कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘लेखक र किताब दुवै क्‍वारेन्टाइनमा’

‘सिर्जनाका सबै कामकुरा कोरोनाले खायो । पूरै क्वारेन्टाइन छ जिन्दगी । लकडाउन छ समय ।’
देवेन्द्र भट्टराई

काठमाडौँ — आख्यानकार ध्रुवचन्द्र गौतमले २०२४ सालमा छापिएको आफ्नो पहिलो उपन्यास ‘अन्त्यपछि’ को अन्तिम हरफमा लेखेका थिए— ‘वार’ त चलिरहेकै छ तर शत्रु भने ‘इन्भिजिबल’ छ ।

‘लेखक र किताब दुवै क्‍वारेन्टाइनमा’

त्यो उपन्यास छापिएको आधा शताब्दीपछि उस्तै रफ्तारमा सिर्जना गरिरहेका गौतम शुक्रबार चुनदेवीस्थित निवासमा अलग मुडमा भेटिए, पूरापूर क्वारेन्टाइन मुड । इन्भिजिबल शत्रु कोभिड–१९ सँग जुध्ने सबैभन्दा बलियो उपाय भनेकै सरसफाइ र ऐकान्तिकता भनेपछि उनले राज्यको यो आदेशलाई सतत पालना गरेका छन् ।


हुन त आफ्नो बूढ्यौली उमेर र चिनी रोग, ग्यास्ट्रिक लगायतका व्यथाले पनि गौतम सधैंजसो ‘आइसोलेसन’ मै बस्दै आएका लेखक हुन् । उस्तै रोगबाट ग्रसित आफ्ना सहधर्मी/समकक्षी कवि–लेखक–गायकहरू रोचक घिमिरे, नगेन्द्रराज शर्मा, विनोदमणि दिक्षित, द्वारिका श्रेष्ठ, ध्रुव सापकोटा, बेन्जु शर्मा, बच्चुकैलाश, रत्नशमशेर थापा लगायतलाई पनि आफ्नो उमेर र अवस्थाका आधारमा भाइरस संक्रमणबाट बचेर बस्न गौतमले सन्देश दिन चाहेका छन् ।


‘त्यसमाथि सरकारले पनि सक्दो ऐकान्तिक बनेर बस्नू भनेको छ । मलाई पनि लाग्छ, यो घडी आइसोलेसनमा बस्नैपर्छ । एकदमै कडाइयुक्त क्वारेन्टाइनमै छु म,’ गौतमले भने, ‘सरकारले आतंकित नहुनुस्, सुरक्षा–सर्तकता अपनाउनुस् भनेको छ तर यो सर्तकताको चर्को कुरैले बढी आतंकित भइएको छ ।’


संयोग के भने सुरक्षा–सतर्कताको यो सन्नाटामाझ गौतमका दुई उपन्यास ‘चकमन्नमा एकान्त’ र ‘जेलिएको’ यो साता प्रकाशित भएका छन् । प्रकाशक रत्न पुस्तकका प्रबन्धक गोविन्द श्रेष्ठले घरमै किताब पठाइदिएका रहेछन् ।

‘यहाँ लेखक मात्रै होइन, मेरा उपन्यासहरू पनि क्वारेन्टाइनमै छन् । न विमोचन, न बहस । पहिलोपटक अनौठो अनुभव भैरहेको छ,’ संख्यामा आफ्ना २७ औं र २८ औं उपन्यास पल्टाउँदै गौतमले भने ।


यतिखेर कोभिड–१९ का कारण देश–दुनियाँ ऐकान्तिक बन्दै गएको ‘क्वारेन्टाइन’ सूत्रका कारण ध्रुवचन्द्र केही दिक्क पनि देखिन्थे । ‘हरदम कोरोना, भाइरस, मृत्यु, क्वारेन्टाइन मात्रै सुनिन्छ । न लेख्न सकिएको छ, न पढिएकै छ । सतर्कताको कुरा स्वयं आतंकमयी बनेको छ । टीभी बढी हेर्‍यो, समाचार हेर्‍यो । सिर्जनाका सबै कामकुरा कोरोनाले खायो । पूरै क्वारेन्टाइन छ जिन्दगी,’ ७६ वर्ष नाघेका गौतमले सुनाए, ‘लकडाउन छ सिंगो समय ।’


उपन्यास ‘जेलिएको’ का मूल लेखक ध्रुवचन्द्र र घोस्ट सहलेखक राम उपाध्याय आवरणमा ।


२०६२ सालमा निस्किएको ‘जेलिएको’ उपन्यासको दोस्रो संस्करण अहिले आएको हो । त्यस बेला नेपाल मुद्रण संघले गराएको पाण्डुलिपि प्रतियोगितामा उत्कृष्ट भएर छापिएको ‘जेलिएको’ बिक्री–वितरणमा कतै आएन । केही प्रति लेखकलाई दिइएको थियो, त्यसबाहेक अरू ‘रेकर्ड’ मा रहेन । त्यही भएर दुवै उपन्यास लेखक र पाठकका लागि नवीनतम झैं छन् ।


अक्सर प्रयोग र आविष्कारिक लेखन रुचाउने गौतमको ‘जेलिएको’ उपन्यासमा पनि एक ‘घोस्ट’ सहलेखक छन्– राम उपाध्याय । ‘यसलाई नवीनतम खोजी भन्नुहोस्, इन्नोभेसन अथवा इन्नोभेटिभ जे भने पनि हुन्छ । यो उपन्यासमा लेखक र पात्र सँगै बसेका छन्, कथा भनिरहँदा कथाको पात्र लेखकसँगै बसेको हुन्छ,’ उनले सुनाए, ‘यसकारण त्यो पात्र राम उपाध्याय सहलेखक बनेर आयो । यो कुनै प्रायोजित ढंगबाट आएको होइन कि स्वस्फुर्त आएको हो ।’


‘अलिखित’ उपन्यासका लागि मदन पुरस्कार विजेता गौतमको लेखाइलाई धेरैजसोले ‘प्रयोगवादी’ भन्छन् । उनी भने त्यसलाई ‘प्रयोग’ मात्रै मान्दैनन्, बरु उत्तरआधुनिक चेतसहितको आविष्कारिक–प्रयोग भन्न रुचाउँछन् । पछिल्लोपटक आएको ‘चकमन्नमा एकान्त’ पनि त्यस्तै ‘श्याम–व्यंग्य’ (ब्ल्याक–ह्युमर)’ र ‘अधि–उपन्यास’ (मेटाफिक्सन) ले भरिएको छ ।


‘मेरो दिमागमा अक्सर कुनै न कुनै प्लट रहिरहन्छ । उमेरसँगै प्लट सुक्दै जानु स्वाभाविक हो । कथा/नाटकका प्लट सुकेका छन् । उपन्यासका खाकाहरू त दिमागमा आइरहेकै छन्,’ उनले भने, ‘जेजसरी भए पनि पूर्णकालिक लेखकका रूपमा यही दुनियाँमा समर्पित छु ।’


आधा शताब्दी लामो लेखन र उचाइको नामकाम भए पनि आर्थिक कमाइका आधारमा लेखन क्षेत्र र लेखकीय जीवन सधैंजसो लकडाउनमै रहीआएको उनको अनुभव छ । ‘जीवन निर्वाहका हिसाबमा भने लेखन पूर्णकालिक होइन । प्राध्यापन सेवाको मेरो पेन्सन नआउने हो भने म गरीखाने आधारमा सडकमै हुन्थेँ कि ?’ उनले थपे ।


लेखनकै आधारमा गतिलो नाम बनाइसक्दा पनि अझैसम्म सही र विश्वासिलो प्रकाशक भेट्न मुस्किल परेको अनुभव गौतमसँग छ । ‘कसैले एउटा सम्झौता गराउँछन्, अर्कै काम गर्छन् । कोही किताब छाप्छन् तर सम्पर्कमै आउँदैनन्,’ उनले भने, ‘मजतिको पुरानो र थोरबहुत नामकाम भएकै लेखकको हालत यो छ भने अरूको के होला भन्ठान्छु ।’


२०३० सालमा ‘त्यो एउटा कुरा’ (नाटक कृति) र २०३२ सालमा ‘आकाश विभाजित छ’ संयुक्त उपन्यास प्रकाशन गरेको रत्न पुस्तकले देखाएको सद्भाव र विश्वासका कारण आफ्ना अरू केही कृति पनि यहीँबाट आउन लागेको उनले जानकारी दिए ।


वर्षमा एउटा कृति प्रकाशन गर्ने ‘सिर्जनशील स्रष्टा’ का रूपमा पनि गौतमलाई चिन्निछ । ‘तर मेरो लेखनको एउटा ढब हुन्छ । म नआई लेख्दिनँ, प्लट जम्मा गरेर जबर्जस्ती पनि लेख्दिनँ,’ उनले भने, ‘लेखक खगेन्द्र संग्रौलाले भनेझैं म कनेर लेख्दिनँ र लेखेर कन्दिनँ पनि ।’


गौतमलाई आफ्ना दुई दर्जनभन्दा बढी उपन्यासमध्ये विषय र शैलीका आधारमा पछिल्लो ‘चकमन्नमा एकान्त’ निकै अब्बल लागेको छ । ‘यो चकमन्नमा एकान्तमा अहिलेको लेखन, समाज, राजनीतिको विडम्बना छ । धेरैले भन्ने ब्ल्याक ह्युमर पनि यसमा पर्याप्त छ,’ उनले भने । यसमा चुनदेवीको आफ्नै घर पर्तिरको सडकमा हरेक मध्यरातमा बहकिँदै जाने एउटा मोटरबाइकबाट आख्यान प्लट अघि बढ्छ । एउटै समय, एउटै रीतमा कुद्ने बाइकका आधारमा यो कथा अघि बढेको छ ।

प्रकाशित : चैत्र १६, २०७६ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?