स्वास्थ्यकर्मी नै त्रासमा : ‘फोनबाट सोध्नु, अस्पताल आउनु पर्दैन’
डडेलधुरा — अजयमेरु गाउँपालिकाका हरिदत्त भट्ट सामान्य ज्वरो आएपछि डडेलधुरा अस्पताल पुगेका थिए । कोरोना महामारीका कारण सुनसान रहेको अस्पतालमा भेटिएका एक जना चिकित्सकले उनलाई जाँचेपछि अस्पताल आउनुभन्दा आफ्नो समस्याबारे टेलिफोनबाट सोध्न आग्रह गरे ।
‘चिकित्सक नै त्रासमा रहेछन्,’ भट्टले भने, ‘गाउँघरमा पनि फोनबाट सोध्न भनिदिनु होला भने ।’ धेरै समस्या भयो भने मात्र अस्पताल आउन चिकित्सकले सुझाव दिएको उनले बताए ।
कोरोना भाइरस संक्रमणको त्रास बढेपछि डडेलधुरा अस्पतालमा करारमा कार्यरत दुई जना चिकित्सकले राजनीमा दिएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालका मेसु डा. जगदिशचन्द्र बिष्ट भने पारिवारिक कारणले राजीनामा गरेको बताउँछन् । केही साताअघि मात्र नियुक्त भएका दुवै चिकित्सकले राजीनामा गरेको पनि एक साताभन्दा बढी भएको उनले जानकारी दिए ।
राजीनामा गरेका चिकित्सकको नाम भने डा. बिस्टले बताउन चाहेनन् । उनले भने, ‘लकडाउन हुनुअघि नै उनीहरुले राजीनामा दिइसकेका हुन् ।’ ती चिकित्सक लकडाउनपछि फर्किन सक्ने उनले बताए । ३९ जना चिकित्सकको दरबन्दी भएको डडेलधुरा अस्पतालमा अहिले जम्मा ८ जना छन् । त्यसमा पनि एकजना सुत्केरी बिदामा छन् ।
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको सुविधासम्पन्न भनिएको डडेलधुरा अस्पतालको स्थिति हो यो । अस्पतालमा अहिलेसम्म चिकित्सकले प्रयोग गर्ने विशेष पहिरन, जाँच गर्ने किट्स र अन्य सुविधा छैनन् ।
चिकित्सकले जाँच गर्दा प्रयोग गर्ने केही थान पीपीई भने दुई दिनअघि आइपुगेको अस्पतालले जानकारी दिएको छ । तर जुन स्तरमा कोराना संक्रमण फैलिने आशंका गरिएको छ, त्यो अनुरुप डडेलधुरा अस्पतालमा सामान्य सुविधा समेत छैन । प्रदेश सरकारले अन्य अस्पतालहरुलाई ४ दिनअघि विशेष बजेट पनि दियो तर डडेलधुरा अस्पतालले प्रदेश सरकाबाट पनि कुनै सहयोग पाएको छैन ।
सम्भावित संकटको तयारीबारे अस्पतालका डा. बिष्टले भने, ‘बिरामी जाँच गर्दा प्रयोग गर्ने केही थान कपडा र नमूना संकलन गर्ने केही किट्सबाहेक अरु पुरानै अवस्था हो । ठूलो संख्यामा ज्वरो र कोरोनाको आशंका हुनेखाले लक्षण भएका बिरामी आए छुट्टै ज्वरो क्लिनिक सञ्चालन गर्ने तयारी गरेका छौं ।’ नमूना संकलन गर्ने सामग्रीको तयारी पनि भएको उनले जानकारी दिए ।
डडेलधुरा अस्पताल मात्र होइन, जिल्लाका प्रायः सबै स्वास्थ्यसंस्थामा पनि चिकित्सकहरु त्रासमा रहेका छन । सामान्य ज्वरो, रुघाखोकी, भाइरलका बिरामी आउँदा पनि त्रासका कारण जाँच गर्न अप्ठेरो मान्ने, बिरामीबाट टाढै रहने, बिरामीका लक्षण सोधेपछि मात्र जाँच गर्ने र सकभर बिरामीलाई टार्ने काम स्वास्थ्यकर्मीले गरिरहेका छन् । भागेश्वर स्वास्थ्य चौकीका एक जना स्वास्थ्यकर्मीले भने, ‘जनताको कुरा छोडौं हामी स्वास्थ्यकर्मी नै त्रासमा भएका कारण संकट टार्ने भन्दा आफू कसरी सुरक्षित हुने भन्नेमा बढी चिन्ता छ ।’
प्रकाशित : चैत्र १६, २०७६ १२:२५