कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

पीपीई बनाउँदै डाक्टर

‘आफैं पीपीआई किट बनाउन थालेपछि कोरोना भाइरससँग डराउने नभई लड्ने आत्मबल मिलेको छ’–डा. नवराज केसी
कलेन्द्र सेजुवाल

(सुर्खेत) — कोरोना भाइरसको त्रास बढेपछि स्वास्थ्यकर्मीको साझा चिन्ता छ– उपचार गर्दा लगाउने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) छैन, कसरी काम गर्ने ?

पीपीई बनाउँदै डाक्टर

कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा. नवराज केसीलाई पनि यस्तो चिन्ताले नसताएको होइन । त्यसैले त उनकै अगुवाइमा मंगलबार अस्पतालका ११ जना चिकित्सकले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै सुरक्षा सामग्रीको प्रबन्ध मिलाउन सरकारलाई अनुरोध गरेका थिए ।


केसीले विज्ञप्ति त जारी गरे । तर, उनलाई लाग्यो– यस्तो बेला हामी आफैंले पनि केही गर्नुपर्छ । त्यसपछि व्यक्तिगत पहलमा थाले– पीपीई किट बनाउने काम । ‘डब्लूएचओ (विश्व स्वास्थ्य संगठन) को मापदण्डअनुसार बनाउन नसकिए पनि तत्कालका लागि उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई विश्वस्त हुने गरी पीपीई तयार पारेका छौं,’ उनले भने, ‘यसले कर्णालीमा बाहिरबाट आएन भनेर बस्नुपर्ने अवस्था रहेन ।’


डा. केसीका अनुसार यो पीपीई पानी र हावा नछिर्ने कपडाबाट बनाइएको छ । किटमा गाउन, मास्क र क्याप छन् । कोरोनाको संक्रमण थुक तथा खकारबाट सर्ने भएकाले धेरै हदसम्म फलदायी हुने उनको विश्वास छ । तैपनि यसको परीक्षणका लागि उनले नेपाल मेडिकल काउन्सिलमा पठाएका छन् । काउन्सिलले मान्यता दियो भने कर्णालीमा उपचारका लागि ढुक्कको अवस्था आउने उनको विश्वास छ । ‘डब्लूएचओ मापदण्डको भएन भने पनि बाहिरबाट नआउन्जेल काम गर्न रोकिनुपर्ने वा डराउनुपर्ने अवस्था आउने छैन,’ उनले भने ।


डा. केसीले व्यक्तिगत रुपमा १ लाख रुपैयाँबाट यहीँको देउती होजियारी उद्योगमा पीपीई उत्पादन सुरु गरेका हुन् । हालसम्म करिब २ सय सेट उत्पादन भइसकेको छ । कम्तीमा एक हजार सेट उत्पादन गरेर कर्णालीका स्वास्थ्य संस्थामा नि:शुल्क वितरण गर्ने उनको योजना छ । एक सेट किट बनाउन करिब एक हजार रुपैयाँ खर्च लाग्छ । केसीको अभियानमा एनआरएनए कोरिया ग्रुप र सुर्खेतको लायन्स क्लब सेरोफेरोले हातेमालो गरेका छन् ।


कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि २ हजार थानका लागि आवश्यक बजेट दिने प्रतिबद्धता व्यक्त गरेको डा. केसीले बताए । ‘हामीसँग स्रोतसाधन छैन भनेर बस्नुभन्दा समयमै उपयुक्त विकल्प खोज्नुपर्छ भन्ने मान्यताले मलाई यो काममा प्रेरित गरेको हो,’ उनी भन्छन्, ‘यसले कोरोना भाइरससँग डराउने नभइ लड्न आत्मबल दिएको छ ।’


डा. केसी यो अभियान कोरोनाको क्षणिक प्रतिकार्य योजनाभन्दा पनि ‘स्थानीय स्तरमा हामी कसरी स्ट्ेरन्थ (बलियो) हुने’ भन्ने पक्षसँग बढी सम्बन्धित रहेको बताउँछन् । कोरोनाको संक्रमणमात्र होइन, भोलि आइलाग्ने जोखिममा यसले आत्मनिर्भर बन्न सघाउने उनको भनाइ छ । ‘कोरोनाको त्रास कति लम्बिन्छ अहिल्यै भन्न सकिने अवस्था छैन, भोलि यस्तैखाले अरु महामारी पनि आउन सक्छन्,’ उनले भने, ‘यस्तो अवस्थामा बाहिरबाट आउने साधनस्रोतको मुख ताकेर कति बस्ने ?’


डा. केसीले उत्पादित पीपीआई किट जिल्लाहरुमा पठाउन सुरु गरिसकेका छन् । सुर्खेतका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाका साथै जुम्ला, दैलेख, सल्यानलगायत ठाउँमा किट गइसकेका उनले बताए । यस्तो किट संक्रमित व्यक्तिको उपचारका बेलामा भन्दा रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई बढी उपयोगी हुने उनको भनाइ छ । ‘संक्रमित स्थानमा जाने सुरक्षाकर्मी, पत्रकार र बिरामीका कुरुवालाई पनि यो किट प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘संक्रमण देखिइहाल्यो भने बाहिरबाट ल्याएर धान्न सकिँदैन, त्यसैले हामी आत्मनिर्भर हुनुको विकल्प छैन ।’ लकडाउनका कारण कच्चा पदार्थ आयातमा समस्या हुँदा उत्पादन कार्य प्रभावित हुनसक्ने उनले बताए ।


डा. केसी किट उत्पादनमा मात्र होइन, वितरण र सचेतना अभियानमा पनि आफैं हिँडिरहेका छन् । बुधबार ‘लकडाउन’ बीच उनी बबईस्थित हेल्थ डेस्क पुगेर त्यहाँका स्वास्थ्यकर्मीलाई पीपीई किट दिएका थिए । उनको प्रशंसा गर्दै स्थानीय लक्ष्मीनारायण बस्नेतले फेसबुकमा लेखेका छन्, ‘स्वास्थ्यकर्मी स्वस्थ रहे पो जनता निरोगी हुन्छन्, स्वास्थ्यकर्मी नै रोगी बने हजारौं जनता रोगी हुन्छन् भन्ने मान्यताका साथ डा. केसीले थालेको अभियानमा सबैले साथ दिऔं ।’


डा. केसी कार्यरत प्रदेश अस्पतालमै पीपीईको अभाव छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. डम्बर खड्काका अनुसार हाल अस्पतालमा डब्लूएचओको मापदण्डअनुसारका पीपीई चार सेट मात्र छन् । भोलि केही गरी संक्रमण देखिहाल्यो भने यसले त एक दिनलाई पनि नपुग्ने उनको भनाइ छ । यस्तो अवस्थामा डा. केसीको अगुवाइमा भएको पीपीआई उत्पादन कार्यले राहत मिल्ने उनले बताए ।


टेलिमेडिसिन पनि

सामाजिक कार्यमा सक्रिय डा. केसीले पीपीआई उत्पादनसँगै कर्णालीका स्वास्थ्य संस्थामा टेलिमेडिसिन सेवा पनि सुरु गर्ने तयारी गरेका छन् । उनकै पहलमा करिब एक वर्षअघि भिडियो कन्फ्रेन्स पद्धतिको सहायताले कर्णालीका विकट गाउँका स्वास्थ्य संस्थामा टेलिमेडिसिन सेवाको परीक्षण भइसकेको छ ।


पहिलो चरणमा कालीकोट र जाजरकोटका पाँचवटा स्वास्थ्य संस्थामा सेवा परीक्षण भएको थियो । ‘कोरोना संक्रमणको त्रासमा यो पद्धति अझ बढी प्रभावकारी हुन सक्छ, त्यसैले प्रदेश सरकारको सहयोग र समन्वयमा हामीले काम सुरु गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘टेलिमेडिसिनमार्फत् गाउँमा रहेका स्वास्थ्यकर्मीले प्रदेश राजधानी रहेका चिकित्सकबाट आवश्यक परामर्श गरी रोगको निदान र उपचार गराउन सक्नेछन् ।’ कर्णालीमा अहिले करिब ३ सय स्वास्थ्यचौकी छन् । सम्भव भएका ठाउँमा शनिबारदेखि सेवा सुरु गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।


सामाजिक अभियन्ताको छवि

डा. केसीको सामाजिक कार्यको यात्रा कोरोना भाइरसको बेला सुरु भएको होइन । उनले करिब ५ वर्षदेखि आफूलाई समाजसेवामा लगाइरहेका छन् । ‘चिकित्सकले व्यक्तिमा लागेको रोगको मात्र होइन, समाजले खेपिरहेको रोगसमेत पहिचान गरी त्यसको समाधानमा लाग्नुपर्छ भनेर हामीले अभियान थालेका हौं,’ उनी भन्छन्, ‘यो हाम्रो नितान्त स्वयंसेवी कार्य हो ।’


उनले ‘सफा र हरियाली सुर्खेत’ र  ‘बाल स्वास्थ्य सुधार’ अभियान चलाएका छन् । यसको लागि विङ्स फाउन्डेसन स्थापना गरेका छन् । यसले देशी–विदेशी दातृ निकायबाट कुनै खाले सहयोग लिँदैन । चार वर्षअघि स्थापित फाउन्डेसनमा समाजसेवाको भावना भएका स्वास्थ्यकर्मी र अन्य पेसाकर्मीले आफ्नो आम्दानीको निश्चित रकम जम्मा गर्छन् । केसीले आफूले पाउने सम्पूर्ण तलब सोही फाउन्डेसनलाई दिन्छन् । ‘स्वास्थ्य सेवालाई जागिरका रूपमा लिने कि धर्मका रूपमा भन्ने प्रश्न मैले आफैंलाई गरें र धर्मका रूपमा लिनुपर्छ भन्ने लाग्यो,’ उनी भन्छन्, ‘त्यसैले मैले जागिरबाट पाउने पूरै तलब सेवामा खर्च गरेको छु ।’


फाउन्डेसनले अपांगता भएका बालबालिकालाई नि:शुल्क उपचारसँगै विभिन्न सहयोग गर्छ । बालबालिकालाई लाग्ने रोगको प्रमुख कारक प्रदूषित वातावरण भएको निष्कर्षपछि सुर्खेतबाट ‘गो ग्रिन, क्लिन सुर्खेत’ अभियान सुरु गरिएको उनले बताए । फाउन्डेसनले वीरेन्द्रनगरमा चेतनामूलक सरसफाइ कार्यक्रम गर्नुका साथै ठाउँठाउँमा फोहोर राख्ने भाँडा (डस्टबिन) पनि राखेको छ । केसीको अगुवाइमा प्रत्येक साता हुने सरसफाइ अभियानमा यहाँका स्वास्थ्यकर्मी, विद्यार्थी, व्यवसायीसमेत लामबद्ध हुने गरेका छन् । केसीले वीरेन्द्रनगरमा व्यक्तिगत लगानीमा पुनस्र्थापना केन्द्रसमेत स्थापना गरेका छन् । त्यहाँ विभिन्न कारणले हिँडडुल गर्न नसक्ने बालबालिकाको नि:शुल्क उपचार हुँदै आएको छ 

प्रकाशित : चैत्र १४, २०७६ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?