कश्‍मीरको एउटा शरणार्थी बालक- फिचर - कान्तिपुर समाचार

कश्‍मीरको एउटा शरणार्थी बालक

सन्दर्भ : विश्व र‌ंगमञ्‍च दिवस
घिमिरे युवराज

काठमाडौँ — ‘हामी कसैको सम्झनाका निम्ति र रुनका निम्ति, हाँस्नका निम्ति र केही चिन्तन गर्नका निम्ति, केही प्रयोग गर्न र सिक्नका निम्ति भेला हुन्छौँ ।’–साउथ अफ्रिकाकी नाट्य निर्देशक ब्रेट बेलीको सन् २०१४को विश्व रङ्गमञ्च दिवस सन्देशको एउटा अंश हो । 

सन् १९६२ देखि हरेक मार्च २७ लाई विश्व रङ्गमञ्च दिवसको रुपमा संसारभरी मनाइन्छ । यसको एउटा विशिष्ट इतिहास र विधि छ । दोस्रो विश्व युद्धलगत्तै र शीतयुद्धको प्रारम्भसँगै सन् १९४८ मा संसारका नाट्यकर्मीहरुलाई जोड्ने एउटा संस्था बन्यो–अन्तर्राष्टिय नाट्य संगठन (इन्टरनेसनल थिएटर इन्टिच्युट, युनेस्को) ।


दोस्रो विश्वयुद्ध सक्किने बित्तिकै सन् १९४५ मा पुर्वी र पश्चिमी युरोपलाई विभाजन गर्ने ‘आइरन कर्टन’को निर्माण गरियो । विभाजनको यो प्रतिकात्मक नाम थियो । खासमा आइरन कर्टन भनेको नाट्यशालाहरुमा प्रयोग गरिने एक किसिमको पर्दा हो । आइरन कर्टन पूर्व र पश्चिमबीचको एउटा अभौतिक विभाजन थियो । एउटा डरदाग्दो विभाजन जुन सन् १९९५ सम्म रह्यो ।


दोस्रो विश्वयुद्धले ल्याएको नैराश्यता र पीडा, क्रोध र घृणा, त्यसमाथि पूर्वी र पश्चिमी युरोपको विभाजनले विचलित लेखक, कलाकार, विद्वानहरु साँस्कृतिक अभियानको हुटहुटीमा थिए । यस्तो संकटको घडीमा नाट्यकर्मीहरुको भूमिका निर्माण गर्नलाई तत्कालीन युनेस्को निर्देशक जुलियन हुक्से र बेलायतका प्रसिद्ध नाटककार जेबी पेस्टलीले युनेस्कोमार्फत अन्तर्राष्ट्रिय नाट्य संगठन बनाउने पहल गरे । त्यतिखेर नाटककार पेस्टली पनि युनेस्कोको सदस्य थिए । यो संठगन बनाउनुको मूल उद्देश्य सहअस्तित्व र शान्तिका लागि कला, संस्कृति र शिक्षाको आदानप्रदान गर्ने भन्ने थियो । पेस्टली आफैं पनि युद्धबाट प्रताडित थिए । पहिलो विश्वयुद्धमा सैनिकका रुपमा फ्रान्सबाट लडेका उनी युद्धमा गम्भीर घाइते भएका थिए । र, धेरै समय सैनिक अस्पतालमा बसेर तंग्रेका थिए ।


यो नाट्य संस्था संसारभरी फैलियो । संसारका धेरै देश आइटीआईको सदस्य भए । सन् १९६२ देखि हरेक वर्ष आइटीआई वर्ल्डले संसारबाट एकजना नाट्यकर्मी छान्न थाल्यो । ती नाट्यकर्मीको विचारलाई विश्व रङ्गमञ्च दिवस सन्देशको रुपमा केन्द्रीय कार्यालयले आफ्ना सदस्य राष्ट्र्हरुलाई सम्प्रेषित गर्न थाल्यो । त्यसरी पठाइएको सन्देशलाई हरेक देश वा समुदायका रङ्गकर्मीहरुले आआफ्नो स्थानीय भाषामा अनुवाद गरेर मार्च २७ को दिन वाचन गर्ने चलन चल्यो ।


रङ्गमञ्च सन्देश वाचनसँगै नाटक मञ्चन, नाटक पठन, गोष्ठी, छलफल जस्ता कार्यक्रमहरु आयोजना गर्ने चलन चल्यो । अथवा सबै नाट्यकर्मी शुभचिन्तक, दर्शकहरु एकआपसको चिसोपन र ईष्यालाई त्यागेर एकै ठाउँमा भेला हुने एउटा ठूलो सद्भावको पर्व मानिन्छ अचेल यस दिनलाई । आइटीआईले हरेक वर्ष अप्रिल २९ मा अन्तर्राष्ट्र्यि नृत्य दिवस पनि मनाउँछ ।


हरेक वर्षका अन्तर्राष्ट्रिय रङ्गमञ्च दिवस आफैंमा विचारवान् र काव्यात्मक लाग्छन् । रङ्गमञ्च सन्देश संग्रहित पुस्तक नाट्यकर्मीहरुका बीच निकै प्रसिद्ध छन् । सुरुवाती वर्षदेखि आजसम्म संसार प्रसिद्ध नाटककार, निर्देशक, कलाकार, प्राविधिकहरुले दिएको विचार पढ्दा हरेक नाट्यकर्मी वा सर्जकलाई आफ्नो पेशाप्रति सम्मान, समाजप्रतिको कर्तव्यबोध र गौरव अनुभूति हुन्छ ।


पहिलो रङ्गमञ्च दिवसको सन्देश दिएका थिए फ्रान्सका प्रसिद्ध नाटक र फिल्मका कलाकार जोन कोक्तेले । उनले भनेका छन्–‘विरोधाभाषसँग खेल्नु रङ्गमञ्चको स्वभाव हो–समय बित्तै जाँदा इतिहास भत्किँदै जान्छ र दन्त्यकथाहरु स्थापित हुँदै आउँछन् । त्यसैले ती घटनाहरु मञ्चनमा मात्रै यथार्थ बन्छन् ।’


सन् १९६३ को रङ्गमञ्च सन्देश झन् रोचक छ । संसारलाई (डेथ अफ अ सेल्स म्यान, अल माइ सन्स, ब्रोकन ग्लास, अप फ्रम प्याराडाईज) जस्ता दर्जनौं नाटक दिएका अमेरिकन नाटककार आर्थर मिलरले सन्देशमा भनेका छन्– ‘बितेका वर्षहरुमा हामीमध्ये कतिजनाले समयसमयमा साँच्चैको विपत्ति वा विनासको डर सामना गर्‍यौं । र, सेक्सपियरले लेखेका संवादहरु कति शक्तिशाली मानेर दोहोर्याई तेहेर्याई पढ्यौँ । र, महसुस गर्यौ– गल्ती हामी बसेको ग्रहको हैन हाम्रै हो ।’ यस ग्रहमा बसेका आम मानव जाति आज त्यही महसुस गरिरहेका छौँ । ठूलो डरले बाँचिरहेका छौँ ।




रङ्गमञ्चको विशेषता भनेको यो अत्यन्तै चलायमान हुन्छ र यसका कर्ता अर्थात् कलाकारहरुले दर्शकहरुलाई सधैँ नयाँ विचारका लागि उद्वेलित गराइरहेका हुन्छन् । मानव जीवनको आधारशीला भनेकै यसको मुभमेन्ट अर्थात् गति हो । र, यो गति सामूहिक भावनासँग सम्बन्धित छ । कलाकारहरु, प्राविधिकहरु र दर्शकहरुको सामूहिकतासँगै केही घटित हुन्छ र मानिस जीवनबाट झन् प्रभावित हुन्छ । समग्रमा रङ्गमञ्चले बाँच्नको लागि उद्वेलित गर्छ । यति संसारमा खराब रंगमञ्च छ भने त्यो हो आजको पुँजीवादी ब्यवस्था । हामी बालकोनीबाट महंगा टिकट काटेर त्यो खराब रंगमञ्च हेर्न विवस छौँ । तर रंगमञ्चको पर्दा बन्द गर्न सक्दैनौँ ।

‍‍‍......


यतिखेर हामी सबै घरघरमा बन्दीजस्ता भएका छौं । विश्वकै मानव जाति कोरोना भाइरसको कारणले ठूलो संकटमा छ । विश्वका आधाभन्दा बढी मानिसहरु स्वतन्त्र भएर चल्न पाइरहेका छैनन् । यतिखेर सामूहिकताको महत्व र गतिशीलताको महत्व हामीलाई झन् खड्किएको छ । कोरोना भाइरसले मानिसको गतिशीलता र सामूहिकता माथि नै प्रहार गरेको छ ।


तपाईँ नाटक वा फिल्मको फ्यान नहुन सक्नु हुन्छ । तर, सामाजिक भेलाहरु, धार्मिक–साँस्कृतिक कार्यक्रमहरु, भोज वा उत्सवहरु कहीँ न कहीँ तपाईँ जानुहुन्छ । त्यहाँ रङ्गमञ्चको तत्व छ । रङ्गमञ्च मन पराउनु भनेको आजको आधुनिक नाट्यशालामा टिकट काटेर नाटक हेर्न जानुमात्रै हैन । यो एउटा अभ्यास हो आधुनिक सहरको । तर, ध्यान दिएर हेर्ने हो भने हरेक आधुनिक सहर वा ग्रामीण जीवनको गतिको आधारशीला हो रङ्गमञ्च । अनुमान गरौँ, हरेक समाजमा जुन किसिमका साँस्कृतिक रङ्गमञ्चको अभ्यास हुने गर्छ, त्यस्तो नहुँदा के हुन्छ ? काठमाडौमा इन्द्रजात्रा, घोडेजात्रा, गाइजात्रा, विभिन्न रथ यात्राहरु वा यहाँ र अरुतिर पनि उँधौली–उँभौली, लोसार, साकेला, धाननाच, धरम–करम, क्रिसमस, इद आदि नमनाईँदा समाजलाई के फरक पर्छ ? मानिसलाई के फरक पर्छ ? भोज, नाचगान वा उत्सव हामीलाई किन चाहिन्छ ?


किनभने मानिस गतिशील भएर मात्रै बाँच्न सक्छ । साँस्कृतिक रङ्गमञ्च सचेत मानिसको जीवन पद्धति भइसकेको छ । काम, मजदुरी वा जागिरले पनि मानिसलाई एकहदसम्म गतिशील बनाउँछ तर एउटा निश्चित समयपछि यो एउटा रुटिन बन्न जान्छ । जीवनलाई उत्साहपूर्ण बनाउन र विचारलाई उद्वेलित गर्न विज्ञान, कला र साहित्यका नयाँ प्रयोगहरुले हामीलाई उर्जा दिने गर्दछन् । आजको एकान्तमा पनि राम्रा पुस्तक, संगीत, फिल्म, चित्रकला तपाईको प्रिय मित्र हुनसक्छन् ।


हरेक युद्ध, रोग र महामारीपछिको समय नैराश्यपूर्ण हुन्छ । समाजलाई फेरि जीवन्त बनाउन कला, साहित्य र विज्ञानको ठूलो भूमिका छ । अथवा हरेक समाज आफ्नै किसिमको संघर्ष र चुनौतीबाट गुज्रिरहेको हुन्छ । मानिसमानिसबीचको सद्भावका लागि कला र साहित्यको भूमिका रहन्छ भन्ने हाम्रो विश्वास हो ।


यतिखेर हामी सानो परिबेशभित्र जीवनलाई चलायमान बनाउन खोजिरहेका छौँ । यस्तो बेलामा हामी सामूहिक रुपमा रङ्गमञ्च दिवस मनाउने अवस्थामा छैनौँ । तर, विज्ञान, साहित्य वा कलाले छोडेर गएका डोबहरुले हामीलाई कसरी सकारात्मकतातिर डोर्‍याउन सक्लान् ? तिनै सर्जक र तिनका विचारहरुलाई सम्झँदै यसपटक संसारले विश्व रङ्गमञ्च दिवस मनाउला । वा आइटीआई सेन्टरले सम्प्रेसित गरेको रङ्गमञ्च सन्देशलाई हरेक व्यक्तिले घरघरमा पढेर आफ्ना परिवार वा आफन्तलाई सुनाउलान् । सामाजिक सञ्जालमा छरिएला । यो त झन् फरक उत्सव होला ।


यसपटकको रंगमञ्‍च सन्देश आफैंमा ऐतिहासिक छ । दक्षिण एसियाली नाट्यकर्मीहरु सन्देशका लागि छानिनु अपवाद हो । भारतका प्रसिद्ध नाटककार गिरिश कर्नाड सन् २००२ मा र प्रसिद्ध नाट्य निर्देशक रामगोपाल बजाज सन् २०१८ मा रङ्गमञ्च सन्देशका लागि छानिएका थिए । यसपटक पाकिस्तानबाट पहिलोपटक नाटककार साहिद नदीम विश्व रंगमञ्‍च दिवस सन्देशका लागि छानिएका छन् ।


उनले आफ्नो सन्देशमा लेखेका छन्– ‘वर्तमान समयका चुनौतीहरुसँग हामीले रंगमञ्‍चलाई जोडिरहँदा हामीले र‌ंगमञ‍्‍‍चले दिनसक्ने गहिरो आध्यात्मिक अनुभूतिको सम्भवनाबाट आफूलाई वञ्चित गरिरहेका हुन्छौं । आजको विश्व जहाँ कट्टरता, घृणा र हिंसा बढिरहेको छ, हाम्रो ग्रह जलवायु परिवर्तनको विपत्तिमा झन् झन् फस्दैछ । यस्तो अवस्थामा हामीभित्र आध्यात्मिक शक्ति भर्नु छ । हामीले उदासिनता, शुस्तता, निराशा, लोभ र हामी बाँचिरहेको ग्रह वा विश्वप्रतिको उपेक्षाविरुद्ध लड्‍नु छ ।’


त्यसो त उनको सन्देशले अहिले हामीले बाँचिरहेको समयलाई सिधै सम्बोधन गरेको छ । तर, उनको जन्म, राजनीतिक परिवेश र उनले भोगेको जीवनलाई हेर्दा राजनीतिक रुपमा पनि उनका विचारले धेरै मानिसहरुको पीडा अभिव्यक्त गरेको महशुस हुन्छ ।

......


सन् १९४७ मा कश्मीरको सोपोर भन्ने ठाउँमा जन्मिका साहिद १ वर्षको उमेरमा शरणार्थी भए । सन् १९४८ मा कश्मीरमाथिको हस्तक्षेपलाई लिएर पाकिस्तान र भारतबीच द्वन्द्व भएपछि साहित उनका परिवारसहित नयाँ बनेको देश पाकिस्तान सारिए । उनको बसाई र सुरुवाती पढाई लाहोरमा भयो । उनले पन्जाब युनिर्भसिटीबाट मनोविज्ञानमा मास्टर्स् गरे । कलेजमा पढ्दादेखि नाटक लेख्न थालेका उनले पाकिस्तानको प्रसिद्ध नाट्य संस्था अजोकाको लागि नाटक लेख्न थाले । यस नाट्य संस्थाको स्थापना प्रसिद्ध पाकिस्तानी सामाजिक अभियन्ता मदीहा गौहरले गरेकी हुन् । यसले मूलत: राजनीतिक नाटकहरु मञ्‍चन गर्‍यो । बादल सरकारको जुलुस, बर्तोल ब्रेख्तको ककेसिय नचक सर्कल र अधिकांश साहिद नदीमका राजनीतिक नाटकहरु नै अजोकाका नाट्य प्रस्तुतिहरु चर्चित भए । पाकिस्तान सडक नाटकलाई सघनरुपमा अभ्यास गर्ने श्रेय पनि यही समूहलाई जान्छ । नेपालमा सर्वनाम थिएटरलाई जस्तै । नाटककै अभ्यसका क्रममा साहिद र मदीहा दोस्ती बढ्यो र विवाह गरे । तर, अहिले उनीहरु सँगै छैनन् । एक समय भने अजोका थिएटरले नै उनलाई नाटककारको रुपमा स्थापित गर्‍यो ।


सन् २००६ मा गुरुकुल आरोहणले काठमाडौ‌ंमा आयोजना गरेको इब्सन अर्न्तराष्ट्र्यि नाटक महोत्सवमा पाकिस्तानको प्रतिनिधित्व गर्दै अजोका थिएटर काठमाडौंमा आएको थियो । त्यतिखेर अजोकाले ईब्सनको नाटक 'इनिमी अफ दि पिपुल'लाई दुस्मन नाम दिएर उर्दु भाषामा मञ्चन गरेको थियो । अंग्रेजीबाट उर्दु अनुवादक थिए यिनै साहिद नदीम । नाटकको निर्देशन महीदाले गरेकी थिइन् । (त्यसबेला साहिद आएका थिएकी थिएनन् मैले पत्तो लाउन सकिन ।) इब्सनको यही नाटकलाई भारतमा हृत्विक बहरामपुरले देशद्रोही नाममा बंगालीमा मञ्चन गरेको थियो । देहरादुनको सैल्नत समूहले हिन्दीमा जनसत्रु बनाएर मञ्चन गरेको थियो ।


पाकिस्तानमा सैनिक शासन र एक धर्मको अतिवादका बीचमा साहिदको नाट्यकर्म फस्टाउन सजिलो थिएन । उनी ३ पटक जेल परे । केही वर्षका लागि उनी निर्वासित पनि भए । तर, उनको निरन्तर लेखन र नाट्यकर्ममा समर्पणले गर्दा आज उनका नाटक धेरै भाषमा अनुदित छन् । उनले ५० भन्दा बढी नाटक उर्दु र पन्जाबी भाषामा लेखेका छन् भने ब्रेख्तका धेरै नाटक उर्दुमा अनुवाद गरेका छन् । उनका नाटक संसारका धेरै देशमा मञ्चन भएका छन् । आज उनको कारणले पाकिस्तानको रङ्गमञ्च विश्वमा चर्चित छ ।


उनले नाट्य सन्देशमा लेखेका छन्– ‘दक्षिण एसियामा मञ्चलाई टेक्नुअघि भुईंलाई स्रष्टाले ढोग्ने चलन छ । यो एउटा आदिम परम्परा हो जहाँ आध्यात्म र संस्कृतिको मिलन हुन्छ । दर्शक र कलकारबीचको, भूत र भविष्यको त्यो परस्पर सम्बन्धलाई पुनर्स्थापित गर्नु पर्ने समय आइसकेको छ । नाट्यकर्म फेरि एकपटक एउटा पवित्र कार्य हुन सक्छ र कलाकारहरु आफूले निर्वाह गरेको चरित्रको अवतार बन्न सक्दछन् । रङ्गमञ्च तीर्थस्थल र तीर्थस्थल रङ्गमञ्च बन्न सक्ने सम्भावना छ ।’


कश्मीरको एउटा शरणार्थी बालक आज संसारले गौरव गर्ने नाटककार भएको छ । तर, उतिखेर उसले भोगेको नियति आज पनि लाखौँ बालकहरुले संसारका अनेकौँ ठाउँमा भोगिरहेका छन् । उनी शासकभित्रको अहं र तानाशाहलाई रङ्गमञ्चको अध्यात्मले जित्न चाहन्छन् ।


यो संकटको घडीमा हामी सबै मानवजातिले सामूहिक हित र भलाईका लागि सोच्नु छ ।


नेपाल पनि सन् २००२ मा आइटीआइ वर्ल्डको सदस्य भएको थियो । केही वर्षसम्म यसका अध्यक्ष अभि सुवेदी थिए । आइटीआइ नेपाल च्याप्टरबाट निकै काम भए । केही हलचल भएर उनले संस्था छोडे । अहिले नेपाल च्याप्टर केही गर्दै होला । मलाई जानकारी भएन । पाकिस्तानी रङ्गमञ्चलाई आइटीआईले यसरी पहिचान गर्न सक्नु हाम्रो लागि पनि निक्कै सकारात्मक कुरा हो ।


दक्षिण एसियामा आजको काठमाडौको नाट्यकर्मको पनि एउटा पहिचान छ । तर, विश्व रङ्गमञ्चसँग नेपाल नामको देश नै जोडिनका निम्ति हामी सबै रङ्गकर्मीहरुले सांगठनात्मक पहल गर्नै पर्ने स्थिति छ ।


नाटककार साहिद नदीमले विश्व रङ्गमञ्च दिवसमा दिएको सन्देश : तीर्थस्थलको रुपमा रङ्गमञ्च


अजोका थिएटरले मञ्‍चन गरेको सुफी कवि बुल्लेह शाहबारेको नाटकको मञ्‍चन सकिसके आफूसँग एकजना किशोरलाई साथमा लिएर आएका एक वृद्ध दर्शकले बुल्लेह शाहको भूमिका निर्वाह गरेका कलाकारको छेउमा गएर भने– ‘मेरो यो नाती विरामी छ । कृपया यसलाई छोएर आशिर्वाद दिनुहोस् ।’ ती कलाकार झस्किए र भने–‘हजुरबा, म बुल्लेह शाह हैन, एउटा सामान्य कालकार हुँ । मैले त बुल्लेह शाह भएर अभिनय मात्रै गरेको हुँ ।’ ती वृद्धले भने– ‘बाबु तिमी कलाकार हैनौं, बुल्लेह शाहको पुर्नजन्म हौ तिमी । उनको नयाँ अवतार ।’ अचानक हाम्रो माझ रंगमञ‍्‍च नयाँ परिभाषाको उदय भयो । एउटा कलाकारले कुनै चरित्र निर्वाह गर्नु भनेको त्यस कलाकारमा चरित्रको पुनर्जन्म हुनु हो ।


बुल्लेह शाहको जस्तै कथा हरेक समाज र संस्कृतिमा भेटिन्छन् । यस्ता कथाहरु नाट्यकर्मीहरु र अपरिचित तर उत्साहित दर्शकहरुलाई जोड्‍ने बलियो माध्यम हुन सक्छन् । कहिलेकाहीँ हामी आफ्नो नाट्य दर्शनले थिचिन्छौं । सामाजिक रुपमान्तरणका संवाहक हौं भन्ने ठानेर दर्शकको ठूलो जमातलाई त्यसै छोडिदिन्छौं । वर्तमान समयका चुनौतीहरुसँग हामीले रंगमञ्चलाई जोडिरहँदा हामीले र‌ंगमञ्‍चले दिन सक्‍ने गहिरो आध्यात्मिक अनुभूतिको सम्भवनाबाट आफूलाई वञ्चित गरिरहेका हुन्छौं । आजको विश्व जहाँ कट्टरता, घृणा र हिंसा बढिरहेको छ, हाम्रो ग्रह जलवायु परिवर्तनको विपत्तिमा झन् झन् फस्दैछ, यस्तो अवस्थामा हामीले हाम्रो आध्यात्मिक शक्तिलाई भर्नु छ । हामीले उदासिनता, शुस्तता, निराशा, लोभ र हामी बाँचिरहेको ग्रह, विश्वप्रतिको उपेक्षाविरुद्ध लड्‍नु छ । मानवजातिलाई त्यो गहिरो रसातलतिर धकेलिनबाट बचाउनका लागि, मानवजातिलाई उत्प्रेरित गर्न र उर्जाशील बनाउन रंगमञ्चको गरिमामय भूमिका छ । यसले रङ्गमञ्च वा नाटक मञ्चन गर्ने ठाउँहरुलाई पवित्र बनाउन सक्दछ ।


दक्षिण एसियामा मञ्चलाई टेक्नुअघि भुइँलाई स्रष्टाले ढोग्ने चलन छ । यो एउटा आदिम परम्परा हो जहाँ आध्यात्म र संस्कृतिको मिलन हुन्छ । दर्शक र कलकारबीचको, भूत र भविष्यको त्यो परस्पर सम्बन्धलाई पुनर्स्थापित गर्नु पर्ने समय आइसकेको छ । नाट्यकर्म फेरि एकपटक एउटा पवित्र कार्य हुनसक्छ र कलाकारहरु आफूले निर्वाह गरेको चरित्रको अवतार बन्न सक्दछन् । रङ्गमञ्च तीर्थस्थल र तीर्थस्थल रङ्गमञ्च बन्न सक्ने सम्भावना छ ।

प्रकाशित : चैत्र १४, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्

जब मुख्यमन्त्री औषधि छर्न निस्किए

कोभिड–१९ को त्रास रहँदासम्मै पोखराका भीडभाड हुने, सेवाग्राही बढी आउने अस्पताल, सरकारी कार्यालयलगायत ठाउँमा जीवाणुनाशक औषधि छर्किइने
दीपक परियार

पोखरा — चढ्दो गर्मीमा सर्लक्कै ज्यान छोप्ने पहिरनमा दुई व्यक्ति देखिए । एकअर्कालाई हेरेर मुखामुख गरे । पोखरा महानगरपालिकाको कार्यालयभित्र थिए, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नगरप्रमुख मानबहादुर जीसी ।

हेलमेट, चस्मा, मास्क, रेनकोट र बुट लगाएर दुवैले स्प्रे मेसिन बोके । एक हातले पम्प गर्दै अर्को हातले औषधि छर्किए । कोभिड–१९ को संक्रमण रोक्न उनीहरूले जीवाणुनाशक औषधि छर्किएका हुन् ।

यो अभियान महानगरले बिहीबार आफ्नै कार्यालयमा सुरु गरेको थियो । त्यसपछि औषधि छर्दै मुख्यमन्त्री र नगरप्रमुख सडकमा निस्किए । मुख्यमन्त्री गुरुङ औषधि छर्दै न्युरोड डुले । बाटोमा पर्ने अस्पताल, एटीएम मेसिन, पसलका सटरलगायत मानिसको निरन्तर सम्पर्क हुने स्थानमा उनले औषधि छरे । महानगरले बिहीबार नै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र विभिन्न अस्पतालमा औषधि छर्कियो । कोभिड–१९ को त्रास रहँदासम्मै भीडभाड हुने, सेवाग्राही बढी आउने अस्पताल, सरकारी कार्यालयलगायत ठाउँमा जीवाणुनाशक औषधि छर्किने महानगर प्रमुख जीसीले बताए ।

मुख्यमन्त्री गुरुङले कोभिड–१९ रोकथाम तथा नियन्त्रण राष्ट्रिय समन्वय समितिसँगको सहकार्यमा प्रदेशमा पनि योजना बनाइएको जानकारी दिए । उनले गण्डकी प्रदेशमा विदेशबाट हालै आएकाको तथ्यांक खोजी भइरहेको बताए । ‘जिल्ला प्रहरी कार्यालय र स्थानीय तहसँगको समन्वयमा उनीहरूको खोजी भइरहेको छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘अब विदेशबाट आउनेलाई सरकारले व्यवस्थापन गरेको क्वारेन्टाइनमा पठाउँछौं ।’ उनले संक्रमण भेटिए पहिले आइसोलेसन र पछि डेडिकेटेड अस्पतालमा राख्ने जानकारी दिए ।

यसअघि प्रदेशले लेखनाथ लायन्स सामुदायिक अस्पताल, फूलबारीको आर्मी अस्पताल र बाटुलेचौरको मातृशिशु अस्पताललाई डेडिकेटेड आइसोलेसन अस्पताल बनाउने निर्णय गरेको थियो । ती अस्पतालमा पूर्वाधार थप्न ३ करोड १३ लाख रुपैयाँ प्रदेशले विनियोजन गरेको छ । लकडाउन सुरु भएपछि कामदार अभावले अस्पताल तयार गर्न नसकिएको मुख्यमन्त्री गुरुङले बताए । उनका अनुसार तत्काललाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताललाई नै डेडिकेटेड आइसोलेसन अस्पताल बनाउने प्रदेशले निर्णय गरेको छ ।

पोखरामा बिहीबार जीवाणुनाशक औषधि छर्कंदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र महानगर प्रमुख मानबहादुर जीसी । तस्बिर : दीपक परियार/कान्तिपुर
कोभिड–१९ रोकथाम तथा नियन्त्रण आकस्मिक कोषमा प्रदेश सरकारले १५ करोड रुपैयाँ छुट्याएको छ । प्रदेशका मन्त्रीले १–१ महिनाको तलब, सांसदले न्यूनतम १५ दिनको तलब कोषमा सहयोग गर्नेछन् । विभिन्न व्यक्ति तथा संघसंस्थालाई पनि सहयोग गर्न प्रदेशले आह्वान गरेको छ ।

कोभिड–१९ बाट कोही संक्रमित भइहाले उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) आइतबारसम्म आइसक्ने मुख्यमन्त्री गुरुङले बताए । ‘पीपीई लिएर शनिबारसम्म कार्गो जहाज चीनबाट आउँछ र आइतबारबाट सबै प्रदेशको केन्द्रमा सैनिक हेलिकप्टरबाट सामग्री पुर्‍याउने संघीय सरकारको तयारी छ,’ उनले भने ।

पोखरामा कोभिड–१९ परीक्षण गर्ने प्रयोगशाला खोल्ने निर्णय संघीय सरकारले गरे पनि उपकरण आउन बाँकी छ । उपकरण आइसकेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राख्ने, त्यहाँ नभए क्षयरोग केन्द्रमा राख्ने प्रदेशको योजना छ । ‘इटाली र स्पेनको जस्तो स्थिति भयो भने हामीलाई जनशक्तिको अभाव हुन सक्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘चीन सरकारसँग जनशक्ति माग गर्‍यो भने त्यहाँबाट आउन सक्छन् । यो स्थानीय, प्रदेश सरकार सबै मिलेर गर्नुपर्छ ।’

महानगर प्रमुख जीसीले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सरकारले थालेको अभियानमा सघाउन महानगरवासीलाई आग्रह गरेका छन् ।

महानगरमा पहिलो चरणमा १ सय लिटर जीवाणुनाशक औषधि ल्याई छर्न थालिएको महानगरका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले बताए ।‘आवश्यकताअनुसार खरिद गरी मुख्य–मुख्य स्थानमा औषधि छर्किन्छौं,’ उनले भने ।

प्रकाशित : चैत्र १४, २०७६ ०७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×