‘असीमित अवसरहरूको देश’ मा एकजोडी नेपाली  

हरि अधिकारी

काठमाडौँ — म विगत दुई वर्षभन्दा केही बढी समयदेखि संयुक्त राज्य अमेरिकाको राजधानी वाशिङ्टन डीसी नजिक पर्ने उत्तरी भर्जिनियाको सेन्ट्रल्भिल् भनिने उपनगरमा बसोबास गरिरहेको छु ।

‘असीमित अवसरहरूको देश’ मा एकजोडी नेपाली  

ऐतिहासिक सेन्ट्रल्भिल् फोर्ट नजिक रहेको ‘एल्म्स्’ नामक आवासीय भवनसमूह परिसरभित्रको २ कोठे अपार्टमेन्टमा छ हाम्रो रैनबसेरा ।

नयाँ गणराज्य नेपालको राजधानी नजिकैको पनौती नगरपालिका वडा नम्बर २, कुशादेवीबाट सात समुद्र पारिको वैभवशाली देश संयुक्त राज्य अमेरिकामा बसाइँ सरेको मेरा छोरा अभिनव अधिकारीको यो सानो परिवारमा अभिनव स्वयम्, उनकी पत्नी सुष्मिता, उनीहरूकी एकमात्र सन्तान बेबी अनुष्का र पाहुना टाइपको देखिने म स्वयं गरी कुल ४ जना छौं ।

केही समय प्रधानमन्त्री शेरबहादुर देउवाको निकटतम् सहायक भएर काम गरिसकेका मेरा छोरा अभिनव अमेरिका आउनुअघि एउटा वित्तीय संस्थानमा उच्चमध्यम तहमा रहेर काम गरिरहेका थिए भने सुष्मिता देशकै शीर्ष कराते खेलाडीका रूपमा स्थापित र प्रशंसित पनि थिइन् । आफ्नो उमेर र तौल समूहकी राष्ट्रिय च्याम्पियन सुष्मिताले करातेका केही अन्तर्राष्ट्रिय स्पर्धामा समेत स्वर्णपदक जितेकी थिइन् । सानै उमेरमा मार्सल आर्ट करातेको क्षेत्रमा उनले जुन सफलता हासिल गरेकी थिइन् त्यो अभूतपूर्व थियो । राज्यले पदकहरू दिएर उनको कदर गरेको मात्र होइन गैरसरकारी संस्था लौहपुरुष गणेशमान सिंह प्रतिष्ठानले समेत उनलाई योङ आइकनका रूपमा सम्मान गरेको थियो ।

मेरा छोरा अभिनव र गोजेरियो करातेलाई नेपालमा ल्याउन र लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेलेका सीताराम कँडेलकी छोरी सुष्मिताले सात वर्ष लामो कोर्टसिप र बधुको परिवारका तर्फबाट भएको केही आनाकानीपछि दुवै परिवारको सल्लाह र सहमतिमा बडो रवाफका साथ बिबाह गरेका थिए । दुवैको प्रेम टुङ्गोमा पुगेर दाम्पत्य जीवनमा बाँधिएपछिको स्थिति पनि उनीहरूको हकमा राम्रै थियो । दुवैजना कामकाजी थिए र आम मध्यमवर्गीय नेपाली युवाजोडीले जस्तै लगन र परिश्रम गरेर दुखजिलो जीवन धान्नसक्ने अवस्थामा थिए उनीहरू ।

त्यो, के हुँदो रहेछ हेरिहालौं न त भन्ने खालको फगत लहडको कुरो थियो कि उनीहरूको हृदयमा नेपाल छोडिहिँड्ने एक प्रकारको हुट्हुटी जन्मिसकेको थियो थियो म भन्न सक्दिनँ तर मेरा छोराबुहारीले डीभी चिट्ठा फारम भर्न शुरू गरेका थिए ती वर्षहरूमा । आखिर उनीहरू थिए त मेरो देशको त्यही अशान्त र अन्यौलग्रस्त युवा पुस्ताका प्रतिनिधि पात्रहरू नै जसले शायद देशमै रहेर अफ्नो र आफ्ना सन्तानका लागि सुखदायी भविष्यको निर्माण गर्न सकिन्छ भन्ने कुरामा विश्वास गर्न पूरै छोडिसकेका थिए ।

नियतिलाई पनि नेपाली युवापुस्ताको यो अब्बल जोडीलाई ढाड भाँच्ने हदसम्मको शारीरिक श्रमको कोलमा लगेर जोतिदिएर तमासा हेर्न मन लागेको हुँदो हो कि कुन्नि ? सुष्मिता कँडेलका नाममा सन् २००९ को डीभी चिट्ठा पर्‍यो । त्यसैका आधारमा उनीहरू आप्रवासी श्रमिक जोडाका रूपमा काम गर्न यो ‘असीमित अवसरहरूको महादेश’ मा आएका हुन् । यो सन् २०१० सालको घटना हो ।

म भने विगत २ वर्ष ३ महिनादेखि छोराको सानो परिवारको एउटा अनुल्लेख्य हिस्साका रूपमा यहाँ बस्दै आएको छु । भिजिटरका रूपमा दुई चार महिना बसेर फर्किनु बेग्लै कुरा हो तर म त ढुक्कै स्थायी बसोवास अनुमतिपत्र समेत लिएर किन यहाँ बसिरहेको छु मलाई थाहा छैन ।

वास्तवमा यस विषयमा आफैँसँग गम्भीरताकासाथ विमर्श गर्ने आँट पनि छैन मसँग । एक्लै हुँदा कहिलेकाहीँ जब यसो घोरिएर सोच्न थाल्दछु त्यतिबेला भने मलाई आफ्नो यो अमेरिका बसाइ एकदम वाहियात लाग्न थाल्दछ । अनि म एउटा मान्छेले जीवनमा सद्धेभन्दा वाहियात काम नै ज्यादा गर्दछ भनेर कुनै ज्ञानी पुरुषले भनेको सुविचारित वाक्य सम्झिन्छु र मनमनै हाँस्छु ।

छोरा अभिनवले सन् २०१० मा र छोरी अनुपमाले सन् २००८ मै यता बसाइँ सारेकाले बाहुनी प्रभाजी र म त्यतिबेलादेखि नै साल दुई साल बिराएर आउने गरेका थियौं भेटघाटका लागि । सोही क्रम धान्नझैं नै यसपटक पनि हामी दुई सन् २०१७ को अन्त्यतिर यता आएका थियौं । हामी यसपटक आउनुपर्ने खासै कुनै जरूरी कारण भने बिलकुलै थिएन । न कुनै उद्देश्य थियो न त प्रयोजन नै । त्यसैले मेरी बाहुनी त ६ महिनाभित्रै फर्किइन् म आफैंलाई अचम्म लाग्छ, मैले भने कसरी हावासमेत पराइजस्तो लाग्ने यस्तो अनात्मीय परिवेशमा लामो समयसम्म बस्ने निर्णय गरें ? र, मैले छोराको सानो परिवारको अनुल्लेख्य जस्तै अंश भएर कसरी यति लामो समय बिताउन सकें ? यो विषय मेरो लागि एउटा बुझ्न नसकिने प्रहेलिका जस्तो भएको छ ।

......

हाम्रो परिवार यस नयाँ घरमा यहाँबाट ६ माइल जति पर पर्ने फेयर्फ्याक्स् सिटीको र्‍याण्डम् हिल्स् भन्ने ठाउँबाट गत सेप्टेम्बर महिना (सन् २०१९) मा सरेको हो । भाडादर र अपार्टमेन्टमा उपलब्ध सुबिधाका हिसाबले निम्न आयवर्गका परिवारहरूका लागि सुहाउने खालको लाग्ने अहिलेको यो अपार्टमेन्ट कम्प्लेक्सको वातावरण पुरानो ठाउँको भन्दा केही शान्त र छिमेकीमैत्री छजस्तो लाग्छ मलाई ।

प्रत्येकमा भाडामा दिन सकिने एउटै ढाँचाका ४ वटा अपार्टमेन्टहरू भएका एकैनासका २ सय वटाभन्दा बढी भवनहरूको यो आवासीय कम्प्लेक्सको वातावरण शान्त छ भन्ने कुरा म मेरो यहाँको छ महिना जतिको बसाइको अनुभवका आधारमा ढुक्कसँग भन्न सक्छु । तर यो ठाउँकै कारणले यहाँको वातावरण छिमेकीमैत्री पनि छ भन्ने निचोडमा पुग्न चाहिँ गार्‍हो छ किनकि अमेरिकी समाज यथार्थमा छिमेकीमैत्री हुन सक्छ कि सक्दैन भन्ने कुरामा नै मेरो मनमा गम्भीर द्विविधा रहेको छ ।

यो द्विविधाले मलाई मात्र गाँजेको भने होइन । जीवनभर आफैंमा खुम्चिएर बाँच्न अभ्यस्त प्रत्येक अमेरिकीको मनमा जमठ भएर बसेको छ यो द्विविधा । मेरो ठम्याइमा एक आम अमेरिकीले जिजसलाई साक्षी राखेर, पूरा निष्ठा र विश्वासका साथ, आफू छिमेकीमैत्री भएको दावी गर्न सक्दैन ।

अमेरिकामा विकास गरिएका हरेक आवासीय क्षेत्रहरूमा जस्तै हाम्रो एल्म्स् अपार्टमेन्ट कम्प्लेक्समा पनि पूरा दिन, अर्थात् २४ घण्टा नै चहलपहल रहन्छ । दैनिक ज्याला (नेपाली अमेरिकनहरूको भाषामा घण्टे जागिर) मा काम गरेर जीवनवृत्ति चलाइरहेकाहरूको बाहुल्य भएको यस आवासीय क्षेत्रमा बिहान सवेरै, साँढे ३ वा ४ बजेदेखि काममा जान निस्किनुपर्ने महिला पुरुषहरूको चटरमटर र गाडीहरूको घार्घुरबाट जीवनको उद्बोधन शुरू हुन्छ । त्यसरी सखारैदेखि जाग्रत हुने यहाँका मानिसहरूको दिन कुनबेला अस्ताउँछ र कुनबेला अर्को दिनको उदय हुन्छ, त्यो भने कसैलाई पनि थाहा हुँदैन । यहाँ बस्ने हरेक व्यक्ति आफैंमा मग्न, आफ्नै किसिमको हतारोमा, प्राय एक्लो र आफैंसँग गुन्गुन गर्दै समयलाई बलैसँग टुक्रयाएर चपाइरहेको देखिन्छ हरपल ।


यी आत्मकेन्द्रित र अत्यन्त एकांकी मानिसहरूका बीच जम्काभेट हुने अवसर आउँदै नआउने चाहिँ होइन । हाम्रो आवास क्षेत्रभन्दा केही माइल पर रहेको सेन्ट्रल् रिज् एलिमेन्ट्री स्कूलको बस यहाँबाट त्यस विद्यापीठमा पढ्न जाने नानीहरूलाई लिन प्रत्येक दिन बिहान करीब ८ बजे अपार्टमेन्ट कम्पाउन्डको गेट अगाडि आउने गर्छ । नानीहरूलाई बससम्म पुर्‍याउन आउने अभिभावकहरू त्यो बस त्यहाँबाट हिँड्ने समय ८ः१० सम्म त्यहाँ पुगिसक्छन् । त्यस क्रममा ती अभिभावकहरूका बीच देखादेख हुन्छ, देखादेख भएपछि बाध्यताले नै किन नहोस् चिसो प्रकारको हाई हेलो पनि गर्दछन् तिनीहरू । तर, ती आपसमा आत्मीय किसिमले गफ गरिरहेको कहिल्यै भेटिँदैनन् । केटाकेटीहरूका लागि बनाइएको खेल्ने ठाउँ र प्रातः भ्रमणको बाटोमा पनि प्रायः जम्काभेट हुन्छ मानिसहरूको । तर त्यतिबेला पनि तिनीहरू आपसमा कुराकानी गर्न संकोच नै देखाउँछन् । त्यस्ता अवसरहरूमा झ्वास्स भेटिएका तिनका ओठका कुनाकानीतिर हो कि होइन जस्तो लाग्ने मुस्कानको पातलो धर्सो भने अवश्य पनि कोरिएको देखिन्छ ।

हाम्रो अपार्टमेन्ट कम्प्लेप्स्को ठीक पारिपट्टि सधैँजसो गुल्जार रहने एउटा बजार छ । त्यो बजार मात्रै त्यस इलाकामा रहेको त्यस्तो एउटा ठाउँ हो जहाँ पुग्ने मानिसहरू अलिकति भए पनि खुशीजस्ता र आपसमा अलि खुलेर हेलमेल गरिरहेका भेटिन्छन् । ‘सेन्ट्रल्भिल फोर्ट मार्केट’ नाम गरेको त्यस बजारमा पाँच छ वटा चाइनिज् र कोरियन रेस्टुरेण्टहरू, दुइटा अमेरिकन बिस्ट्रो र बेकरी क्याफे, रेड रक नाम गरेको एउटा इटालियन पब, दुइटा सैलुन र नेल स्पा, दुइटा सामुदायिक ब्याङ्कका शाखाहरू, डोमिनो पिज्जाको एउटा आउटलेट, एउटा लण्ड्रीमेट अनि एच्मार्ट नामक कोरियन डिपार्टमेन्ट स्टोरजस्ता व्यावसायिक उपक्रमहरू छन् । ती व्यावसायिक उपक्रमहरूमध्ये पनि रेड रक नामक इटालियन पब विशेष रूपमा उल्लेखनीय छ । सुलभ दरमा खाँटी मेक्सिकन टकिला उपलब्ध गराउँदै आएको दावी गर्ने त्यस पबमा हरेक दिन अपरान्हदेखि नै ग्राहकहरूको भीड लाग्न थाल्छ ।

पिउने र पिलाउने, त्यसमाथि भीडभाडवाला सार्वजनिक ठाउँ भएकाले रेड रक पबमा अलिअलि होहल्ला सधैँ नै हुने गर्छ । पबको खुल्ला वातावरणमा धक फुक्ने भएर हो कि कसो, रेड रकमा पिउन जानेहरू कतिपय अवसरमा मध्यमभन्दा अलि माथि सुनिने चर्को स्वरमा वादविवाद गर्दछन् । त्यस्तो विवादले कुनै अप्रिय स्थितिलाई निम्त्याएको भने अहिलेसम्म देखिएको छैन । पब व्यवस्थापनले मुख्य डाइनिङ हलभन्दा बाहिरपट्टि एउटा सानो ठाउँ निकालेर त्यसलाई चुरोट खान मिल्ने कुनो अर्थात् ‘स्मोकिङ् जोन’ बनाइदिएको छ । रेस्टुरेन्टमा स्मोकिङ् जोन बनेको पहिलो दिनदेखि नै त्यस पबको सबैभन्दा लोकप्रिय ठाउँ बन्न पुगेको छ । रेड रक यौन विभेदबाट मुक्त छ, त्यस पबका ग्राहकहरूमा स्त्री पुरुष बराबर जस्तो नै हुने गर्दछन् । मेक्सिकन डढुवाको तीखो आँचमा आफ्नो व्यथित आँतलाई जलाएर सांसारिक दुखको दंशलाई बिर्सिने प्रयास गर्नेहरूका बीच लिङ्गको कुनै मतलब हुँदो रहेनछ अमेरिकामा ।

.....

बडो खेदको विषय, कोभिड १९ को महामारीले संयुक्त राज्य अमेरिकालाई बिस्तारै बिस्तारै गाँज्दै लैजान थालेपछि मेरो छिमेकको त्यो गुल्जार बजार ठप्प भएको छ । पछिल्लो समय म जान र रमाउन थालेको रेड रक पब पनि बन्द गरिएको छ । त्यसभन्दा दुई चार घर उताको एच् कार्ट भनिने कोरियन डिपार्टमेन्टल स्टोरमा मुर्दा शान्ति फैलिएको छ अहिले । स्टोर सँगैका नेल स्पा र हेयर कटिङ सेलूनहरूले आआफ्ना दोकानका सटर झारेका छन् । परिवेशमा चकमन्नता व्याप्त छ र सितिमिति आपसमा घुलमिल हुन नचाहने अमेरिकी छिमेकीहरू महामारीको भय बाक्लिएपछि आफैंमा अझै बढी खुम्चिएका छन् ।

यी पंक्तिहरू तयार गरिरहँदा दुनियाँको चक्रवर्ती महाशक्तिराष्ट्र संयुक्त राज्य अमेरिका कोरोना भाइरसको यस विश्वव्यापी प्रकोपबाट सबैभन्दा बढी पीडित हुने राष्ट्र बन्नेतर्फ तीव्र गतिमा अघि बढिरहेको देखिन्छ । पछिल्लो तथ्यांकअनुसार भाइरसबाट संक्रमितहरूको सर्वाधिक संख्याका हिसाबले अमेरिका अहिलेसम्म त तेस्रो छ तर यसको ठूलो जनसंख्या र महामारीको संक्रमणको गतिलाई हेर्दा यो छिट्टै नम्बर १ हुने डर पैदा भएको छ ।

दैबको लाठीको यो निर्मम प्रहारबाट बँच्ने प्रभावकारी उपाय पहिल्याउन नसकेर अमेरिकाका चक्रवर्ती राष्ट्रपति डोनाल्ड ट्रम्प असहायझैं देखिएका छन् । उनले मुस्कुराउन नै बिर्सिएको जस्तो लाग्छ । असफलताको यो दंशले बेसुधझैं भएका उनले आफ्नो स्वभावको क्षुद्रताको वशीभूत हुनु पर्दछ, कोरोनाभाइरसलाई आफ्नो प्रत्येक औपचारिक सम्बोधनमा ‘चाइनिज भाइरस’ भन्ने गरेका छन् । यसो भनेर उनले कुन विचारविन्दु प्रस्तुत गर्न वा सन्देश प्रवाह गर्न खोजेका हुन् उनी नै जानुन् । तर उनले प्रयोग गर्ने गरेको यो वाक्यांशलाई कसैले पनि राम्रो मानेका छैनन् । अर्कोतिर उनको प्रशासन कोरोनाभाइरसको फैलावलाई बढी विस्तारित हुन नदिन र यसलाई काबूमा ल्याउन असफल हुँदै गएको आभाष हुन थालेको छ । कोरोना भाइरसको प्रसारलाई रोक्न हिम्मतका साथ पूरा राष्ट्रलाई केही समयसम्म ‘लकडाउन’ गर्नुपर्ने दायित्वबाट पनि उनी चुकेका छन् ।

मेरा दुइटा सन्तान र मलाई समेत आश्रय दिइरहेको यो महान् राष्ट्रका जनताको असहायपना देखेर मेरो हृदय विदीर्ण बनेको छ । अर्कोतिर मेरो देश नेपाल अहिलेसम्म यो महामारीबाट बच्न सफल भएको देखेर मेरो छाती गर्वले फराकिलो भएको छ । कोरोना भाइरसबाट जनतालाई जोगाउन नेपाल सरकारले जुन सतर्क कदमहरू चालेको छ तिनलाई सफल बनाउन सबैले खुल्ला मनले सहयोग पुर्‍याउने छन् भन्ने मेरो विश्वास छ । नेपालका लागि खतरा भारतबाट हुनसक्ने संक्रमणबाट सबैभन्दा बढी छ । त्यसैले भारतसँग जोडिएका सीमानाकाहरूलाई कडाइका साथ बन्द गर्नुको कुनै विकल्प छैन । सरोकारवालाहरू सबैलाई बेलैमा चेतना भया ।

प्रकाशित : चैत्र १६, २०७६ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?