सुनसान छ मुम्बई नगरी

फिल्मी कलाकार बस्ने बान्द्रा, खार, सान्ताक्रुज, बिलेपार्ले, अँधेरीलगायत स्थान सुनसान भएका छन् । कोरोना भाइरस संक्रमणको डरले सबै घरघरमै थुनिएका छन् ।
लकडाउनमा परेर दैलेखको भैरवी र दुल्लु घर जान हिाडेका २२ नेपाली फसेका छन्, जसमा एक गर्भवतीसहित ६ महिला र ६ बालबालिका छन् ।
पूर्ण कुमाल

(मुम्बई) — रंगीन दुनियाँको रुपमा चिरपरिचित मुम्बई नगरी यतिबेला यस्तो सुनसान छ, जुन मुम्बई बसाइको १८ वर्षको अनुभवमा कहिल्यै देखेको थिइनँ । बलिउड फिल्मको हब मुम्बईमा जे जति स्टारहरू छन्, अहिले उनीहरू सबै घरभित्रै थुनिएका छन् । फिल्म, टेलिफिल्म कुनै पनि सुटिङ भएको छैन न कुनै चलचित्र हल चलेका छन् । सबका सब बन्द छन्, केबल अत्यावश्यक पसल खुलेका छन् ।

सुनसान छ मुम्बई नगरी

सन् २००२ देखि मुम्बईमा अन्तर्राष्ट्रिय संगठनमा काम गर्दै आएको छु । कैलालीको टीकापुर मेरो घर हो । पछिल्लो दुई वर्षदेखि विश्व स्वास्थ्य संगठनअन्तर्गत टाइफाइड कन्जुकेट भ्याक्सिन (टीसीभी) प्रोजेक्टमा ‘फिल्ड मोनिटर’ को रुपमा अनुसन्धान कार्यमा छु । अहिले अफिस बन्द छ । मुम्बईको सान्ताक्रुजमा रहेको कोठामा बसेर काम गरेको छु । खाना कोठामै बनाएर खान्छु । सामान किन्नबाहेक बाहिर निस्केको छैन । सामान किन्ने पसल पनि नजिकै भएकाले कुनै समस्या परेको छैन ।


कारोना संक्रमण भारतमा सबैभन्दा बढी यही मुम्बई सहर भएको महाराष्ट्र राज्यमा छ । महाराष्ट्रको सन्दर्भमा यहाँ सबैभन्दा पहिले पुना सहरमा ९ मार्चमा पहिलो कोरोना संक्रिमित भेटिएका थिए । विदेशबाट आउनेले आफ्नो ‘ट्राभल हिस्ट्री’ लुकाएर लुकिछिपी हिँड्दा आज यत्रो रुपमा फैलिन गयो । अहिले भारतभरि आइतबार बिहानसम्म १ हजार ३७ जना कोरोना संक्रमित भएका छन्, जसमध्ये सबैभन्दा बढी महाराष्ट्रमा १ सय ९३ र त्यसपछि १ सय ८२ केरलामा छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या भारतमा २५ पुगेको छ । ८५ जना ठीक भएका छन् ।


मार्च २२ देखि यहाँ संविधानको धारा १४४ लगाइएको छ । यो आपतकालमा लगाउने धारा हो, जसअनुसार ५ जनाभन्दा बढी जम्मा हुन पनि पाइँदैन । सहरमा प्रहरी गस्ती बाक्लो छ । होम गार्ड (नगर प्रहरी) को संख्या उत्तिकै छ । बिनाकाम कोही हिँडेको भेट्यो कि प्रहरीले लाठी ठोकिहाल्छन् । महाराष्ट्रमा कसैलाई कोरोनासम्बन्धी समस्या वा जानकारी चाहियो भने ०२०–२६१२७३९४ नम्बर दिइएको छ । त्यहाँ फोन गरेपछि तुरुन्त सम्बन्धित निकायले मद्दत गर्छ । उसले प्रहरी वा एम्बुलेन्स तत्कालै पठाउने गर्छ ।


करिब ३ करोड बासिन्दा भएको मुम्बई कोरोनाको डरले अहिले सुनसान छ । चियापसल, होटल, रेस्टुरेन्ट, बार, डिस्को, वाइन सप, कारखाना, यातायात, अफिस, बैंक, पार्क, सिनेमा हल सबै बन्द छन् । मुम्बईमा पर्यटकीय स्थल गेट अफ इन्डिया, मरिन ड्राइभ, गिरगाउँ चौपाटी, ह्याङ्गिङ गार्डेन, जुहु बिच, नेसनल पार्क सबै सुनसान छन् । फिल्मी कलाकार बस्ने बान्द्रा, खार, सान्ताक्रुज, बिलेपार्ले, अँधेरी सुनसान छन् । सबैले घरमै दिन बिताएका छन् ।

किराना, सब्जी, डेरी, औषधि पसलबाहेक सबै बन्द भएका छन् । अत्यावश्यकीय पसल पनि कुनै ठाउँमा बिहान ७ देखि बेलुका १० बजेसम्म, कुनै ठाउँमा बिहान ७–१२ (मध्यान्ह) अनि ३/४ बजेबाट राति १० बजेसम्म खुलेका छन् । सामान किन्न पसलअगाडि एक/डेढ मिटरमा सेतो गोलो घेरा हुन्छ, त्यही क्युमा उभिएर लिनुपर्छ । ‘सोसल डिस्ट्यान्स मेन्टेन’ गर्न हरेकजसो पसलअगाडि सेतो घेरा बनाइएको छ । त्यसको एकदम राम्रो पालना भएको छ । भारतमा कोरोनाको संक्रमण बढेसँगै यो नियम यहाँ मार्च २२ (चैत ९) देखि लागू भएको थियो ।


जब प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २४ (चैत ११) को राति ८ बजेतिर भारतमा २१ दिने लकडाउनको घोषणा गरे, लगत्तै मुम्बई सहरभरि मान्छेको भिडैभिड देखियो । भोलिदेखि अत्यावश्यक पसल पनि सबै बन्द हुन्छन् भन्ने हल्ला फैलियो र मान्छेहरू सामान किन्न पसलमा ओइरिएका थिए । त्यो बेला सोसल डिस्ट्यान्सको पनि मजाक उडाएर सबै जना एकापसमा टाँसिन पुगेका थिए । एक केजी चिनी किन्नेले पनि पाँच केजी किन्न थाले । डेटोल, फिनेल, साबुन, मास्क, सेनिटाइजर पाउनै मुस्किल भो ।


हल्ला भएजस्तो भोलिपल्ट अत्यावश्यक सामानका पसल बन्द भएनन् । तिनीहरु खुल्न थालेपछि समस्या बिस्तारै हराउँदै गयो । अहिले बजारमा दाल, चामल, चिनी, नुन, तेललगायतका सामानको कुनै समस्या छैन । मास्क र सेनिटाइजरका सामान भने पाउन गाह्रो छ ।


यहाँ सबैभन्दा बढी समस्या दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, पुलमुनि, बाटो छेउछाउ र चाल (झुपडपट्टी) मा बस्नेलाई भइरहेको छ । झुपडपट्टीमा भएका चिया तथा होटलहरु बन्द छन् । कतिपयले आफैं खाना बनाएर खाएका छन् । अरुलाई स्थानीय प्रहरी, प्रशासन, विभिन्न मण्डल (समूह), एनजिओले रासन–पानी दिएका छन् । खाना बनाउन नसक्ने, गरिबहरुलाई प्याकेट बनाएर खाना पुर्‍याएका छन् । चालमा बस्नेहरुलाई सार्वजनिक शौचालय हुन्छ र कुनैमा साबुनपानी पनि हुँदैन । घरबाटै लैजानुपर्छ । उनीहरुलाई बढी सावधानीको आवश्यकता परेको छ ।

मुम्बई जिल्लासँग जोडिएको ठाना जिल्लाको बदलापुरमा अलपत्र परेका नेपालीलाई राशन सहयोग ।


नेपालीको कुरा गर्दा, महराष्ट्रभरि करिब चार लाख जना भएको अनुमान छ । पहिले धेरैजस्तो नेपालीहरु वाचम्यानको काममा थिए, अहिलेचाहिँ होटल, रेस्टुरेन्ट, चाइनिज ठेला, ड्राइभिङ क्षेत्रतिर पनि बढेका छन् । कतिपय होटल, रेस्टुरेन्ट बन्द भएर तिनीहरु पहिले नै घर गए भने भाडामा बस्ने, खान–बस्न मिल्नेहरु यतै छन् । अहिलेसम्म कोरोना संक्रमित भएका कुनै नेपाली फेला परेको खबर भने आएको छैन ।


लकडाउनमा परेर दैलेखको भैरबी र दुल्लु घर जान हिँडेका २२ नेपाली फसेका छन्, जसमा एक गर्भवतीसहित ६ महिला र ६ बालबालिका छन् । उनीहरु ठेला मजदुरी गर्थे । साहुले ठेला बन्द गरेर घर जान भनेपछि हिँडेका उनीहरु तीन दिनसम्म विस्कुट खाएर सडकमै बिताए । दैलेखले एक महिलाले उनीहरुलाई मुम्बई जिल्लासँग जोडिएको ठाना जिल्लाको बदलापुरमा देखेपछि अरु नेपाली र स्थानीय नगर सेवकलाई खबर गरिन् । अहिले उनीहरु विभिन्न घरमा छरिएर बसेका छन् । उनीहरुलाई चार दिनको लागि रासन–पानीको संयुक्त नेपाली महासंघ मुम्बई, नेपाली जनसम्पर्क समिति र भूल एकता समाज मुम्बईले सहयोग गरेका छन् । थप सहयोगका लागि स्थानीय नगर सेवक र प्रशासनसँग कुरा भएको छ । यस्तै समस्या मुम्बईको तिलक टर्मिनलमा करिब ४ सयदेखि ५ सयको संख्यामा यूपी, बिहार, झारखण्ड, पश्चिमबंगाल, दक्षिण भारत जाने भारतीयहरुले भोगेका छन् । रेलबन्द भएर अलपत्र परेका उनीहरु प्लेट फर्म तथा रेलको पटरीमा सुत्ने गरेका छन् । उनीहरुलाई खानाको व्यवस्था स्थानीय नगर तथा प्रशासनले मिलाएको छ ।


नेपालीलाई कुनै समस्या पर्‍यो भने नेपाली दूतावास, दिल्लीले ०११–२३४७६२०० मा सम्पर्क गर्नु भनेर नम्बर दिएको छ । मुम्बईमा ५२ भन्दा धेरै नेपाली संघ–संस्था छन् र तिनले पनि मद्दत गर्ने आश्वासन दिएका छन् । हामीहरु एक अर्कासँग फेसबुक, ह्वाट्सअप र म्यासेन्जरमा सम्पर्कमा छौं । समस्या परे हामी पनि सहयोग गर्न तयार छौं । यो हामी सबैको साझा समस्या हो र मिलेर नै हल गर्नुपर्छ । यसमा सबैका हातहरु अगाडी बढ्न अत्यन्त जरुरी छ ।


(कान्तिपुर संवाददाता दिनेश रेग्मीसँगको अनलाइन कुराकानीमा आधारित)

प्रकाशित : चैत्र १६, २०७६ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?