१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गगन थापाको लकडाउन डायरी

गगन थापा

काठमाडौँ — बाहिरफेर निस्केर गरिने सबैका गतिविधिमा लकडाउनले रोक लगाएको छ । सरकारले कुनै राजनीतिक कारणले यस्तो गरेको भए प्रतिपक्षी दल कांग्रेसका नेता गगन थापा चर्का कुरा गरिरहेका हुन्थे ।

गगन थापाको लकडाउन डायरी

संक्रमणविरूद्धको सतर्कताका लागि यो जरूरी थियो भनेर उनैले भनिसकेका छन्, नाता विपक्षका नेता हुनुको मात्रै नभइ पूर्वस्वास्थ्य मन्त्री हुनुको पनि हो।


लक डाउनको चौथो दिन उनले आफ्नो फेरिएको दैनिकी कान्तिपुरका कुलचन्द्र न्यौपानेलाई सुनाए :


संसद, पार्टीका भेला-बैठक, भेटघाटहरू सबै बन्द छन् । कोभिड १९ भाइरस मानिसको आवतजावतबाट धेरै ठाउँमा फैलिने भएकाले हामी सबै घरभित्रै रहनु आवश्यक छ । सरकारले गरेको लकडाउन जरुरी थियो ।


लकडाउनले म पनि घरभित्रै छु । बाहिरफेर हिँडडुल गर्न नपाए पनि मेरो दिनचर्यामा व्यस्तता घटेको छैन । घरै बसेर पनि नेता-कार्यकर्ता र सञ्चारमाध्यमसँग कुरा गरिरहेको छु। पहिले प्रत्यक्ष भेटघाटमा गरिने कुराकानी अहिले फोनबाट गरिरहेको छु। दिनमा दुई सयदेखि तीन सय वटा फोन उठाउँछु। कुनै फोन साथीभाइका हुन्छन्, कस्तो छ अवस्था? सुरक्षित छ कि छैन भनेर सोध्छन् ।


धेरैजसोचाहिँ कार्यकर्ता र सर्वसाधारणका हुन्छन् । कसैले कहाँ के भएन भन्नुहुन्छ, कसैले यसो गर्नुपर्यो भन्नुहुन्छ । अघि भर्खरै ताप्लेजुङबाट थर्मामिटर पठाइदिनुपर्यो भनेर फोन आएको थियो।


खाली घरबाहिर निस्किएको छैन भन्ने मात्र हो, कामचाहिँ घरबाट उत्तिकै गरिरहेको छु । काठमाडौंको रातोपुल नजिकै घरमा छु । म प्राय: राति १० बजे सुत्छु, बिहान ५ बजे उठ्छु । पहिले त बिहानैजसो घरबाट निस्किइन्थ्यो। घरमा खानाखाने मौका थोरैमात्र मिल्थ्यो । धेरैपछि लकडाउनले गर्दा दुवै छाक घरमै खान पाइएको छ । हामी ९ जनाको परिवार छौं। सबै जम्मा भएर खाना खाँदा रमाइलो पनि लागेको छ। एकदमै खराब समयमा पनि केही न केही राम्रो कुरा हुन्छ नि, यो त्यस्तै भएको छ ।


दिउसो एकछिन छोरीहरुसँग पनि खेल्न पाइएको छ । मेरा दुई छोरी छन् । उनीहरुले चाहेजस्तो समय त दिन पाइदैन, फोनले गर्दा तैपनि म समय निकाल्ने कोशिष गरिररहेको हुन्छु। बच्चाहरुलाई मनोवैज्ञानिक त्रास पर्न नदिन कथा भन्ने, खेल्ने, अनुशासनका कुराहरु सिकाउने काम गर्छु ।


गत मंगलबार अघिसम्म पार्टीको आसन्न महाधिवेशनकै चटारो थियो । कोभिड-१९ को संक्रमणको जोखिम बढेपछि मैले मेरो ध्यान यतैतिर लगाएँ । थुप्रै ठाउँमा गएर बोलें । सरकारलाई लिखित सुझावहरु पनि दिएँ । संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पनि लगें ।


अहिलेको मेरो चासो नेपाली जनतालाई कसरी सूसुचित बनाउन सकिन्छ भन्नेमा छ। जनतालाई सूसुचित र सरकारलाई उत्तरदायी बनाइयो भने हामी यस महामारीसँग लड्न सक्छौं । यसैले आवश्यक पर्दा राज्यका निकाय र आम नागरिकका समस्याबीच समन्वय पनि गरिरहेको छु ।

सामाजिक संजालमार्फ संचेतनापूर्ण सामाग्री दिइरहेको छु । दैनिक आधा दर्जनजसो टेलिभिजन र एफएममा अर्न्तवार्ता पनि भइरहेका छन् । कसरी जनताको मनोबल बढाउन सकिन्छ भन्नेमा पनि मेरो ध्यान छ ।


बिहीबार राति मेरो आफ्नै निर्वाचन क्षेत्रका एक महिलाको डेलिभरीको समस्या भयो । आकस्मिक अपरेसन गर्नुपर्ने भयो । त्रिवि शिक्षण अस्पतालमा भर्नादेखि चिकित्सक मिलाउनेसम्ममा हामीले सहजीकरण गर्न सक्यौं ।


लकडाउनमा फुर्सदिलो भइन्छ, धेरै किताब पढ्नु पर्छ भन्ने सोच अरुमा जस्तै ममा पनि थियो । पढ्न नभ्याएका दर्जनौं पुस्तक मेरो आँखा अगाडि नाचिरहेका थिए । लकडाउनको आज चौथो दिन बित्दै गर्दा ती पुस्तक टेबुल र र्‍याकबाट हातमा आइसकेका छैनन् । बरु, संसारमा नयाँ कुरा के भइरहेको छ, कोरोना भाइरसबाट जोगिन संसारले कस्तो उपाय अपनाउँदैछ भन्ने बारेमा विभिन्न न्यूज पोर्टल, अर्न्तराष्ट्रिय सञ्चार माध्यम र खोज-अनुसन्धानलाई अध्ययन गरिरहेको छु। मेरो ध्यान यतै बढी केन्द्रीत भएको छ ।


आफ्नै सचिवालयका सहयोगीहरुसँग भेट हुन्न । तर, भौतिकरूपमा उपस्थित नभएर पनि पनि धेरै काम गर्न सकिँदो रहेछ भन्ने अनुभव लकडाउनको अवस्थाबाट मिलेको छ । यसको सकारात्मक पक्ष भनेकै हाम्रो काम गर्ने तौरतरिका र कार्यशैलीमा परिवर्तन हो । घरमै बसेर गर्न सकिने कामका लागि भौतिक उपस्थिति नै अनिवार्य छैन भन्ने शिक्षा दिएको छ, यसले पछिका लागि पनि शिक्षा दिएको छ ।


लकडाउनको जीवनशैली अझै एक महिना लम्बिन सक्छ । लकडाउनमा पछि केही खुकुलो भएर आए पनि सामाजिक दूरि कायम गर्ने जीवनशैली भने धेरै लामो समय अपनाउनु पर्ने देखिन्छ । भारतले २१ दिन लकडाउन घोषणा गरेकै आधारमा म यसो भनिरहेको छैन । विश्वमा फैलिँदै गएको संक्रमण र ती मुलुकले अपनाएका सुरक्षा विधि पनि यो भन्दा पृथक छैन । त्यसैले म घरका सदस्यहरुलाई मनोवैज्ञानिक तयारीका लागि अभ्यस्त बनाउँदै छु । मनोवैज्ञानिक रूपमा तयारी राख्नका लागि बुवा, श्रीमती र बच्चाहरुलाई अभ्यस्त बनाउने काम गरेको छु ।

प्रकाशित : चैत्र १४, २०७६ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?