कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दिल्लीको क्‍वारेन्टाइन अनुभव : ‘भारतमा जति कडा, नेपाललाई उति राम्रो’

इन्दिरा गान्धी विमानस्थलमा ओर्लेपछि अध्यागमन कट्न सात घण्टा लाग्यो । स्वास्थ्य परीक्षणमा थप चारपाँच घण्टा । उमेर ६० वर्ष टेकेकाले त्यसपछि क्वारेन्टाइन पठाइदिए । 
प्रकाशसिंह बोगटी

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्लीस्थित राजीव गान्धी अस्पतालमा भाइको क्यान्सर रोगको उपचार चलिरहेको छ । त्यही भएर दिल्ली आइरहनुपर्छ । अलि अगाडि आउने भन्दाभन्दै २१ मार्चको मात्र इन्डिगोको टिकट पाइयो । काठमाडौंमा हुँदा नै कोरोनालाई लिएर निकै सजग थिएँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै समस्या थिएन । भीडभाड पनि थिएन । 

दिल्लीको क्‍वारेन्टाइन अनुभव : ‘भारतमा जति कडा, नेपाललाई उति राम्रो’

करिब ४ बजे दिल्लीको इन्दिरा गान्धी विमानस्थल ओर्लिएँ । यहाँको अवस्था त डरलाग्दो रहेछ । भोलिपल्टदेखि लकडाउन भएर हुन सक्छ, टर्मिनलमा हजारौंको भीड थियो । अध्यागमन कट्न नै करिब सात घण्टा लाग्यो । त्यसपछि स्वास्थ्य परीक्षण गराउन सास्ती । त्यसमा थप चारपाँच घण्टा लाग्यो । त्यो करिब १२ घण्टा निकै अत्यासलाग्दो थियो । भाइरस सर्ने हो कि भन्ने डर लागिरह्यो ।


भीड भद्रगोल थियो तर त्यहाँबाट उम्कने उपाय थिएन । भाग्न पाउने कुरा भएन । स्वास्थ्य परीक्षण गर्दा उमेर सोधे । ढाट्ने कुरा भएन । क्वारेन्टाइनमा पठाऊ भन्छन् । पछि बुझ्दा ६० वर्ष उमेर कटेकालाई सीधै क्वारेन्टाइनमा पठाउने नियम बनाइएको रहेछ । दुई–तीन महिनाले मात्र ६० वर्ष कटेको थिएँ । मैले आफूलाई केही समस्या नभएको बताएँ । ‘पहिले लगेर परीक्षण गर्छौं केही नदेखिए छाड्छौं’ भने । तर कहाँ छाड्नु ? पछि बुझ्दै गएको त त्यो रणनीति पो रहेछ । सुरुमै १४ दिन भन्दा आत्तिन्छ भनेर होला । भोलिभोलि भन्दै राख्ने रहेछन् ।


अहिले नोयडाको एउटा १३ तले घरको आठौं तलामा छु । हुन त सुरुमा होटलमा बस्ने कि भनेर पनि सोधेका थिए । त्यहाँ बसेको भए अलि सुविधा हुन्थ्यो होला । होटलमा सामान्य हिँडडुल गर्न पनि पाइँदैन भन्ने सुनेको भएर यतै बस्छु भनेँ । कोठाहरू सफा नै छन् । यत्तिकोलाई नराम्रो भनिहाल्न मिल्दैन । खालि त्यही हो, टीभी छैन । बिहानै ६ बजेतिर चिया आउँछ । ८ बजेतिर थोरै खाजा अनि १ बजेतिर खानाको प्याकेट दिन्छन् । अपराह्न ४ बजेरि हल्का खाजा ल्याउँछन्, बेलुका ८ बजेतिर खाना । भुइँतलामा डाक्टरहरू र अन्य कर्मचारी छन् । केही पर्‍यो भने सोधपुछ गर्न आउँछन् । पहिलेदेखि केही औषधि खाए–नखाएको पनि सोध्छन् ।


भगवान्‌को कृपाले अहिलेसम्म कुनै त्यस्तो लक्षण देखिएको छैन । देखिने भए देखिइसक्थ्यो । औसतमा पाँच दिनभित्र लक्षण देखिने भन्ने रहेछ । अहिलेसम्म पूरै तन्दुरुस्त छु । सैनिक पृष्ठभूमि भएकाले अनुशासनमा बस्न कुनै समस्या भएन । त्यही भएर क्वारेन्टाइन बस्न पनि खासै असहज लागेको छैन । आखिर बाहिर गए पनि लकडाउन नै छ । भारतमा कडा गरेको त राम्रै हो । यहाँ जति कडा गर्‍यो, नेपालका लागि राम्रो हो । त्यही हो, नेपालमा भएको भए घरपरिवार सँगै हुन्थे । बिरामी भाइको हेरचाह गर्न नपाएकामा चाहिँ पछुतो लागेको छ ।


अग्लो घर भएकाले वरिपरिको दृश्य गज्जब देखिन्छ । त्यसबाहेक समय कटाउन पत्रिका पढ्छु । तीन साताअघि पनि आएको थिएँ । धन्न, त्यति बेला इन्डियाको सिम लिएको थिएँ । त्यसले निकै काम दिएको छ । परिवारसँग कुराकानी भइरहेको छ । साथीभाइलाई पनि सम्पर्क गरिरहेको छु । कहिलेकाहीँ तलमाथि गर्छु । मोबाइलमा पुराना गीत सुन्छु । मलाई सधैं मन पर्ने नारायण गोपालका गीत र पुराना हिन्दी गीत हुन् । नारायण गोपालका गीत सबै मन पर्छन् । त्यसमा पनि अहिले बढी सुनिरहेको गीत हो–

यति चोखो यति मीठो

दिऊँला तिमीलाई माया...

(नेपाली सेनाका पूर्वउपरथी प्रकाशसिंह बोगटीसँग कान्तिपुरका दिल्ली संवाददाता सुरेशराज न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित : चैत्र १६, २०७६ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?