स्वास्थ्यकर्मी नै त्रासमा : ‘फोनबाट सोध्‍नु, अस्पताल आउनु पर्दैन’

डीआर पन्त

डडेलधुरा — अजयमेरु गाउँपालिकाका हरिदत्त भट्ट सामान्य ज्वरो आएपछि डडेलधुरा अस्पताल पुगेका थिए । कोरोना महामारीका कारण सुनसान रहेको अस्पतालमा भेटिएका एक जना चिकित्सकले उनलाई जाँचेपछि अस्पताल आउनुभन्दा आफ्नो समस्याबारे टेलिफोनबाट सोध्न आग्रह गरे ।

स्वास्थ्यकर्मी नै त्रासमा : ‘फोनबाट सोध्‍नु, अस्पताल आउनु पर्दैन’

‘चिकित्सक नै त्रासमा रहेछन्,’ भट्टले भने, ‘गाउँघरमा पनि फोनबाट सोध्न भनिदिनु होला भने ।’ धेरै समस्या भयो भने मात्र अस्पताल आउन चिकित्सकले सुझाव दिएको उनले बताए ।


कोरोना भाइरस संक्रमणको त्रास बढेपछि डडेलधुरा अस्पतालमा करारमा कार्यरत दुई जना चिकित्सकले राजनीमा दिएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालका मेसु डा. जगदिशचन्द्र बिष्ट भने पारिवारिक कारणले राजीनामा गरेको बताउँछन् । केही साताअघि मात्र नियुक्त भएका दुवै चिकित्सकले राजीनामा गरेको पनि एक साताभन्दा बढी भएको उनले जानकारी दिए ।


राजीनामा गरेका चिकित्सकको नाम भने डा. बिस्टले बताउन चाहेनन् । उनले भने, ‘लकडाउन हुनुअघि नै उनीहरुले राजीनामा दिइसकेका हुन् ।’ ती चिकित्सक लकडाउनपछि फर्किन सक्ने उनले बताए । ३९ जना चिकित्सकको दरबन्दी भएको डडेलधुरा अस्पतालमा अहिले जम्मा ८ जना छन् । त्यसमा पनि एकजना सुत्केरी बिदामा छन् ।


सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको सुविधासम्पन्न भनिएको डडेलधुरा अस्पतालको स्थिति हो यो । अस्पतालमा अहिलेसम्म चिकित्सकले प्रयोग गर्ने विशेष पहिरन, जाँच गर्ने किट्स र अन्य सुविधा छैनन् ।


चिकित्सकले जाँच गर्दा प्रयोग गर्ने केही थान पीपीई भने दुई दिनअघि आइपुगेको अस्पतालले जानकारी दिएको छ । तर जुन स्तरमा कोराना संक्रमण फैलिने आशंका गरिएको छ, त्यो अनुरुप डडेलधुरा अस्पतालमा सामान्य सुविधा समेत छैन । प्रदेश सरकारले अन्य अस्पतालहरुलाई ४ दिनअघि विशेष बजेट पनि दियो तर डडेलधुरा अस्पतालले प्रदेश सरकाबाट पनि कुनै सहयोग पाएको छैन ।


सम्भावित संकटको तयारीबारे अस्पतालका डा. बिष्टले भने, ‘बिरामी जाँच गर्दा प्रयोग गर्ने केही थान कपडा र नमूना संकलन गर्ने केही किट्सबाहेक अरु पुरानै अवस्था हो । ठूलो संख्यामा ज्वरो र कोरोनाको आशंका हुनेखाले लक्षण भएका बिरामी आए छुट्टै ज्वरो क्लिनिक सञ्चालन गर्ने तयारी गरेका छौं ।’ नमूना संकलन गर्ने सामग्रीको तयारी पनि भएको उनले जानकारी दिए ।


डडेलधुरा अस्पताल मात्र होइन, जिल्लाका प्रायः सबै स्वास्थ्यसंस्थामा पनि चिकित्सकहरु त्रासमा रहेका छन । सामान्य ज्वरो, रुघाखोकी, भाइरलका बिरामी आउँदा पनि त्रासका कारण जाँच गर्न अप्ठेरो मान्ने, बिरामीबाट टाढै रहने, बिरामीका लक्षण सोधेपछि मात्र जाँच गर्ने र सकभर बिरामीलाई टार्ने काम स्वास्थ्यकर्मीले गरिरहेका छन् । भागेश्वर स्वास्थ्य चौकीका एक जना स्वास्थ्यकर्मीले भने, ‘जनताको कुरा छोडौं हामी स्वास्थ्यकर्मी नै त्रासमा भएका कारण संकट टार्ने भन्दा आफू कसरी सुरक्षित हुने भन्नेमा बढी चिन्ता छ ।’

प्रकाशित : चैत्र १६, २०७६ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?