठो–मिठो खान्छु । अनि ढुक्क भएर काम थाल्छु । कहिलेकाहीं २०–२५ दिनसम्म बाहिर निस्कन्नँ । मोबाइल अफ हुन्छ । त्यो अभ्यासले होला, अहिले घर बसिरहँदा उकुसमुकस भएको छैन । सामान्य रुपमै दिन बितिरहेको छ । हामी सबैले एक्लै बस्ने बानीको पनि विकास गर्नुपर्ने रहेछ भन्ने सिक्दैछौं ।

प्रस्तुति : गोकर्ण गौतम


प्रकाशित : चैत्र १६, २०७६ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?