गायिका अन्जु पन्तको लकडाउन डायरी 

काठमाडौँ — कोरोनाको महामारी फैलिएपछि अन्य देशले ‘लकडाउन’ र ‘कर्फ्यू’ लगायो । तर, हाम्रो सरकारलाई किन चिन्ता भएन भन्ने भइरहेको थियो । तर, सरकारले चैत ११ देखि ‘लकडाउन’ गरेपछि खुशी भएँ ।

गायिका अन्जु पन्तको लकडाउन डायरी 

त्यतिखेर नयाँ गीत रेकर्डिङ गर्ने तयारीमा थिएँ। लकडाउनपछि सबै ठप्प भयो ।

काममा धेरै व्यस्त हुन्छु । अहिले परिवारका लागि समय पाएकी छु । हर समय परिवारसँगै हुन्छु । यसअघि त म बिहान ७ बजे निस्कन्थे, कहिले १२ बज्थ्यो घर आइपुग्दा । गीत रेकर्डिङ, सुटिङ अनि मिटिङमै व्यस्त हुन्थें ।

डिभोर्स भइसकेपछि कहिल्यै एक्लै बसिनँ । परिवारका सदस्य एकजना सधैं मसँग बस्नहुन्छ । घरमा एकलकाँटे भएर बस्न मन लाग्दैन । बरु फुर्सदको बेला आफैं सबैलाई घरमा आउन निम्तो दिन्थें । त्यही भएर मेरो दिदीहरु घर आइरहनुहुन्छ । अहिले घरमा दिदीको छोरा, जेठी दिदीको छोरा, बहिनी, जेठी दिदी, मेरी छोरी परितोसिका अनि म छौं ।

अरुबेला घर बस्दा उपलब्धिमूलक काममा व्यस्त हुन्थें । छुट्टीको दिन सबैलाई मिठो पकाएर खुवाउने गर्थें । अहिले त दिदी र बहिनीले मिठो पकाएर खुवाउनुहुन्छ । अब पकाउने–खाने त हो, अरु के नै गर्नु छ र !

मेरो घर भैसेंपाटीमा छ । घर वरपर फाँट नै फाँट छ । बगैंचा, करेसाबारी छ । कुखुराको खोर बनाउन खोजिरहेको छौं । कसैले करेसाबारीमा काम गर्ने, कसैले खाना पकाउने, कोही सपिङ गर्न जाने, एकदम रमाइलो हुन्छ । आज चौथो दिनमा पनि केही फरक छैन । दिनहरु उस्तै छन्, नौलो खास छैन ।

बिहान उठेपछि नित्यकर्म । त्यसपछि प्रभुसँग प्रार्थना गर्छु । छेउमा डाँडा छ मर्निङवाक जान्छु । त्यसपछि घरको सजावटमा ध्यान दिन्छौ । युट्युबबाट विभिन्न कुरा सिकिरहेका हुन्छौं । हामी घर परिवार केही न केही उपलब्धिमुलक काम नै गरिरहेका छौं ।

सानो जग्गा भए पनि गोडमेल गरेरै दिन दिन बित्छ । गोडमेल गर्ने, केही रोप्ने गर्छौं । करेसामा मेथीको साग, चम्सुर, पालुगों, धनियाँ, लसुन, रायो, तोरीको साग रोपेका छौं । घरको पछाडिको भागमा हिजोमात्रै मल राखेको छु । अब त्यहाँ मकै छर्ने तयारी छ ।

१० बजे उठे पनि ५ बजे उठे पनि, नो प्रबलम । कतै समयमै पुगिहाल्नु पर्ने तनाव नहुने । बिहानको साँढे पाँच बजेतिर कागले उठाउँछ । काग पनि क्वारेन्टाइन मनाउन आउँछ । मेरो घरको चारैपट्टी ऐना छ । आफ्नै प्रतिरुप देखेर होला, बिहानै सिसा ठुङ्न आउछन् । दिउसोसम्म यस्तै गरिरहन्छ । हाम्रो दिन त त्यही काग धपाएरै जान्छ ।

जस्तो परिस्थिति छ त्यही परिस्थितिमा खुशी अनि सकरात्मक हुने मेरो बानी छ । त्यसैले के गरौं, कसो गरौं, कहाँ जाऔं, अत्यास लागेको छैन । छटपटी भाको छैन । मेरा विभिन्न एल्बम अनि फिल्मका गीतहरु आउँदैछन् । त्यही गीतहरुको अभ्यास गर्छु । माइक लिएर गीत गाउन बस्नुमात्रै पर्छ । सब परिवार मेरो गीत सुन्न आउनुहुन्छ । उहाँहरु दर्शक बनिदिनुहुन्छ । साथ दिनुहुन्छ । घरलाई नै स्टेज बनाइरहेको छु अहिले त । म त जहाँ जान्छु, त्यही नै स्टेज बनाउँछु नि ।

अहिले छोरीसँग पनि समय बिताउन पाएर खुशी छु । तर नानीलाई चाहिँ घरमा दिन–दिनै बसेर अल्छीलाग्दो हो । अलिकति चिन्ता पनि हुन्छ । तर अर्कोतर्फ सोच्छु हातैमा नेट छ । त्यहीबाट उसलाई इन्स्ट्रुमेन्ट अनि डान्स सिक्न उत्साह दिन्छु । नानीले युट्युबमा हेरेर के–के पकाउँछिन् । उनलाई कस्तो राम्रो आउँदो रहेछ । म त छक्क परेको । सबै सिकिसकेकी रहिछन् । गीत सुन्छिन्, गाउँछिन् । यो खाली समयमा उसका यस्तै स्वभावहरुसँग रमाउँदैछु ।

कहिले फिल्म हेर्छु । ऐतिहासिक फिल्महरु, यस्तै महामारीसम्बन्धि फिल्महरु हेर्छु । बिहानदेखि उठेर यो–यो गर्ने भनेर सेड्यूल छैन । मुडी खालको छु । जतिखेर गीत गाउन मन लाग्यो, गाइदिन्छु । गीत गाउन मन लाग्यो भने १२ बजे पनि गाइदिन्छु । साबुनपानीले पटक–पटक हात धुन्छु ।

म त जस्तो अवस्थामा हुन्छु, त्यसलाई अर्थपूर्ण र रमाइलो बनाउन खोज्छु । ७ दिन होइन १ महिनासम्म एउटै कोठामा लगेर थुनिदिनुभयो भने त्यो पनि ठीकै छ। वनमा लगेर राखे पनि ठीकै छ। गोठमा लगेर राखे पनि ठीकै छ । चन्द्रमा लगेर राखे पनि त्यो पनि ठीक छ ।


भैसेंपाटी पहिलाभन्दा शान्त भएको छ । लकडाउन त खासमा मेरो लागि एकदम विशेष बनिरहेको छ । हुन त भयावह स्थिति छ, भोलि के हुन्छ कसैलाई थाहा छैन । कोरोनाले केही गर्ला कि भन्ने चिन्ता त लाग्छ तर एक किसिमको निर्धक्कता पनि छ । कोरोनाले धेरै तहसनहस नगर्ला भन्ने लाग्छ । अन्य देशका खबर सुन्दा मन चसक्क घोच्छ । प्रार्थना गर्छु ।


म फ्रेन्ड्ली भएर होला, सबैजना मसँग खुलस्त हुनुहुन्छ । दिक्दार लागेको छैन । राती डाँडामा टहल्न जान्छौं अनि ११ बजेभित्रमा सुतिसक्छु ।


(प्रस्तुति : रीना मोक्तान)

प्रकाशित : चैत्र १५, २०७६ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?